काठमाडौं । टंगालस्थित भाट–भटेनी सुपर स्टोर असोज ५ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनीको पहिलो र सबैभन्दा ठूलो स्टोर जेन्जी आन्दोलनको क्रममा पूर्ण रुपमा ध्वस्त भएको थियो ।
उक्त स्टोर सोमबारदेखि नियमित सञ्चालन हुने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए । आगजनीबाट पूर्ण रुपमा क्षति भएको कोटेश्वरस्थित स्टोर पाँच महिनामा सञ्चालन भएको थियो । जेन्जी आन्दोलनमा जलेर ध्यस्त भएको १२ मध्ये १० वटा स्टोर पुनःसञ्चालनमा ल्याउन सफल भएको उनले जानकारी दिए ।
जेन्जी आन्दोलनको क्रममा ध्वस्त भएका र सञ्चालनमा आउन बाँकी रहेका दुईवटा स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेका उनले बताए । ‘दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ । यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुनः सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ’ उनले भने ।
धेरै ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरी अगाडि बढेकोले एक वर्षभित्रै भाटभटेनी नियमित रुपमा सञ्चालनमा आउन सकेको उनले बताए । कठिन अवस्थामा पनि भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको र ग्राहको विश्वास टुट्न पनि नदिएको उनले बताए ।
‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिसिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ’ उनले भने–‘तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ ।’