विकासन्युज

धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने परियार टोखाबाट पक्राउ

काठमाडौं । 'मठ- मन्दिर आगो लगाइदिन्छौ’ भन्ने तथा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका एक व्यक्ति पक्राउ परेका छन् ।  सामाजिक सञ्जालमा देखिएको भिडियोमा 'मठ मन्दिर आगो लाइदिन्छौ' जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने २७ वर्षीय जनक परियार पक्राउ परेका हुन् । रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ का काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय परियारलाई नियन्त्रणमा लिएर थप ४ दिनकाे म्याद थप गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

हिमालयन बैंक र यूनियनपेको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सुरु

काठमाडौं । हिमालयन बैंक लिमिटेड र यूनियनपे इन्टरनेसनलबीचको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सञ्चालनमा आएको छ । बैंकका अनुसार चीन भ्रमण गर्ने नेपाली ग्राहकहरुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो, जसले गर्दा चीनमा हुने कारोबारलाई अझ सहज र सुलभ बनाउने अपेक्षा गरिएको छ । उक्त कार्ड प्रयोग गरी ग्राहकहरुले चीनमा एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत हुने भुक्तानी सीधै चिनियाँ मुद्रा (सीएनवाई) मा गर्न सक्नेछन् । यसले अन्य भुक्तानी माध्यमको तुलनामा बढी मितव्ययी र सर्वस्वीकार्य हुने बैंकले जनाएको छ । विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले स्वीकृत गरेको सीमाभित्रको रकम कार्डमा लोड गरी युनियनपे नेटवर्कअन्तर्गत रहेका अलीपे प्लस, वीच्याट पे, निहाओ चाइना जस्ता क्यूआर प्रणालीमार्फत सहज भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा यूनियनपे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइ ले संयुक्त रूपमा उक्त कार्ड सेवाको शुभारम्भ गरेका थिए । बैंकले यस सेवाले चीन भ्रमण गर्ने नेपालीहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा सहजता ल्याउनुका साथै डिजिटल कारोबार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

फेसबुक र टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्नू : साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक वा टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्न सचेत गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा मोनिटाइजेसन सस्तो र ग्यारेन्टीसहितको विज्ञापन गर्ने बढेकाले ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको हो । ह्याकिङ् गर्नेले फेसबुकलाई भेरिफेकिसन तथा सपोर्ट गर्ने बहानामा फिसिङ लिङ्क पठाइ ओटीपी तथा पासवर्ड माग्ने क्रम बढेको हो । ह्याकरहरूले ओटीपी पाउँनसाथ सामाजिक सञ्जालको च्यानल र पेज कब्जामा लिने गरेको ब्यूरोले जनाएको छ । उनीहरूले आर्थिक तथा व्यक्तिगत क्षतिसमेत गर्ने गरेको ब्यूरोले उल्लेख गरेको छ । ब्यूरोले मोनिटाइजेसनको सम्पूर्ण गतिविधि आधिकारीक प्लेटफार्ममार्फत गर्न अनुरोध गरेको छ । मेटा बिज्नेस र युट्युब स्टुडियोबाट मात्र काम गर्नुपर्ने ब्यूरोले बताएको छ । ब्यूरोले कुनै पनि आधिकारिक कम्पनीले सामाजिक सञ्जालको अकाउन्टको पासवर्ड, रिकभरी कोड वा ओंटीपी म्यासेजमार्फत नमाग्ने जनाएको छ ।  अपरिचित व्यक्ति वा विज्ञापनको प्रलोभनमा परेर कतै पनि आफ्नो गोप्य विवरण वा ओटीपी सेयर नगर्न ब्यूरोले प्रस्ट पारेको छ ।  अनलाईन ठगीमा परेको र यस्तो गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालयमा वा साइबर ब्यूरोमा सम्पर्क गर्न ब्यूरोले आग्रह गरेको छ ।   

साझा यातायात ७ करोड घाटामा, सञ्चालन आम्दानी घट्दा नेटवर्थमा पनि ह्रास

काठमाडौं । सरकारको ९२.१८ प्रतिशत वैधानिक लगानी रहेको साझा यातायात चालु आर्थिक वर्षमा ठूलो घाटामा गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार साझा यातायातले आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ७ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा साझाको वित्तीय अवस्थामा गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा साझाले ८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । तर, मुख्य व्यवसाय (बिक्री आम्दानी) मा आएको भारी संकुचनका कारण संस्था यसपटक घाटामा गएको प्रतिवेदनमा उल्लेख छ ।  गत आर्थिक वर्षमा साझाको सञ्चालन आम्दानी ४१ करोड ५ लाख रुपैयाँ मात्र सीमित भएको छ । यो अघिल्लो आवको तुलनामा २४.७४ प्रतिशतले कम हो । आव २०८०/८१ मा संस्थाले ५४ करोड ७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आम्दानी घटिरहँदा साझाको कर्मचारीसहितको प्रशासनिक खर्च भने १३.१३ प्रतिशतले बढेको छ । आव २०८१/८२ मा यसको प्रशासनिक खर्च ३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनी घाटामा गएसँगै यसको नेटवर्थ (खुद सम्पत्ति) मा समेत ह्रास आएको छ । आव २०८०/८१ मा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको साझाको नेटवर्थ आव २०८१/८२ मा घटेर ४ अर्ब २५ करोड रुपैयाँमा झरेको छ । हाल साझा यातायातको कुल चुक्ता पूँजी ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी योग्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुन योग्य भएका छन् ।  महानगरले २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको जनाएको छ ।  शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले विद्यार्थीहरूले जुन प्रणालीबाट आवेदन दिएका थिए, त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने जानकारी दिए ।  प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नु पर्ने दायित्व उल्लेख छन् ।  खड्का भन्छन्, ‘प्रवेश पत्र रंगीन प्रिन्ट भएको हुनु पर्नेछ ।’ उनका अनुसार छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरूले परीक्षा दिन नपाउन् भन्नका लागि प्रवेशपत्र रंगीन प्रिन्ट गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो ।  यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि मिति जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ ।  परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा लग इन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसईईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्ममिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ ।  प्रवेशपत्रलाई अनिवार्य रूपमा रंगिन प्रिन्ट गर्नुपर्ने महानगरले जनाएको छ । महानगरका अनुसार ब्ल्याक एण्ड हाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेश पत्रलाई मान्यता दिइने छैन ।  परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात ९एसईई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र० अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ ।  प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षा सम्वन्धी नियम तथा आचारसंहिताहरू परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लंघन भएमा परीक्षा रद्द गरिनुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।  परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ ।  कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ ।  परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ्‍ लिष्टबाट नाम शिफारिस हुन्छ । नाम सिफारिस गरिएका विद्यार्थीहरूले कक्षा ११/१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने

मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ ।  बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे ।       अस्पताल भवन निर्माणका निम्ति ६ करोड ६७ लाख ९६ हजार ९३३ रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए । भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ ।  भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ । रासस

सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

काठमाडौ‌ । सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ । बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका सबै होटल र रिसाोर्ट अब सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र रहेर सञ्चालन हुने जानकारी दिए । चौधरीका अनुसार सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ । साथै आगामी दिनमा सञ्चालन हुने होटल तथा रिसोर्टलाई पनि यहीँ छाताभित्र रहने उनले बताए। कम्पनीका अनुसार पुलचोकस्थित क्राउन प्लाजा विसं २०८३ भित्रै सञ्चालनमा आउनेछ । होटलको व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी)ले गर्ने छ । सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि आईएचजी सिजी होल्डरमार्फत नेपाल आउन लागेको हो ।  उक्त होटलमा १७५ कोठा हुनेछन् भने रुफटपसहित विभिन्न रेष्टुरेन्टको पनि सुविधा उपलब्ध हुनेछ । होटलमा ६ वटा हल हुनेछन् भने सबैभन्दा ठूलो हल पाँच हजार वर्ग फिटको हुनेछ । विसं २०७६ वैशाखमा शिलायन्यास गरिएको यो होटल यस वर्षदेखि सञ्चालनमा आउन लागेको हो । होटलको चौथो तलादेखि रुमहरु सुरु हुनेछन् भने होटलबाट काठमाडौँ उपत्यकाको फराकिलो दृश्य अवलोकन गर्न सकिनेछ । क्राउन प्लाजा होटल आधुनिक विलासितको झल्को दिने गरी निर्माण गरिएको छ । होटलको सबैभन्दा आकर्षण रुफटप प्लाजा हो । होटलको १२ औँ तलामा रहने रुफटपबाट काठमाडौँ उपत्यकाको ३६० डिग्री भ्यु हेर्न सकिनेछ ।  सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गतको अर्को रिसोर्ट हो, नगरकोटको भंगेरी दरबार रिसोर्ट। आठ वर्षअघि निर्माण सुरु भइ गत वैशाखदेखि सञ्चालनमा आएको लक्जरी रिसोर्ट भंगेरी दरबारको झल्को दिने गरी निर्माण गरिएको छ । चन्द्र शमशेरले नगरकोटमा निर्माण गरेको भंगेरी दरबारको नामबाट रिसोर्ट निर्माण गरिएको हो । होटलमा ५१ वटा कोठा छन् । पर्यटकलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले अत्याधुनिक सुविधा उपलब्ध गराइएको छ । रिसोर्टबाट सगरमाथालगायतका हिमाल र सूर्योदय अवलोकन गर्न सकिन्छ । साथै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका पहाडी बस्ती अवलोकन गर्न पाउनुका साथै धुलिखेल, चिसापानी, चाँगुनारायणलगायतका स्थानमा पदयात्रामार्फत पुग्न सकिन्छ ।  कम्पनीले सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारीलाई पनि समेटेको छ । अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी लेमन ट्रिको व्यवस्थापनमा सञ्चालन भइरहेको यो वाइल्ड लाइफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ । छ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट जंगल थिममा ३२ वटा प्राइभेट भिल्ला निर्माण गरिएको छ ।  रिसोर्टमा वाइल्ड लाइफ गतिविधि पनि सञ्चालनमा छन् । कम्पनीका अनुसार जिप सफारी  क्यानोइङ, जंगल वाक, भिलेज वाक, थारु सांस्कृतिक नृत्यलगायतका गतिविधि सञ्चालनमा छन् । कर्पोरेट इभेन्ट र डेस्टिनेसन वेडिङका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्यका रुपमा विकास भइरहेको छ । रिसोर्टका भिल्लाबाटै जंगली जनावरका गतिविधि पनि अवलोकन गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ललितपुरको पुलचोकमा सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु द प्लाजा पनि सिजी होटेल्स एण्ड रिसोर्टको छाता भित्र सञ्चालनमा ल्याइएको छ । द प्लाजामा कूल १२ हजार वर्गफिटको ठूलो हलमा थिएटर सेटअपमा एकैसाथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ । यहाँ तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । द प्लाजामा मागअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअललगायतको सुविधा ब्यवस्था हुनेछ । यसैगरी काठमाडौँको बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट सञ्चालनमा छ । काठमाडौँ उपत्यकाको नजिक वेलनेसलाई प्राथमिकता दिएर सञ्चालनमा आएको यो रिसोर्टले पनि जंगलभित्रै आवासको अनुभूति दिन्छ।  

नेपाल आयल निगमले कमायो साढे १३ अर्ब बढी नाफा

काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । मन्त्रालयको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा निगमको कुल सञ्चालन आय ३ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च १ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन भएको छ । यसैगरी गत आवमा निगमको सञ्चालन संचित नाफा १६ अर्ब ८६ करोड रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ । गत फेब्रुअरी २८ देखि मध्यपूर्वमा सुरु भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएसँगै निगमले लगातार मूल्य बढाउँदै आएको छ । एकातिर उपभोक्ता मारमा परिरहेका बेला अर्कोतिर निगमको नाफा भने अर्बौं रुपैयाँ देखिएको छ । सञ्चित नाफाबाहेक निगमसँग २० अर्ब रुपैयाँभन्दा बढी रकम मूल्य स्थिरीकरण कोषमा जम्मा भएर बसेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सोही अनुपातमा मूल्य वृद्धि नगर्नका लागि उक्त कोषको करिब आधा रकम प्रयोग गरिएको दाबी निगमले गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारको घाटा थेग्न भन्दै निरन्तर मूल्य बढाइरहेको आयल निगम चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा पनि सञ्चित नाफाकै अवस्थामा रहने प्रक्षेपण गरिएको छ ।  उपभोक्ता तहमा महँगीको मार परे पनि निगमको वित्तीय स्वास्थ्य भने मजबुत देखिएको अर्थ मन्त्रालयको समीक्षाले देखाउँछ ।