बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । उनका अनुसार कालीगण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । निरन्तर वर्षाका कारण कालीगण्डकी र सेतीखोलामा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् भने नियमित पूजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकीको उच्च बहावका कारण शिला परिक्रमास्थलसमेत पूर्णरूपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताए। उनले शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा नरहेको जानकारी दिए । पवित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबानमा परेका छन्। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सीमामा पर्ने सेतीवेणी बजार डुबानको जोखिममा पर्ने गरेको छ । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीवेणी बजार डुबानमा पर्ने चिन्ताले पर्वततर्फको बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बन्ने गरेका छन् । दुई वर्षअघि साउनमा आएको बाढी बजारसम्म पुग्दा एक घर भत्किएका थियो भने आधा दर्जन घर विस्थापित भएका थिए । कालीगण्डकी नदीको बहाव परिवर्तन नगरेसम्म जोखिम कायम रहने गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए। उनका अनुसार गुल्मीतर्फबाट बहाव लगेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने माग रहेको छ । शालिग्राम शिला अवस्थित स्थान नजिक रहेका स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आवश्यक समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षण गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए । जिल्ला प्रहरी कार्यालय पर्वतले लगातारको वर्षासँगै सेतीवेणी क्षेत्रलगायत विभिन्न खोला तथा नदीमा बाढीपहिरोको जोखिम रहेकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिम जुनसुकै बेला आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको प्रहरी निरीक्षक राजन पटेलले बताए।
लोकल गोलभेँडा प्रतिकिलो ८ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५०, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५ र भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ६०, मकै बोडी प्रतिकिलो रु८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकिलो रु १००, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रूखकटहर प्रतिकिलो रु ५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।
कान्ति लोकपथ अस्थायी रूपमा बन्द
काठमाडौं । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार आज बिहान ५ः०० बजेदेखि असार भोलि बिहान ६ः०० बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। कान्ति लोकपथको अधिकांश सडक खण्ड अत्यन्त जोखिमयुक्त रहेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालयले विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ। कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ललितपुरको निःशुल्क नम्बर १२३४, सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा स्थानीय प्रशासनमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
पिनाक सहकारीको ३५ दिने अल्टिमेटम, बचत नलिए संस्था जिम्मेवार नहुने
काठमाडौं । पिनाक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्य तथा बचतकर्तालाई बचत रकम फिर्ता लिन आग्रह गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचना अनुसार संस्थासँग कारोबार गरिरहेका सबै सेयर सदस्य तथा बचतकर्तालाई आवश्यक प्रमाणसहित संस्थामा उपस्थित भई आफ्नो बचत रकम फिर्ता लिन अनुरोध गरिएको हो । संस्थाका अध्यक्ष तुल्सीराम न्यौपानेद्वारा जारी सूचनामा ३५ दिनभित्र सम्पर्कमा नआए त्यसपछि उत्पन्न हुने दायित्वप्रति संस्था जिम्मेवार नहुने जनाएको छ । बचतकर्तालाई तोकिएको अवधिभित्र त्रिपुरेश्वरस्थित संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
आत्मदाह प्रयास गरेका मण्डलको मृत्यु
काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार सर्लाहीबाट ल्याउँदा ८५(९० प्रतिशत शरीर जलन भएको थियो । शरीर जलेर गहिरो घाउ भएको थियो । मण्डलले पेट्रोल छर्केर आफैंलाई आगो लगाएका थिए । शुक्रबार मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
सरकारी ठेक्काबाट बाहिरिए ५ निर्माण कम्पनी, ३ वर्षसम्म प्रतिबन्ध
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा पाँच निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २९ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम कालोसूचीमा राखिएको जनाएको हो । कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । सडक डिभिजन विराटनगरको सिफारिसमा गढी गाउँपालिका-३, सुनसरीस्थित सरोज कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, सडक डिभिजन पोखराको सिफारिसमा ललितपुरको सानेपास्थित शान्ति/आरोग्य जेभी (आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, इच्छाकामना गाउँपालिकाको सिफारिसमा भक्तपुरको मध्यपुर थिमिस्थित क्रेटर कन्स्ट्रक्सन प्रालि र सडक डिभिजन सुर्खेतको सिफारिसमा कलंकि काठमाडौंस्थित कृष्टल एण्ड श्रषण निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, सडक विभागअन्तर्गत मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास (गुल्मी) को सिफारिसमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा)प्रालि लाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीको अवधि समाप्त नहुँदासम्म कुनै पनि सरकारी खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन् ।
२ महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन, ३३ लाख निकासा
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि हालसम्म भएका काम र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो । मन्त्रालयका अनुसार प्रतिवेदन औपचारिक रूपमा बुझाइए पनि परीक्षण उत्पादनको तयारी भने यसअघि नै सुरु भइसकेको छ । अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयले उद्योगका मेसिन मर्मत र अन्य प्राविधिक तयारी अघि बढाइसकेको छ । सरकारले दिएको निर्देशनानुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने म्याद पाएको छ । सोही म्यादलाई ध्यानमा राखेर हाल तीव्र रूपमा काम अगाडि बढिरहेको प्रतिवेदनमा उल्लेख छ । उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ, जसले गर्दा प्रारम्भिक कामहरू गर्न सहज भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोलीले उद्योग स्थलमा खटिएर सरसफाइ कार्य तीव्र पारेको छ । टोलीले परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको र सेनाको उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिन मर्मतको काम प्रारम्भ गरेको छ । उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट ५० लाख रुपैयाँको लागत अनुमान पेस भएको छ । सोही अनुमानका आधारमा पूर्वाधार मन्त्रालयले संरचनाहरू मर्मत गर्ने जिम्मेवारी लिएको छ । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हाल हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ र हालसम्म बिजुली मर्मतको कामसमेत सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख छ । तत्कालका लागि परीक्षण उत्पादनकै उद्देश्यले पुराना मेसिनहरूलाई मर्मत गरेरै सञ्चालन गरिनेछ । परीक्षण उत्पादनको नतिजा र आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । सोही अनुरूप आवश्यक कानुनी तथा अन्य नीतिगत निर्णयहरू गर्दै सरकार अगाडि बढ्ने प्रतिवेदनमा औंल्याइएको छ । उद्योगमन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले कार्यदलका सुझाव कार्यान्वयन गर्दै तोकिएको समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
२१.२० खर्ब रेमिट्यान्स, ३७.५५ खर्ब विदेशी मुद्रा सञ्चिति, महँगी र व्यापार घाटा चुनौती
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, चालु खाता र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ । यद्यपि, आयात निर्यातभन्दा तीव्र गतिमा बढ्दा व्यापार घाटा विस्तार भएको छ भने जेठ महिनामा वार्षिक मुद्रास्फीति ५.२२ प्रतिशत पुगेर महँगीको दबाब पनि बढेको देखिएको छ । मूल्यवृद्धि ५.२२ प्रतिशत, फलफूल र यातायातमा उच्च वृद्धि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैर-खाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत थियो । यद्यपि, चालु आर्थिक वर्षको पहिलो ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिको ४.२४ प्रतिशत भन्दा कम हो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्य सबैभन्दा धेरै १७.४० प्रतिशत बढेको छ । त्यसपछि घ्यू तथा तेल १५.१० प्रतिशत, माछा तथा मासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशत महँगिएको छ भने दाल तथा गेडागुडीको मूल्य ०.९३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा १६.६८ प्रतिशत, यातायात १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५३ प्रतिशत महँगिएको छ । क्षेत्रगत रूपमा सहरी क्षेत्रमा मुद्रास्फीति ५.३८ प्रतिशत र ग्रामीण क्षेत्रमा ४.७८ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ । यस्तै, मधेश प्रदेशको ५.६२ प्रतिशत, बागमती प्रदेशको ४.७९ प्रतिशत, गण्डकी प्रदेशको ५.०५ प्रतिशत, लुम्बिनी प्रदेशको ५.६२ प्रतिशत, कर्णाली प्रदेशको ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ । त्यस्तै, भौगोलिक क्षेत्रअनुसार तराईमा मुद्रास्फीति ५.७४ प्रतिशत, पहाडमा ५.०७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत र हिमाली क्षेत्रमा ३.७१ प्रतिशत रहेको छ । २१.२० खर्ब रेमिट्यान्स भित्रियो, जेठमा मात्रै २ खर्ब बढी चालु आवको ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनामा यो रकम १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा डलरमा विप्रेषण २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो वृद्धि १२.८ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो । ११ महिनामा व्यापार घाटा १६ खर्ब नाघ्यो चालु आवको जेठसम्म नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा निर्यात ७७.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.२ प्रतिशतले बढेको छ । तर चीनतर्फको निर्यात ३५.८ प्रतिशतले घटेको छ । वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, चाउचाउ र ब्रानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामानको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ । साथै, समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा आयात १३.१ प्रतिशतले बढेको थियो । मुलुकगत आधारमा भारतबाट आयात ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पाट्र्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट, लसुन, एमएस तार, छड, बार, क्वाइल र एमएस बिलेटको आयात घटेको छ । आयात उच्च दरले बढेसँगै कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि हुँदै १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत मा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५.१ प्रतिशत थियो । बाह्य क्षेत्र थप मजबुत समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरू उल्लेख्य रूपमा सुधारिएका छन् । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ बचतमा थियो । अमेरिकी डलरमा पनि चालु खाताको स्थिति थप बलियो बनेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ३७ करोड अमेरिकी डलर बचतमा रहेको चालु खाता यस वर्ष ५ अर्ब ५३ करोड अमेरिकी डलर बचतमा पुगेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ९६ करोड रुपैयाँ भन्दा उल्लेख्य बढी हो । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई-इक्विटी मात्र) २२ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ बचतमा पुगेको छ । गत वर्ष सोही अवधिमा शोधनान्तर बचत ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर बचत ६ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो ३ अर्ब ६२ करोड अमेरिकी डलर बचतमा रहेको थियो । विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा राष्ट्र बैंकका अनुसार चालु आवको जेठसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि हुँदै ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । जबकि २०८२ असारमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड डलरबाट २६.५ प्रतिशतले बढेर २४ अर्ब ६८ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन गत असारको तुलनामा ३७.९ प्रतिशतले बढी हो । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ६१.८ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो । जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी मुद्रा सञ्चिति २२.५ महिनाको वस्तु आयात तथा १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । त्यस्तै, जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको अनुपात ६१.५ प्रतिशत, कुल आयातसँगको अनुपात १५९.५ प्रतिशत तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।