नेपालको इतिहासका पानामा विभिन्न कालखण्डका राजा, महाराजा, सेना तथा नायकहरूका वीरगाथाहरू लेखिएका छन् । तर नालापानी, कालापानी लगायतका ऐतिहासिक युद्धमा आफ्नो ज्यानको बाजी थापेर नायकहरूलाई विजयी गराउने आमसिपाही र सर्वसाधारणका कथा भने कतै ओझेलमा परेका छन् । इतिहासका तिनै अज्ञात पात्रको जीवन, संघर्ष र योगदानलाई आख्यानको केन्द्रमा राखेर लेखकले उपन्यास ‘अज्ञात’ पाठकसामु ल्याएका छन् ।
अमेरिकामा इञ्जिनियरका रूपमा व्यस्त जीवन बिताइरहेका लेखकले वर्षौंको अध्ययन, ऐतिहासिक स्थलहरूको भ्रमण र तथ्यहरूको खोजीपछि यो उपन्यास तयार पारिएको हो । उपन्यासले केवल विगतका युद्धको कथा होइन, इतिहासलाई कसरी हेर्ने भनेर पनि सिकाएको छ । तिनै लेखक केशव ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईंको नयाँ ऐतिहासिक उपन्यास अज्ञात अहिले बजारमा छ । अमेरिकाको व्यस्त दैनिकी र इञ्जिनियरिङ पेसाका बीच यो उपन्यास लेख्ने समय कसरी मिलाउनुभयो ?
तपाईंले भनेजस्तै म अमेरिकामा बस्छु र पेसाले इञ्जिनियर हुँ । मेरो अफिसको समय सामान्यतया बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुन्छ । त्यसपछि लेख्ने र पढ्ने समय निकाल्छु । कहिलेकाहीँ राति १० बजेदेखि १२ बजेसम्म त कहिलेकाहीँ बिहान ४ बजेदेखि ६ बजेसम्म लेखिरहेको हुन्छु । परिवारका सदस्यहरू सुतिसकेपछि वा उनीहरू उठ्नुभन्दा अगाडि काम गर्ने गर्छु ।
यो लामो समय लगाएर गरेको काम हो । मलाई सधैं थोरै-थोरै भए पनि लेखिरहने बानी छ । एक लाइन, दुई लाइन वा एक पेज, दुई पेज गर्दै लेख्ने हो । त्यसैले अलिअलि अनुशासित भएर काम गर्दा लेख्न सकिन्छ जस्तो लाग्छ ।
अज्ञात लेख्न कति समय लाग्यो ?
मेरो यसअघिको पुस्तक ‘अर्को भोर’ सन् २०२१ को डिसेम्बरमा प्रकाशित भएको हो । त्यो पुस्तक प्रकाशित भएपछि सन् २०२२ को फेब्रुअरीतिर मैले यो उपन्यासमा काम गर्न सुरु गरेको हुँ । अहिले हिसाब गर्दा चार-पाँच वर्ष भयो । तर, यसका लागि आवश्यक अध्ययन र सामग्री सङ्कलन गर्ने काम भने त्यसअघि नै सुरु गरेको थिएँ । लगभग छ-सात वर्षअघिदेखि नै यस विषयमा पढ्ने र सोच्ने काम गरिरहेको थिएँ ।

पुस्तकमा राजा-महाराजाको विजयगाथाभन्दा पनि इतिहासले बिर्सेका आम सिपाही र सर्वसाधारणको दुःखलाई उजागर गर्नुभएको छ । इतिहासका यी अज्ञात पात्रहरूलाई पनि न्याय गर्नुपर्छ भन्ने सोच तपाईंमा कसरी आयो ?
मैले पुस्तकमा ‘बीजकथा’ भनेर एउटा कुरा लेखेको छु । पाठकहरूले त्यो पढ्नुभयो भने यस विषयमा केही न केही जानकारी पाउनुहुनेछ । मलाई के लाग्छ भने नेतृत्व तहमा बस्ने व्यक्तिहरूको पनि आफ्नै कथा हुन्छ, जुन स्वाभाविक हो । उनीहरूका कुरा इतिहासमा अभिलेखित भएका छन् र त्यसबारे आम छलफल पनि हुने गरेको छ ।
तर कुनै सेनानायकको पछाडि सयौं र हजारौं सिपाही हुन्छन् । उनीहरूले पनि आफ्नो ज्यान जोखिममा राखेर युद्धमा भाग लिएका हुन्छन् । उनीहरूको पनि आफ्नै इतिहास र कथा हुन्छ । उनीहरूको योगदानलाई पनि बुझ्न सकियो भने मात्रै हाम्रो बुझाइ पूर्ण हुन्छ ।
राजा-महाराजा वा सेनानायकलाई मात्र बुझ्दा पनि इतिहासको बुझाइ एकाङ्गी हुन्छ । नेतृत्वलाई अलग राखेर अरूको योगदानलाई मात्रै हेर्दा पनि त्यो एकाङ्गी नै हुन्छ । त्यसैले यी दुवै पक्षलाई सँगै बुझ्नुपर्छ भन्ने मलाई लागेको हो।
नेपाली आख्यानको क्षेत्रमा चाहिँ दोस्रो पक्ष कमजोर छ भन्ने मलाई लाग्छ । नेपालको विस्तार र वर्तमान स्वरूप निर्माण हुँदासम्मका राजनीतिक घटना तथा युद्धका विषयमा हामीले सर्वसाधारणका कथा कम समेटेका छौं ।
आख्यानमा त झन् यस्ता कथा निकै कम छन् भन्ने लाग्छ । त्यसैले लामो समयदेखि यस्तो खालको पुस्तक लेख्ने सोच बनाएको थिएँ । अहिले त्यो पुस्तक पाठकहरूसामु आएको छ ।
उपन्यास लेख्नका लागि ऐतिहासिक तथ्यहरू जुटाउन कत्तिको सास्ती खेप्नुपर्यो ? अझ देशबाहिर बसेर देशको इतिहास खोज्न कति मेहनत गर्नुपर्यो ?
मेहनत त लाग्यो नै । यस्तो खालको पुस्तक हुनुपर्छ भन्ने सोच आएको लगभग -आठ वर्ष भयो । मलाई इतिहासमा पनि रुचि छ । त्यसैले इतिहाससम्बन्धी प्रकाशित सामग्रीहरू पढ्ने गर्थेँ । नेपाल आउँदा पनि ऐतिहासिक ठाउँहरूमा जाने गरेको छु । लगभग हरेक दुई वर्षमा एकपटक नेपाल आउने गर्छु । यो पुस्तकको सन्दर्भमा म नालापानी पनि गएँ । गोरखा, गुल्मी र पाल्पाका ऐतिहासिक ठाउँहरूमा पनि गएर सामग्री सङ्कलन गरेँ ।
त्यसका साथै हामीभन्दा अग्रज पुस्ताका इतिहासकारहरूले लेखेका सामग्रीहरू पनि अध्ययन गरेँ । विशेषगरी ज्ञानमणि नेपाल, संशोधन मण्डलका महेशराज पन्त र दिनेशराज पन्तसँग पटक–पटक भेटघाट गर्ने अवसर पाएँ ।
कतिपय अवस्थामा पुराना पुस्तक र ऐतिहासिक लेखनहरूमा तथ्यहरू बाझिएका हुन्छन् । त्यस्ता नमिलेका तथ्यहरूमध्ये कुन सही होला र कुनलाई प्रयोग गर्ने भन्ने निक्र्योल गर्नुपर्ने हुन्छ । त्यस सन्दर्भमा मैले आदरणीय महेशराज पन्तसँग पनि निकै पटक छलफल गरेँ ।
मलाई के लाग्छ भने उहाँहरूजस्ता दिग्गज व्यक्तिहरूले पहिले गरेको मेहनतको परिणामस्वरूप हामीले पनि विदेशमा बसेर नेपालको इतिहास पढ्न र लेख्न सकिरहेका छौं । उहाँहरूले इतिहासको अध्ययनमा निकै मिहिनेत गर्नुभएको छ, जुन हाम्रा लागि महत्त्वपूर्ण आधार हो ।
नेपालको इतिहासबारे तत्कालीन इस्ट इन्डिया कम्पनी र बेलायतीहरूले लेखेका सामग्रीहरू पनि अध्ययन गरेँ । ती सबै सामग्री पढ्ने, भेटघाट गर्ने र ऐतिहासिक स्थलहरूमा पुगेर बुझ्ने काम गर्दा समय र मेहनत दुवै लाग्यो ।

तपाईंको पहिलो कथासङ्ग्रह अर्को भोरले पद्मश्री पुरस्कार पायो । पहिलो पुस्तकबाटै पाएको यो हौसलाले फेरि लेख्न प्रेरणा मिलेको हो कि ? अज्ञात लेख्ने सोच पहिलेदेखि नै थियो ?
अज्ञात लेख्ने सोच त पहिलेदेखि नै थियो । तर, पहिलो पुस्तकले पुरस्कार पाउँदा र पाठकहरूले राम्रो प्रतिक्रिया दिँदा मैले लेखेका कुरा पनि मानिसहरूलाई मन पर्दा रहेछन् भन्ने विश्वासचाहिँ पक्कै पैदा भयो ।
त्यसैले पहिलो पुस्तकबाट हौसला मिलेको हो । तर पुरस्कार नपाएको भए पनि अज्ञात लेखिन्थ्यो होला । पुस्तक लेखिरहँदा मैले लेखेको कुरा कसैले पढ्नुहुन्छ होला र यो प्रकाशित हुनेछ भन्ने लागेको थियो ।
पेसाले इञ्जिनियर हुनुहुन्छ । इञ्जिनियरिङ र साहित्य फरक विधा हुन् । इञ्जिनियरको मस्तिष्कले साहित्य सिर्जनामा कस्तो प्रभाव पार्छ ? यसले थप प्रेरणा दिन्छ कि फरक विधा भएकाले लेखनमा कठिनाइ हुन्छ ?
सिर्जनात्मकता इञ्जिनियरिङमा पनि प्रशस्त हुन्छ । इञ्जिनियरहरूले विभिन्न परियोजनाको डिजाइन गरिरहेका हुन्छन् । इञ्जिनियरिङमा निर्माण गरिने वस्तु वा संरचनामा पनि सिर्जनात्मकता आवश्यक हुन्छ ।
त्यसैले इञ्जिनियरिङ साहित्यभन्दा निकै टाढाको विषय हो भन्ने मलाई लाग्दैन । तर कामको व्यस्तता भने पेसाले ल्याउने कुरा हो । सम्भवतः अरू पेसामा पनि यस्तै हुन्छ ।
विशेषगरी मैले अनुसन्धानसम्बन्धी काम गर्दा त्यसले मेरो सिर्जनात्मक लेखनमा पनि सहयोग गरेको जस्तो लाग्छ । अनुसन्धान गर्ने बानीले विषयवस्तु खोज्न, तथ्यहरू बुझ्न र त्यसलाई केलाउन मद्दत गर्छ । त्यसैले यी दुई पेसाबीच मैले त्यति धेरै असहयोग देखेको छैन ।
प्रवासमा बसेर पनि नेपाली साहित्यमा योगदान दिइरहनुभएको छ । विदेशमा बस्दा आफ्नो माटोबाट टाढा भएको महसुस कत्तिको हुन्छ ? लेखनले यो दूरी मेटाउन कति सहयोग गरिरहेको छ ?
यो निकै महत्त्वपूर्ण प्रश्न हो । हामी बाहिर बस्दा कहिलेकाहीँ आफूबाट टाढा भएका कुराहरूको मूल्य अझ बढी थाहा हुन्छ भनिन्छ नि ! विदेशमा बसे पनि मानसिक रूपमा हामी नेपालमै हुन्छौं । नेपालको सामाजिक र राजनीतिक जीवन तथा गतिविधिसँग जोडिइरहेका हुन्छौं । अर्को कुरा, हामी विदेशमा बसेर नेपाली साहित्य खोजी–खोजी पढ्छौं । नेपाल अझ बढी सम्झिन्छौं र यहाँबाट हेर्दा नेपालको राम्रा पक्षहरू अझ बढी देखिन्छन् । नेपालमा हुँदा दैनिक जीवनका समस्याहरू बढी देखिन्छन्, तर विदेशमा बसेर सम्झिँदा राम्रा कुराहरू बढी सम्झिने ञरहेछौं ।
मैले अहिलेसम्म दुई–तीनवटा पुस्तक लेखेको छु । मेरो विचारमा लेखन भनेको आफू बसेको ठाउँ र आफ्नो देशसँग जोडिरहने विभिन्न तन्तुमध्ये एउटा महत्त्वपूर्ण तन्तु हो । लेखनले मलाई मेरो आफ्नै ठाउँ, नेपालसँग जोडिराख्छ भन्ने लाग्छ ।
तपाईं पेसागत व्यस्तताका बीच पनि साहित्यमा रुचि राख्नुहुन्छ, पढ्नुहुन्छ र लेख्नुहुन्छ । अहिले नामै तोकेर भन्नुपर्दा कुन पुस्तक पढिरहनुभएको छ ?
म अहिले रेणु सुवेदीको ‘मैला आँचल’ नामक पुस्तक पढिरहेको छु । जुन आञ्चलिक विषयसँग सम्बन्धित छ । यो करिब ७० वर्षअघि लेखिएको पुस्तक हो । कहिलेकाहीँ बाहिरका दुई-तीनवटा पुस्तक पनि सँगसँगै पढिरहेको हुन्छु । केही अंग्रेजी पुस्तक पढ्न पनि सुरु गर्दैछु । नेपालीमा चाहिँ मैले भर्खरै श्रेयश सुवेदीको कथासङ्ग्रह पढेर सकेको छु ।
तपाईंको पहिलो पुस्तक अर्कोभोरले पद्मश्री पुरस्कार पायो भने दोस्रो पुस्तक ‘अज्ञात’ मदन पुरस्कारको उत्कृष्ट पुस्तकको सूचीमा पनि पर्यो । लगातार दुई पुस्तकबाट राम्रो प्रतिक्रिया र सफलता पाउनुभएको छ । अब पाठकले कस्तो पुस्तक पढ्न पाउनेछन् ? आगामी योजनाबारे केही सोच्नुभएको छ ?
लेखनलाई निरन्तरता दिने कुरा त छँदै छ । आफूलाई इच्छा लागेका केही विषय छन् । ती विषयमा काम सुरु गर्ने तयारीमा छ । सायद अब कुनै कथासङ्ग्रह वा उपन्यासमध्ये एउटा पुस्तक आउन सक्छ । तर, यसका लागि समय लाग्नेछ । तपाईंले भनेजस्तै जीवनमा अरू धेरै कुरा पनि छन् । ती सबैबाट समय निकालेर लेख्नुपर्ने हुन्छ । त्यसैले पूर्णकालीन लेखकले जस्तो छिटो-छिटो पुस्तक निकाल्न सम्भव हुँदैन । आगामी दिनमा कथासङ्ग्रह वा उपन्यासमध्ये कुनै एउटा पुस्तक आउने सम्भावना छ ।
इञ्निनियरिङ र साहित्य दुवैतर्फ लाग्दा परिवारलाई पर्याप्त समय दिन सक्नुभएको कि छैन ?
परिवारलाई समय त दिनैपर्यो । मेरा साना–साना बच्चाहरू छन् । मेरी श्रीमती पनि पूर्णकालीन रूपमा काम गर्नुहुन्छ । यी सबै जिम्मेवारीका बीचमा नै लेख्ने हो । म आफ्नो कामको बीचमा समय निकालेर लेख्छु । दुई दिन बिदा हुँदा पनि लेख्ने गर्छु । परिवारमा मलाई लेख्न मन पर्छ भन्ने सबैलाई थाहा छ । घरमा किताब र लेखनकै विषयमा कुराकानी भइरहन्छ । कसरी समय मिलाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहन्छ ।
परिवारले मलाइ पनि पूर्ण साथ दिएको छ । कहिलेकाहीँ लेख्नका लागि समय मिलाउन सहयोग गर्नुहुन्छ । तिमीले लेख्नुपर्छ भन्ने मात्र होइन, यतिबेला लेख्दा हुन्छ भनेर पनि समय मिलाइदिनुहुन्छ । त्यसैले परिवारको साथ र सहयोगमा दुवै काम सँगसँगै अघि बढिरहेका छन् ।
अन्त्यमा, पाठकहरूले अज्ञात उपन्यास किन पढ्ने ?
यसअघिका प्रश्नहरूको सिलसिलामा पनि केही कुरा आइसकेका छन् । अज्ञात विक्रम संवत् १८४०–४१ देखि विक्रम संवत् १८७० सम्मको नेपालको इतिहासमा आधारित उपन्यास हो । बहादुर शाहको समयपछि र नेपाल-अङ्ग्रेज युद्धको बीचमा भएका घटनाहरू यसको पृष्ठभूमि हुन् ।
यो कुनै राजा-महाराजा वा सेना नायकको भन्दा बढी आम मानिस र आम सिपाहीको कथा हो । त्यसैले नेपालको इतिहास बुझ्न रुचि राख्ने पाठकहरूका लागि आख्यानकै माध्यमबाट भए पनि यसले केही मद्दत गर्छ भन्ने मलाई लाग्छ । पाठकहरूले पुस्तक पढेर प्रतिक्रिया दिनुभयो भने मलाई पनि हौसला मिल्नेछ । मैले कस्तो काम गरेँ भन्ने बुझ्न पनि सहयोग पुग्नेछ ।