काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
गणतन्त्र दिवस २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै सम्पूर्ण शक्ति जनतामा निहित हुने बताए । उनले जननिर्वाचित प्रतिनिधिहरूले जनताप्रति आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सके मात्र गणतन्त्रको मूल मर्म सार्थक हुने बताए ।
उपराष्ट्रपति यादवका अनुसार संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात गर्दै अघि बढ्न सके मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ ।
‘गणतन्त्र दिवस’लाई केवल उत्सवका रूपमा मात्र नभई आत्ममूल्याङ्कनको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ । जनअपेक्षाअनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सकिएको छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्ने दिनका रूपमा यसलाई उपयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
उपराष्ट्रपति यादवले वञ्चित, उत्पीडित र उपेक्षित समुदायको सक्रिय सहभागिताबिना कुनै पनि गणतन्त्र बलियो र दीर्घकालीन हुन नसक्ने वास्तविकतालाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको दीर्घ सङ्घर्ष, ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलन तथा असंख्य सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धि भएको स्मरण गर्दै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । साथै, उनले अङ्गभङ्ग भएका तथा बेपत्ता पारिएका व्यक्तिहरूप्रति उच्च सम्मान व्यक्त गरे ।
उपराष्ट्रपति यादवले वंशीय शासनको अन्त्य गर्दै प्राप्त वर्तमान व्यवस्थाले सत्ता र शक्तिको दुरुपयोग नियन्त्रण गरेको उल्लेख गर्दै लोकतन्त्र, सङ्घीयता र गणतन्त्रका मूल्यहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास देशका लागि हानिकारक हुने बताए ।
उनले गणतन्त्र दिवसले नेपालको गौरवशाली इतिहास, सांस्कृतिक विविधता र राष्ट्रिय उपलब्धिहरू उजागर गर्दै लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका मूल्यहरूको रक्षा गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।