सुशासन, विकास र समृद्धि आजको राष्ट्रिय आवश्यकता: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

१९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकास हासिल गर्न संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरेका हुन् ।

उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राख्दै दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षलाई आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको परिणामस्वरूप जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनअधिकारप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

साथै, उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, राजनीतिक कार्यकर्ता तथा जनसमुदायको योगदानको उच्च प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्र दिवसले नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

Share News