विकासन्युज

६०० अर्ब डलर नेटवर्थ नाघ्ने पहिलो व्यक्ति बने मस्क

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले नयाँ इतिहास रचेका छन् । उनी नेटवर्थ ६०० अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) नाघ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।  पछिल्लो २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ । मस्कको नेटवर्थमा आएको यो तीव्र वृद्धि उनको रकेट निर्माण गर्ने कम्पनी स्पेसएक्सको बढ्दो मूल्यका कारण भएको हो । यही कारणले उनको नेटवर्थ विश्वका अन्य सबै अर्बपतिहरूभन्दा धेरै अघि निस्किएको छ ।  ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ झण्डै ६३८ अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) पुगेको छ । यति ठूलो नेटवर्थसँगै उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा ३७३ अर्ब डलरभन्दा पनि धेरै अघि छन् ।  मस्कको यस प्रगतिले धनी व्यक्तिहरूको सूचीको शीर्ष स्थानमा रहेको अन्तर झनै बढाएको छ । यस सूचीमा अधिकांश व्यक्ति प्रविधि क्षेत्रमा संलग्न छन्— जस्तै ठूला सफ्टवेयर कम्पनीका मालिक, विलासी सामान उत्पादन गर्ने ठूला समूहका मालिक तथा लामो समयदेखि लगानी गर्दै आएका व्यक्तिहरू । एलन मस्कको मुख्य आम्दानी उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स, एक्स, एक्सएआई आदिबाट आउँछ । उनको कुल सम्पत्तिको ठूलो हिस्सा टेस्ला र स्पेसएक्सबाट प्राप्त हुन्छ । उनी टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत सेयरका मालिक छन् ।  हालै स्पेसएक्सको मूल्यमा भएको वृद्धि नै उनको सम्पत्ति बढ्नुको सबैभन्दा ठूलो कारण हो । मस्क टेस्लाबाट परम्परागत तलब लिँदैनन् । उनको पारिश्रमिक कम्पनीका सेयरमा आधारित छ । उनले टेस्लाका सेयर बेचेर नगद निकाल्नुको सट्टा ती सेयरलाई ऋणका लागि धितो राखेका छन्, जसले गर्दा उनी आफ्नो हिस्सेदारी कायम राख्न सफल भएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारत मात्र होइन, एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् । त्यस्तै, अडानी समूहका अध्यक्ष गौतम अडानी दोस्रो स्थानमा छन्।  एलन मस्कको सन् २०२५ को आम्दानी अम्बानी र अडानीको कुल नेटवर्थभन्दा पनि बढी छ । अम्बानीको नेटवर्थ १०६ अर्ब डलर र अडानीको नेटवर्थ करिब ८५ अर्ब डलर छ । यसरी दुवैको कुल नेटवर्थ १९१ अर्ब डलर हुन्छ । तर मस्कले यो वर्ष मात्रै २०५ अर्ब डलर कमाएका छन् । पछिल्ला २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ ।

१८७ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले बढेर २६१९ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२५ कम्पनीको ७८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै लुम्बिनी विकास बैंकको १० करोड, हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख, सीइडीबी होल्डिङको ९ करोड र राधी विद्युत कम्पनीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्तको १० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशत र एसवाई प्यानलको ९.९८ प्रतिशले सेयर मूल्य बढेका छन् । मंगलबारको कारोबरमा व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार ०.०१ प्रतिशतले घटेको छ । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०. ८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशतले बढेका छन् ।

प्रदीपलाई पन्छ्याएर पन्तलाई ठाँउ

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओली प्यानलमा रघुजी पन्त समेटिएका छन् ।  महासचिवको दाबी गरेका नेता प्रदीप ज्ञवालीले ओलीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी नदिएपछि पन्तलाई समेटिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका पन्तलाई मतदानभन्दा केही समय पहिले ओली प्यानलमा समेटिएको हो ।  पन्त ०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनमा सामाजिक जनवादको कार्यक्रम ल्याएर आफ्नै कार्यक्रमलाई मत नदिने नेतासमेत हुन् ।

कृषि विकास बैंकले कुल कर्जाको ५० प्रतिशत कृषिमा लगानी गर्ने

काठमाडौं । कृषि विकास बैंकले कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्ने रणनीति अघि सारेको छ । बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रवाह गरिने कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि कर्जामा लगानी गर्ने रणनीति लिएको अध्यक्ष डिमप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार आधुनिक कृषि प्रविधिमा आधारित कृषिजन्य व्यवसायमा उत्पादन तथा व्यावसायिक कर्जा लगानीलाई प्राथमिकता दिइएको छ । उत्पादनमूलक, प्राथमिकता प्राप्त क्षेत्र तथा कृषिसँग सम्बन्धित ठूला र व्यावसायिक परियोजनाहरूमा कर्जा लगानी वृद्धि गरिएको उनले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा आकर्षित गर्न कर्जा विस्तार गरिएको अध्यक्ष पौडेलको भनाइ छ । व्यावसायिक तथा परियोजनामूलक कर्जामा लगानी बढाउँदै उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणका लागि फरवार्ड तथा ब्याकवार्ड लिंकेज कायम हुने गरी कृषि मूल्य शृंखलामा कर्जा प्रवाह गरिएको छ । यसैगरी वन तथा वनपैदावारसम्बन्धी व्यवसाय गर्ने उद्यमीहरूका लागि वन परियोजना अन्तर्गत कर्जा विस्तार गरिएको छ । आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनमा टेवा पुग्ने परियोजनाहरू, निर्माण तथा ऊर्जा क्षेत्र, पर्यटन क्षेत्र लगायतलाई पनि उच्च प्राथमिकतामा राखेर कर्जा कार्यक्रम सञ्चालन गरिँदै आएको बैंकले जनाएको छ । कृषि रूपान्तरणका लागि समावेशी मूल्य शृंखला कार्यक्रम अन्तर्गत अनुदान सहयोगमा किसान कार्ड तथा किसान मोबाइल एपमार्फत डिजिटल वित्तीय सेवा विस्तार गरिएको छ । यसका साथै किसानहरूलाई आवश्यक कृषि ज्ञान, परामर्श, कृषि प्रसार तथा कृषि बजारसम्मको पहुँच विस्तार गरिँदै आएको बैंकले जनाएको छ । चालु आर्थिक वर्षदेखि कर्जा व्यवसायमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कर्जा स्वीकृति केन्द्रीय कार्यालयबाट गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ । केन्द्रीय कर्जा प्रणाली लागू भएपछि कर्जा सम्पत्तिको गुणस्तरमा सुधार आउने अपेक्षा बैंकले गरेको छ । बैंकको वित्तीय स्थिति बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप रकम २०.६४ प्रतिशत वृद्धि भई २ खर्ब ९४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटीमा ४.५२ प्रतिशत वृद्धि भई २ अर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत वर्ष बैंकको लगानी रकममा ४० प्रतिशत वृद्धि भई ९७ अर्ब ८२ करोड रुपैयाँ कायम रहेको बैंकले जनाएको छ ।  गत वर्ष कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपातमा ३.९१ प्रतिशतमा कमी आई ३.४४ प्रतिशतमा झरेको छ । साथै गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको सेयरधनी (अग्राधिकार सेयर पुँजी बाहेक) कोषमा ८.०७ प्रतिशतले वृद्धि भई ३३ अर्ब १८ करोड रुपैयाँ कायम छ । यस्तै, गत वर्ष बैंकको ब्याज आम्दानी ६.९० प्रतिशत घटेर ९ अर्ब ८२ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।  बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा निक्षेप संकलन १६ अर्ब २६ करोड रुपैयाँ बढेर ३ खर्ब १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यस्तै, पहिलो त्रैमासमा कर्जा लगानी ०.१७ प्रतिशत अर्थात् ३५ करोड ९८ लाख रुपैयाँ बढेर २ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । असोजसम्म बैंकको कुल सम्पत्ति ३७ अर्ब ७३ करोड ७ लाख रुपैयाँ पुगेको छ ।  पुँजी, कर र लाभांश बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको आयकर दायित्व फर्छ्याैट भइसकेको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरण आयकर ऐनले तोकेको समयभित्र नै कर कार्यालयमा पेश गरिने र आयकर बापत १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।  बैंकको हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ रहेको छ । जसमध्ये नेपाल सरकारको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ र साधारण सेयर पुँजी १३ अर्ब ८५ करोड ५२ लाख २४ हजार रुपैयाँ रहेको छ । साधारण सेयर पुँजीमध्ये सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ६ करोड ६१ लाख ६४ हजार रुपैयाँ ३ सय ९३ र सर्वसाधारण सेयरधनीहरूको ४९ प्रतिशत अर्थात् ६ अर्ब ७८ करोड ९० लाख ५९ हजार रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको छ ।  कृषि विकास बैंकको सहायक कम्पनी कोष व्यवस्थापनमा ९३.४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कोष व्यवस्थापन कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ६० लाख ७३ हजार रुपैयाँ नाफा र सेयरधनी कोषमा २६ करोड १७ लाख ४७ हजार रुपैयाँ कायम गरेको छ । सो कम्पनीमा बैंकले २ करोड ९० लाख १३ हजार रुपैयाँ लगानी गरेर २५ करोड २१ लाख खुद सम्पत्ति नियन्त्रण गरेको छ भने १ करोड ७७ लाख बराबरको गैर नियन्त्रण सम्पत्ति रहेको छ । साथै ८३.९६ प्रतिशत स्वामित्व रहेको गोबर ग्यास कम्पनीमा लगानी भएको ३२ लाख ५१ हजार रुपैयाँको सतप्रतिशत नोक्सानी व्यवस्था गरिएको बैंकले जनाएको छ । ‘सबै नेपालीको घर-आँगनसम्म सहज बैंकिङ पहुँच’ अभियानलाई तीव्रता दिँदै बैंकले आईपीएस, कनेक्ट आईपीएस, भिजा डेबिट तथा क्रेडिट कार्ड, किसान कार्ड तथा एप, इन्टरनेट बैंकिङ, ई-कमर्स, क्यूआर पेमेन्ट, मोबाइल पीओएस, मोबाइल बैंकिङ, ई-सेवा, फोनपे, सी-आश्वा, मेरो सेयर र डिम्याट सेवा जस्ता डिजिटल माध्यम विस्तार गरेको छ । बैंकले २७४ शाखा, एक मुख्य कार्यालय, १० वटा प्रादेशिक कार्यालय, २२ वटा एक्स्टेन्सन काउण्टर र १२९ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  देशको समग्र आर्थिक उतार–चढाव, महामारीजस्ता आकस्मिक संकट, ब्याजदरको अस्थिरता, विदेशी विनिमय दरमा हुने परिवर्तन तथा साइबर अपराधबाट प्रविधि सुरक्षामा बढ्दो जोखिम बैंकका प्रमुख चुनौतीका रूपमा रहेका छन् । साथै निक्षेप वृद्धिको अनुपातमा कर्जाको माग नहुनु, समयमा कर्जा असुली नहुनु, नियामक नीतिमा हुने परिवर्तन, अन्तर्राष्ट्रिय बजारको मन्दी तथा प्राकृतिक प्रकोपबाट हुने क्षतिले बैंकको व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको बैंकले जनाएको छ ।

वैदेशिक रोजगारमा हुने ठगी रोक्न मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने जानकारी दिए ।  सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली शुरु गर्न लागिएको उनले बताए । उनका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो । यी सबै स्थानबाट कार्यलय समयमा सेवा लिन सकिने उनले जानकारी दिए । उनकाअनुसार सेल स्थापना गर्नुका मुख्य तीन वटा उद्देश्य छन् । श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकुन् र वैदेशिक रोजगारमा पूर्ण सुरक्षितता सुनिश्चित होस् भन्ने उदेश्य रहेको उनले बताए ।  उनकाअनुसार पछिल्लो समय टिकटक, फेसबुकका रिल लगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ । त्यसबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुने उनको विश्वास छ । ‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना लगायतका विषय समावेश छन् ।  उनले भने, ‘सबै श्रमिकको ठगी र सुरक्षाको व्यवस्थापन गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले पुस ८ गतेदेखी लागू हुनेगरी हेल्प टु हेल्प १० सेल हामी स्थापना गर्न गईरहेका छौँ । त्यो हेल्प टु हेल्प १० सेल भनेको के रहेछ भने ७५३ पालिकामा हाम्रो रोजगार सुचना केन्द्रहरु छ, सात वटै प्रदेशमा श्रम कार्यलयहरु छ, वैदेशिक रोजगार विभाग पनि छ र खास गरेर समाधान कल सेन्टर छ । त्यो हेल्प टु हेल्प १० सेल सेन्टर भनेको हामीले तीन वटा उद्देश्य राखेर शुरु गरिरहेका छौँ ।’ मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय रूपमा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि साप्ताहव्यापी रुपमा मनाउन लागेको सचिव पुस्करले जानकारी दिए । पुस १ देखि ७ गतेसम्म नेपालमा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नाराका साथ २५ औ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन लागिएको हो ।   

पाँच महिनामा विकास खर्च ८ प्रतिशतमै सीमित, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै पुँजीगत खर्च भएको छ । यस वर्षका लागि पुँजीगत शीर्षकमा ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख बराबर विनियोजन भएको थियो । चालुगततर्फ ११ खर्ब ८० अर्ब ९८ करोडको वार्षिक विनियोजन रहेकामा हालसम्म ३३ दशमलव सात प्रतिशत अर्थात् तीन खर्ब ९८ अर्ब चार करोड ७२ लाख खर्च भएको छ ।  त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा ३५ दशमलव ३२ प्रतिशत अर्थात् १ खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख खर्च भएको छ । यसरी चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सरकारको कुल खर्च वार्षिक विनियोजनको २८ दशमलव ७४ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट विनियोजन भएकोमा हालसम्म ५ खर्ब ६४ अर्ब ४६ करोड १२ लाख खर्च भएको हो । बजेट खर्च मात्र नभई राजस्व सङ्कलन पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पाँच महिनामा २७ प्रतिशत अर्थात ४ अर्ब १४ अर्ब ९० करोड बराबर मात्रै उठाउन सकेको छ ।  मङ्सिर मसान्तसम्म ५ खर्ब २० अर्ब ४४ करोड राजश्व उठाइसक्ने सरकारको लक्ष्य थियो । तर उक्त लक्ष्यको तुलनामा प्राप्ति ७८ दशमलव ७४ प्रतिशतमा खुम्चिएको छ । त्यस्तै, मङ्सिर महिनामा मात्र रु ९५ अर्ब २० करोड कर उठाउने लक्ष्य राखेको सरकारले त्यसको ८४ दशमलव ३१ प्रतिशत अर्थात् रु ८० अर्ब २७ करोड बराबर मात्रै असुली गरेको छ । हालसम्म कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् ३ खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजश्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् २४ अर्ब सात करोड बराबर सङ्कलन भएको छ । यसवर्ष ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म नौ दशमलव ५८ प्रतिशत अर्थात् ५ अर्ब १२ करोड १० लाख बराबर अनुदान लिएको छ । हालसम्मको सरकारको आम्दानी र खर्चको हिसाब हेर्दा बजेट घाटा डेढ खर्ब हाराहारी पुगेको छ अर्थात् सरकारले गरेको आम्दानीभन्दा खर्च १ खर्ब ४९ अर्ब ५५ करोड ८५ लाखले बढी छ ।

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति बैंकरहरूको आपत्ति

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण गर्ने सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका संचालकलाई कारबाही गर्न चार बैंकिङ संघहरूले संयुक्त रूपमा माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । संयुक्त विज्ञप्तिमा चारै संघले कर्जाको किस्ता नियमित गर्न छलफलका लागि बोलाइएका बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार र आक्रमण गरेको घटनालाई 'अमानवीय' र 'गम्भीर अपराध' भनेका छन् ।  ‘नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ । साथै संघहरूले कानुनको पालना नगरी आफ्नै हातमा शक्ति प्रयोग गरी बैंक कर्मचारीमाथि आक्रमण भएको घटनाको घोर निन्दा गर्दै अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा कारवाही गर्न जोड दिएका छन् । घटना भएको दिन सूचना दिइए पनि तत्काल सम्बोधन नभएको प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । ‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरूको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ । साथै सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडि बढाउनु पर्नेमा जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भीर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरूलाई कानुनी दायरमा ल्याउन संघहरूले ध्यानाकर्षण गराएका छन्र ।  भविष्यमा यस्ता अपराध दोहरिन नदिने वातावरण सुनिश्चित गर्न, सूचना नआए पनि सम्बन्धित सरकारी निकायले स्वतः अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । साथै, बैंक तथा वित्तीय संस्थाप्रति हुने अराजक गतिविधिहरू रोक्न सर्वसाधारणलाई सजग र जिम्मेवार रहन आग्रह गरिएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, ४६ जनाले पाए ५१ कित्ता सेयर

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत मंसिर २२ देखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो । यस निष्काशनमा ३५ हजार १०२ जनाले कुल १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए र ती सबै आवेदन स्वीकृत भएका छन् । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार २ हजार ३११ जना आवेदकले प्रारम्भिक रूपमा ५० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी ४६ कित्ता सेयर समानुपातिक रूपमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको थियो । परिणामस्वरूप २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।