नेपालको पर्यटन क्षेत्रले हरेक वर्ष कुनै न कुनै प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा अकस्मात् आएको बाढीले पनि पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ । पर्यटकीय सिजन सुरु हुनै लागेका बेला आएको यस विपत्तिका कारण पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ । बाढीका कारण पर्यटकीय पूर्वाधारमा क्षति पुग्नुका साथै पर्यटकको आवागमन र बुकिङमा समेत प्रत्यक्ष असर परेको छ । यसै विषयमा केन्द्रित रहेर स्वा टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक जिस्वान तुलाधरसँग विकासन्युजकर्मी बबिता तामाङले गरेको कुराकानीको संक्षिप्त अंश ।
बाढीपछि पर्यटक आगमन र बुकिङमा कति असर परेको छ ?
अहिले रसुवामा आएको बाढी होस् वा नेपालमा घट्ने जुनसुकै घटनाले सबैभन्दा धेरै असर गर्ने क्षेत्र भनेको पर्यटन नै हो । बाढीपहिरोलगायत विपद् आउँदा नेपालको आन्तरिक तथा बाह्य पर्यटन दुवैमा असर पर्छ । अहिलेको अवस्थामा वास्तविकता एउटा छ, तर अर्कोतिर सञ्चारमाध्यममा आएका विभिन्न समाचार हेरेर पर्यटकहरूले असुरक्षित महसुस गर्न थाल्नुभएको छ । जसले गर्दा अहिले बुकिङहरू पोस्टपोन हुने क्रममा छन् । बुकिङ गरिसकेका टिकट रद्द नै गर्नेभन्दा पनि केही समय पछाडि सार्ने पर्यटकहरू धेरै हुनुहुन्छ ।
नेपाल आइसक्नुभएका पर्यटकहरू भने अहिले पनि टुर गरिरहनुभएको छ । तर तुलनात्मक रूपमा यसपटक बाढीले पहिलेभन्दा ठूलो क्षति पुर्याएकाले पर्यटन क्षेत्रमा समस्या परेकै छ । विशेषगरी अहिले कैलाश जाने हाम्रो पिक सिजन हो । कम्तीमा तीन/चार रात बस्ने गरी कैलाश जाने ठूलो संख्यामा पर्यटकहरू हुनुहुन्थ्यो । अहिले त्यसमा शतप्रतिशत नै असर परेको छ । यो सालमात्रै होइन, आउने वर्षहरूमा पनि यसले प्रभाव पार्ने छ । किनभने ठूलो संख्यामा कैलाश जाने पर्यटकहरू हुनुहुन्थ्यो ।
नेपाल भ्रमणमा आउने कति प्रतिशत जति पर्यटक आगमन प्रभावित भएको अनुमान गर्नुभएको छ ?
धामिक पर्यटकका रुपमा ठूलो स्केलमा कैलाश जाने पर्यटकहरू आउनुहुन्थ्यो । नेपाल आएर कैलाश जाने बेस्ट अप्सन नै थियो । विशेषगरी कैलाश जाने मूख्य पर्यटकहरुमा गैरआवासीय नेपाली, भारतीय पर्यटकरु र अन्तर्राष्ट्रिय पर्यटकहरू पर्दछन् । यो धार्मिक भ्रमण रद्द हुँदा नेपाल आउने लगभग ३० प्रतिशत पर्यटक आगमन प्रभावित भएको छ ।
अहिलेको मुख्य सिजनमै यस्तो घटना भयो । अब अर्को वर्षका लागि पनि पर्यटकहरूले असुरक्षित महसुस गर्ने अवस्था हुन सक्छ । अन्य नियमित टुरमा पनि असर परेको छ । ट्रेकिङ सिजन पनि भर्खर सुरु भएकाले नियमित ट्रेकिङ क्षेत्रहरू प्रभावित भएका छन् ।
अहिले ट्रेकिङ सिजन भएकाले अब अन्य ट्रेकिङ क्षेत्रमा पनि असर परेको छ । मैले धेरै साथीहरूसँग कुरा गर्दा ५० प्रतिशतभन्दा बढी एडभेन्चर र रिलिजियस टुरिजममा असर परेको जानकारी आएको छ । विशेषगरी मनाङ, मुस्ताङलगायत क्षेत्रमा एडभेन्चर र रिलिजियस टुरिजममा ठूलो प्रभाव परेको छ ।
अहिलेको यो परिस्थितिमा पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सकारात्मक सन्देश दिनु कति आवश्यक छ ?
अहिलेको घटनाले अन्तर्राष्ट्रिय बजारमा ‘सिंगो नेपाल नै असुरक्षित’ रहेको नकारात्मक सन्देश प्रवाह भइरहेको छ । तर अहिलेको बाढीबाट मुख्य रूपमा रसुवा, नुवाकोट र धादिङ गरी सीमित क्षेत्र बढी प्रभावित भएका छन् । ती क्षेत्रबाहेक अन्य ठाउँमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने काम हाम्रो तर्फबाट भइरहेको छ ।
सरकारले पनि आफ्नो ठाउँबाट अपिल गरिरहेको छ । सकारात्मक सन्देश जाने गरी सरकारले पहल सुरु गरिसकेको छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै विमानस्थल सञ्चालनमा छन् । नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने मुख्य भूमिका सरकार र नेपाल पर्यटन बोर्डकै हो । यसमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण रहन्छ ।
यो परिस्थितिमा पर्यटकलाई नेपाल सुरक्षित छ भन्नु मात्रै पर्याप्त छ ? अहिले हाम्रो मुख्य भूमिका के हुन्छ ?
पैसा कमाउने हेतुले मात्रै होइन, देशलाई उठाउन आर्थिक रूपमा पनि हामीलाई पर्यटकको समर्थन आवश्यक छ । तर त्यसका लागि पर्यटकलाई जबरजस्ती नेपाल आउन आग्रह गर्ने कुरा आउँदैन । सरकारले यसका लागि स्पष्ट नीति ल्याउनुपर्छ ।
अहिले पर्यटकलाई खालि ‘आउनूस्, आउनूस्’ भनेर मात्रै हुँदैन । जोखिमको अवस्था नबुझी पर्यटकलाई बोलाएर फेरि प्रभावित गराउन सक्छौं । त्यसैले सरकारले ठोस योजना बनाउनुपर्छ । आपत्कालीन अवस्थामा ल्यान्डिङ, उद्धार, सुरक्षा तथा अन्य आवश्यक सेवाहरू उपलब्ध छन् भनेर सुनिश्चित गर्नुपर्छ । त्यसको विश्वसनीय सन्देश दिन सक्नुपर्छ ।
मुखले मात्रै ‘नेपाल आउनूस्’ भनेर हुँदैन जस्तो लाग्छ । पर्यटक नेपाल आएर यहाँ बसेका बेला कुनै घटना भयो र ‘यस्तो भयो’ भनेर सुन्नुपर्ने अवस्था आउनु हुँदैन । त्यो पैसा कमाउनेभन्दा पनि ठूलो कुरा हो । पर्यटनबाट आर्थिक गतिविधि र मोबिलिटी बढाउनुपर्छ, तर पर्यटकलाई सुरक्षा सुनिश्चित गरेर मात्रै ल्याउनुपर्छ ।
पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन कति समय लाग्ला ?
अब पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन धेरै समय लाग्छ । नेपाल पर्यटन बोर्ड र सम्बन्धित संघसंस्थाले सरकारसँग समन्वय गरेर पर्यटकलाई सुरक्षाको ठोस सुनिश्चितता नदिएसम्म पर्यटक ल्याउनु पनि बेकार हुन्छ । आफ्नै इच्छाले पर्यटक आउनु फरक कुरा हो, तर अहिले पर्यटकलाई बोलाउनकै लागि मार्केटिङ गर्नु उपयुक्त हुँदैन ।
यो सानोतिनो विपत्ति होइन । फेरि पनि यस्ता विपत्ति आउन सक्छन् भन्ने समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गइरहेका छन् । त्यसैले आवश्यक अनुसन्धान गरेर वास्तविक र ग्राउन्ड बेस्ड डेटा तयार गर्नुपर्छ । त्यसका आधारमा मात्रै पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाएर मार्केटिङ गर्नुपर्छ ।