विकासन्युज

तराईमा हुस्सु लाग्ने, हिमाल र पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबिच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्व पक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने एफएनसीसीआईले जनाएको छ ।  संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।  संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष  चन्द्रप्रसाद ढकालले बताए ।  अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसीसीआईले जनाएको छ ।

सप्तरीमा कजारियाको नयाँ शोरुम उद्घाटन

सप्तरी । प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरीको भार्दहमा नयाँ शोरुम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ ।  सोमबार त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । उद्घाटन समारोहमा त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर सर्वेश नायक, कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथि, व्यवसायिक साझेदार तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।  त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारिया जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । कजारिया रमेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन कारखाना स्थापना गर्दै नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ ।  ३ हजारभन्दा बढी डिजाइन विकल्पहरूसहित कजारियाले सौन्दर्य, मजबुती र दिगो प्रदर्शनलाई समेट्ने टायलमार्फत आन्तरिक सजावटलाई नयाँ आयाम दिँदै आएको छ  हाल नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरुम र १०० भन्दा बढी अधिकृत डिलरहरूमार्फत कजारिया टायल्स वितरण भइरहेको छ । कजारियाका उत्पादन दायरामा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० सेमी, ६०×६० सेमी, १९.५×१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० सेमी) तथा सिरेमिक वाल टायल (३०×६० सेमी, ३०×४५ सेमी) समावेश छन् । सबै पानी प्रतिरोधी, दाग नलाग्ने, टिकाउ र आकर्षक डिजाइनयुक्त छन् ।

महासंघको आयोजनामा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवापुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।  उक्त संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ । मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य शर्त भएको उल्लेख गर्दै देशको विकास र समृद्धिको लागि साझा धारणा तय हुन सकोस भन्ने उद्देश्यसहित महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरण बिना लगानी सम्भव हुँदैन,’ उनले भने, ‘यही कारण महासंघले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन यो पहल गरेको हो ।’ उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जालाई उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा जोड्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताए । महासंघले आयोजना गर्न लागेको उक्त कार्यक्रमले सरकार, राजनीति, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यले निरन्तर छलफल, अन्तरक्रिया तथा पैरवी गर्दै आएको छ । सोही प्रयासको निरन्तरता स्वरूप महासंघले हालै ‘राष्ट्रिय आर्थिक बहस २.०’ सम्पन्न गरेको थियो ।

दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जिल्लामा मतदाताको सङ्ख्या वृद्धि भएको हो । अघिल्लो निर्वाचनसम्म दार्चुलामा कुल ९० हजार ७८२ मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकसँगै दुई हजार १६६ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार हाल कायम मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । मतदाता नामावली अद्यावधिकपछि जिल्लाको पालिका अनुसारको तथ्याङ्कसमेत सार्वजनिक गरिएको उनले जानकारी दिए । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । स्थानीय तहगत तथ्याङ्कअनुसार शैल्यशिखर नगरपालिकामा १५ हजार ५१६ मतदाता रहेका छन् भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम भएका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा ११ हजार ८७८, लेकम गाउँपालिकामा १० हजार ३११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन् । मार्मा गाउँपालिकामा नौ हजार ६१३, दुहुँ गाउँपालिकामा आठ हजार ४४१, व्यास गाउँपालिकामा आठ हजार १६२ तथा अपी हिमाल गाउँपालिकामा चार हजार ७९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सफल रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी तीव्र बनाएको सूचना अधिकारी जोशीले जानकारी दिए । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा सुरक्षा व्यवस्था, प्राविधिक तयारी तथा निर्वाचन व्यवस्थापनका कामलाई तिव्रता दिइएको छ । रासस

चुनावी मोडमा एमाले, ओली भन्छन्- अब जनताबाट फैसला लिने समय आयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी आगामी निर्वाचनको प्रतीक्षामा रहेको बताएका छन्।  उनले हालै सम्पन्न पार्टीको महाधिवेशनले एमालेको आन्तरिक प्रणालीमा महत्त्वपूर्ण फैसला गरिसकेको उल्लेख गर्दै अब निर्वाचनमार्फत राष्ट्रिय स्तरको फैसला दिन पार्टी पूर्ण रूपमा तयार रहेको धारणा व्यक्त गरेका हुन् । एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाधिवेशनले पार्टीको संगठनात्मक एकता सुदृढ बनाएको, नेतृत्व संरचना स्पष्ट पारेको र आगामी राजनीतिक यात्राका लागि ठोस दिशानिर्देश दिएको बताए ।  उनका अनुसार आन्तरिक निर्णय र संगठनात्मक तयारी पूरा भइसकेकाले अब जनतासमक्ष जाने र निर्वाचनमार्फत जनादेश लिने चरण सुरु भएको छ । ओलीले एमाले राजनीतिक स्थायित्व, विकास र सुशासनको एजेन्डासहित निर्वाचनमा जाने सन्देश दिँदै जनताले दिने निर्णयलाई सम्मान गर्ने बताए ।  ‘महाधिवेशनले पार्टीभित्र आवश्यक फैसला गरिसकेको छ, अब देशका लागि आवश्यक फैसला जनताले निर्वाचनमार्फत लिने समय आएको छ,’ उनले भने । अध्यक्ष ओलीले मुलुक अहिले निर्णायक मोडमा रहेको उल्लेख गर्दै आगामी निर्वाचनले देशको राजनीतिक दिशा तय गर्ने विश्वास व्यक्त गरेका छन् ।  एमालेले सरकार सञ्चालनको अनुभव, संगठनात्मक क्षमता र स्पष्ट नीतिगत दृष्टिकोणका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो ।

ठूला दलबीच सहकार्य अपरिहार्य बन्दै गएको छ : उपाध्यक्ष थापा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य सम्भव रहेको बताएका छन् । उनले दुवै दलले बराबरी सिट संख्या बाँडफाँड गरेर साझा रणनीतिका साथ निर्वाचनमा अघि बढ्न सक्ने धारणा व्यक्त गरेका हुन् । मंगलबार काठमाडौंमा मदन आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा ठूला दलबीच सहकार्य अपरिहार्य बन्दै गएको उल्लेख गरेका हुन् ।  उनले मुलुक राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र नीतिगत अन्यौलको अवस्थाबाट गुज्रिरहेको भन्दै यसबाट बाहिर निस्कन जिम्मेवार दलहरूले साझा समझदारी बनाउनु आवश्यक रहेको बताए । उपाध्यक्ष थापाका अनुसार कांग्रेस र एमाले जस्ता प्रमुख दलबीच सहकार्य भएमा सरकार सञ्चालन मात्र होइन, निर्वाचन व्यवस्थापन र भावी राजनीतिक स्थायित्वमा पनि सकारात्मक सन्देश जानेछ ।  ‘दुवै दलले आ-आफ्नो अहंकार त्यागेर बराबरी हैसियतमा सहकार्य गर्न सके देशलाई स्थिरताको बाटोमा लैजान सकिन्छ,’ उनले भने । उपाध्यक्ष थापाले विगतमा विभिन्न राजनीतिक मोडमा दलहरूबीच भएका सहकार्यले महत्वपूर्ण परिणाम दिएको स्मरण गराउँदै अहिलेको अवस्थाले पनि त्यस्तै सहकार्यको माग गरिरहेको बताए । लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र विकासका एजेन्डालाई अगाडि बढाउन ठूला दलबीच समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।

चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५ लाख १७ हजार रुपैयाँ रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो ।      इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो । केसी सोमबार राति मात्र काठमाडौंबाट घर फर्किएका हुन् । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।    काठमाडौंको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभर निगरानी गरेको थियो । केसीलाई मंगलबार सो रकमसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।