विकासन्युज

एमाले महाधिवेशनः मतदान सुरु, ओली र पोखरेलले खसाले मत

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको पटकपटक सरेको मतदान सुरु भएको छ । प्राविधिक समस्या व्यवस्थापन गरि मतदान सुरु गरिएको निर्वाचन आयोगलाई उद्धृत गर्दै मतदान स्थलमा रहेका नेता कर्ण थापाले जानकारी दिए । उनले भने केही प्राविधिक समस्याले ढिलो भएको मतदान सुचारु भएको जानकारी दिए ।  अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु भएको हो । एमालेको निर्वाचन मङ्गलबार बिहानदेखि अहिलेसम्म ७ पटक स्थगन भएको थियो । मङ्गलबार बिहान ९ बजेका लगि तय भएको मतदान ११ बजेसम्मका लागि सारिएको थियो । बिहान ११ बजे १ बजेसम्म मतदान स्थगित गरियो । मध्यान्ह १ बजे भनिएको मतदान ४ बजेसम्मका लागि भनेर रोकियो । ४ बजेपछि ७ बजे र ८ बजेका लागि तोकियो । साँझ ८ बजे मतदाता लाइन बसेपछि स्थगन गरिएको मतदान आज ९ बजेर २१ मिनेटमा सुरु भएको हो ।

चीनले ईयूको सुँगुरको मासुमा ५ वर्षका लागि एन्टी डम्पिङ ड्युटी लगाउने

काठमाडौं । चीनले युरोपेली सङ्घ (इयू) को सुँगुरको मासुको आयातमा ५ वर्षका लागि ‘एन्टि-डम्पिङ’ शुल्क लगाउने घोषणा गरेको छ । सेप्टेम्बरदेखि कायम गरिएको अस्थायी शुल्कभन्दा यो शुल्क कम दरमा हुने बेइजिङले मङ्गलबार जनाएको छ।  केही युरोपेली मुलुकहरूको दृष्टिकोणमा यी दुई आर्थिक महाशक्ति इयू र चीन बेङजिङसँगको असन्तुलित आर्थिक सम्बन्धका कारण व्यापार विवादमा फसेका छन् । वाणिज्य मन्त्रालयले मङ्गलबार एक विज्ञप्तिमा भनेको छ, ‘गत वर्ष चीनले सुरु गरेको अनुसन्धानले युरोपेली सुङ्गुरको मासु (पोर्क) थुप्रिएको र यसको परिणामस्वरूप घरेलु उद्योगले ठूलो क्षति बेहोरेको छ।’   ‘एन्टि-डम्पिङ’ शुल्क यसपहिलेको ४.९ प्रतिशतबाट बढाएर १९.८ प्रतिशतसम्म हुनेछ भने अस्थायी कर ६२.४ प्रतिशतबाट  घटेर १५.६ प्रतिशतमा पुर्याइएको छ । यो डिसेम्बर १७ देखि लागू हुनेछ । वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अहिले घरेलु उद्योगले कठिनाइको सामना गरिरहेको छ र सुरक्षाका लागि कडा माग भइरहेको छ ।’  युरोपको सुँगुरको मासुको आयातका लागि प्रमुख राष्ट्र स्पेनका कृषि मन्त्री लुइस प्लानासले भने, ‘स्पेनका निर्यातकर्ताहरूले घोषणा गरिएको समग्र औसत १९ प्रतिशतभन्दा कम औसत ९.८ प्रतिशतको कर तिर्नुपरेको छ।’ मन्त्री प्लानासले म्याड्रिडमा पत्रकारहरुसँग भने, ‘यी उपायहरु स्पेनका लागि स्वीकार्य छन् र नतिजालाई न्यूनीकरण गरिएको छ ।’  विश्वको प्रमुख सुँगुरको उपभोक्ता चीनले गत वर्ष स्पेनबाट मात्रै ४.३ अर्ब युआन (६० करोड अमेरिकी डलर) सुँगुरको मासुजन्य पदार्थ आयात गरेको चीनको आधिकारिक भन्सार तथ्याङ्कले देखाएको छ ।   फ्रान्सको उद्योग सङ्घ (इनापोर्क) का अनुसार फ्रान्सले २०२४ मा १ लाख १५ हजार टन सुँगुरको मासु चीनमा निर्यात गरेको थियो । अब फ्रान्सको प्रमुख पोर्क उत्पादक ग्रुप बिगार्डसँग ९.८ प्रतिशत शुल्क लिइनेछ र डेनिस क्राउनलाई १८.६ प्रतिशत शुल्क लगाइनेछ। हालको व्यापार विवाद गत गृष्मकालमा इयूले बेइजिङको कर्जा सहुलियतले युरोपेली प्रतिस्पर्धीहरूलाई अनुचित रूपमा प्रभावित गरिरहेको तर्क गर्दै चिनियाँ विद्युतीय सवारी साधनहरूमा भारी कर लगाउने दिशामा अघि बढेपछि सुरु भएको थियो । बेइजिङले इयूको उक्त दाबीलाई अस्वीकार गर्दै आयातित युरोपेली सुँगुरको मासु, ब्रान्डी र दुग्धजन्य पदार्थको प्रतिशोधात्मक अनुसन्धानको घोषणा गरेको हो ।   स्पेनी मासु उद्योग सङ्घ (एनिस) का महानिर्देशक जुसेप्पे अलोइसियोले एएफपीसँग भने, ‘यो कदम ‘अनुचित’ हो र यसले ‘उदाहरणीय उद्योगलाई बिनाकारण दण्डित गर्छ ।’ एलोसियोले भने, ‘हाम्रो क्षेत्र व्यापार विवादमा सौदाबाजीको साधनको रूपमा प्रयोग गरिएको छ । यो अस्वीकार्य छ । विद्युतीय सवारी साधनको हामीसँग कुनै सम्बन्ध छैन ।’  युरोपेली उत्पादकहरूले सेप्टेम्बरमा सुँगुरको मासुमा अस्थायी कर लगाएकोमा आलोचना गरेका थिए र व्यपक भण्डारण भएको आरोपलाई अस्वीकार गरे ।  उनले भने, ‘चिनियाँ उपभोक्ताहरूले युरोपेलीहरूको तुलनामा सुँगुरको कान (ट्रटर) का लागि बढी तिर्छन् जुन उत्पादनहरू युरोपमा प्रायः बेवास्ता गरिन्छ ।’  इयूले सन् २०२४ मा आफ्नो प्रमुख व्यापारिक साझेदार चीनसँग ३५० अर्ब डलरभन्दा बढीको व्यापार घाटा भोगेको थियो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै महिना व्यापार असन्तुलनलाई सम्बोधन नगरिएमा युरोपले चीनविरुद्ध करसहितका कडा कदम चाल्ने बताए ।  व्यापार विवादकासाथै चीन र इयू युक्रेनमा रूसको सन् २०२२ मा सुरू भएको आक्रमणमा विरोध नजनाएकोजस्ता मुद्दाहरूमा मतभेद छन्। युरोपेली सङ्घले युद्ध अन्त्यका लागि मस्कोमाथि दबाब दिन चीनलाई आग्रह गरेको छ तर बेइजिङले त्यसलाई खासै महत्त्वका साथ लिएकोजस्तो देखिँदैन । 

एमाले महाधिवेशनः नेतृत्व चयनका लागि मतदाता लाइन लागे

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । भृकुटीमण्डपस्थित मतदानस्थलमा सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिने अन्तिम परीक्षण, उम्मेदवारहरूको नाम तथा पदअनुसार विवरण प्रविष्ट गर्ने काम सम्पन्न भएको छ । बिहान ठ्याक्कै ८ बजे मतदान खुला गरिने आयेगले दाबी गरेको छ। यसअघि प्राविधिक कारणले मतदान प्रक्रिया केही ढिलाइ भएको थियो । मतदानका लागि देशभरबाट आएका २ हजार २ सय प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थल वरिपरि उपस्थित हुन थालेका छन् । मतदान सुरु नहुँदै प्रतिनिधिहरू लाइनमा बसेका छन् भने सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ । महाधिवेशनस्थलमा कुनै अव्यवस्था नहोस् भन्नका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ ।   महाधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू चयन गरिँदैछ । यसपटक प्यानलगत प्रतिस्पर्धा भएकाले निर्वाचनलाई चासोका साथ हेरिएको छ । मतदान सम्पन्न गर्न १० घण्टा लाग्ने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार ८० इभिएमबाट मतदान गरिने छ । एकजनाले आफ्नो मताधिकार सम्पन्न गर्न २० देखि ३० मिनेट लाग्नेछ । मतदान सम्पन  भएपछि मतगणना सुरु गरिने र परिणाम ३ घण्टामा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । एमालेको आन्तरिक नेतृत्व चयनसँगै यसको परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । त्यसैले महाधिवेशनको आजको मतदान प्रक्रियालाई पार्टीभित्र मात्र होइन, बाहिर पनि चासोपूर्वक हेरिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु, प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो । प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ मसान्तभित्रमा प्रस्ताव पेस गरि सक्नुपर्नेछ । ‘प्रदेश र स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव पेस गर्नुपर्नेछ,’ आयोगले प्रस्ताव माग गर्दै भनेको छ ।’  प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्राथमिकीकरण सहितको सिफारिस तथा प्रदेश सरकारको सिफारिस र स्थानीय तहको हकमा कार्यपालिकाबाट सिफारिस चाहिने आयोगले जनाएको छ । समपूरक र विशेष अनुदानका लागि आयोगको विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत मात्रै प्रस्ताव पेस गर्न सकिने पनि आयोगले जनाएको छ । त्यस्तै, प्रस्ताव पेस गर्दा समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ को प्रावधानभित्र रही पेस गर्न समेत आयोगले आग्रह गरेको छ । कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिनका लागि आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन, स्पेसिफिकेसन सहितको विस्तृत विवरणको लागत अनुमान पेस गर्नुपर्ने हुन्छ । त्यस्तै, वातावरणीय अध्ययन प्रतिवेदनलगायत कागजात चाहिन्छन् । अनुदान माग गर्न स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषदले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

बुटवल औद्योगिक प्रदर्शनी: २० करोडको कारोबार र ८ लाख दर्शक भित्र्याउने लक्ष्य

काठमाडौं । १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ नाराका साथ आयोजना हुन लागेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरू प्रदर्शनीका लागि राखिने सङ्घले जनाएको छ ।  बुटवलस्थित रामनगरमा हालै निर्माण भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुनेछन् । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।  ‘स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ । हामीले आयोजना गर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिइएको छ,’ अध्यक्ष पराजुलीले भने ।  देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वर्द्धन र विकासमा यो महोत्सवले टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन् । प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

झण्डा प्रयोगमा नयाँ व्यवस्था, राजनीतिक दलले १० वटा मात्रै प्रयोग गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो । आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई ३/४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख गरेको छ । प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ । यसैगरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन । चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ । अनलाइन, वेवपेज, टीभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउण्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवार बारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन । तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेवपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा पर्ने छैन । दलको झण्डाको वा दल एवं उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन पाइनेछैन । कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चार पाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका कुनै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने गरी आचारसंहिताको प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, बिक्रीदर १४५.९५ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८७ पैसा र बिक्रीदर २२ रुपैयाँ ९६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ०९  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

ढुवानीका लागि मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने

काठमाडौं । अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रुपमा नकारात्मक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न भनिएको छ । मन्त्रालयले संविधान र प्रचलित कानुनको व्यवस्था विपरीत स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्र सम्बन्धित स्थानीय तहको माग हुँदै मालवस्तुको ढुवानीमा कुनै प्रकारको कर तथा शुल्क असुली गर्न नमिल्ने स्मरण गराएको छ । ‘नेपालको संविधान, प्रचलित कानुन विपरीत कुनै पनि कर,दस्तुर र शुल्क नलगाउने र नलाग्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’ भनी निर्णय भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सो निर्णय गत मङ्सिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णय भएकाले आवश्यक कारबाहीका लागि सम्बद्ध सबैलाई पत्राचार गरिएको जनाएको छ । केही स्थानीय तहले अर्को स्थानीय तहबाट आएको कृषि उपजमा कर, शुल्क तथा शुल्क उठाएको भन्ने जानकारीमा आएपछि अर्थ मन्त्रालयले त्यस्तो निर्णय गरेको हो ।