काठमाडौं । चीनका धनाढ्य नागरिकहरूमा आफ्नो देशको नागरिकता त्यागी विदेशी पासपोर्ट लिनेको संख्या बढ्दै गएको छ । विदेशमा रहेको सम्पत्तिमाथि बेइजिङले निगरानी कडा बनाएपछि कतिपय धनाढ्य चिनियाँहरू नागरिकता नै परिवर्तन गर्ने तयारीमा जुटेका हुन् ।
करसम्बन्धी चिन्ता, भू-राजनीतिक अनिश्चितता र अन्तर्राष्ट्रिय आवतजावतमा सहजताको चाहनाले उनीहरूलाई वैकल्पिक नागरिकतातर्फ आकर्षित गरेको विज्ञहरू बताउँछन् ।
चीनले दोहोरो नागरिकतालाई मान्यता दिँदैन । त्यसैले विदेशी नागरिकता लिन चाहने चिनियाँहरूले आफ्नो देशको नागरिकता त्याग्नुपर्ने हुन्छ ।
आप्रवासन परामर्शदाता कम्पनी आर्टन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आर्मन्ड आर्टनका अनुसार केही चिनियाँ धनाढ्यहरू एकभन्दा बढी देशको पासपोर्ट प्राप्त गर्न आफ्नो नागरिकता त्याग्नसमेत तयार देखिएका छन् ।
‘हामीसँग यस्ता ग्राहक छन्, जो एकभन्दा बढी पासपोर्ट लिन चिनियाँ नागरिकता त्याग्न तयार छन्,’ उनले भने ।
उनका अनुसार कुन देशको पासपोर्ट लिने भन्ने निर्णय सम्बन्धित व्यक्तिको जीवनशैली र व्यावसायिक आवश्यकतामा निर्भर हुन्छ ।
सिंगापुरस्थित कानुनी परामर्शदाता कम्पनी बेफ्रन्ट लका निर्देशक रायन लिनले पनि गत जुलाईदेखि चिनियाँ नागरिकता त्याग्ने विषयमा गम्भीरतापूर्वक विचार गर्ने धनाढ्यहरूको संख्या बढेको बताएका छन् ।
गत जुलाईमा चीन सरकारले विदेशमा स्थापित ट्रस्टमार्फत व्यवस्थापन गरिने सम्पत्तिलाई लक्षित गर्दै नयाँ व्यवस्था लागू गरेको थियो । यसअन्तर्गत निश्चित प्रकारका आम्दानी र कारोबारमा २० प्रतिशतसम्म कर लाग्न सक्ने व्यवस्था गरिएको छ ।
यसले विदेशमा सम्पत्ति राख्ने र हस्तान्तरण गर्ने तरिकाबारे पुनर्विचार गर्न कतिपय चिनियाँ परिवारलाई बाध्य बनाएको छ ।
लिनका अनुसार पहिले ग्राहकहरूले नागरिकता त्याग्ने सम्भावनाबारे सामान्य छलफल गर्थे । तर, अहिले धेरैले त्यसका लागि ठोस योजना बनाउन थालेका छन् ।
बहुपारिवारिक सम्पत्ति व्यवस्थापन कम्पनी फारो क्यापिटलका सहसंस्थापक मनिष तिब्रेवालले पनि विदेशी पासपोर्टप्रति चिनियाँ धनाढ्यहरूको आकर्षण बढिरहेको बताएका छन् ।
उनको कम्पनीले केही चिनियाँ परिवारलाई क्यारेबियन मुलुकको नागरिकता र सिंगापुरको स्थायी बसोबास अनुमति प्राप्त गर्न सहयोग गरिरहेको छ । उनीहरूको दीर्घकालीन लक्ष्य सिंगापुरको नागरिकता प्राप्त गर्ने पनि हुन सक्छ । यद्यपि, त्यसका लागि सरकारको स्वीकृति आवश्यक हुन्छ ।
तिब्रेवालका अनुसार गत जुलाईयता वैकल्पिक नागरिकताको विकल्प खोज्ने चिनियाँ परिवारको संख्या गत वर्ष यो प्रक्रिया पूरा गर्नेहरूको तुलनामा निकै बढी छ ।
लगानीमार्फत नागरिकता तथा बसोबास अनुमति प्राप्त गर्न सहयोग गर्ने कम्पनी सेभोरी एन्ड पार्टनर्सका अनुसार जुलाईयता चिनियाँ ग्राहकबाट आउने सोधपुछ ३३ प्रतिशतले बढेको छ ।
त्यस्तै, ग्लोबल सिटिजन सोलुसन्सले गत वर्षको सोही अवधिको तुलनामा चिनियाँ ग्राहकको चासो करिब ४० प्रतिशतले बढेको जनाएको छ ।
यी दुवै कम्पनीले निश्चित लगानीका आधारमा विदेशी नागरिकता वा बसोबास अनुमति प्राप्त गर्न धनाढ्य व्यक्तिहरूलाई परामर्श दिने गरेका छन् ।
यद्यपि, चिनियाँ नागरिकता त्याग्दैमा विगतको कर दायित्व स्वतः समाप्त हुँदैन ।
विज्ञहरूका अनुसार सम्पत्तिको संरचना र विगतको आम्दानीका आधारमा नागरिकता त्यागिसकेपछि पनि पुरानो कारोबारबाट भएको नाफामा कर तिर्नुपर्ने हुन सक्छ । तर, नागरिकता र कर प्रयोजनका लागि बसोबासको स्थिति वास्तविक रूपमा परिवर्तन भए भविष्यको कर दायित्व फरक पर्न सक्छ ।
चीनमै ठूलो व्यवसाय र सम्पत्ति भएका व्यक्तिका लागि नागरिकता त्याग्नु भने सजिलो निर्णय होइन ।
लिनका अनुसार नागरिकता त्याग्न सबैभन्दा बढी इच्छुक व्यक्तिहरूको चीनसँग व्यावसायिक सम्बन्ध सीमित छ । उनीहरूको अधिकांश सम्पत्ति र व्यावसायिक गतिविधि यसअघि नै विदेशमा केन्द्रित भइसकेका छन् ।
कुन–कुन देशमा आकर्षित हुँदै छन् चिनियाँ धनाढ्य ?
क्यारेबियन : छिटो नागरिकता पाउने विकल्प
विदेशमा बसोबासको अनुमति मात्र नभई अर्को देशको पासपोर्ट नै चाहने चिनियाँ धनाढ्यहरूका लागि क्यारेबियन क्षेत्र आकर्षक गन्तव्य बनेको छ ।
एन्टिगुवा एन्ड बार्बुडाजस्ता देशले लगानीमार्फत नागरिकता दिने कार्यक्रम सञ्चालन गरेका छन् । निश्चित मापदण्ड पूरा गर्ने लगानी वा आर्थिक योगदानका आधारमा विदेशी नागरिकले त्यहाँको नागरिकता प्राप्त गर्न सक्छन् ।
तिब्रेवालका अनुसार क्यारेबियन मुलुकको नागरिकता कतिपय अवस्थामा ६ महिनाभित्रै प्राप्त गर्न सकिन्छ । यो युरोप र अमेरिकाका नागरिकता प्राप्त गर्ने प्रक्रियाको तुलनामा निकै छिटो हो ।
आर्टनका अनुसार क्यारेबियन पासपोर्टप्रतिको आकर्षण त्यहाँ स्थायी रूपमा बसाइँ सर्ने उद्देश्यले मात्र बढेको होइन । अन्तर्राष्ट्रिय यात्रा सहज बनाउने र विदेशमा वैकल्पिक आधार तयार गर्ने चाहना पनि यसको प्रमुख कारण हो ।
ग्लोबल सिटिजन सोलुसन्सका अनुसार यस वर्ष कम्पनीले अध्ययन गरेका गन्तव्यहरूमध्ये चिनियाँ ग्राहकको सोधपुछ सबैभन्दा तीव्र रूपमा क्यारेबियन क्षेत्रमा बढेको छ ।
युरोप : पोर्चुगल, इटाली र हंगेरी रोजाइमा
चिनियाँ धनाढ्यहरूको अर्को प्रमुख रोजाइ युरोप बनेको छ । यद्यपि, अधिकांश युरोपेली देशले तत्काल नागरिकता दिनुभन्दा सुरुमा बसोबासको अनुमति प्रदान गर्छन् ।
आर्टनका अनुसार चिनियाँ नागरिकता त्याग्न नचाहने उच्च सम्पत्ति भएका व्यक्तिहरूका लागि विभिन्न देशको दीर्घकालीन भिसा र बसोबास अनुमति प्राप्त गर्नु बढी आकर्षक विकल्प हो ।
पोर्चुगल आफ्नो ‘गोल्डेन भिसा’ कार्यक्रमका कारण लोकप्रिय छ । यसअन्तर्गत निश्चित लगानी गर्ने विदेशीले बसोबास अनुमति प्राप्त गर्न सक्छन् । निर्धारित सर्त पूरा गरेपछि भविष्यमा नागरिकता प्राप्त गर्ने सम्भावना पनि रहन्छ ।
इटाली पनि धनाढ्य चिनियाँ परिवारहरूको रोजाइमा पर्न थालेको छ । योग्य नयाँ बासिन्दालाई उपलब्ध करसम्बन्धी सुविधा, अन्तर्राष्ट्रिय विद्यालय र विकसित वित्तीय सेवाले उनीहरूलाई आकर्षित गरेको आर्टन बताउँछन् ।
त्यस्तै, हंगेरी नयाँ आकर्षक गन्तव्यका रूपमा उदाएको छ ।
हंगेरीले कम्तीमा २ लाख ५० हजार युरो अर्थात् करिब २ लाख ९० हजार अमेरिकी डलर बराबरको योग्य लगानीमार्फत दीर्घकालीन बसोबास अनुमति प्राप्त गर्ने व्यवस्था गरेको छ ।
ग्लोबल सिटिजन सोलुसन्सका अनुसार हंगेरीप्रतिको आकर्षण धेरैका लागि आश्चर्यजनक छ ।
युरोपका ठूला गोल्डेन भिसा कार्यक्रमहरू बन्द हुँदै गएका वा महँगा बनेका बेला हंगेरीले नियमन गरिएको लगानी कोषमार्फत सेन्जेन क्षेत्रमा बसोबासको अवसर उपलब्ध गराएको कम्पनीको भनाइ छ ।
सिंगापुर : एसियामै बस्न चाहनेहरूको रोजाइ
चिनियाँ धनाढ्यहरूका लागि सिंगापुर लामो समयदेखि आकर्षक गन्तव्य रहँदै आएको छ ।
राजनीतिक स्थिरता, विकसित सम्पत्ति व्यवस्थापन उद्योग, अन्तर्राष्ट्रिय विद्यालय र चीनसँगको भौगोलिक निकटताले सिंगापुरलाई विशेष बनाएको छ ।
केही चिनियाँ परिवारले भविष्यमा नागरिकता प्राप्त गर्ने उद्देश्यसहित सिंगापुरको स्थायी बसोबास अनुमति लिन खोजिरहेका छन् ।
यद्यपि, स्थायी बसोबास अनुमति प्राप्त गर्दैमा सिंगापुरको नागरिकता स्वतः पाइँदैन । नागरिकता दिने वा नदिने निर्णय सरकारको स्वीकृतिमा निर्भर हुन्छ ।
तिब्रेवालका अनुसार उनको कम्पनीले केही ग्राहकलाई पहिले क्यारेबियन मुलुकको नागरिकता र सिंगापुरको स्थायी बसोबास अनुमति प्राप्त गर्ने योजना बनाउन सहयोग गरिरहेको छ । त्यसपछि उनीहरूले दीर्घकालमा सिंगापुरको नागरिकता लिन सक्ने सम्भावना रहन्छ ।
अस्ट्रेलिया र मलेसिया पनि आकर्षक
अस्ट्रेलिया पनि चिनियाँ धनाढ्यहरूको लोकप्रिय गन्तव्य बनेको छ । विशेषगरी सन्तानको शिक्षा र गुणस्तरीय जीवनलाई प्राथमिकता दिने परिवारहरू त्यतातर्फ आकर्षित भएका छन् ।
मलेसियाप्रति पनि चासो बढिरहेको छ । विशेषगरी क्वालालम्पुर र पेनाङ चिनियाँ परिवारहरूको रोजाइमा पर्न थालेका छन् ।
कम जीवनयापन खर्च, चिनियाँ भाषा बोल्ने समुदाय र अन्तर्राष्ट्रिय विद्यालयको उपलब्धताले यी सहरलाई आकर्षक बनाएको आप्रवासन परामर्शदाता कम्पनीहरूले बताएका छन्।
ग्लोबल सिटिजन सोलुसन्सका अनुसार जीवनशैली र कम खर्चलाई प्राथमिकता दिने परिवारहरूले पेनाङसँगै थाइल्यान्डको दीर्घकालीन बसोबास भिसामा पनि चासो देखाएका छन् ।
अर्जेन्टिना र पूर्वी युरोप पनि नयाँ विकल्प
परम्परागत गन्तव्यबाहेक अर्जेन्टिना र पूर्वी युरोपका केही देशप्रति पनि चिनियाँ धनाढ्यहरूको आकर्षण बढ्दै गएको छ ।
आर्टन क्यापिटलले अर्जेन्टिनालाई भविष्यमा ध्यान दिनुपर्ने सम्भावनायुक्त गन्तव्यका रूपमा पहिचान गरेको छ ।
त्यस्तै, सेभोरी एन्ड पार्टनर्सले सर्बिया, उत्तर म्यासेडोनिया र बुल्गेरियाप्रति चिनियाँ ग्राहकको चासो बढिरहेको जनाएको छ ।
यी देशहरू अन्तर्राष्ट्रिय बसोबासका विकल्प विविधीकरण गर्न चाहने व्यक्तिहरूको रोजाइमा पर्न थालेका हुन् ।
यद्यपि, आप्रवासन सल्लाहकारहरूले विदेशी नागरिकताप्रतिको बढ्दो चासोलाई वास्तविक नागरिकता त्याग वा स्थायी बसाइँसराइसँग तुलना गर्न नहुने बताएका छन् ।
आर्टनका अनुसार विदेशमा बसोबासको विकल्प खोज्नु, विभिन्न देशका पासपोर्ट प्राप्त गर्ने योजना बनाउनु र सम्पूर्ण परिवारलाई अर्को देशमा स्थानान्तरण गर्नु फरक–फरक निर्णय हुन् ।
यसरी चीनका धनाढ्यहरूबीच विदेशी नागरिकता र बसोबासका विकल्प खोज्ने प्रवृत्ति बढे पनि कति जनाले वास्तवमै चिनियाँ नागरिकता त्यागेका छन् भन्ने स्पष्ट तथ्यांक सार्वजनिक भएको छैन । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
अन्य सामग्रीहरू :
एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा
ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन