ज्यान बाजी राखेर उद्धारमा खटिने सुरक्षाकर्मीलाई सरकारले खाजा खर्च र भत्ता बढाउने
काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबारको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो । सरकारले विपद्को समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो । विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको हो । प्राधिकरणको कार्यकारी समितिको बैठकको यो निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहरुले तालुकदार मन्त्रालयमा लेखिपठाउनु पर्ने छ र सम्बन्धित मन्त्रालयहरुले यसबारे निर्णय गर्नेछन् ।
शवको कानबाट सुनको मुन्द्रा थुत्ने दुई जना पक्राउ
काठमाडौं । बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुट्ने दुई जना पक्राउ परेका छन् । बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका– १ घर भई हाल भरतपुर महानगरपालिका– १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका– ५ चाँदबेला घर भई भरतपुर– २ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् । दुवै जनालाई सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको चितवनका एसपी पौडेलले बताए । दुई जनाले रसुवाबाट बगाएर ल्याएको शवको सुन निकालेका थिए ।
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।
रसुवा बाढीपीडितका लागि ललितपुर महानगरपालिकाले १ करोड दिने
काठमाडौं । ललितपुर महानगरपालिकाले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरपालिकाले भदौ १० गते रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । महानगरपालिकाले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरपालिकाको तर्फबाट १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । महानगरपालिकाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन आफू तत्पर रहेको जनाएको छ । विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । विपद्सम्बन्धी समन्वय तथा सहयोगका लागि महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख लव कार्कीलाई ९८६०२०५१२० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
भोटेकोशीमा ताल बन्यो, फुट्ने जोखिम हुँदा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा ताल बनेको छ । फुटेको नदी थुनिएर ताल बनेको फुट्ने जोखिम देखिएपछि उच्च सतर्कता अपनाउन चीनले नेपाललाई आग्रह गरेको छ । चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर ताल बनेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएपछि ताल बनेको र उक्त तालको आकार बढ्दै गएको सूचनामा उल्लेख गरिएको छ। यस अवस्थालाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायको सूचना पालना गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
ग्लोबल आइएमई क्यापिटलद्वारा बाढीपीडितको उद्धार तथा राहतका लागि १० लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति क्यापिटलले दुःख व्यक्त गरेको छ । बाढी तथा पहिरोमा परी ज्यान गुमाउने नागरिकप्रति क्यापिटलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्मा परेका नागरिकको खोज तथा उद्धार, घाइतेहरूको उपचार, प्रभावित परिवारलाई तत्काल खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको क्यापिटलले जनाएको छ । क्यापिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
गोदावरी नगरपालिकाले बाढी पीडितलाई ५० लाख आर्थिक सहयोग गर्ने
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले हालै रसुवा र नुवाकोट जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको बिहीबार आयोजित कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायता स्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । विपदमा परेका जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकपछि जानकारी दिँदै भने, ‘रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । यस्तो संवेदनशील र दुःखद समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो ।’ प्रमुख महर्जनका अनुसार घोषित ५० लाख रुपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिनेछ । पछिल्लो समय परेको अविरल वर्षाका कारण रसुवा र नुवाकोटका धेरै बस्तीहरू जोखिममा पर्नुका साथै ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । गोदावरी नगरपालिकाले अन्य स्थानीय तह तथा संघसंस्थालाई पनि यस विपद्को समयमा आफ्नो तर्फबाट सहयोगको हात बढाउन अपिल गरेको छ ।
सानिमा बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले कायम चुक्ता पुँजीबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश करसहित रहेको बैंकले जनाएको छ । यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि समानुपातिक रूपमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकका अनुसार साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ भने अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित लाभांशमध्ये अग्राधिकार सेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा र साधारण सेयरधनीका लागि १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा वितरण गरिनेछ । प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी साधारणसभाबाट प्रस्ताव पारित गराई सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ । हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।