सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले १८ देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई कम बीमा शुल्कमा ठूलो आर्थिक सुरक्षा दिने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । योजनाको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन् ।

कम्पनीका अनुसार यो योजना विशेषगरी परिवारको आर्थिक जिम्मेवारी बोकेका व्यक्तिलाई लक्षित गरिएको हो । बीमा कम्पनीका शाखा कार्यालयसँगै डिजिटल माध्यमबाट पनि यो योजना खरिद गर्न सकिनेछ ।

यस योजनामा न्यूनतम १० लाख रुपैयाँ देखि आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क छनोट गर्न सकिने सुविधा छ । बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा तिर्न सकिने व्यवस्था गरिएको छ ।

बीमितको मृत्यु भएमा बीमाङ्कको शतप्रतिशत रकम दाबी भुक्तानी गरिने कम्पनीले जनाएको छ । साथै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च र १ लाख रुपैयाँसम्म आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि उपलब्ध हुनेछ ।

सन नेपाल लाइफले हाल देशभरका १३६ शाखा तथा उपशाखा र ४० हजारभन्दा बढी अभिकर्ता मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार दुर्घटना, अशक्तता र आपत्कालीन रोगबाट हुने आर्थिक जोखिम कम गर्दै दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य हो ।

Share News