नेपाल-कोरिया ऊर्जा सहकार्य विस्तारमा जोड, कोरियाली लगानी र प्रविधि आवश्यक
काठमाडौं । ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५’ काठमाडौंमा सम्पन्न भएको छ । नेपालमा ऊर्जा क्षेत्रमा कोरियाली लगानी र प्रविधिको सहभागिता विस्तार गर्ने उद्देश्यका साथ नेपालस्थित कोरिया दूतावास र स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सेमिनारमा इप्पानका अध्यक्ष गणेश कार्कीले यसलाई नेपाल–कोरिया सम्बन्धको ऐतिहासिक निरन्तरताको प्रतिबिम्ब भएको बताए । उनका अनुसार नेपालको ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । भारत र बंगलादेशसँग भएका ऊर्जा व्यापार सम्झौताले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् निर्यातको सम्भावना खोलेको र उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्र प्रमुख साझेदार हुने उनले उल्लेख गरे । अध्यक्ष कार्कीले नेपालमा जलविद्युत्को महत्व दिनदिनै बढ्दै गएको भन्दै २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । जसमध्ये १५ हजार मेगावाट भारतमा निर्यात र १३ हजार ५ सय मेगावाट नेपालमै खपत गर्ने योजना रहेको उनले जानकारी दिए । कार्कीका अनुसार कोरियाले नेपालमा २१६ मेगावाट क्षमताको परियोजना सुरु गरी सम्पन्न गर्ने अवस्थामा पुगेको छ भने अन्य परियोजनामा पनि चासो देखाएको छ । उनले नेपालको ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्न कोरियाली दूतावास र इप्पानले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको बताए । इप्पान अध्यक्ष कार्कीले भने, 'नेपाल र कोरिया मिलेर ऊर्जा क्षेत्रमा के–कस्ता सहकार्य गर्न सकिन्छ भन्ने उद्देश्यले कोरियाली दूतावास र इप्पानले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरेका हौँ । नेपालमा थुप्रै अवसर छन् र सरकारले नीतिगत रूपमा सहजीकरण गरिदिएको खण्डमा ठूलो मात्रामा लगानी भित्र्याउन सकिन्छ । हरित हाइड्रोजनजस्ता क्षेत्रमा पनि लगानी ल्याउन सकिने सम्भावना छ ।' अध्यक्ष कार्कीले जलविद्युत् आयोजनाले विद्युत् उत्पादनसँगै रोजगारी सिर्जना, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा सामाजिक–आर्थिक योगदान पुर्याउँदै आएको बताए । भविष्यमा व्यवसाय–व्यवसाय (बी–टु–बी) तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सहकार्य विस्तार, स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, हरित वित्त र नवप्रवर्तनमा ठूलो सम्भावना रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते–यङले कोरिया नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनका अनुसार केही परियोजना अघि बढिसकेकाले थप लगानीका लागि सरकारले आवश्यक बाटो खोलिदिनुपर्छ । कोरिया वित्तीय सहयोगसँगै प्राविधिक सहयोगमार्फत पनि नेपालसँग सहकार्य गर्न तयार रहेको उनले बताए । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सहज नीति आवश्यक रहेकोमा उनले जोड दिए । सेमिनारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) चिरञ्जीवी चटौतले नेपाल–कोरिया सहकार्य आवश्यक रहेको बताए । उनले रणनीतिक लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्रको नेतृत्वमा आधारित साझेदारीतर्फ नेपाल–कोरिया अघि बढिसकेको बताए । चटौतका अनुसार नेपालको ऊर्जा रूपान्तरणका लागि कोरिया महत्वपूर्ण साझेदार हो । उनका अनुसार २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना कोरियाली लगानी र प्रविधिको उदाहरण भएकाले आगामी दिनमा ठूला जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, ग्रिड आधुनिकीकरण तथा हरित हाइड्रोजन र भविष्यका ऊर्जा समाधानमा पनि कोरियाली सहभागिता आवश्यक छ ।
एमाले महाधिवेशनमा मतदानपूर्व भोट माग्ने होड : पोखरेल पक्ष सक्रिय, ओली पक्ष ढिलो
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनको मतदान नजिकिँदै जाँदा भोट माग्ने क्रम तीव्र बनेको छ । महाधिवेशनस्थल भृकुटीमण्डप वरपर नेताहरूको चहलपहल बढेको छ भने प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल मतदान सुरु हुनुअघि नै भृकुटीमण्डपस्थित मतदानस्थलमा उपस्थित भई प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै भोट मागिरहेका छन् । पोखरेलसँगै उनको प्यानलबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरू पनि मतदानस्थलमै डटेर समर्थन जुटाउने प्रयासमा छन् । उनीहरू समूहगत रूपमा मात्र होइन, व्यक्तिगत संवादमार्फत पनि प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन् । पोखरेल पक्षका नेताहरूले पार्टीभित्र संस्थागत नेतृत्व, सामूहिक निर्णय प्रक्रिया र भावी दिनमा संगठन सुदृढीकरणका एजेन्डा अघि सार्दै प्रतिनिधिहरूसँग समर्थन मागिरहेको बताइएको छ । मतदानस्थलमा उनीहरूको निरन्तर उपस्थितिले प्रतिनिधिहरूमाझ चासो र चर्चासमेत बढाएको छ । यता अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरू भने समाचार तयार पार्दासम्म मतदानस्थलमा पुगिसकेका छैनन् । ओली पक्षका नेताहरू अन्य स्थानमा प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा रहेको बताइए पनि मतदानस्थलमा ढिलो उपस्थिति जनाउँदा विभिन्न अड्कलबाजी हुन थालेका छन् । केही प्रतिनिधिहरूले अन्तिम समयमा ओली पक्ष पनि संगठित रूपमा मतदानस्थलमा आउने अपेक्षा व्यक्त गरेका छन् । महाधिवेशनमा दुई प्रमुख प्यानलबीच प्रतिस्पर्धा हुने देखिएकाले मतदान पूर्वको यो समय निर्णायक मानिएको छ ।
राष्ट्रपतिका सल्लाहकार थापाले दिए राजीनामा, सक्रिय राजनीतिमा फर्किने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । नेपाली कांग्रेसका पूर्वसहमहान्त्रीसमेत रहेका थापाले फेरि सक्रिय राजनीतिमा फर्किनका लागि राजीनामा दिएको बताएका छन् । आसन्न राष्ट्रियसभा निर्वाचनमा धनकुटाबाट सिफारिससमेत भएका थापाले आफू सक्रिय राजनीतिमा फर्कन चाहेको बताएका छन् । विकासन्युजसँग कुरा गर्दै थापाले भने, ‘पार्टीको महाधिवेशनसमेत आएकोले त्यसको तयारी समेत गर्नुपर्ने भएकोले मैले राष्ट्रपतिज्यूको सल्लाहकार पदबाट राजीनामा दिएको हुँ ।’ थापाले कांग्रेसको पदाधिकारी तहमा दाबी रहने संकेतसमेत गरेका छन् । उनले भने, ‘आसन्न आम निर्वाचन र पार्टीको महाधिवेशनलाई सफल बनाउन मैले आफू समेत सक्रिय हुनुपर्ने ठानेर राजीनामा दिएको हुँ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनिल राजनीतिमा आएको छोटो समयमा सफलताको स्वाद चाख्ने नेता हुन् ।
दोस्रो किस्ता नतिर्ने उद्योगको लाइन जुनसुकै बेला काटिन सक्ने, प्राधिकरणले फेरि पठायो पत्र
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद फेरि सतहमा आएको छ । प्राधिकरणले बक्यौता रकमको दोस्रो किस्ता नबुझाउने उद्योगी–व्यवसायीहरूलाई पत्र काट्दै बक्यौता नतिरे जुनसुकै बेला लाइन काटिन सक्ने चेतावनी दिएको छ । लाइन काटिएपछि पहिलो किस्ता बुझाएर विद्युत् उपभोग गरिरहेका उद्योगहरूले नियमित किस्ता नतिरेपछि प्राधिकरणले पुनः ताकेता गरेको हो । प्राधिकरणका अनुसार बक्यौता तिर्न २८ किस्ताको सुविधा दिइएको छ । तर, पहिलो किस्ता तिरेर लाइन जोडाएका उद्योगहरूले दोस्रो किस्ता बुझाउन आनाकानी गरेपछि प्राधिकरणले एक्सन लिने तयारी गरेको हो । प्राधिकरणका अनुसार गत मंसिरको पहिलो साता नै विद्युत् वितरण केन्द्रहरूमार्फत उद्योगहरूलाई दोस्रो किस्ता बुझाउन पत्राचार गरिएको थियो । तर, तोकिएको समयमा केही उद्योगले मात्र रकम बुझाए । आइतबार पुनः बाँकी रहेका सबै उद्योगलाई पत्र पठाउँदै तत्काल रकम बुझाउन ताकेता गरिएको हो । पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नगर्ने र भुक्तानीको म्याद सकिएका उद्योगहरूलाई लक्षित गरी गत हप्तादेखि लाइन काट्ने अभियान सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यो कुनै नयाँ निर्णय नभई पुरानै नियम र प्रक्रियाअनुसार कार्यान्वयन गरिएको हो । ‘जस–जसको भुक्तानी गर्ने म्याद सकिँदै गयो, हामीले क्रमशः लाइन काट्दै गएका छौं,’ प्रवक्ता ढकालले भने, ‘यो गत हप्तादेखि नै सुरु भएको हो । हामीले विचार गरेरै म्याद सकिएकाहरूको लाइन काट्न थालेका हौं ।’ लाइन काट्न थालेपछि बक्यौता रकम उठ्न थालेको प्राधिकरणले जनाएको छ । प्रवक्ता ढकालका अनुसार केही उद्योगीहरू सम्पर्कमा आएका छन् भने धेरैले आफ्नो बाँकी बक्यौता तिर्न थालेका छन् । ‘लाइन काट्ने प्रक्रिया सुरु भएपछि धेरैले तिर्नुभएको छ । भुक्तानीको अपडेटहरू आइरहेको छ,’ उनले विकासन्युजसँग भने । प्राधिकरणले बक्यौता रकम असुलीलाई कडाइका साथ अघि बढाउने नीति लिएको देखिन्छ । म्याद सकिएका सबै उपभोक्तालाई क्रमशः कारबाहीको दायरामा ल्याइने र नियमअनुसार लाइन काटिने प्रक्रिया जारी रहने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार बक्यौता विवादमा लाइन काटिएपछि पहिलो किस्ता बुझाएर लाइन जोडाउने उद्योगको संख्या २२ थियो । तीमध्ये रिलायन्स स्पिनिङ मिल्सले अदालतबाट अन्तरिम आदेश पाएकाले हाललाई उक्त उद्योग बाहेक अन्य २१ उद्योगलाई प्राधिकरणले ताकेता गरेको छ । मंसिर पहिलो हप्ता नै पत्र पठाए पनि हालसम्म ६ वटा उद्योगले मात्रै दोस्रो किस्ता बुझाएका छन् । बाँकी १५ उद्योगले अझै रकम बुझाएका छैनन् । यसअघि गत कात्तिक ४ गते प्राधिकरणले बक्यौता नतिर्ने २५ ठूला उद्योगको लाइन काटेको थियो । लाइन काटिएपछि करिब एक महिनाको अवधिमा उद्योगहरूले पहिलो किस्ता बुझाउँदै लाइन जोडाएका थिए ।
बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे सम्झौता, होटेल अन्तर्राष्ट्रिय ब्रान्डमा सञ्चालन हुने
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै बन्दीपुरस्थित होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा आउने भएको छ । सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार होटेलको व्यवस्थापन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशोधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्समार्फत सुनिश्चित हुनेछ । यस सहकार्यले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । १०० भन्दा बढी होटेल र ९ हजारभन्दा बढी कोठासहित भारत, मध्यपूर्व तथा एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि रणनीतिक माइलस्टोन हो । अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटेलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र सेवा गुणस्तर तथा पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ । बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
एमाले ११ औं महाधिवेशनमा युवाका लागि छुट्याइएका केन्द्रीय सदस्य पदमा आंशिक निर्विरोध
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । यस महाधिवेशनलाई पार्टीको भावी दिशा र संगठनात्मक पुनर्संरचनाको दृष्टिले महत्त्वपूर्ण मानिएको छ । यही सन्दर्भमा यसपटक एमालेले ४० वर्षमुनिका युवालाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा १५ सिट विशेष रूपमा छुट्याएको छ । पार्टी विधानअनुसार युवाको सहभागिता सुनिश्चित गर्न गरिएको यो व्यवस्थाअन्तर्गत खुला, महिला, मधेशी, आदिवासी जनजाति लगायत विभिन्न समूहबाट प्रतिनिधित्व गरिने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार हालसम्म खुलातर्फका २ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । अखिलबाट पार्टी राजनीतिमा आएका नरेश रोकाया र सुशील थापा निर्विरोध भएका हुन् । त्यस्तै, मधेशीतर्फ छुट्याइएका २ पदमध्ये १ पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । मधेशको युवा कोटामा अमरेशकुमार यादव निर्विरोध भएका हुन् । तर, मधेशीतर्फको बाँकी एक केन्द्रीय सदस्य पदमा उम्मेदवारी नपरेपछि उक्त पद हाल रिक्त रहेको निर्वाचन समितिले जनाएको छ । सो पदका लागि थप प्रक्रिया अपनाइने वा आगामी केन्द्रीय कमिटी बैठकबाट पूर्ति गरिने विषयमा भने औपचारिक निर्णय भइसकेको छैन । एमाले नेतृत्वले युवालाई संगठन र नीति निर्माणको केन्द्रमा ल्याउने रणनीतिका रूपमा यो व्यवस्था अघि सारेको बताउँदै आएको छ । पार्टीभित्र लामो समयदेखि अनुभवी नेताहरूको वर्चस्व रहेको भन्दै युवा पुस्तालाई जिम्मेवारी दिने माग उठ्दै आएको थियो । यसपटकको महाधिवेशनमा गरिएको व्यवस्था त्यसैको निरन्तरता भएको नेताहरूको भनाइ छ । यद्यपि युवाका लागि छुट्याइएका सबै पदमा प्रतिस्पर्धा नदेखिनु भने पार्टीभित्र छलफलको विषय बनेको छ । कतिपय नेता तथा प्रतिनिधिहरूले युवालाई अवसर दिए पनि संगठनभित्र अझै प्रभावशाली समूह र प्यानल राजनीतिका कारण स्वतन्त्र प्रतिस्पर्धा कमजोर देखिएको टिप्पणी गरेका छन् । महाधिवेशनमा अध्यक्ष, पदाधिकारी तथा अन्य केन्द्रीय सदस्य पदका लागि भने प्रतिस्पर्धात्मक निर्वाचन हुने देखिएको छ । मतदान परिणामले पार्टीको आन्तरिक शक्ति सन्तुलन, आगामी रणनीति र राष्ट्रिय राजनीतिमा एमालेको भूमिकामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । एमालेले यस महाधिवेशनमार्फत नेतृत्वमा पुस्तान्तरण, समावेशिता र संगठनात्मक सुदृढीकरणको सन्देश दिन खोजेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन आगामी दिनमा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने खुला नै रहेको देखिन्छ ।
लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारणसभा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुधबार बिहान ११ बजे नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गर्ने जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
मङ्सिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा कम, तर गत वर्षको तुलनामा सुधार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । मङ्सिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेपनि ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । चालु आवको पाँच महिनामा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएको छ । मङ्सिर महिनाको मात्र लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ निर्धारण गरिएको थियो । तर, मङ्सिर महिनाभर ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ । उक्त राजस्व संकलन लक्ष्यको ८४.३१ प्रतिशत प्राप्त भएको हो । मङ्सिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु वर्षको अवस्था केही सकारात्मक देखिन्छ । गत २०८१/८२ मा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो भने मङ्सिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो । गत वर्ष मङ्सिरसम्म जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै, मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो ।