अमेरिकी शुल्कले रोक्न सकेन चीनको उत्पादन रफ्तार, कारखाना र बन्दरगाह पुन: फुल क्यापसिटीमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका शुल्कले निर्यातकर्ता र ग्राहकहरूलाई तर्साएको एक वर्षपछि चिनियाँ नयाँ वर्ष (लुनार न्यू इयर) अघि चिनियाँ कारखाना र बन्दरगाहहरू पुनः गुलजारमय भएका छन्। सामान्यतया वर्षको सुरुवातमा चिनियाँ कारखानाहरूमा उत्पादन तीव्र हुन्छ किनकि उत्पादकहरू लामो चिनियाँ नयाँ वर्षको बिदा सुरु हुनुअघि अर्डर पूरा गर्न र सामान पठाउन हतारिन्छन् । ट्रम्पका शुल्कहरू जारी रहे पनि यस वर्षको बिदाअघिको चाप उस्तै बलियो देखिएको छ । ग्वाङ्डोङस्थित इलेक्ट्रोनिक्स उत्पादक कम्पनी एजिलियन टेक्नोलोजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनो अन्जोरानले शुल्कसम्बन्धी रोकथाम र धम्कीको वर्ष बितेपछि आफ्नो कारखाना झण्डै पूर्ण क्षमतामा चलेको बताए । उनले भने, ‘हामी अत्यन्त व्यस्त छौं, स्थिति फेरि त्यहीँ पुगेको छ मानौं शुल्क भन्ने कुरा छैन । अमेरिकी ग्राहकहरूले अन्य देशबाट किन्नेबारे सोचिरहेका छैनन्,’ अन्जोरानले भने । उनका अनुसार केही ग्राहकहरूले बिदाअघि उत्पादन र ढुवानी गर्न अतिरिक्त लागतसमेत तिर्नुपरेको छ । डोङगुआन सहरमा रहेको उनको कारखानाले आधाभन्दा बढी उत्पादन अमेरिका पठाउँछ र निर्यात गत वर्ष शुल्क लागू हुनुअघिकै स्तरमा कायम छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको तथ्याङ्क पछ्याउने चाइना बेज बुकका अनुसार कारखानाहरूले चिनियाँ नयाँ वर्षअघि अर्डर, उत्पादन र आम्दानीमा उल्लेख्य वृद्धि देखेका छन् । अनुसन्धान संस्थाको अनुमानअनुसार जनवरीमा औद्योगिक उत्पादन वार्षिक रूपमा बढेको र घरेलु तथा निर्यात अर्डरहरू वार्षिक र मासिक दुवै आधारमा तीव्र गतिमा बढेका छन् । जनवरी–फेब्रुअरीको आधिकारिक उत्पादन तथ्याङ्क मार्चमा सार्वजनिक हुनेछ । एचएसबीसी बैंकका यातायात तथा लोजिस्टिक्स विश्लेषकहरूको टोलीका अनुसार फेब्रुअरी १ मा समाप्त भएको सातामा चीनका प्रमुख बन्दरगाहहरूले गत वर्षको तुलनामा ४० प्रतिशत बढी कन्टेनर ह्यान्डल गरेका छन् । यो १२ महिनाभन्दा बढी अवधिको सबैभन्दा तीव्र वार्षिक वृद्धि हो र २०२५ को साप्ताहिक औसत १० प्रतिशत वृद्धिभन्दा निकै माथि हो । चीनका महत्त्वपूर्ण समुद्री केन्द्रमध्ये एक निङ्बो बन्दरगाहमा टर्मिनलहरू ‘क्षमताभन्दा बढी सञ्चालन’ भएको, केही जहाजहरू २० प्रतिशतभन्दा बढी ओभरबुक भएको र कन्टेनर गेट–इनसमेत अस्थायी रूपमा रोकिएको निङ्बो चाइना इन्स्टिच्युट फर सप्लाइ चेन इनोभेसनका डिन जे गुओले बताए । गम्भीर ट्राफिक जामका कारण ट्रकिङ दर ८० प्रतिशतसम्म बढेको गुओले जानकारी दिए । उनका अनुसार धेरै कारखाना र फ्रेट फर्वार्डरहरूले शुक्रबारदेखि काम रोक्ने र अर्को बिहीबारदेखि पुनः सञ्चालन गर्नेछन् । वैश्विक सप्लाइ चेन तथा लोजिस्टिक्स विज्ञ वोल्फगाङ लेहमाकरले भने, ‘युरोप, उत्तर अमेरिका र एसियाका ढुवानीकर्ताहरूका लागि जारी परामर्शहरूले चीनबाट बिदाअघिको बुकिङ स्पष्ट रूपमा अगाडि सारिएको देखाउँछन् ।’ तर यस वर्ष लुनार न्यू इयर मध्य–फेब्रुअरीमा परेको र २०२५ मा जनवरी अन्त्यतिर परेको समय अन्तरका कारण ‘लो–बेस इफेक्ट’ ले पनि वृद्धिमा आंशिक प्रभाव पारेको उल्लेख गरिएको छ । बिदाअघि अर्डर र ढुवानी बढ्दा फ्रेट दरमा उछाल आएको छ । एचएसबीसीको फ्रेट मनिटर प्रतिवेदनअनुसार, जनवरी सुरुवातमा शाङ्घाइ कन्टेनराइज्ड फ्रेट सूचकाङ्क १ हजार ४०० देखि १ हजार ६५६ को दायरामा थियो, जुन पछिल्ला १५ वर्षको औसत १ हजार ३३७ देखि १ हजार ५६८ भन्दा माथि हो । एचएसबीसी विश्लेषकहरूका अनुसार ऐतिहासिक ढाँचाभन्दा तीन हप्ता अगावै दर उच्च बिन्दुमा पुगेकोले यस वर्ष बिदाअघिको ‘फ्रन्ट–लोडिङ’ चाँडै सुरु भएको संकेत गर्छ । प्रतिवेदनले जनवरीको अधिकांश समय र फेब्रुअरीसम्म अमेरिकातर्फ ठूला कन्टेनर ढुवानी २०२४ र २०२५ को सोही अवधिभन्दा माथि रहेको देखाएको छ । अमेरिकातर्फ र युरोपतर्फको एयर फ्रेट दरसमेत गत वर्षभन्दा उच्च थियो। फेब्रुअरी २ मा समाप्त सातामा बाल्टिक एक्सचेन्जको शाङ्घाइ पुडोङ आउटबाउन्ड सूचकाङ्क ५.३ प्रतिशतले बढ्यो । शुल्कसम्बन्धी तनाव केही कम भएसँगै कम्पनीहरूले नयाँ उत्पादन विकासलाई पनि अघि बढाएका छन् । अक्टोबरमा भएको उच्चस्तरीय भेटपछि चीनले वाशिङ्टनसँग एक वर्षे व्यापार ‘सम्झौता’ सुरक्षित गरेको थियो, जसले अमेरिकातर्फका सामानमा शुल्कलाई अपेक्षाकृत तल्लो स्तरमा राख्यो । २०२५ को अधिकांश समय चीनले अमेरिकातर्फ प्रत्यक्ष ढुवानी घटाउँदै दक्षिणपूर्वी एसिया र युरोपेली बजारतर्फ निर्यात बढाएको थियो । कारखानामा देखिएको चहलपहल आपूर्ति सञ्जाल विविधीकरणका प्रयासबीच आएको हो । धेरै बहुराष्ट्रिय कम्पनीहरूले दक्षिणपूर्वी एसियामा ‘चाइना–प्लस–वन’ रणनीति र मेक्सिको तथा युरोपका केही क्षेत्रमा ‘नियर–शोरिङ’ तीव्र पारे पनि चीनमा महत्त्वपूर्ण उत्पादन र सोर्सिङ कायम राखेका छन् । दक्षिण चीनका विभिन्न कारखाना भ्रमणपछि टाइडलवेभ सोलुसन्सका वरिष्ठ साझेदार क्यामरुन जोनसनले भने, ‘अटोमोबाइल, उपभोक्ता र खेलकुद सामग्री उत्पादकहरू निकै व्यस्त देखिए ।’ विदेशी खरिदकर्ताहरू केही अमेरिकी समेतले नयाँ अर्डर राखिरहेका छन् । ट्रम्पका व्यापक शुल्कका कारण गत वर्ष ‘प्यानिक बाइङ’ र अचानक अर्डर रोक्का जस्ता उतारचढाव देखिएका थिए । जोनसनका अनुसार व्यवसायीहरूले ‘अनिश्चितता सकिने प्रतीक्षामा सकेसम्म ढिला गरे तर अब अघि बढ्ने बाटो खोज्नै पर्ने अवस्था’ आएको छ । अन्जोरानका अनुसार नयाँ उत्पादन विकासमा अमेरिकी ग्राहकहरूको रुचि उल्लेख्य रूपमा पुनःस्थापित भएको छ । ‘धेरैले नयाँ उत्पादन योजना बनाएका थिए, तर अनिश्चितताका कारण परियोजना रोकिएका थिए,’ उनले भने, ‘अब अवस्था तुलनात्मक रूपमा स्थिर देखिन्छ ।’
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा बिहीबार तोलामा १०० रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको थियो । गत मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, हिमाली जिल्लाको सुरक्षा व्यवस्था तथा समग्र प्रशासनिक अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की बिहीबार सोलुखुम्बु पुगेकी छन् । निर्वाचनको पूर्वसन्ध्यामा आवश्यक समन्वय, सुरक्षाको व्यवस्थापन तथा दुर्गम भेगमा मतदाता पहुँचको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री कार्की स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस सल्लाहकार रामबहादुर रावल तथा सम्बन्धित निकायका अधिकारीहरू पनि सोलुखुम्बु पुगेका छन् । टोलीले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतसँग छलफल गरी निर्वाचन व्यवस्थापन, सुरक्षा सतर्कता र मतदाता सहभागिता बढाउने विषयमा समन्वय गर्ने कार्यक्रम रहेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भन्यो - त्रिभुवन विमानस्थल आसपास जुलुस सभा नगर्नू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र त्यस आसपासको क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न तथा सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन र आम सर्वसाधारणको निर्वाध आवतजावतमा बाधा नपरोस् भन्ने उद्देश्यले कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हडताल, र्याली, भेला तथा सभा नगर्न र नगराउन जिल्ला प्रशासनले अनुरोध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गर्दै नारा, जुलुस तथा प्रदर्शनका कार्यक्रम आयोजना नगर्न आग्रह गरेका छन् । विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रशासनका अनुसार सरकारका सम्बन्धित निकायहरू निर्वाचनतर्फ परिचालित भएको अवस्थामा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा प्रदर्शन, भेला तथा र्यालीजस्ता गतिविधि गर्ने विषयमा केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत सूचना जारी भएको पाइएको छ । तर यसबारे जिल्ला प्रशासन कार्यालयमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम नभएको जनाइएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको वर्तमान अवस्थामा यस्ता कार्यक्रम गर्न बन्देज रहेको छ । साथै, यस्ता गतिविधिमा निर्वाचनविरोधी समूहको घुसपैठ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले कडाइ गरेको विज्ञप्तिमा भनिएको छ । आसन्न निर्वाचन, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्दै पर्वलाई भव्य रूपमा सम्पन्न गर्न तथा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित गर्न जुलुस, प्रदर्शन, हडताल, र्याली, भेला तथा सभा नगर्न, नगराउन र सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिलाई उक्साउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
फागुनमा ९ बैंकले ब्याजदर घटाउँदा ११ बैंकको स्थिर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले फागुनमा पनि ब्याजदर घटाएका छन् । फागुन १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । फागुन महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.११ प्रतिशत घटेर औसत ४.५७ प्रतिशतमा झरेको छ । जबकि माघमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.६८ प्रतिशत थियो । यस्तै, फागुनमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०५ प्रतिशत घटेर ३.३३ प्रतिशतमा झरेको छ । यसअघि माघमा संस्थागततर्फ औसत ३.३८ प्रतिशत ब्याजदर थियो । माघ महिनाका लागि ९ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरे र सञ्चालक दीपक नेपालको नियुक्तिलाई पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि सभाबाट अनुमोदन गरिएको छ । त्यस्तै, सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरिएको छ । सभाले कम्पनीका प्रस्तावित विषयहरूमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जनका लागि निर्देशन आएमा सोहीअनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । साथै, कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरिएको छ । कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य र सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले सेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा कम्पनीलाई अग्रणी बनाउने लक्ष्यका साथ सेयरधनीका सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले बताए । अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो । इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवम् अन्तरराष्ट्रियस्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको बताउँदै उनले अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ भने । मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, निर्वाध ढङ्गले आसन्न निर्वाचन सम्पन्न गर्न तथा अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति अवलम्बन गरी कार्यक्षेत्रमा जुटेको प्रवक्ता काफ्लेले बताए । फरार प्रतिवादीहरूको अन्तरराष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ ।
जुनार किलोको १३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५२, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु २८, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु ११०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ४० पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु १९०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १४०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ११०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ५०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।