काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन सबै पक्ष दृढ सङ्कल्पित हुनुपर्ने बताएकी छन् ।
१९औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना गरेकी छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘गणतन्त्र दिवसको यस सुखद अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल तथा आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।’
पूर्वराष्ट्रपति भण्डारीले अब नेपालको राष्ट्रिय लक्ष्य सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै मुलुकको स्वाधीनता, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
नेपालको राजनीतिक इतिहासमा जेठ १५ गतेलाई गौरवशाली र अविस्मरणीय दिनका रूपमा स्मरण गर्दै उनले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गरेकी छन् ।
उनले गणतन्त्र केवल व्यवस्था परिवर्तनमात्र नभई जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने माध्यम भएको उल्लेख गर्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु यसको मूल उद्देश्य भएको बताएकी छन् ।
सन्देशमा भनिएको छ, ‘गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तब मात्र झल्किन्छ, जब समाजका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि ‘राज्य मेरो सहारा हो’ र ‘म यो देशको सम्मानित नागरिक हुँ’ भन्ने अनुभूति गर्न पाउँछन् ।’