विकासन्युज

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरूबापत २ हजार ४ सय शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।  यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीहरूले कुल ६०७ वटा चौका प्रहार गरेका थिए जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ ।  पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । त्यस्तै, २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुन्छ । यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरेको थियो । साथै पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट २ लाख नगद पुरस्कार प्राप्त गरेका थिए । गत वर्ष एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २,६१२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ। यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।  

एमाले ११औं महाधिवेशन : विद्युतीय मतदान राति ११ बजेसम्म लम्बिन सक्ने संकेत

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ ।  भृकुटीमण्डपस्थित मतदानस्थलमा विद्युतीय मतदान यन्त्रमार्फत मतदान बिहान ९ बजेर २१ मिनेटमा औपचारिक रूपमा सुरु भएको हो ।  निर्वाचन आयोगका अनुसार महाधिवेशनमा सहभागी २ हजार २६२ प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतदानको सुरुआतमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत खसालेका थिए । अध्यक्षका दुई उम्मेदवारलाई भोट हाल्न करिब ४० मिनेट लागेको आयोग स्रोतले जनाएको छ ।  अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र केन्द्रीय सदस्यसमेतका सबै पदमा मतदान गर्नुपर्ने भएकाले सम्पूर्ण मतदान प्रक्रियामा समय लाग्ने देखिएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार एक मतदाताले सबै पदमा मत खसाल्न औसत ३० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ ।  प्रति मतदाताको समयलाई आधार मान्दा ८० वटा मेसिनमा ३० मिनेटमा ८० जनाले मतदान गर्न सक्छन् । यसरी हेर्दा एक घण्टामा करिब १६० जना मतदाताले मतदान गर्न सक्ने अवस्था देखिन्छ । यस हिसाबले हेर्दा २ हजार २६२ मतदाताले मतदान सम्पन्न गर्न करिब १४ घण्टा भन्दा बढी समय लाग्ने देखिएको छ । मतदान आज बिहान ९ बजेर २१ मिनेटमा सुरु भएकाले कुनै प्राविधिक अवरोध, ब्रेक वा व्यवस्थापकीय समस्या नआए पनि राति करिब ११ बजेसम्म मतदान चल्न सक्ने सम्भावना देखिन्छ । मतदानस्थलमा प्रतिनिधिहरू लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन् । विद्युतीय मतदान प्रणाली नयाँ र बहुपदका लागि एकैपटक मतदान गर्नुपर्ने भएपनि स्क्रिनमा उमेदवारको तस्बिर देखिने भएकोले खासै मतदानमा समस्या नभएको मतदाताहरूले बताएका छन् ।  यद्यपि आयोगले आवश्यक प्राविधिक सहयोग, स्वयंसेवक र निर्देशनमार्फत मतदानलाई सहज बनाउने प्रयास भइरहेकोले पनि मतदान सहज भएको आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने आयोगको तयारी रहेको छ ।  

सुन फेरि उकालो, चाँदीले तोड्यो सबै रेकर्ड

काठमाडौं । नेपाली बजारमा उतारचढावबीच सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्दै २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज पुनः महँगिएको हो। हिजो भने सुनको मूल्य एकैदिन १७ सय रुपैयाँले घटेको थियो ।  चाँदीले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज चाँदीको भाउ प्रतितोला १७० रुपैयाँले उकालो लाग्दै ४ हजार ५५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।  अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर र लगानीकर्ताको बढ्दो चासोका कारण सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ । 

४५ वर्षपछि इतिहास पल्टियो : पाँच गुणा महँगो तेल पछाडि, चाँदीले बनायो कीर्तिमान

काठमाडौं । चाँदीको मूल्य हाल तीव्र रूपमा बढेको छ । हालै पहिलोपटक चाँदीको मूल्य प्रतिकिलो ३.२ लाख रुपैयाँ नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा यो करिब ६५ डलर प्रति औंस पुगेको छ ।  अर्कोतर्फ डब्ल्यूटीआई क्रूड ५५.९३ डलर प्रति ब्यारेल र ब्रेन्ट क्रूड ५९.७१ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । सन् १९८० पछि यो पहिलो पटक हो, जब चाँदीको मूल्य कच्चा तेलभन्दा माथि पुगेको छ । सन् २०२२ को मध्यतिर डब्ल्यूटीआई क्रूडको मूल्य चाँदीभन्दा करिब ५.५ गुणा बढी थियो । त्यसयता चाँदीको मूल्यमा २०६ प्रतिशतको उछाल आएको छ भने कच्चा तेलको मूल्यमा ४४ प्रतिशत गिरावट आएको छ ।  डब्ल्यूटीआई क्रूडका लागि यो वर्ष महामारीपछिको सबैभन्दा खराब वर्ष बन्ने देखिएको छ भने चाँदीका लागि सन् १९७९ पछिको सबैभन्दा राम्रो वर्ष हो । यस वर्ष मात्रै चाँदीको मूल्यमा ११५ प्रतिशत वृद्धि भएको छ । यसको मूल्याङ्कन माइक्रोसफ्टभन्दा पनि माथि पुगेको छ र यो विश्वको पाँचौं सबैभन्दा मूल्यवान् एसेट बनेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।  किन बढ्यो चाँदीको मूल्य ? अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी कारोबारसम्म चाँदीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका बेला जानकारहरूले यसको मुख्य कारण औद्योगिक मागको तीव्र वृद्धि रहेको बताएका छन् । ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको हो । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ । अर्कोतर्फ आपूर्तिमा भने दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु तथा चाँदी प्रायः अन्य धातुसँगै सह–उत्पादनका रूपमा निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । जसले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दै चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित एसेटका रूपमा हेर्न थालिएपछि यसको माग अझै बढेको देखिन्छ । यस्तै, अमेरिकी डलर कमजोर हुनु र भविष्यमा ब्याजदर घट्न सक्ने अनुमानले पनि चाँदीजस्ता कमोडिटीमा लगानी बढाएको छ । चाँदीमा आधारित ईटीएफ र फ्युचर बजारमा कारोबार बढ्नुले पनि मूल्यमा थप उछाल आएको छ । बजार विश्लेषकहरूका अनुसार लामो समयसम्म सुनको तुलनामा सस्तो मानिएको चाँदीमा अहिले यसको रिरेटिङ भइरहेको छ। औद्योगिक माग, सीमित आपूर्ति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण चाँदीको मूल्य केही समयसम्म उच्च स्तरमै रहन सक्ने अनुमान गरिएको छ ।

टनकपुरबाट पानी ल्याउन भारतसँग निरन्तर पहल भइरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी पठाउन भारतसँग निरन्तर पहल भइरहेको बताएका छन्। राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले दुई देशबीचका संयन्त्र र द्विपक्षीय भेटघाटमार्फत भारतीय पक्षलाई नेपालतर्फ जलप्रवाह गर्न आग्रह गरिँदै आएको जानकारी दिए। मन्त्री घिसिङको निजी सचिवालयका अनुसार यो विषयमा कूटनीतिक र प्राविधिक दुवै तहमा संवाद भइरहेको छ। उनले कञ्चनपुरका सुक्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित नेपालतर्फ मुख्य नहर, शाखा र प्रशाखा नहर निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै भारतीय पक्षबाट पानी छोड्ने निर्णय छिट्टै आउने विश्वास व्यक्त गरे। नेपाल-भारतबीच सम्पन्न एकीकृत महाकाली सन्धिअनुसार नेपालले हिउँदयाममा तीन सय क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउने व्यवस्था छ। सन्धिबमोजिम पानी उपयोग गरी सिँचाइ सुविधा विस्तार गर्न आवश्यक भौतिक संरचना तयार भइसकेका छन्। तर करिब नौ अर्ब रुपैयाँ लगानी भइसक्दा पनि पानी सञ्चालन हुन नसक्दा अपेक्षित प्रतिफल नआएको भन्दै स्थानीयस्तरमा आलोचना हुँदै आएको छ। आयोजनाका अनुसार लामो समयदेखि पानी नआएकाले निर्मित संरचनासमेत जीर्ण हुन थालेका छन्। महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार र भूमिगत सिँचाइबाट ५ हजार गरी कुल ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ। आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ। 

नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस १ गते बसेको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १८ करोड ९७ लाख ५४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ९९ लाख ८७ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् १९ करोड ९७ लाख ४१ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर यादवले जानकारी दिए । 

शिखर इन्स्योरेन्सको ६.३१ लाभांश घोषणा, साढे १८ करोड रुपैयाँ सेयरधनीलाई बाँड्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले ६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँको ६ प्रतिशतका दरले १७ करोड ५३ लाख ८५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशतका दरले ९२ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ६.३१ प्रतिशत अर्थात् १८ करोड ४६ लाख १७ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव सुरज राजबाहकले बताए ।  

बागमतीमा ५ महिनामा ४.४७ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं । बागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत  खर्च भएको छ । चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट पारित भएको थियो ।  विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन् । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ ।