सामाजिक सञ्जालमा भाइरल ‘नयाँ ट्राफिक जरिवाना’ भ्रम भएको विभागको दाबी, सेयर गरे कारबाही हुने
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्राफिक जरिवानाको नयाँ दररेटसम्बन्धी पर्चा पूर्ण रूपमा नक्कली भएको भन्दै यातायात व्यवस्था विभागले त्यसको प्रचार/प्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै मोटर यातायात तथा ट्राफिक नियमावली, २०७४ बमोजिमको जरिवाना दररेट उल्लेख गरिएको पर्चा आधारहीन र भ्रामक रहेको स्पष्ट पारेको हो । विभागका अनुसार हाल नेपालमा उक्त नामको कुनै कानुनी व्यवस्था नै छैन भने पर्चामा प्रयोग गरिएको विभागको नाम र लोगोसमेत नक्कली रहेको पाइएको छ । विभागले तथ्य र प्रमाण परीक्षण नगरी सामाजिक सञ्जालमा यस्ता भ्रामक सामग्री लाइक, सेयर वा प्रचार–प्रसार नगर्न आग्रह गरेको छ । यस्ता गतिविधिले सर्वसाधारणमा भ्रम फैलाउनुका साथै सार्वजनिक संस्थाप्रतिको विश्वाससमेत कमजोर बनाउने विभागको भनाइ छ । विभागका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ र प्रतिलिपि अधिकार ऐन, २०५९ लगायतका प्रचलित कानुनविपरीत हुने यस्ता गतिविधि दण्डनीय छन् । अब पनि नक्कली सूचना तयार गर्ने वा फैलाउने कार्य भए कानुनबमोजिम कारबाही गरिने चेतावनी विभागले दिएको छ । विभागले नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन जारी नभएसम्म ट्राफिक जरिवाना सम्बन्धी व्यवस्था पुरानै कानुनअनुसार लागू रहने स्पष्ट गरेको छ । हाल सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ बमोजिम नै ट्राफिक जरिवाना निर्धारण हुने भएकाले आधिकारिक कानुनी व्यवस्थालाई मात्रै आधार मान्न विभागले सबैमा अनुरोध गरेको छ ।
सफाइ पाएपछि टेलिकमकी प्रबन्ध निर्देशक अर्यालको पुनर्बहाली
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाल भएकी छन् । उनीमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि सरकारको निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरिएको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय २०८३ असार २६ गतेको निर्णयअनुसार अर्याललाई प्रबन्ध निर्देशकको जिम्मेवारीमा पुनर्बहाल गरिएको नेपाल टेलिकमले जनाएको छ । पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा इमानदारीपूर्वक काम गर्न कर्मचारीहरू डराउन नपर्ने बताइन् । उनले विगतमा कर्मचारीमाथि लागेका आरोप र फैलिएका भ्रम अन्ततः सत्यका आधारमा हटेको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई निरन्तर नेतृत्व र सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन् । अर्यालले कम्पनीमा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राखिने बताउँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारवालाको अपेक्षालाई समेत ध्यानमा राखेर काम गरिने स्पष्ट पारिन् । नेपाल सरकारको नीति र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख अझ मजबुत बनाउने तथा सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । नेपाल टेलिकमले गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा देशको दूरसञ्चार क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका अझ प्रभावकारी ढंगले निर्वाह गर्दै जाने जनाएको छ ।
अमेरिकाले लगातार आफ्ना प्रतिबद्धता तोडेकाले सम्झौता संकटमा : इरान
काठमाडौं । इरानले अमेरिका लगातार आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेको आरोप लगाउँदै दुई देशबीचको सम्झौता संकटमा परेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी दबाबका कारण इरान स्ट्रेट अफ होर्मुजमा यातायात व्यवस्थासम्बन्धी विषयमा ओमानसँग सहमतिमा पुग्न नसकेको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बकाईले गत शनिबार इरान र ओमानका विदेशमन्त्रीबीच बैठक भएको जानकारी दिए । उनका अनुसार मस्कटमा भएको वार्तामा हर्मुजसँग सम्बन्धित विषय, विशेषगरी सम्झौतापत्रको धारा ५ मा केन्द्रित छलफल भएको थियो । बकाईले भने, ‘ओमानमाथि अमेरिकाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दिएको दबाबका कारण मस्कटमा अपेक्षित प्रगति हुन सकेन, जसप्रति हामी दुःखी छौं ।’ उनले अमेरिकाले सम्झौता ज्ञापनका १४ वटा धारालाई तोडमोड गरेर प्रस्तुत गरेको आरोप लगाउँदै भने, ‘अब यो दस्तावेज संकटको चरणमा प्रवेश गरिसकेकोमा कुनै शंका छैन । इरानले कहिल्यै आफ्ना प्रतिबद्धता उल्लंघन गर्ने पहल गरेको छैन। लगातार आफ्ना वाचा तोड्ने देश अमेरिका हो ।’ बकाईका अनुसार अमेरिका आफ्नो प्रतिबद्धता तोड्न यति हतारिएको थियो कि सम्झौता ज्ञापनको धारा ५ मा उल्लेख गरिएको एक महिनाको समयसीमा पनि पूरा हुन दिएन । उनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशकलाई इरानका आणविक केन्द्रहरूमा पहुँच दिन गरिएको अनुरोध पनि स्वीकार नगर्ने स्पष्ट पारे ।
अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
काठमाडौं । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ । यससँगै विमानस्थलमा प्रयोग हुँदै आएको कागजी यात्रु कार्डको व्यवस्था क्रमशः अन्त्य गरिनेछ । गृह मामिलामन्त्री टोनी बर्कका अनुसार विमानस्थलमा यात्रु व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न सरकारले आगामी चार वर्षमा पाँच करोड ६१ लाख अष्ट्रेलियाली डलर (करिब तीन करोड ८९ लाख अमेरिकी डलर) लगानी गर्नेछ । उक्त योजनाअन्तर्गत देशभर डिजिटल यात्रु कार्ड लागू गरिनेछ । यो निर्णय ‘अष्ट्रेलिया ट्राभलर डिक्लेरेसन’ प्रणालीको सफल परीक्षणपछि गरिएको हो । सन् २०२४ को अक्टोबरदेखि सिड्नी, मेलबर्न र ब्रिस्बेनमा अवतरण गर्ने केही क्वान्टास उडानमा कागजी यात्रु कार्डको विकल्पका रूपमा यसको परीक्षण गरिएको थियो । टोनी बर्क, व्यापार तथा पर्यटनमन्त्री डन फारेल, कार्यवाहक यातायातमन्त्री क्रिस्टी म्याकबेन तथा कृषि, मत्स्यपालन एवं वनमन्त्री जुली कोलिन्सद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार हालसम्म चार लाख ५० हजारभन्दा बढी यात्रुले डिजिटल प्रणाली प्रयोग गरिसकेका छन् र यसको परीक्षण सफल भएको छ । सरकारका अनुसार सन् २०२६ को अन्त्यसम्म पर्थ र एडिलेड पुग्ने क्वान्टास उडानमा पनि यो प्रणाली विस्तार गरिनेछ । त्यसपछि आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तरराष्ट्रिय विमानस्थल र समुद्री बन्दरगाहमा यसको कार्यान्वयन गरिने योजना छ । डिजिटल यात्रु कार्डमार्फत यात्रुले यात्रा सुरु हुनुभन्दा तीन दिनअघि नै आफ्नो व्यक्तिगत विवरण र भन्सारसम्बन्धी अनिवार्य घोषणा अनलाइनमार्फत भर्न सक्नेछन् । यसले आगमनपछि कागजी फाराम भर्ने झन्झट हटाउने सरकारको अपेक्षा छ । व्यापार तथा पर्यटन मन्त्री फारेलले यो प्रणालीले अष्ट्रेलियालाई अझ सहज र आकर्षक पर्यटन गन्तव्य बनाउन सहयोग पुग्ने बताए । उनले भने, 'आगमन प्रक्रियालाई सरल र छिटो बनाउँदा यात्रुले फाराम भर्न कम समय खर्चिनेछन् र अष्ट्रेलियाको भ्रमणमा बढी समय दिन सक्नेछन् ।' सरकारका अनुसार यो आधुनिकीकरणले सन् २०३२ मा ब्रिस्बेनमा हुने ओलम्पिक तथा प्यारालम्पिक खेलका क्रममा बढ्ने अन्तरराष्ट्रिय यात्रुको चाप व्यवस्थापन गर्न सीमा सुरक्षा निकायलाई समेत सहयोग पु¥याउनेछ । रासस
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए । उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराए । प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उनले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधानका लागि पहल गरिने बताए । छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवद्र्धन र पूर्वाधार विकाससम्बन्धी सुझाव प्रस्तुत गरे । उनीहरुले स्वास्थ्य सेवामा ‘डिजिटल’ रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराए । त्यस अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी रहेका थिए ।
रास्वपा सभापति लामिछानेले भोलि संसदमा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी गरेका छन् । सभापति लामिछाने निकट एक नेताका अनुसार लामिछानेले मंगलबार (असार ३० गते )प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी भइरहेको हो । संसद सचिवालय स्रोतले पनि अब बस्ने संसद बैठकमा सभापति लामिछानेले सभालाई सम्बोधन गर्ने तयारी भएको जनाएको छ । प्रधानमन्त्री साहसँगको भेटपछि लामिछाने प्रतिनिधि सभालाई सम्बोधन गर्ने मनस्थितिमा पुगेको बताइएको छ । रविको सम्बोधनमा सरकारको आगामी नीति, सुशासन, सेवा प्रवाह, राजनीतिक सहकार्य तथा समसामयिक राष्ट्रिय मुद्दाबारे धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी
काठमाडौं । फिफा विश्वकप– २०२६ का १०० खेल पूरा भइसकेका छन् । लामो यात्रा, धेरै खेल र रोमाञ्चक क्षणपछि प्रतियोगिता अब अन्तिम चरणतर्फ अघि बढिरहेको छ । क्वार्टरफाइनलका चारै खेल निकै प्रतिस्पर्धात्मक रहे । फ्रान्सले अन्ततः मोरक्कोलाई पराजित गर्यो, स्पेनले सुपर–सब मिकेल मेरिनोको अन्तिम समयको गोलमा बेल्जियमलाई हरायो, जुड बेलिङ्घम इंग्ल्यान्डका लागि नायक बनेर नर्वेमाथि जित दिलाए भने अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको चुनौती अन्ततः तोड्न सफल भयो । अहिले घमण्ड गर्न खोजिएको होइन, तर अप्टा सुपरकम्प्युटरले अन्तिम चार टोलीको सही भविष्यवाणी गरेको थियो । प्रतियोगिता सुरु हुँदा विश्वकप जित्ने शीर्ष चार दाबेदार सबै टोली सेमिफाइनलमा पुगेका छन् । यही आधारमा अप्टा सुपरकम्प्युटरलाई फेरि सोधिएको छ, फिफा विश्वकप २०२६ को उपाधि अन्ततः कसले जित्ला ? पछिल्ला चार पुरुष विश्वकपमध्ये स्पेन, फ्रान्स र अर्जेन्टिनाले तीन उपाधि जितेका छन्। इंग्ल्यान्ड भने सन् १९६६ यता पहिलो पटक विश्वकप जित्दै ‘६० वर्षको प्रतीक्षा’ अन्त्य गर्ने लक्ष्यमा छ । फिफा विश्वकपको इतिहासमा यो तेस्रो पटक मात्र हो, जब सेमिफाइनलमा पुगेका चारै टोली पूर्व विश्वविजेता हुन् । यसअघि यस्तो सन् १९७० र १९९० मा भएको थियो । फ्रान्स सबैभन्दा बलियो दाबेदार अप्टा सुपरकम्प्युटरका अनुसार अहिलेको अवस्थामा विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावना फ्रान्सको छ । डीडीए डेसाँको टोलीले उत्तर अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको छ । कप्तान किलियन एमबाप्पे आठ गोलसहित लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता छन् भने उस्मान डेम्बेलेले पाँच गोल गरेका छन् । मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा दुवैले एक–एक गोल गर्दै फ्रान्सलाई सेमिफाइनल पुर्याएका थिए । पछिल्ला ५० वर्षमा एउटै विश्वकपमा दुई खेलाडीले पाँच वा सोभन्दा बढी गोल गर्ने दोस्रो टोली फ्रान्स बनेको छ । यसअघि सन् २००२ मा ब्राजिलका रोनाल्डो (८) र रिभाल्डो (५) ले यस्तो उपलब्धि हासिल गरेका थिए । यस विश्वकपमा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान रूपमा ६–६ गोल गरेका छन् । मोरक्कोमाथिको २–० को जितसँगै डेसाँले प्रशिक्षकका रूपमा विश्वकपमा २०औं जित निकाले । यो उपलब्धि हासिल गर्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । विश्वकपमा उनको यो २५औं खेल थियो, जसले हेल्मुट शोनको कीर्तिमान बराबरी गरेको छ । स्पेनविरुद्धको सेमिफाइनल उनको २६औं खेल हुनेछ, जसले नयाँ कीर्तिमान बनाउनेछ । यो डेसाँको प्रशिक्षकका रूपमा अन्तिम विश्वकप पनि हो । विश्वकपका बाँकी खेलका २५ हजार सिमुलेसनमा फ्रान्स ५७.७ प्रतिशत अवस्थामा स्पेनलाई हराएर लगातार तेस्रो पटक फाइनल पुग्ने देखिएको छ । समग्रमा उपाधि जित्ने सम्भावना ३४ प्रतिशत छ । स्पेन पनि बलियो चुनौती स्पेन यस विश्वकपको दोस्रो सबैभन्दा प्रभावशाली टोलीका रूपमा देखिएको छ । लुइस डे ला फुएन्तेको टोलीले बेल्जियमविरुद्धको क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन । फाबियन रुइजले अग्रता दिलाएपछि चाल्र्स डे केटेलारेले बराबरी गोल गरे । उनको हेडरले स्पेनको विश्वकपमा लगातार ६४९ मिनेटसम्म गोल नखाने श्रृंखला समाप्त गरेको थियो । तर पोर्चुगलविरुद्ध अन्तिम १६ मा जस्तै मिकेल मेरिनो फेरि बेन्चबाट आएर अन्तिम समयमा विजयी गोल गर्दै स्पेनलाई सेमिफाइनल पुर्याए । स्पेनको यो विश्वकप इतिहासको दोस्रो सेमिफाइनल हो । यसअघि सन् २०१० मा सेमिफाइनल पुगेर दक्षिण अफ्रिकामा पहिलो विश्वकप उपाधि जितेको थियो । फ्रान्स उपाधिको प्रमुख दाबेदार भए पनि स्पेन मार्च २०२४ मा कोलम्बियासँग १–० ले पराजित भएयता लगातार ३६ खेल अपराजित छ । यस अवधिमा उसले २७ जित र ९ बराबरी खेलेको छ, जुन उसको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो । सुपरकम्प्युटरका अनुसार स्पेनको फाइनल पुग्ने सम्भावना ४२.३ प्रतिशत र उपाधि जित्ने सम्भावना २३.४ प्रतिशत छ । त्यसैले मंगलबार डलासमा हुने फ्रान्स–स्पेन सेमिफाइनलका विजेताले विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । बेलिङ्घमको लयमा इंग्ल्यान्ड यस विश्वकपमा इंग्ल्यान्डले धेरै प्रभावशाली प्रदर्शन नगरे पनि टोली लगातार जित निकाल्न सफल भएको छ । प्रशिक्षक थोमस टुखेलले पनि नर्वेविरुद्ध टोलीले उत्कृष्ट खेल नखेलेको स्वीकार गरेका थिए । तर इंग्ल्यान्डलाई सेमिफाइनल पुर्याउन जुड बेलिङ्घमले निर्णायक भूमिका खेले । आन्द्रियास शेल्डेरुपले नर्वेलाई अग्रता दिलाएपछि बेलिङ्घमले पहिलो हाफमै बराबरी गोल गरे । अतिरिक्त समयमा मोर्गन रोजर्सको प्रहार गोलकिपर ओर्यान न्यालान्डले रोक्न नसक्दा रिबाउन्डमा बेलिङ्घमले दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए । यसअघि अन्तिम १६ मा मेक्सिकोविरुद्ध दुई गोल गरेका बेलिङ्घमले नर्वेविरुद्ध पनि दुई गोल गरे । एउटै विश्वकपको लगातार दुई नकआउट खेलमा दुई वा बढी गोल गर्ने उनी सन् १९८६ मा डिएगो माराडोना पछि पहिलो खेलाडी बने । सन् २०१८ यता इंग्ल्यान्ड विश्वकप वा युरोपियन च्याम्पियनसिप गरी चार प्रमुख प्रतियोगिताको सेमिफाइनल पुगेको छ । त्यसअघि आफ्नो सम्पूर्ण इतिहासमा पनि इंग्ल्यान्डले यसरी नै चार पटक मात्र अन्तिम चारमा स्थान बनाएको थियो । अप्टा सुपरकम्प्युटरले इंग्ल्यान्डलाई विश्वकप जित्ने तेस्रो ठूलो दाबेदार मानेको छ । उपाधि जित्ने सम्भावना २१.९ प्रतिशत र सन् १९६६ पछि पहिलो पटक फाइनल पुग्ने सम्भावना ५०.९ प्रतिशत रहेको अनुमान छ । अर्जेन्टिना अझै पनि खतरनाक सेमिफाइनलमा इंग्ल्यान्डको सामना साविक विजेता अर्जेन्टिनासँग हुनेछ । यस विश्वकपमा पहिलो पटक लियोनेल मेसी गोल गर्न असफल भए । ३९ वर्षीय मेस्सीलाई गोल गर्न नदिने पहिलो टोली स्विट्जरल्यान्ड बन्यो । तर अर्जेन्टिनालाई त्यसले रोक्न सकेन । मेस्सीकै कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । दोस्रो हाफमा डान एनडोयेले बराबरी गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ग्राफिक्स : अप्टा एनालाइसिस ब्रिल एम्बोलोलाई भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि डाइभ गरेको ठहर गर्दै दोस्रो पहेँलो कार्डसहित रातो कार्ड दिइएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट शानदार गोल गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए । अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै जित सुनिश्चित गरे । यो अर्जेन्टिनाको विश्वकप इतिहासको १३औं अतिरिक्त समयसम्म पुगेको खेल थियो । तीमध्ये ११ खेलमा (पेनाल्टी सुटआउटसहित) अर्जेन्टिना विजयी भएको छ । यससँगै अर्जेन्टिना र इंग्ल्यान्डबीच सन् २००२ पछि पहिलो पटक विश्वकपमा भेट हुने भएको छ । यद्यपि साविक विजेता भए पनि अप्टा सुपरकम्प्युटरले अर्जेन्टिनालाई बाँकी चार टोलीमध्ये सबैभन्दा कम सम्भावना भएको टोली मानेको छ । उपाधि जित्ने सम्भावना २०.६ प्रतिशत छ । तर इंग्ल्यान्डविरुद्धको सेमिफाइनल भने लगभग बराबरीको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २५ हजार सिमुलेसनमध्ये ४९.१ प्रतिशतमा अर्जेन्टिना फाइनल पुगेको देखिएको छ । अन्य सामग्रीहरू : इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
सेयर बजारमा ७ अर्ब ४६ करोडको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३६८ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनएमबी डिभेन्चर ८.५० प्रतिशतको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै १० प्रतिशत एनआईसी एसियको ४६ करोड र एभरेष्ट बैंक डिभेन्चरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशतले बढेको छ ।