महासंघको वस्तुगत उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शिव घिमिरेले भने– म लिन होइन, दिन जाँदैछु
काठमाडौं । वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघलाई शक्तिकेन्द्रका रूपमा विकास गरी काम गर्ने बताएका छन् । सोमबार महासंघको वस्तुगत उपाध्यक्षतर्फको उम्मेदवारी घोषणा गर्दै उनले अहिले महासंघ कमजोर बनेको र अब शक्तिशाली बनाएर अगाडि बढ्ने योजना रहेको सुनाए । व्यवसायीहरूले नै महासंघप्रति गुनासो गर्ने गरेको उल्लेख गर्दै उनले महासंघ आज निर्णायक मोडमा रहेको बताए। ‘महासंघ कमजोर बन्दै गएको छ, नीतिगत लबिङमा कमजोर बनेको महसुस व्यवसायीलाई भएको छ,’ उनले भने, ‘म अब मानक बनाएर काम गर्छु, महासंघबाट लिन होइन, दिन आएको छु । उनले अञ्जन श्रेष्ठको नेतृत्वमा अब्बल काम गर्ने उद्देश्यसहित उपाध्यक्षको उम्मेदवारी दिएको बताउँदै आफूले पदभन्दा पनि महासंघको प्रतिष्ठाको लागि संकल्प गर्दै अगाडि बढ्ने बताए । नेतृत्वले कुरामात्रै नभई ठोस काम र निर्णय दिने बताए । नीतिगत तहमा महासंघको अनिवार्य सहभागिता देखाएर युवा उद्यमी सहभागिता बढाउने, प्रविधिको विस्तार, प्रतिस्पर्धी, कर नीति सुधार गर्दै समग्र उद्योगी व्यवसायीको समान सहभागितामा काम गर्ने उल्लेख गरे ।
१ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भई हाल ललितपुर महानगरपालिका–१३ एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली, बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले तथा सर्लाही ईश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२५ नख्खु बस्ने ३० वर्षीया दिप्ती पोखरेल रहेका छन् । हुण्डी तथा अभौतिक मुद्रा सम्बन्धी अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नरेश रेउलेलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले दिप्ती पोखरेल र प्रवेश अलीका लागि यूएसडीटी खरिद–बिक्री गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले दिप्ती पोखरेललाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित रेडहन पुलबाट नगद १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको थियो भने प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रवेश अलीले मोबाइलमार्फत बाइनान्स आईडी प्रयोग गरी हालसम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रुपैयाँ ४ पैसा बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै कामना सेवा विकास बैंक
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनी वीक’ प्रत्येक वर्ष अर्गनाइजेसन फर इकोनोमिकको–अपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा मार्च महिनामा मनाइने गरिन्छ। यस वर्ष उक्त सप्ताह मार्च १७ देखि २३ सम्म सञ्चालन गरिएको थियो । यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशभर प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको जनाएको छ । बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्दै १ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ । कार्यक्रममा साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने तरिका, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीबारे जानकारी प्रदान गरिएको थियो । साथै, बढ्दो डिजिटल ठगीका घटनालाई मध्यनजर गर्दै बैंकले सूचना प्रविधि (आईटी) सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियानसमेत सञ्चालन गरेको जनाएको छ । अभियानअन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्री प्रसारण गरिएको थियो, जसले वित्तीय सुरक्षासम्बन्धी सन्देश समुदायस्तरसम्म पुर्याउन सहयोग पुगेको बैंकले जनाएको छ । त्यसैगरी बैंकले सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास, बचत तथा लगानी व्यवस्थापन, बजेट समायोजन, आकस्मिक अवस्थाका लागि कोष व्यवस्थापन, डिजिटल कारोबार गर्दा हुने गल्ती तथा अनलाइन ठगीबाट बच्ने उपायसम्बन्धी जानकारी पनि प्रदान गरेको छ । सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सन्देशसहित प्रभातफेरी कार्यक्रमसमेत सञ्चालन गरिएको बैंकले जनाएको छ। कामना सेवा विकास बैंकले ग्लोबल मनी वीक २०२६ अन्तर्गत सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
प्राधिकरणको कारबाहीमा परे ८ बीमा कम्पनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा प्राधिकरणले बीमा ऐनअन्तर्गत काम नगर्ने कम्पनीलाई कारबाही गरेको प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले जानकारी दिइन् । प्राधिकरणकाे कारवाहीमा पर्ने बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एशिएन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी, हिमालयन लाइफ र ओरियन्टल इन्स्योरेन्स रहेका छन् । प्रवक्ता ढुंगेलका अनुसार प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई सुधारको लागि सचेत गराउने वा निर्देशन दिने खालको कारबाही भएको छ । त्यस्तै, एलियन्ट इन्स्योरेन्सलाई तीन महिनाको लागि निलम्बन गरिएको छ । अरू बाँकी बीमा कम्पनीलाई ऐनअनुसार २ लाख जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार कारबाही गरेको हो । उक्त दफामा प्राधिकरणको निर्देशनविपरीत काम गरेमा दुई लाखदेखि ५० लाखसम्म जरिवाना हुने व्यवस्था छ । ‘यो ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिवाना गर्न सक्नेछ । दफा १३८ को उपदफा ४ अनुसार (क) पहिलोपटकका लागि दुई लाख रुपैयाँ, (ख) दोस्रोपटकको लागि पच्चीस लाख रुपैयाँ र (ग) तेस्रोपटक वा सोभन्दा बढीको लागि पटकैपिच्छे पचास लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत १० गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत १० गते मंगलबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने जानकारी दिइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थिति अनिवार्य गरिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १५ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २९३६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको सेयर मूल्य घटेको हो । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४२ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारी बैंकको ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, शिवम् सिमेन्टको ६० करोड, नेसनल हाइड्रोको ५७ करोड, एनआरएन इन्फाइस्ट्रक्चरको ५४ करोड ९८ लाख र न्यादी गुप्रको ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
काठमाडौं । अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरूले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना गरिरहेका छन् । संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध होर्मुज वरपर केन्द्रित भएको कारण विश्वव्यापी तेलको मूल्य बढेको छ, जहाँबाट विश्वको तेल र ग्याँसको लगभग २० प्रतिशत ढुवानी हुन्थ्यो । संयुक्त विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र सिङ्गापुरले सोमबार मध्य पूर्वको अवस्था र आफ्नो क्षेत्रका लागि यसको प्रभावका विषयमा गहिरो चिन्ता दर्शाएका छन् । ऊर्जा आपूतिलाई सहज र बलियो बनाउन मिलेर काम गर्न प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् । उनीहरू ऊर्जा सुरक्षालाई सुदृढ पार्न, पेट्रोलियम पदार्थका साथै प्राकृतिक ग्यास लगायत आवश्यक वस्तुहरूको प्रवाहलाई समर्थन गर्न सहमत भएका छन् । हाल अस्ट्रेलियामा पेट्रोलको मूल्य बढेको छ भने अधिकारीहरूले उच्च मूल्यवृद्धिका कारण बासिन्दाहरूलाई अत्यावश्यक सामान मात्र किन्न आह्वान गरेका छन् । रासस
अर्थविद् केशव आचार्यको निधन
काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान ९:५५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मस्तिष्कघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि मंगलबार गरिने जनाइएको छ । आचार्यका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका आचार्यले पछिल्लो समय मुलुकको वित्तीय अवस्था र आर्थिक सुशासनका विषयमा सक्रिय बहस तथा पैरवी गर्दै आएका थिए । उनले लामो समयसम्म राष्ट्र बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनी अर्थतन्त्रका समसामयिक मुद्दा, आर्थिक नीति तथा विकास योजनाबारे विश्लेषण र टिप्पणी गर्ने विज्ञका रूपमा चिनिन्थे । नेपालका आर्थिक चुनौती, सम्भावना र सुधारका उपायबारे उनले आफ्ना धारणा तथा लेखमार्फत निरन्तर योगदान दिँदै आएका थिए ।