एनपीएलमा सट्टेबाज र म्याच फिक्सिङको जोखिम

अनलाइन कारोबारमा राष्ट्र बैंक र प्रहरीको ध्यान, ड्रोन र सीसीटीभीबाट निगरानी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलहरू जारी छन् । 

पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराएको छ । दोस्रो खेलमा विराटनगरविरुद्ध चितवन राइनोज र तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स विजयी भएका छन् । आज तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दैछन् । 

खेलको उत्सवसँगै यो प्रतियोगिता सुरक्षा निकायका लागि भने ठूलो चुनौती बनेको छ । भीडभाडको मौका छोपी आपराधिक गतिविधि हुन सक्ने भन्दै नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

के-केमा छ जोखिम ?

प्रहरीका अनुसार दर्शकको भीड, खेलाडी तथा समर्थकको आवतजावतका क्रममा टिकटको कालोबजारी, पकेटमारी, मोबाइल तथा बहुमूल्य सामान चोरी, ठगी, जुवा, अनलाइन बेटिङ र सट्टेबाजी जस्ता गतिविधि फैलिन सक्ने जोखिम छ ।

पछिल्ला संस्करणमा यस्ता घटना देखिएका पनि छन् । दोस्रो संस्करणमा अनलाइन बेटिङ र म्याच फिक्सिङ गराउन खोजेको आरोपमा भारतीय नागरिक र एक महिलासहित १० जना पक्राउ परेका थिए ।

प्रहरीको मुख्य चासो यसपटक अनलाइन बेटिङ, वानएक्स बेट जस्ता प्लेटफर्म, म्याच फिक्सिङ, टिकट ठगी र दर्शकको सुरक्षामा केन्द्रित छ ।

दुई हजार प्रहरी, सादा पोसाकदेखि ड्रोन निगरानीसम्म

यसपटकको एनपीएलमा आपराधिक गतिविधि रोक्न प्रहरीले सादा पोसाक र युनिफर्मसहित करिब दुई हजार जनशक्ति परिचालन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार अनलाइन बेटिङ नियन्त्रण गर्न साइबर सेल सक्रिय बनाइएको छ ।

‘अनलाइनबाट हुने गतिविधि मैदानबाट अनुगमन गर्न सकिँदैन। साइबर सेलले निरन्तर वेबसाइटहरूको निगरानी बढाइरहेको छ,’ थपलियाले भने, ‘अनलाइन एप्समा निगरानी गर्ने र त्यसपछि साइबर टिम परिचालन गर्ने हाम्रो पहिलो प्राथमिकता हो ।’

उनका अनुसार त्रिवि मैदान परिसरमा सुरक्षाकर्मीलाई विभिन्न घेरामा खटाइएको छ। सीसीटीभी र ड्रोनबाट समेत निगरानी भइरहेको छ ।

बैंकिङ कारोबारमा राष्ट्र बैंकसँग समन्वय

प्रहरीले एनपीएल अवधिभर हुने शंकास्पद आर्थिक कारोबारमा पनि निगरानी बढाएको छ । खल्ती, ईसेवा र वालेट बैंकिङमार्फत हुने कारोबारलाई विशेष निगरानीमा राखिएको प्रवक्ता थपलियाले बताए ।

‘बारम्बार कसले, कुन माध्यमबाट पैसा कारोबार गरेको छ भन्ने कुरालाई गम्भीरताका साथ हेरिन्छ । प्रहरीले गोप्य रूपमा निगरानी गर्छ’ उनले भने, ‘आवश्यक परे अवाञ्छित गतिविधि रोक्न राष्ट्र बैंकलाई अनुरोध गर्छौं । लामो समयसम्म शंकास्पद ट्रान्जेक्सन देखिए बैंकले पनि निगरानी गरिहाल्छ ।’

आईसीसीसँग सहकार्यमा निगरानी

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख दिलिप घिमिरेको कमान्डमा निरन्तर अनुगमन भइरहेको छ भने परिचालनको जिम्मा एसपी दानबहादुर खड्काले सम्हालेका छन् । 

परिसरका प्रवक्ता दानबहादुर थापाले एनपीएल आयोजक र सुरक्षा निकायको माथिल्लो तहसँग समन्वय गरेर काम भइरहेको बताए । सट्टेबाज र म्याच फिक्सिङ रोक्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का नेपाल प्रतिनिधि, प्रहरीको अनुसन्धान इकाई र आयोजक मिलेर काम गरिरहेका छन् । 

‘खेल मैदानमा अनलाइन बेटिङ हुन सक्छ । अनुचित लाभ लिन चाहने व्यक्तिले खेलाडी र दर्शकलाई प्रभावित पार्न सक्छन् । आईसीसीबाट मान्यता पाएकाले राज्यका सबै निकाय अपराध हुन नदिन गम्भीर भएर लागेका छौं,’ प्रवक्ता थापाले भने । 

उनका अनुसार शंकास्पद गतिविधि गर्नेहरूलाई उच्च सतर्कताका साथ निगरानी गरिएको छ । विदेशमा अनलाइन बेटिङ खुला भए पनि नेपालमा प्रतिबन्धित भएकाले खराब नियतका व्यक्तिहरू सक्रिय हुन सक्ने र यसले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने उनको भनाइ छ ।

Share News