सुशासनको डंका पिट्नेहरू नै सम्पति लुकाउँदैछन् : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् । सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनले आरोप लगाएका हुन् । सभामुखको सम्पति विवरणमाथि प्रश्न उठाउँदै उनले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताए । उनले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउनु भयो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उनले नयाँ तयार छन् की छैनन् ? भन्दै प्रश्न गरे । पोखरेलले भने, ‘श्रमिकबाट मालिक बन्नु अपराध होइन, तर विदेशमा कमाएको भनिएको त्यो सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ । सुशासन अरूलाई तर्साउन होइन, आफैँले पालना गर्नका लागि हो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्, के नयाँ भनिनेहरू तयार छन् ।’ कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन
खजुरा । डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो । मेडिकल अधिकृत डा. रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबिसै घण्टा सेवा सुरु गरेको हो । अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छ । सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने डा तिवारीले बताए । डुडुवा गाउँपालिकाले विगतमा झैँ यस वर्ष पनि घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
फोनपेको बजार हिस्सा ९७ प्रतिशत, ४८ करोडमा किन्यो जग्गा
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनी फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे)ले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ६१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसअघि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ९७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार आव २०८०/८१ मा ७२ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ४४ करोड ६० लाख रुपैयाँ र आव २०७८/७९ मा २० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको आम्दानीको प्रमुख स्रोत अन्तरबैंक कारोबार रहेको छ । कुल आम्दानीमध्ये करिब ९१ प्रतिशत हिस्सा अन्तरबैंक कारोबारबाट आएको छ भने करिब ७ प्रतिशत आम्दानी अनलाइन भुक्तानीबाट प्राप्त भएको कम्पनीले जनाएको छ । यो आम्दानीको संरचना पछिल्ला पाँच वर्षदेखि स्थिर रहेको कम्पनीको भनाइ छ । नेपालको फिनटेक क्षेत्रमा एफवान सफ्ट समूहको प्रभुत्व रहेको छ । उक्त समूहको पेमेन्ट सर्भिस प्रोभाइडर तथा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूका लागि मोबाइल बैंकिङ एप विकासमा समेत बलियो उपस्थिति रहेको छ । कम्पनीका अनुसार फोनेपेको बजार हिस्सा क्यूआरमा आधारित कारोबार ९७ प्रतिशत र अन्तरबैंक रकम स्थानान्तरणमा ८६ प्रतिशत रहेको छ । सन् २०१९ को अक्टोबरमा स्थापित फोनेपे नेपालमा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अग्रणी भुक्तानी प्रणाली सञ्चालकका रूपमा चिनिन्छ । फोनेपे सन् २००४ देखि सञ्चालनमा रहेको एफवान सफ्ट समूहअन्तर्गतको कम्पनी हो । सन् २०२५ को मध्य जुलाईसम्मको तथ्यांकअनुसार एफवान सफ्ट इन्टरनेशनल प्रालिको ६६ प्रतिशत स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त फोनेपेले अन्तरबैंक रकम स्थानान्तरण, अनलाइन भुक्तानी सेवा तथा क्यूआर कोडमार्फत इनस्टोर भुक्तानी लगायतका सेवा सञ्चालन गर्दै आएको छ । सन् २०२६ को मध्य-जनवरीसम्म आइपुग्दा फोनेपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थासँग आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । साथै अन्य भुक्तानी सेवा प्रदायकहरूसँगको सहकार्य पनि बढाउँदै लगेको छ । कम्पनीका अनुसार हाल फोनेपेको सञ्जालमा करिब १७ लाख व्यापारी (मर्चेन्ट) आबद्ध भइसकेका छन् । कम्पनीका अनुसार पछिल्ला दुई वर्षमा पुँजीमा प्रतिफल औसत करिब ५७ प्रतिशत रहेको छ भने चालु आवको ६ महिनामा करिब ५६ प्रतिशत रहेको छ । कम्पनीले हालसम्म न्यून लाभांश वितरण गर्दै आन्तरिक स्रोतलाई व्यवसाय विस्तारमा केन्द्रित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँको १९ प्रतिशतका दरले ९ करोड ७८ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । मध्यजनवरी २०२६ सम्म कम्पनीसँग करिब ६४ करोड ७० लाख रुपैयाँ नगद तरलता रहेको छ, जुन यसको वार्षिक सञ्चालन खर्च (करिब ५०-५५ करोड रुपैयाँ)को तुलनामा सुदृढ मानिन्छ । साथै, कम्पनीले गत वर्ष ४७ करोड ९० लाख रुपैयाँमा कर्पोरेट कम्प्लेक्सका लागि जग्गा खरिद गरेको जनाएको छ । जग्गा खरिद गरे पनि तरलता सन्तुलित अवस्थामा रहेको जनाएको छ । कम्पनीले छिट्टै बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने योजना जनाएको छ । आईपीओ जारी भएपछि तरलता अझ सुदृढ हुने अपेक्षा कम्पनीले गरेको छ । तथापि, भविष्यमा हुने ठूला पुँजीगत खर्च, गैरलगानी वा ठूलो मात्रामा लाभांश वितरणले तरलतामा असर पर्न सक्ने कम्पनीले जनाएको छ । आगामी दिनमा विविध स्रोतबाट आम्दानी विस्तार गर्दै नाफामूलक सूचकहरू सुदृढ बनाउने कम्पनीको क्षमता नै यसको मूल्याङ्कनको मुख्य आधार रहनेछ । यस्तो छ कम्पनीमा नेतृत्व फोनपेको अध्यक्ष सशीन जोशी रहेका छन् । साथै सिद्धान्त ठाकुर र सम्भव सिरोहिया सञ्चालक रहेका छन् । यस्तै, कम्पनीको व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवश कुमार सापकोटाले गरिरहेका छन् । फोनेपेको सञ्चालक समिति तथा व्यवस्थापन टोलीको सूचना प्रविधि र फिनटेक क्षेत्रमा लामो अनुभवले कम्पनीको भावी व्यवसाय विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । कम्पनीका लागि चुनौति कम्पनीको आम्दानी अत्यधिक रूपमा अन्तरबैंक रकम स्थानान्तरण सेवामा निर्भर रहनु कम्पनीले चुनौतीको रूपमा लिएको छ । कम्पनीका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा ८५-९० प्रतिशत आम्दानी अन्तरबैंक रकम स्थानान्तरणबाट हुने गरेको छ । नियामकीय जोखिम पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ, किनकि नेपाल राष्ट्र बैंकले पीएसओ संस्थाहरूलाई नियमन गर्दै आएको छ । हाल प्रति कारोबार १० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था रहेको छ, जसमा करिब ६ रुपैयाँ फोनेपेको हिस्सा पर्छ । यस्तो शुल्क संरचनामा कुनै परिवर्तन भएमा कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न सक्ने जनाएको छ । यस्ता चुनौतीलाई न्यूनीकरण गर्न भर्चुअल क्रेडिट कार्ड, क्रसबोर्डर भुक्तानी जस्ता नयाँ सेवाहरू सुरु गरे पनि तीबाट हुने आम्दानी अझै न्यून स्तरमै सीमित रहेको कम्पनीले जनाएको छ । दीर्घकालीन रूपमा आम्दानी विविधीकरणका लागि अन्य नयाँ सेवा तथा उत्पादन विकास भइरहे पनि त्यसको प्रभाव अझै स्पष्ट हुन नसकेको कम्पनीको भनाइ छ । साथै प्रविधिगत परिवर्तन, साइबर सुरक्षा जोखिम तथा सेटलमेन्ट कारोबारमा प्रतिस्पर्धात्मक दबाब रहेको फोनपेले जनाएको छ । विशेषगरी नेपाल क्लियरिङ हाउस लिमिटेड जस्ता अन्य पीएसओ संस्थाहरूले तुलनात्मक रूपमा कम शुल्कमा सेवा प्रदान गरिरहेकाले प्रतिस्पर्धा बढ्दो छ । यसले कम्पनीलाई प्रविधि स्तरोन्नति तथा सुरक्षा प्रणालीमा निरन्तर लगानी गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले नियामक निकायले शुल्क घटाउने निर्णय गरेमा कम्पनीको आम्दानीमा उल्लेखनीय गिरावट आउन सक्ने जोखिम रहेको छ ।
चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
काठमाडौं । आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ । अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे । करिब १० दिन लामो यस अभियानले चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्यो । अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रालाई वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनायो । मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उनीहरूमा उत्साह र राहत दुवै झल्किएको थियो । सैन्य हेलिकप्टरहरूले उनीहरूलाई एक–एक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज युएसएस जोन पी मुर्तासम्म पुर्याएका थिए । नासाका प्रशासक जारेड आइज्याकम्यानले यस टोलीलाई ‘मानवताको प्रतिनिधि’ का रूपमा व्याख्या गर्दै उनीहरूको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताए । नासाको मिसन कन्ट्रोलमा पनि सफल अवतरणसँगै उत्सवको माहोल देखिएको थियो । अधिकारीहरूले यसलाई ‘नयाँ मूनसटको सुरुआत’ का रूपमा चित्रण गरेका छन् । ओरिअन क्याप्सुल ‘इन्टिग्रिटी’ ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा यात्रा गरेको थियो । पुनःप्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा रातो–तातो प्लाज्माले घेरिएको थियो, जसका कारण केही समय सञ्चार अवरुद्ध भएको थियो । यही क्षण मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो, जहाँ तापीय ढालको सफलतामाथि सम्पूर्ण टोलीको सुरक्षाको निर्भरता थियो । छ मिनेट लामो ब्ल्याकआउटपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा परिवारजन र वैज्ञानिकहरू दुवैले राहत महसुस गरेका थिए । अन्ततः करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो । यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ । क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बनिन् भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैर–अमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज भए । उनीहरूले आफ्नो अनुभव साझा गर्दै भावुक क्षणहरू पनि व्यक्त गरेका थिए । अप्रिल १ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको यो अभियानले चन्द्रमाको परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दूरी चार लाख छ हजार ७७१ किलोमिटर पार गर्दै नयाँ कीर्तिमान बनायो । यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दृश्यहरू क्यामेरामा कैद गरेका थिए, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन । यात्राका क्रममा केही प्राविधिक समस्या पनि देखिएका थिए । पिउने पानी प्रणाली, इन्धन प्रवाह नियन्त्रण गर्ने भल्भमा समस्या देखिएको थियो र शौचालयमा समस्या आए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गरेको जनाएको छ । पुनःप्रवेशपछि क्याप्सुलको तापीय ढालको थप परीक्षण गरिने तयारी गरिएको छ । नासाका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडान थियो । संशोधित कार्यक्रमअनुसार अर्को चरणमा आर्टेमिस तृतीय मार्फत कक्षीय अभ्यास गरिनेछ भने सन् २०२८ मा आर्टेमिस चतुर्थअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ । अन्तरिक्ष यात्री वाइसम्यानले यस अभियानलाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गरे । उनले पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशिष्ट स्थान सम्झनुपर्ने आवश्यकता औँल्याउँदै यस यात्राले सबैलाई साझा भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । रासस
खनिजजन्य उद्योगबाट उठ्यो २ अर्ब १४ करोड राजस्व
काठमाडौं । खनिजजन्य उद्योगबाट २ अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम ८ महिनाको हो । खानी तथा भू-गर्भ विभागका अनुसार चुन ढुङ्गा, रातो माटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । गत आवमा विभागले चुन ढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो ।
व्यास नगरपालिकास्थित मादी नदीको निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकियो
काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनुहँको व्यास नगरपालिका ४ र ५ मादी नदीमाथि निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकिएको छ । पुल निर्माण गरिरहेको अनक कन्ट्रक्शनका प्रतिनिधि दिनेशकुमार श्रेष्ठकाअनुसार पुलको मुख्य काम जेठ महिनाभित्र सकिनेछ । अन्य सामान्य काम मात्र बाँकी रहने उनले बताए । विभिन्न विवादमा कारणले पनि पुल निर्माण ढिलाई भएको उनको भनाइ छ । २०७९ साउन २६ मा निर्माण सम्पन्न भएको पुलको काम २०८२ भदौ २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । काम सम्पन्न नभएपछि २०८३ असार १९ गते सम्म म्याद थपिएको ए.डी. बीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए । ६ वटा स्पानको उक्त पुल ३ सय १५ मिटर लामो हुनेछ । पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गको सबैभन्दा आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । विगतमा निर्वाचन लगायतका कारणले निर्माण ढिलाई भएपनि अब कामले गति लिन विश्वास निर्माण कम्पनीको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ९० हजार ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ वर्षीय घने बुढालाई पक्राउ गरिएको उक्त कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । अभियुक्तद्वयलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानले इस्लामावादलाई तयार पार्दै
काठमाडौं । हालै घोषित दुई हप्ते युद्धविरामपछि मध्यपूर्वमा जारी तनाव कम गर्ने उद्देश्यले हुन लागेको उच्चस्तरीय वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डल इस्लामावाद पुग्ने भएपछि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई तिब्र बनाएको छ । हप्तौँदेखि बढ्दै गएको द्वन्द्वपछि दीर्घकालीन समाधान खोज्ने कूटनीतिक प्रयासको हिस्साका रूपमा यस वार्तामा दुवै देशका वरिष्ठ अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । गृहमन्त्री मोहसिन नाक्वीले बिहीबार विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताउनुभएको छ । इस्लामावादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् । व्यवस्थापनलाई सहज बनाउन जुम्ल्याहा सहर इस्लामावाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ भने विदेशी प्रतिनिधिमण्डलको आवागमनका लागि छुट्टाछुट्टै मार्गहरू निर्धारण गरिएका छन् । इस्लामावाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडिने जानकारी दिँदै ट्राफिक एडभाइजरी जारी गरेको छ । उद्धार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखिएको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ भने उनीहरूको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिनेछन् । दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् । सबै सरोकारवालाहरूसँगको पुरानो सम्बन्ध र पाकिस्तानको तटस्थताले संवादलाई अघि बढाउन विशेष भूमिका खेल्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् ।