​​​​​​​तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्ले भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्तासहित कूटनीतिक, सामाजिक, आर्थिक-व्यावसायिक र प्राज्ञिक मञ्चमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत सरकारले पु¥याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको तथा दुई देशबीचको राजनीतिक, आर्थिक र कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा भएका भेटवार्ता फलदायी रहेको उनले बताए ।

बिहीबार अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो । शुक्रबार उनले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाए ।

सोही दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरे। शुक्रबार साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भए । त्यसै दिन दिउँसो उनले प्रवासी नेपालीको प्रतिनिधिमण्डलसँग भेट गरे । शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी भए ।

सोही दिन उनले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाए । शनिबार नै अर्थमन्त्री वाग्ले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भए ।  

Share News