रास्वपा सभापति लामिछानेले भोलि संसदमा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी गरेका छन् । सभापति लामिछाने निकट एक नेताका अनुसार लामिछानेले मंगलबार (असार ३० गते )प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी भइरहेको हो । संसद सचिवालय स्रोतले पनि अब बस्ने संसद बैठकमा सभापति लामिछानेले सभालाई सम्बोधन गर्ने तयारी भएको जनाएको छ । प्रधानमन्त्री साहसँगको भेटपछि लामिछाने प्रतिनिधि सभालाई सम्बोधन गर्ने मनस्थितिमा पुगेको बताइएको छ । रविको सम्बोधनमा सरकारको आगामी नीति, सुशासन, सेवा प्रवाह, राजनीतिक सहकार्य तथा समसामयिक राष्ट्रिय मुद्दाबारे धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी
काठमाडौं । फिफा विश्वकप– २०२६ का १०० खेल पूरा भइसकेका छन् । लामो यात्रा, धेरै खेल र रोमाञ्चक क्षणपछि प्रतियोगिता अब अन्तिम चरणतर्फ अघि बढिरहेको छ । क्वार्टरफाइनलका चारै खेल निकै प्रतिस्पर्धात्मक रहे । फ्रान्सले अन्ततः मोरक्कोलाई पराजित गर्यो, स्पेनले सुपर–सब मिकेल मेरिनोको अन्तिम समयको गोलमा बेल्जियमलाई हरायो, जुड बेलिङ्घम इंग्ल्यान्डका लागि नायक बनेर नर्वेमाथि जित दिलाए भने अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको चुनौती अन्ततः तोड्न सफल भयो । अहिले घमण्ड गर्न खोजिएको होइन, तर अप्टा सुपरकम्प्युटरले अन्तिम चार टोलीको सही भविष्यवाणी गरेको थियो । प्रतियोगिता सुरु हुँदा विश्वकप जित्ने शीर्ष चार दाबेदार सबै टोली सेमिफाइनलमा पुगेका छन् । यही आधारमा अप्टा सुपरकम्प्युटरलाई फेरि सोधिएको छ, फिफा विश्वकप २०२६ को उपाधि अन्ततः कसले जित्ला ? पछिल्ला चार पुरुष विश्वकपमध्ये स्पेन, फ्रान्स र अर्जेन्टिनाले तीन उपाधि जितेका छन्। इंग्ल्यान्ड भने सन् १९६६ यता पहिलो पटक विश्वकप जित्दै ‘६० वर्षको प्रतीक्षा’ अन्त्य गर्ने लक्ष्यमा छ । फिफा विश्वकपको इतिहासमा यो तेस्रो पटक मात्र हो, जब सेमिफाइनलमा पुगेका चारै टोली पूर्व विश्वविजेता हुन् । यसअघि यस्तो सन् १९७० र १९९० मा भएको थियो । फ्रान्स सबैभन्दा बलियो दाबेदार अप्टा सुपरकम्प्युटरका अनुसार अहिलेको अवस्थामा विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावना फ्रान्सको छ । डीडीए डेसाँको टोलीले उत्तर अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको छ । कप्तान किलियन एमबाप्पे आठ गोलसहित लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता छन् भने उस्मान डेम्बेलेले पाँच गोल गरेका छन् । मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा दुवैले एक–एक गोल गर्दै फ्रान्सलाई सेमिफाइनल पुर्याएका थिए । पछिल्ला ५० वर्षमा एउटै विश्वकपमा दुई खेलाडीले पाँच वा सोभन्दा बढी गोल गर्ने दोस्रो टोली फ्रान्स बनेको छ । यसअघि सन् २००२ मा ब्राजिलका रोनाल्डो (८) र रिभाल्डो (५) ले यस्तो उपलब्धि हासिल गरेका थिए । यस विश्वकपमा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान रूपमा ६–६ गोल गरेका छन् । मोरक्कोमाथिको २–० को जितसँगै डेसाँले प्रशिक्षकका रूपमा विश्वकपमा २०औं जित निकाले । यो उपलब्धि हासिल गर्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । विश्वकपमा उनको यो २५औं खेल थियो, जसले हेल्मुट शोनको कीर्तिमान बराबरी गरेको छ । स्पेनविरुद्धको सेमिफाइनल उनको २६औं खेल हुनेछ, जसले नयाँ कीर्तिमान बनाउनेछ । यो डेसाँको प्रशिक्षकका रूपमा अन्तिम विश्वकप पनि हो । विश्वकपका बाँकी खेलका २५ हजार सिमुलेसनमा फ्रान्स ५७.७ प्रतिशत अवस्थामा स्पेनलाई हराएर लगातार तेस्रो पटक फाइनल पुग्ने देखिएको छ । समग्रमा उपाधि जित्ने सम्भावना ३४ प्रतिशत छ । स्पेन पनि बलियो चुनौती स्पेन यस विश्वकपको दोस्रो सबैभन्दा प्रभावशाली टोलीका रूपमा देखिएको छ । लुइस डे ला फुएन्तेको टोलीले बेल्जियमविरुद्धको क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन । फाबियन रुइजले अग्रता दिलाएपछि चाल्र्स डे केटेलारेले बराबरी गोल गरे । उनको हेडरले स्पेनको विश्वकपमा लगातार ६४९ मिनेटसम्म गोल नखाने श्रृंखला समाप्त गरेको थियो । तर पोर्चुगलविरुद्ध अन्तिम १६ मा जस्तै मिकेल मेरिनो फेरि बेन्चबाट आएर अन्तिम समयमा विजयी गोल गर्दै स्पेनलाई सेमिफाइनल पुर्याए । स्पेनको यो विश्वकप इतिहासको दोस्रो सेमिफाइनल हो । यसअघि सन् २०१० मा सेमिफाइनल पुगेर दक्षिण अफ्रिकामा पहिलो विश्वकप उपाधि जितेको थियो । फ्रान्स उपाधिको प्रमुख दाबेदार भए पनि स्पेन मार्च २०२४ मा कोलम्बियासँग १–० ले पराजित भएयता लगातार ३६ खेल अपराजित छ । यस अवधिमा उसले २७ जित र ९ बराबरी खेलेको छ, जुन उसको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो । सुपरकम्प्युटरका अनुसार स्पेनको फाइनल पुग्ने सम्भावना ४२.३ प्रतिशत र उपाधि जित्ने सम्भावना २३.४ प्रतिशत छ । त्यसैले मंगलबार डलासमा हुने फ्रान्स–स्पेन सेमिफाइनलका विजेताले विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । बेलिङ्घमको लयमा इंग्ल्यान्ड यस विश्वकपमा इंग्ल्यान्डले धेरै प्रभावशाली प्रदर्शन नगरे पनि टोली लगातार जित निकाल्न सफल भएको छ । प्रशिक्षक थोमस टुखेलले पनि नर्वेविरुद्ध टोलीले उत्कृष्ट खेल नखेलेको स्वीकार गरेका थिए । तर इंग्ल्यान्डलाई सेमिफाइनल पुर्याउन जुड बेलिङ्घमले निर्णायक भूमिका खेले । आन्द्रियास शेल्डेरुपले नर्वेलाई अग्रता दिलाएपछि बेलिङ्घमले पहिलो हाफमै बराबरी गोल गरे । अतिरिक्त समयमा मोर्गन रोजर्सको प्रहार गोलकिपर ओर्यान न्यालान्डले रोक्न नसक्दा रिबाउन्डमा बेलिङ्घमले दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए । यसअघि अन्तिम १६ मा मेक्सिकोविरुद्ध दुई गोल गरेका बेलिङ्घमले नर्वेविरुद्ध पनि दुई गोल गरे । एउटै विश्वकपको लगातार दुई नकआउट खेलमा दुई वा बढी गोल गर्ने उनी सन् १९८६ मा डिएगो माराडोना पछि पहिलो खेलाडी बने । सन् २०१८ यता इंग्ल्यान्ड विश्वकप वा युरोपियन च्याम्पियनसिप गरी चार प्रमुख प्रतियोगिताको सेमिफाइनल पुगेको छ । त्यसअघि आफ्नो सम्पूर्ण इतिहासमा पनि इंग्ल्यान्डले यसरी नै चार पटक मात्र अन्तिम चारमा स्थान बनाएको थियो । अप्टा सुपरकम्प्युटरले इंग्ल्यान्डलाई विश्वकप जित्ने तेस्रो ठूलो दाबेदार मानेको छ । उपाधि जित्ने सम्भावना २१.९ प्रतिशत र सन् १९६६ पछि पहिलो पटक फाइनल पुग्ने सम्भावना ५०.९ प्रतिशत रहेको अनुमान छ । अर्जेन्टिना अझै पनि खतरनाक सेमिफाइनलमा इंग्ल्यान्डको सामना साविक विजेता अर्जेन्टिनासँग हुनेछ । यस विश्वकपमा पहिलो पटक लियोनेल मेसी गोल गर्न असफल भए । ३९ वर्षीय मेस्सीलाई गोल गर्न नदिने पहिलो टोली स्विट्जरल्यान्ड बन्यो । तर अर्जेन्टिनालाई त्यसले रोक्न सकेन । मेस्सीकै कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । दोस्रो हाफमा डान एनडोयेले बराबरी गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ग्राफिक्स : अप्टा एनालाइसिस ब्रिल एम्बोलोलाई भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि डाइभ गरेको ठहर गर्दै दोस्रो पहेँलो कार्डसहित रातो कार्ड दिइएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट शानदार गोल गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए । अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै जित सुनिश्चित गरे । यो अर्जेन्टिनाको विश्वकप इतिहासको १३औं अतिरिक्त समयसम्म पुगेको खेल थियो । तीमध्ये ११ खेलमा (पेनाल्टी सुटआउटसहित) अर्जेन्टिना विजयी भएको छ । यससँगै अर्जेन्टिना र इंग्ल्यान्डबीच सन् २००२ पछि पहिलो पटक विश्वकपमा भेट हुने भएको छ । यद्यपि साविक विजेता भए पनि अप्टा सुपरकम्प्युटरले अर्जेन्टिनालाई बाँकी चार टोलीमध्ये सबैभन्दा कम सम्भावना भएको टोली मानेको छ । उपाधि जित्ने सम्भावना २०.६ प्रतिशत छ । तर इंग्ल्यान्डविरुद्धको सेमिफाइनल भने लगभग बराबरीको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २५ हजार सिमुलेसनमध्ये ४९.१ प्रतिशतमा अर्जेन्टिना फाइनल पुगेको देखिएको छ । अन्य सामग्रीहरू : इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
सेयर बजारमा ७ अर्ब ४६ करोडको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३६८ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनएमबी डिभेन्चर ८.५० प्रतिशतको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै १० प्रतिशत एनआईसी एसियको ४६ करोड र एभरेष्ट बैंक डिभेन्चरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशतले बढेको छ ।
जनउत्थान लघुवित्तका डेपुटी सीईओ सूर्यप्रसाद उपाध्यायले दिए राजीनामा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सूर्यप्रसाद उपाध्यायले पदबाट राजीनामा दिएका छन् । संस्थाका अनुसार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । सञ्चालक समितिको १४६औँ बैठकले उनको राजीनामा स्वीकृत गर्दै असार ३० गतेदेखि लागू हुने गरी स्वीकृति दिएको संस्थाले जनाएको छ । लघुवित्तले नेप्सेलाई उपाध्यायको राजीनामा स्वीकृत भएको जानकारी गराएको हो ।
माजिद अन्सारीमाथि भएको कुटपिटबारे मानवअधिकार आयोगमा उजुरी
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । अन्सारीको तर्फबाट जेनजी मुभमेन्ट अलायन्सले इमेलबाट उजुरी पठाएको आयोगले जनाएको छ । आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार उजुरी आयोगमा अध्ययनको क्रममा छ । जेनजी मुभमेन्ट अलायन्सले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा घटनामा संलग्न रहेको आरोप लागेका प्रहरी टोलीविरुद्ध आयोगमा उजुरी दिएको हो । अलायन्सले गत शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोलीसँगै प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयको प्रतिनिधि भएको दाबी गर्ने ओजस्वी थापाविरुद्ध पनि उजुरी दिएको जनाएको छ । थापाले घटनाका क्रममा प्रहरीलाई निर्देशन दिँदै परिचालन गरेको आरोप अलायन्सको छ । उजुरीमा अन्सारीमाथि भएको व्यवहारले संविधानको धारा १६, १७, २० र २२ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने स्वतन्त्रता तथा पक्राउ परेका व्यक्तिको संवैधानिक अधिकार उल्लङ्घन भएको दाबी गरिएको छ । अलायन्सले घटनासम्बन्धी भिडियो फुटेज, कीर्तिपुर अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपचारसम्बन्धी कागजातसमेत आयोगमा प्रमाणका रूपमा बुझाएको जनाएको छ । कुटपिटबाट घाइते भएका अन्सारीको हाल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुकमा रोजगारीको प्रलोभन देखाएर बंगलादेश भाग्दै गरेका ५ जना पक्राउ
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी गर्नुका साथै अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली र चार बंगलादेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुकमार्फत ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी प्राप्त गर्न सकिने’ भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाएर बैंक खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको कोटेश्वर बस्दै आएका महोत्तरीका २९ वर्षीय सुभाषकुमार मण्डल रहेका छन् । यस्तै बंगलादेशका २५ वर्षीय एमडी जुबाएर अहमेद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमाल पनि पक्राउ परेका छन् । उनीहरूलाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश जान लागेको अवस्थामा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनीहरू अनलाइन ठगीका साथै बाइनान्स मार्फत क्रिप्टो तथा यूएसडीटी कारोबारमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।
मिडिया हाउसको गेटमै गाडी राखेर पत्रकारलाई अवरोध, दोषीमाथि कारबाही गर्न माग
काठमाडौं । काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज (असार २९ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको हो । विज्ञप्ति अनुसार आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारी साधन पार्किङ गरी पत्रकारहरूलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ । तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग जोडदार माग गरिएको जारी विज्ञप्तिमा भनिएको छ । महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पु¥याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न तथा दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै, उक्त अवरोध हटाउन महासंघले हाल सुरक्षा निकायसँग समन्वय गरिरहेको जानकारी समेत प्रेस विज्ञप्ति मार्फत दिइएको छ ।
अश्लील भिडियो र तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्ने दुई जना पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या, ब्ल्याकमेल तथा मानसिक दुःख–हैरानी दिएको आरोपमा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गर्दै ब्ल्याकमेल गर्ने, अनुचित लाभका लागि बारम्बार दबाब दिने र माग पूरा नभएपछि टिकटकमा सामग्री सार्वजनिक गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न भारतको आसाम राज्य, गुवाहाटीको मदनपुर निवासी २६ वर्षीय जावरुल हक पक्राउ परेका हुन् । उनलाई असार २६ गते काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको हो । यसैगरी, प्रेम सम्बन्ध विच्छेद भएपछि फेसबुकमार्फत अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने, मानसिक तनाव र दुःख–हैरानी दिने आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २४ वर्षीय सरोज कार्कीलाई पनि सोही दिन पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । दुवै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।