२१.२० खर्ब रेमिट्यान्स, ३७.५५ खर्ब विदेशी मुद्रा सञ्चिति, महँगी र व्यापार घाटा चुनौती

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, चालु खाता र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ । यद्यपि, आयात निर्यातभन्दा तीव्र गतिमा बढ्दा व्यापार घाटा विस्तार भएको छ भने जेठ महिनामा वार्षिक मुद्रास्फीति ५.२२ प्रतिशत पुगेर महँगीको दबाब पनि बढेको देखिएको छ ।

मूल्यवृद्धि ५.२२ प्रतिशत, फलफूल र यातायातमा उच्च वृद्धि

चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैर-खाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत थियो ।

यद्यपि, चालु आर्थिक वर्षको पहिलो ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिको ४.२४ प्रतिशत भन्दा कम हो । 

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्य सबैभन्दा धेरै १७.४० प्रतिशत बढेको छ । त्यसपछि घ्यू तथा तेल १५.१० प्रतिशत, माछा तथा मासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशत महँगिएको छ भने दाल तथा गेडागुडीको मूल्य ०.९३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा १६.६८ प्रतिशत, यातायात १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५३ प्रतिशत महँगिएको छ ।

क्षेत्रगत रूपमा सहरी क्षेत्रमा मुद्रास्फीति ५.३८ प्रतिशत र ग्रामीण क्षेत्रमा ४.७८ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ । यस्तै, मधेश प्रदेशको ५.६२ प्रतिशत, बागमती प्रदेशको ४.७९ प्रतिशत, गण्डकी प्रदेशको ५.०५ प्रतिशत, लुम्बिनी प्रदेशको ५.६२ प्रतिशत, कर्णाली प्रदेशको ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ ।

त्यस्तै, भौगोलिक क्षेत्रअनुसार तराईमा मुद्रास्फीति ५.७४ प्रतिशत, पहाडमा ५.०७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत र हिमाली क्षेत्रमा ३.७१ प्रतिशत रहेको छ । 

२१.२० खर्ब रेमिट्यान्स भित्रियो, जेठमा मात्रै २ खर्ब बढी

चालु आवको ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनामा यो रकम १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा डलरमा विप्रेषण २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो वृद्धि १२.८ प्रतिशत रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो ।

११ महिनामा व्यापार घाटा १६ खर्ब नाघ्यो 

चालु आवको जेठसम्म नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा निर्यात ७७.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.२ प्रतिशतले बढेको छ । तर चीनतर्फको निर्यात ३५.८ प्रतिशतले घटेको छ ।

वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, चाउचाउ र ब्रानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामानको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा आयात १३.१ प्रतिशतले बढेको थियो । मुलुकगत आधारमा भारतबाट आयात ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पाट्र्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट, लसुन, एमएस तार, छड, बार, क्वाइल र एमएस बिलेटको आयात घटेको छ ।

आयात उच्च दरले बढेसँगै कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि हुँदै १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत मा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५.१ प्रतिशत थियो ।

बाह्य क्षेत्र थप मजबुत 

समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरू उल्लेख्य रूपमा सुधारिएका छन् । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ बचतमा थियो ।

अमेरिकी डलरमा पनि चालु खाताको स्थिति थप बलियो बनेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ३७ करोड अमेरिकी डलर बचतमा रहेको चालु खाता यस वर्ष ५ अर्ब ५३ करोड अमेरिकी डलर बचतमा पुगेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ९६ करोड रुपैयाँ भन्दा उल्लेख्य बढी हो । 

त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई-इक्विटी मात्र) २२ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ बचतमा पुगेको छ । गत वर्ष सोही अवधिमा शोधनान्तर बचत ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर बचत ६ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो ३ अर्ब ६२ करोड अमेरिकी डलर बचतमा रहेको थियो । 

विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा

राष्ट्र बैंकका अनुसार चालु आवको जेठसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि हुँदै ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । जबकि २०८२ असारमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड डलरबाट २६.५ प्रतिशतले बढेर २४ अर्ब ६८ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन गत असारको तुलनामा ३७.९ प्रतिशतले बढी हो । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ६१.८ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो । जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी मुद्रा सञ्चिति २२.५ महिनाको वस्तु आयात तथा १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । त्यस्तै, जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको अनुपात ६१.५ प्रतिशत, कुल आयातसँगको अनुपात १५९.५ प्रतिशत तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Share News