विकासन्युज

क्रिप्टो बजारमा भूकम्प : बिटकोइन ८६ हजार डलरभन्दा तल, बजार पूँजीकरण ३ ट्रिलियनमुनि

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा मंगलबार ठूलो हलचल मच्चिएको छ । बिटकोइनदेखि अन्य प्रमुख क्रिप्टोकरेन्सीसम्म २४ घण्टामा ४ प्रतिशतभन्दा बढी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  यससँगै क्रिप्टोको विश्वव्यापी बजार पूँजीकरण (ग्लोबल मार्केट क्याप) पनि २४ घण्टामा ३.७५ प्रतिशतले घटेको छ । यस गिरावटपछि ग्लोबल मार्केट क्याप फेरि ३ ट्रिलियन डलरभन्दा तल झरेको छ ।  उता बिटकोइनको मूल्य पनि ४ प्रतिशतभन्दा बढी घट्दै ८६ हजार डलरभन्दा तल पुगेको छ । सोमबार बिहान ८:३० बजे क्रिप्टोकरेन्सीको ग्लोबल मार्केट क्याप ३.०५ ट्रिलियन डलर थियो । मंगलबार बिहान ८ः३० बजे यो घटेर २.९३ ट्रिलियन डलरमा सीमित भयो । यसरी ०.१२ ट्रिलियन डलर (करिब १७.६ लाख करोड रुपैयाँ) बराबरको गिरावट आएको छ । पछिल्ला दुई हप्तामा क्रिप्टोकरेन्सीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो ।  यस गिरावटका कारण क्रिप्टोकरेन्सीको ‘फियर एन्ड ग्रिड इन्डेक्स’ २१ मा पुगेको छ । यो सूचक १०० को तुलनामा जति कम हुन्छ, मानिसहरूमा क्रिप्टोप्रति त्यति नै डर बढी हुन्छ।  पछिल्लो समय बिटकोइनसहित प्रायः सबै क्रिप्टोकरेन्सीमा गिरावट देखिँदै आएको छ । पछिल्ला २४ घण्टामा बिटकोइनको मूल्य ४.४७ प्रतिशत घटेर करिब ८५ हजार ७०० डलरमा पुगेको छ । पछिल्ला ७ दिनमा बिटकोइन ५ प्रतिशतभन्दा बढीले घटिसकेको छ । दुई महिनाअघि अक्टोबरमा बिटकोइनको मूल्य करिब १ लाख २५ हजार डलरसम्म पुगेको थियो । त्यसयता हालसम्म ठूलो गिरावट आएको छ । बिटकोइनबाहेक अन्य क्रिप्टोकरेन्सीमा पनि ठूलो गिरावट देखिएको छ । पछिल्ला २४ घण्टामा इथेरियम ४ प्रतिशतभन्दा बढी घट्दै ३ हजार डलरभन्दा तल झरेको छ । रिपलमा पनि उल्लेखनीय कमी आएको छ । २४ घण्टामा रिपलको मूल्य ६ प्रतिशतभन्दा बढी घटेर २ डलरभन्दा तल पुगेको छ । हाइपरलिक्विड क्रिप्टो पनि ८ प्रतिशतभन्दा बढी घटेर करिब १.५० डलरमा पुगेको छ । पाई नेटवर्कमा पनि करिब ५ प्रतिशतको गिरावट आएको छ । क्रिप्टोकरेन्सीमा आएको गिरावटलाई फेडरल रिजर्भसँग जोडेर हेरिएको छ । केही विज्ञहरूका अनुसार क्रिप्टोकरेन्सीमा तीव्र विक्री र लिक्विडेसन बढेकाले मूल्यमा ठूलो गिरावट आएको हो । यसबाहेक केही जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले पनि क्रिप्टोकरेन्सी बजारमा असर पारिरहेको छ, जसका कारण मूल्य घटिरहेको छ ।

चन्द्रागिरी हिल्सले सेयर वितरणपश्चात हकप्रद जारी गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुधबार बिहान ११ बजे चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन परिसर, थानकोट काठमाडौंमा साधारण सभा आयोजना गर्न लागेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिने संस्थाले जनाएको छ ।

सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

गोलभेँडा किलोको ६० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३० रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ रहेको छ । गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ । रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो १२० रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ११० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २५० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

फेरि सर्‍यो एमालेको मतदान समय

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचन अपराह्न ४ बजेपछि मात्र सुरु हुने भएको छ । विद्युतीय भोटिङ मेसिनको परीक्षण र कोडिङ गर्नुपर्ने भएकाले मतदान केही ढिलो हुने निर्वाचन आयोगले जनाएको छ । आयोग र प्राविधिकहरू मेसिनको परीक्षणमा बिहानदेखि लागे पनि ४ बजेअघि कोडिङको काम नसकिने आयोगको अनुमान रहेको छ । यसअघि बिहान ११ बजेदेखि मतदान हुने भनिए पनि त्यसलाई सारेर मध्याह्न १ बजे मतदानको व्यवस्था मिलाइएको थियो ।

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

बाँके । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविखनको जोखिम बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचविबखनको जोखिममा पर्ने सम्भावना बढेको हो । भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशङ्कामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो। शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा प्रेम सम्बन्ध गाँसिएकै आधारमा यी दुई युवती भारतीय व्यक्तिसँग विवाह गर्न राजी भई भागेर सिमला जाने क्रममा उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये दाङकी एक युवतीको उमेर १५ वर्षमात्र छ भने अर्घाखाँचीकी युवतीको उमेर २२ वर्ष रहेको उनले जानकारी दिए। संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट कुराकानी भएकै भरमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न भन्दै त्यसतर्फ जाने युवतीको सङ्ख्या बढ्दै जानुले बेचबिखनको जोखिमलाई झन बढाएको बताए । ‘सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँले जोखिम निम्त्याउने काम हो’, उनले भने। केन्द्रको पहलमा दाङकी युवतीलाई अभिभावकसँगको सम्पर्कपछि पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीलाई विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताए । ‘भारतीय नागरिकसँग विवाह गरेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको पाइएको छ’, पुरीले भने, ‘नेपाली युवती विवाहका लागि राजी भएर भारत पुगेमा समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले यो समस्या बढ्दै गएको हो ।’ आर्थिक लाभको लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इञ्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा घरबाट भागेर भारत पुग्ने महिला उच्च बेचबिखनको जोखिममा रहेकाले सबै यसतर्फ सचेत हुनुपर्ने बताए। उनले बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाको समन्वयले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गरे। प्रहरी निरीक्षक मल्लका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन्। शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले निम्त्याएको यो जोखिमले सीमा नाकामा कडाइ र सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याए । आफूहरूले भारतीय सहरमा बेचिएका र अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी र गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको उनले बताए । नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना गृहसँगै माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन सङ्घसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रहँदै आएका छन् । शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आवमा ३९९ जनाको उद्धार गरेको थियो। केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराले गत आवमा ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको जनाउँदै ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्‍याइएको बताए। शान्ति पुनःस्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ। रासस

सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दाहरूलाई छुट्याइएको छ । साथै सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले पुस २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय माघ ८ गतेसम्म लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा पुस २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले ज्योती विकास बैंक समुन्द्रटार, कृषि विकास बैंक खैरेनीटार, राष्ट्रिय वाणिज्य बैंक खैरेनीटार, ट्रेड टावर, थापाथली स्थित रजिस्टर्ड कार्यालय र दुप्चेश्वर गाउँ पालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।