बागलुङ प्रहरीको ७ दिने अल्टिमेटम, बिएन कन्स्ट्रक्सनलाई अन्तिम मौका

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले काठमाडौंको सितापइलास्थित बिएन कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । निर्माणाधीन भवन ब्यारेक ब्लक, डिटेन्सन सेल, वरिष्ठ अधिकृत क्वार्टर, इन्चार्ज क्वार्टर, कार्यालय मर्मत, ल्यान्डस्केपिङ र ग्यारेज निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेको भन्दै निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो । 

कार्यालयले बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण कार्य अपेक्षाअनुसार अघि नबढेको उल्लेख गरेको छ । हाल हर्जना सहितको समय अवधि १७ दिन मात्र बाँकी रहेको अवस्थामा समेत प्रगति सन्तोषजनक नदेखिएको कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्ने विषयमा ७ दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित आधिकारिक व्यक्ति स्वयं उपस्थित हुन निर्देशन दिएको हो ।

कार्यालयका अनुसार निर्माण व्यवसायीले कार्यप्रति चासो नदेखाएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(२)(क) तथा ५९(७), सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८(२)(ग) (घ) र ठेक्का सम्झौताका जीसीसी क्लज ७२.३ (आई) अनुसार कारबाही अघि बढाउने चेतावनी दिएको छ । 

‘यदि तोकिएको समयभित्र स्पष्टिकरण प्राप्त नभएमा यो सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता तोड्ने, कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी जफत गर्ने तथा बाँकी काम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अघि बढाइनेछ,’ सूचनामा भनिएको छ । 

Share News