ग्यास अभावको समस्या टार्न विद्यार्थीलाई विद्युतीय चुलो बाँड्दै सरकार

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराउने भएको छ । 

केन्द्रले काठमाडौं उपत्यकामा एलपी ग्यासको उपलब्धतामा देखिएको समस्यालाई केही हदसम्म सम्बोधन गर्न, स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढाउन तथा विद्युतीय चुलोको प्रवर्द्धन गर्ने उद्देश्यले विद्यार्थीबाट माग संकलन गर्न लागेको जनाएको हो ।

केन्द्रका अनुसार काठमाडौं बाहिरबाट उपत्यकामा आएर घर भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराइनेछ ।

यसका लागि इच्छुक विद्यार्थीले असोज ८ गते दिउँसो २ बजेसम्म अनलाइन फाराम भर्नुपर्नेछ । विद्यार्थीले अनलाइन फारामसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपि वा सम्बन्धित निकायको सिफारिस पेस गर्नुपर्नेछ ।

अनलाइन फाराम मात्र भरेर आवश्यक कागजात पेस नगरेका विद्यार्थीको आवेदन छनोटमा समावेश नगरिने केन्द्रले जनाएको छ । सम्बन्धित निकाय वा स्थानीय तहबाट विपन्नता खुल्ने सिफारिस पेस गरेका तथा सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीलाई छनोटमा प्राथमिकता दिइनेछ ।

केन्द्रका अनुसार यसअघि नै केन्द्रबाट विद्युतीय चुलो प्राप्त गरिसकेका विद्यार्थीको माग स्वतः खारेज हुनेछ । इच्छुक विद्यार्थीले केन्द्रको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Share News