काठमाडौं । मोरङ उद्योग व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा मुद्दा र सहकार्यका विषयमा छलफल भएको छ ।
बिहीबार मोरङ उद्योग व्यापार संघमा आयोजित कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्दै दुवै पक्षबीच भेटघाट गरिएको हो ।
संघका का.वा. अध्यक्ष अनिल कुमार साहको सभापतित्वमा भएको कार्यक्रममा निजी क्षेत्रका चुनौती, नीति पैरवी र संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित थियो ।
कार्यक्रममा बोल्दै साहले दुवै संघ नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक सदस्य रहेको स्मरण गर्दै आगामी दिनमा आपसी सम्बन्ध अझ मजबुत बनाउनुपर्ने बताए । उनले सीमावर्ती क्षेत्रमा रहेका कारण उद्योगी–व्यवसायीका समस्या सबैभन्दा पहिले संघहरूलाई थाहा हुने भएकाले ती मुद्दालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरे ।
साहले संघले उद्योग–व्यवसायको संरक्षण, पूर्वाधार विकास, बैंक ब्याजदर, लोडसेडिङ न्यूनीकरण लगायत क्षेत्रमा खेलेको भूमिकाबारे जानकारी गराउँदै कोभिड महामारीका बेला गरिएको योगदान पनि स्मरण गरे ।
कार्यक्रममा संघका पदाधिकारीहरूले औद्योगिक क्षेत्रका समसामयिक चुनौती, नीतिगत समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालले मोरङ उद्योग व्यापार संघको आतिथ्यताको प्रशंसा गर्दै यस्तो भेटघाटले दुई संस्थाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा दुवै संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला तथा युवा उद्यमी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।