विकासन्युज

शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि ७ जनाको नाम सर्टलिस्ट, ८ गते अन्तर्वार्ता हुने

काठमाडौं । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्टार पदका लागि सात जनाको नाम सर्टलिस्ट गरिएको छ । विश्वविद्यालयको रजिष्टार छनोट तथा सिफारिस समितिको मंगलबार बसेको बैठकले आवेदनकर्तामध्ये ७ जनालाई अन्तिम चरणका लागि छनोट गरेको हो । सर्टलिस्टमा पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का खेमराज जोशी, बैतडीको पुर्चौडी नगरपालिका-१ का गोविन्दसिंह विष्ट, बझाङको छविसपाथिभरा गाउँपालिका-५ का डबलबहादुर धामी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१९ का डम्बरुप्रसाद पनेरु, धनगढी उपमहानगरपालिका-५ कैलालीका पदमराज जोशी, बैतडीको पाटन नगरपालिका-१ का भिमबहादुर चन्द तथा कैलालीको सहजपुर-७ बयालीका शिप्रसाद सापकोटा पनि सर्टलिस्टमा परेका छन् । सर्टलिस्टमा परेका सबै उम्मेदवारलाई पुस ८ गते मंगलबार बिहान ९ बजे शिक्षा मन्त्रालयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । आवश्यक कागजातसहित उपस्थित हुन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर गरिएको उक्त रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा पेशीका लागि परेको थियो । प्रारम्भिक सुनुवाइपछि अदालतले सरकार तथा सम्बन्धित पक्षसँग कारण देखाऊ आदेश जारी गरेको हो । रिट निवेदक घिमिरेले प्रतिनिधिसभा विघटन संविधानको मर्म र प्रावधानविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्रतिनिधिसभा विघटनले लोकतान्त्रिक प्रणाली र जनताको सार्वभौम अधिकारमाथि गम्भीर आघात पुर्‍याएको जिकिर गरेका छन् । कारण देखाऊ आदेश जारी भएसँगै अब सरकारलाई तोकिएको समयसीमाभित्र लिखित जवाफ पेश गर्नुपर्नेछ । त्यसपछि अदालतले विस्तृत सुनुवाइमार्फत रिटको अन्तिम टुंगो लगाउने प्रक्रिया अघि बढाउनेछ । उक्त रिटलाई प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका महत्त्वपूर्ण संवैधानिक मुद्दामध्ये एकका रूपमा हेरिएको छ ।

हामीले गरेका कामबाट अरूले पनि अनुसरण गर्न सक्छन् : चिरीबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा अघि सारेका विकास, सुशासन र सेवा प्रवाहसम्बन्धी कामहरू महानगरभित्र मात्रै नभएर अन्य स्थानीय तहको लागि पनि उदाहरणीय बन्दै गएको महानगरका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।  ललितपुर महानगरको १०७ औं स्थापना दिवसको अवसरमा मेयर महर्जनले महानगरले गरेको कामहरू उत्प्रेरक खालको भएको भन्दै त्यसबाट पालिकाले पनि सिक्न र अनुसरण गर्न सक्ने बताएका हुन् ।  ‘महानगरपालिकामा जे जति हामीले कामहरू गर्‍यौं, ती कामहरू उत्प्रेरक खालको छ, अरूले पनि अनुसरण गर्न मिल्ने किसिमले गर्दै आइरहेका छौं,’ प्रमुख महर्जनले भने । महानगरपालिकाले योजनाबद्ध विकास, पारदर्शिता, नागरिक सहभागिता र दिगोपनालाई प्राथमिकतामा राख्दै काम गरिरहेको महर्जनले बताए ।  त्यस्तै, उनले महानगरभित्र जनप्रतिनिधि, कर्मचारीबीच राम्रो मेलमिलाप रहेको र त्यसले नै हरेक कार्यक्रम सफललतापूर्वक गर्दै आइरहेको उल्लेख गरे । प्रमुख महर्जनले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको चुनावमा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।  उनले पछिल्लो समय जेनजीले चुनाव हुन दिन्न भनेर आवाज उठाउन थालेपछि त्यसो नगर्न र जसरी पनि चुनाव गराउनको लागि वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।  ‘ फागुन २१ गते चुनाव नगराउने भनेर जेनजीले नै स्वर परिवर्तन गरेको छ, त्यसो नगर्नुस्, जसरी पनि चुनाव गराउन सहयोग गर्नूस्,’ मेयर महर्जनले भने, जेनजीहरू भाइबहिनीहरू सानै छन्, अलिकति बुद्धि पलाएको छैन, बुद्धि पलाओस् ।’ महानगरले स्थापना दिवसको अवसरमा सबैभन्दा धेरै कर बुझाउने संस्था, व्यक्ति, उत्कृष्ट कर्मचारीलगायत विभिन्न क्षेत्रमा योगदान दिनेहरूलाई सम्मानसमेत गरेको छ। 

विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका राजकुमार तामाङ पार्टी उपाध्यक्षबाट निलम्बित

काठमाडौं । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धान प्रक्रियामा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागेसम्म तामाङलाई आजैको मितिबाट उपाध्यक्ष पदबाट निलम्बन गरिएको हो । विज्ञप्तिमा कानुनी प्रक्रियालाई सम्मान गर्दै निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न पार्टीले यस्तो निर्णय लिएको उल्लेख छ।  घटनासम्बन्धी अनुसन्धान जारी रहेको र त्यसको निष्कर्षपछि थप निर्णय लिइने पनि पार्टीले जनाएको छ ।

नबिल बैंकले गर्यो अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकर्ताहरुलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार सेयर बाँडफाँट गरिएको हो । नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको हो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने विशेषता भएको पुँजी बजार उपकरण हो । यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।  विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

चार लेनको मादी पुलमा ७४ प्रतिशत काम सकियो, दैनिक एक सय ३० कामदार खटाएर निर्माण गरिँदै

काठमाडौं । मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको मादी पुल निर्माणले तीव्रता पाएको छ । चार लेनको उक्त पुल निर्माणका लागि दैनिक करिब एक सय ३० जना कामदार परिचालन गरिएको छ । व्यास नगरपालिका-४ र ५ लाई जोड्ने मादी नदीमाथि निर्माणाधीन पुललाई यातायातसँगै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले कलात्मक आर्क डिजाइनमा तयार पारिँदै छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुल केवल आवागमनका लागि मात्र नभई पृथ्वी राजमार्गकै पहिचान बन्ने गरी डिजाइन गरिएको हो । तीन सय १५ मिटर लामो पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सम्झौताअनुसार समयमै काम सम्पन्न हुन नसकेपछि ११ महिना म्याद थप गरिएको र थपिएको समयभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाइएको इञ्जिनियर पाण्डेले जानकारी दिए । हाल पुलमा ढलान अघि आवश्यक फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत संरचनागत काम भइरहेको छ । उनका अनुसार एउटै बेसमा निर्माण भइरहेको चार लेनको यो पुल पृथ्वी राजमार्गकै पहिलो र सबैभन्दा लामो आर्क डिजाइनको पुल हो । गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्म समय थप गरिएको छ । ‘जेठदेखि भदौसम्मको वर्षायामका कारण काम केही समय रोकिएको थियो,’ इञ्जिनियर पाण्डेले भने, ‘दसैं लगत्तै निर्माणले पुनः गति लिएको छ ।’  पुलमा छ वटा स्पान रहनेछन् । निर्माण कम्पनीले पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी विसं २०७९ साउन २६ गते एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।  हाल प्रयोगमा रहेको दुई लेनको पुल ३७० मिटर लामो छ भने नयाँ चार लेनको पुल सोही पुलभन्दा करिब ५० मिटर दूरीमा निर्माण भइरहेको छ । मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।  यस खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक कालोपत्रे कार्य समेत पूरा भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।  

महानगरको छात्रवृत्तिबाट ३० हजार ७ सय ७९ विद्यार्थी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरले आफ्नो पालिका भित्रका विद्यालयमा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको जनाएको छ । महानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका हुन् । जसमा छात्रा छात्रवृत्तिमा ५ हजार ८ सय ९५, दलित छात्रवृत्तिमा १ हजार ३ सय २२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४ सय ५५ जनाले अवसर प्राप्त गरेका छन् ।  यस्तै, संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १० सम्म १९ हजार ३ सय ६ जना र कक्षा ११ र १२ मा ३ हजार ८ सय १ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका छन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरूको विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो ।  यस्तै, महानगरले कक्षा १ देखि १२ सम्मका ५६ हजार ३ सय १ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेको बताएको छ । ५८ हजार ७ सय ३९ जना विद्यार्थीले नियमित दिवा खाजा पाएका छन् भने स्यानिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६ सय ८९ जना छात्राले निःशुल्क स्यानिटरी प्याड प्राप्त गरेका छन् ।  महानगरले २०८१ मा शिक्षातर्फ ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।  यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार खर्च भएको छ ।  ‘गरी खाने शिक्षा महानगरको इच्छा’  कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपैयाँ अर्थात् ८.४ प्रतिशत खर्च भएको छ ।  शिक्षा क्षेत्रका स्वर्णीम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएको छ  । संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएकाले विभागले जनाएको छ । शुक्रबारे कार्यक्रम काठमाडौं महानगरले सुरु गरेको पुस्तक रहित शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भएको पाइएको छ भने शिक्षामा सीप कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा लिएका छन् । यस्तै, ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरिएको छ ।  सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरिएको छ  । महानगरपालिकाभित्रका आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा,  वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरू ७८४ वटा छन् ।  प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरेका छन् । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५ सय ५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरेका छन् ।  माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४ सय ५५ जना विद्यार्थीले अध्ययन गरेका छन् भने यस वर्ष सामुदायिक विद्यालयहरूमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरूमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरेका छन्  ।

एमाले महाधिवेशन : चार घण्टामा खस्यो ३५० मत

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतदान सुरु भएको ४ घण्टामा ३ सय ५० मत खसेको छ ।  निर्वाचन आयोगका सचिव अधिवक्ता डाक्टर कुन्साङ लामाका अनुसार ३ सय ५० मत खसिसकेको छ भने ८० जना मतदाताले अहिले मतदान गरिरहेका छन् ।  एमालेको ११ औं महाधिवेशनको मतदान बिहान ९ बजेर २१ मिनेटबाट सुरु भएको हो । एमालेका कुल २ हजार २६२ महाधिवेशन प्रतिनिधि रहेका छन् ।