काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा अभिकर्तालाई सम्मान, व्यवसायिक क्षमता विकास तथा मनोरञ्जनात्मक गतिविधि समेटिएको थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा उनले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए ।
यस्ता सम्मानले अभिकर्ताहरूलाई थप उत्साह र आत्मविश्वासका साथ व्यवसायमा अघि बढ्न प्रेरणा दिने उनको भनाइ थियो । आगामी दिनमा पनि अभिकर्तालाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीको निरन्तर साथ र सहयोग रहने उनले प्रतिबद्धता जनाए ।
आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै कम्पनीले आर्थिक वर्ष २०८३/८४ लाई थप सफलताको वर्ष बनाउन सहभागीहरूलाई प्रेरित गरेको थियो ।
कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले नयाँ आर्थिक वर्षको लक्ष्य हासिल गर्न थप ऊर्जा मिलेको बताए ।
कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता विकासमा सहयोग पुगेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कर्पोरेट क्लब अवार्डबाट सम्मान गरिएको थियो ।
प्रभु महालक्ष्मी लाइफले आफ्ना अभिकर्ताको क्षमता विकास र मनोबल बढाउन विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।