एमाले महाधिवेशनको निर्वाचनमा उम्मेदवारबाटै उठ्यो ३३ लाख
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उम्मेदवारी फारम र दर्ताबाट मात्रै ३३ लाख रुपैयाँ उठेको छ । एमालेको निर्वाचन आयोगका अनुसार १ हजार ४ सय फारम बिक्रीबाट प्रति फारम १ सय रुपैयाँका दरले १ लाख ४० हजार रुपैयाँ उठेको छ । यस्तै, उम्मेदवारी दर्ताबाट ३१ लाख ६५ हजार रुपैयाँ स‌ंकलन भएको छ । आयोगका अनुसार कुल ६०३ उम्मेदवारी दर्ता भएका थिए । आयोगले अध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा प्रति उम्मेदवारी १५ हजार रुपैयाँ स‌ंकलन गरेको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षका दुई उम्मेदवारबाट ३० हजार रुपैयाँ संकलन भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार अध्यक्षबाहेक अरू सबै पदाधिकारीका लागि १० हजार रुपैयाँ तोकिएको थियो । छ जना उपाध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एघार जना उपाध्यक्षका उम्मेदवारबाट एक लाख १० हजार रुपैयाँ संकलन भएको निर्वाचन आयोगले जनाएको छ । दुई महासचिवले २० हजार रुपैयाँ निर्वाचन आयोगमा संकलन गरेको आयोगले जानकारी दिएको छ । उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपमहासचिवहरूले उम्मेदवारी दर्ता गर्दा प्रति उम्मेदवार १० हजारका दरले ७० हजार रुपैयाँ उठेको आयोगले जनाएको छ । एमालेको सचिवमा ९ जना आवश्यक पर्ने भएपनि २० जनाको उम्मेदवारी परेको छ । उपमहासचिवका २० उम्मेदवारबाट निर्वाचन आयोगले २ लाख रुपैयाँ प्राप्त गरेको बताएको छ । यस्तै, सदस्य पदका लागि प्रति उम्मेदवारी ५ हजार रुपैयाँ निर्वाचन दर्ता दस्तुर तोकिएको थियो । सदस्यमा ५६१ उम्मेदवारी परेको थियो । सदस्य पदका उम्मेदवारको उम्मेदवारी दर्ताबाट २८ लाख ५ हजार रुपैयाँ उठेको आयोगका एक सदस्यले जानकारी दिए ।
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने
काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ । बैठकले यही पुस १२ देखि १४ गतेसम्म काठमाडौंमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपछी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ । यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने तथा छ जना उपरथी र सातजना महासेनानीको सरूवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।
सिद्धार्थ प्रिमियरले गर्यो २ अर्ब ६८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (श्रावणदेखि मंसिरसम्म) कुल २ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका हुलदङ्गा, तोडफोड र आगजनीबाट राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्र १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यो रकम जेनजी आन्दोलनका कारण हालसम्म सबै बीमा कम्पनीबाट फर्छ्यौट भएका कुल दाबीमध्ये करिब ४० प्रतिशत बराबर रहेको जनाइएको छ । कम्पनीले यस अवधिमा जेनजी आन्दोलन बाहेक अन्य भइपरी आएका बीमित जोखिमसम्बन्धी दाबीबापत पनि ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी–पहिरोबाट सिर्जित दाबीहरूमा समेत सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनीको रूपमा अग्रणी भूमिका खेलेको जनाएको छ । राष्ट्रभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिअन्तर्गत आफूसँग बीमित सम्पत्तिको क्षतिपूर्ति छिटोछरितो रूपमा फर्छ्यौट गरी बीमितहरूको संरक्षण गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । साथै, भुक्तानी हुन बाँकी दावीकर्ताहरूलाई आवश्यक कागजात शीघ्र पेश गरी दाबी फर्छ्यौट प्रक्रियामा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । लाउञ्ज उद्घाटन गर्दै डेपुटी सीईओ बजगाईंले भने, 'ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहजरुपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन् ।' नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ । नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।
आरविवि मर्चेन्ट बैंकिङद्वारा लिङ्कन कलेजमा वित्तीय शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्दै लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डको पहलमा विश्व लगानीकर्ता सप्ताह-२०२५ देशभर मनाइँदैछ । मंसिर २५ देखि पुस २ गतेसम्म सञ्चालन हुने यस सप्ताहअन्तर्गत विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरिँदै आएका छन् । यसै क्रममा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले पुस १ गते लिङ्कन कलेज, शामाखुसी, काठमाडौंमा स्नातक तहमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरूका लागि वित्तीय शिक्षा अभिवृद्धि सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा कलेजका प्राध्यापकसहित विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र वरिष्ठ अधिकृत राम नारायण तिवारीले सहजीकरण गरेका थिए । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अजय घिमिरे र राम नारायण तिवारीले दिएका थिए । विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित उक्त कार्यक्रमले पूँजीबजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने तथा सहभागीहरूले सेयर लगानीसम्बन्धी आधारभूत ज्ञान हासिल गरी लाभान्वित भएको विश्वास लिइएको छ ।
उच्च कर तिर्ने १६ करदातालाई नेपाल उद्योग परिसंघको सम्मान
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । सरकारद्वारा उच्च करदाता घोषित १६ जना संस्था तथा व्यक्तिलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट उत्कृष्ट कर योगदान गर्ने करदाताहरूलाई सम्मान गरेको थियो । सोही सम्मानित करदाताहरूलाई परिसंघले पनि कदरस्वरूप सम्मान प्रदान गरेको जनाएको छ। वस्तु निर्याततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि तथा ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालिलाई परिसंघले सम्मान गरेको छ। यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधि सेवा निर्याततर्फ भेरिस्क नेपाल प्रालि, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, बैंक, वित्तीय संस्था तथा बीमातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएका छन्। रेमिटेन्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड, निकायमध्ये नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्मतर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा ५० करोड रुपैयाँसम्म कारोबारतर्फ भीएफ सर्भिसेज (मोरिसस) प्रालि पनि सम्मानित भएका छन्। विसं २०७६ श्रावणदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण दाखिला गरी सबैभन्दा बढी भ्याट तिरेकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातातर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् । मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मान प्रदान गर्दै सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत तथा संस्थागत उपलब्धिमात्र नभई राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए। उच्च करदाताको योगदानको कदर गर्दै परिसंघले सम्मान गरेको उनले उल्लेख गरे । कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा। घनश्याम ओझालगायतको उपस्थिति थियो ।
विद्युतीय मतपत्रमा प्राविधिक गडबडी हुँदा एमाले महाधिवेशनको मतदान ढिला हुने
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान प्रक्रियामा ढिलाइ भएको छ । निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिने भएकाले उम्मेदवारहरूको नाम, पद र प्यानलसम्बन्धी विवरण मेसिनमा प्रविष्ट गर्ने काम अपेक्षाभन्दा ढिलो भइरहेकोले मतदानमा ढिलाइ भएको हो । महाधिवेशनमा विभिन्न पदका लागि ठूलो संख्यामा उम्मेदवारी परेकाले नाम प्रविष्टि, परीक्षण र प्रणाली मिलानमा समय लागेको आयोगले जनाएको छ । प्रविष्टि कार्यमा त्रुटि नआओस् भनेर एक एक विवरण सावधानीपूर्वक जाँच गरिएकोले प्रक्रिया लम्बिएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । निर्वाचन आयोगका एक सदस्यका अनुसार प्राविधिक तयारी, प्रणाली परीक्षण तथा अन्तिम स्वीकृतिका सबै चरण पूरा गर्न अझै करिब ५ घण्टाभन्दा धेरै लाग्न सक्छ । तयारी पूरा भएपछि मतदानस्थलमा रहेका प्रतिनिधिलाई जानकारी गराई मतदान सुरु गरिने ती सदस्यले जानकारी गराए । मतदानमा ढिलाइ हुँदा प्रतिनिधिहरू मतदानस्थलमै प्रतीक्षारत रहेका छन् । ई–भोटिङले महाधिवेशनको समग्र कार्यतालिका पनि प्रभावित भएको ती सदस्यले जानकारी दिए । उनका अनुसार रातिमात्रै प्राविधिक काम सकिने देखिएकोले मतदान ढिलै हुने सम्भावना रहेको छ ।
६०० अर्ब डलर नेटवर्थ नाघ्ने पहिलो व्यक्ति बने मस्क
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले नयाँ इतिहास रचेका छन् । उनी नेटवर्थ ६०० अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) नाघ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । पछिल्लो २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ । मस्कको नेटवर्थमा आएको यो तीव्र वृद्धि उनको रकेट निर्माण गर्ने कम्पनी स्पेसएक्सको बढ्दो मूल्यका कारण भएको हो । यही कारणले उनको नेटवर्थ विश्वका अन्य सबै अर्बपतिहरूभन्दा धेरै अघि निस्किएको छ । ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ झण्डै ६३८ अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) पुगेको छ । यति ठूलो नेटवर्थसँगै उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा ३७३ अर्ब डलरभन्दा पनि धेरै अघि छन् । मस्कको यस प्रगतिले धनी व्यक्तिहरूको सूचीको शीर्ष स्थानमा रहेको अन्तर झनै बढाएको छ । यस सूचीमा अधिकांश व्यक्ति प्रविधि क्षेत्रमा संलग्न छन्— जस्तै ठूला सफ्टवेयर कम्पनीका मालिक, विलासी सामान उत्पादन गर्ने ठूला समूहका मालिक तथा लामो समयदेखि लगानी गर्दै आएका व्यक्तिहरू । एलन मस्कको मुख्य आम्दानी उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स, एक्स, एक्सएआई आदिबाट आउँछ । उनको कुल सम्पत्तिको ठूलो हिस्सा टेस्ला र स्पेसएक्सबाट प्राप्त हुन्छ । उनी टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत सेयरका मालिक छन् । हालै स्पेसएक्सको मूल्यमा भएको वृद्धि नै उनको सम्पत्ति बढ्नुको सबैभन्दा ठूलो कारण हो । मस्क टेस्लाबाट परम्परागत तलब लिँदैनन् । उनको पारिश्रमिक कम्पनीका सेयरमा आधारित छ । उनले टेस्लाका सेयर बेचेर नगद निकाल्नुको सट्टा ती सेयरलाई ऋणका लागि धितो राखेका छन्, जसले गर्दा उनी आफ्नो हिस्सेदारी कायम राख्न सफल भएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारत मात्र होइन, एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् । त्यस्तै, अडानी समूहका अध्यक्ष गौतम अडानी दोस्रो स्थानमा छन्। एलन मस्कको सन् २०२५ को आम्दानी अम्बानी र अडानीको कुल नेटवर्थभन्दा पनि बढी छ । अम्बानीको नेटवर्थ १०६ अर्ब डलर र अडानीको नेटवर्थ करिब ८५ अर्ब डलर छ । यसरी दुवैको कुल नेटवर्थ १९१ अर्ब डलर हुन्छ । तर मस्कले यो वर्ष मात्रै २०५ अर्ब डलर कमाएका छन् । पछिल्ला २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ ।