प्रदीप ज्ञवालीको अपिल- ओली नेतृत्वको टिमलाई शानदार मत दिनुस्
काठमाडौं । नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमाले नेता प्रदीप ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई विजयी गराउन अपिल गरेका छन् । ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक जीवन मात्र होइन, समग्र राष्ट्रिय राजनीतिका लागि समेत यो महाधिवेशन दूरगामी महत्त्वको रहेको उल्लेख गरेका छन् । चुनौतीपूर्ण राजनीतिक परिवेशमा पार्टीलाई बलियो, एकताबद्ध र स्थिर दिशामा अघि बढाउन ओली नेतृत्वको टिम आवश्यक रहेको उनको भनाइ छ । ‘आजको मतदान एमालेको भावी दिशा तय गर्ने निर्णायक क्षण हो,’ ज्ञवालीले अपिलमा भनेका छन्, ‘यस ऐतिहासिक महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नुभएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी गराइदिनु हुन म सबै प्रतिनिधि कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु ।’ यसैबीच, ज्ञवालीले यस पटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । आफू सधैँ कार्यकर्ताको बीचमै रहेको र पार्टी तथा आन्दोलनका लागि निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
जर्मनीको अनलाइन बैंक एन-२६ माथि प्रतिबन्ध
काठमाडौं । जर्मनीका वित्तीय नियामकले सोमबार अनलाइन बैंक एन-२६ माथि प्रतिबन्ध लगाएकाे छ । यो ऋणदातालाई प्रभावित गर्न सक्ने पछिल्लो हलचल हो । ‘विशेष गरी जोखिम र गुनासो व्यवस्थापन र ऋण व्यवसायसम्बन्धी उक्त संस्थामा गम्भीर कमजोरीहरू थिए,’ वित्तीय संस्थालाई नियमन गर्ने अनुगमनकारी संस्था बाफिनले भनेको छ। बाफिनले गत वर्ष एन-२६ विशेष लेखापरीक्षण गरेको थियो । बाफिनले एन-२६ लाई समस्याहरू समाधान गर्न कदम चाल्न आदेश दिएको र बैंकको प्रगतिको अनुगमन गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरिरहेको बताएको छ। ‘बैंकलाई नेदरल्यान्ड्समा नयाँ धितो ऋण सञ्चालन गर्नबाट पनि रोकिएको थियो र थप पुँजी राख्न आदेश दिइएको थियो,’ नियामक संस्था बाफिनले भनेको छ। एन-२६ ले एएफपीलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, ‘यो ‘सुपरिवेक्षण अधिकारीहरू र नियुक्त विशेष प्रतिनिधि’सँग निकट र रचनात्मक छलफलमा छ ।’ सन् २०१३ मा स्थापना भएको र २४ देशहरूमा सञ्चालन भएको बैंकले प्रशासन सञ्चालन संरचनामा समायोजनजस्ता उपायहरूको साथ योजना कार्यान्वयन गरिरहेको बताएको छ । यो अनलाइन बैंकको लागि पछिल्लो समस्या हो । बैंक सन् २०१८ देखि नियामकको मार्ग निर्देशमा रहेको छ । मिडिया अनुसन्धानले यसमा नक्कली परिचयपत्रले खाता खोल्न सम्भव भएको देखाएको थियो । त्यसपछि बैंकलाई सम्पत्ति शुद्धीकरण विरोधी कार्यमा समस्याको लागि ठूलो जरिवाना लगाइएको थियो । यी चिन्ताहरूले नियामकहरूलाई यसले स्वीकार गर्न सक्ने नयाँ ग्राहकहरूको सङ्ख्यामा नियन्त्रण गर्न बाध्य पारेको थियो, यद्यपि, यो गत वर्ष हटाइएको थियो। यस वर्षको सुरुमा कमजोरीहरूको बारेमा चिन्ता बढ्दै जाँदा एन-२६ ले आफ्नो शीर्ष नेतृत्वलाई फेरबदल गरेको थियो ।
डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य १६३ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६०.५० रुपैयाँ, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६.९३ रुपैयाँ घटेर तथा पेट्रोलमा १.९४ रुपैयाँ बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
कोर टिम भड्किएपछि ओलीको अंक गणितमा गडबड
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओलीलाई यसपटक आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। लामो समयदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका ओलीले आफ्नो ‘कोर टिम’लाई एकढीक्का राख्न नसक्दा महाधिवेशनको निर्वाचन परिणाम प्रभावित हुन सक्ने विश्लेषण हुन थालेको छ । महाधिवेशनअघि ओली पक्ष बलियो र संगठित देखिए पनि उम्मेदवारी दर्ता र पदाधिकारीको बाँडफाँडको क्रममा असन्तुष्टि सतहमा आएको छ । आफू निकट मानिएका केही प्रभावशाली नेताहरूले अपेक्षित जिम्मेवारी नपाएको गुनासो गर्दै खुलेआम असन्तुष्टि जनाउन थालेका छन् भने कतिपय नेताहरू मौन बसेर दूरी बढाइरहेको संकेत देखिन्छ । यसले ओलीको आन्तरिक शक्ति सन्तुलनमा असर पुर्याएको छ । खासगरी ओलीको किचन क्याबिनेटका नेता प्रदीप ज्ञवालीको मौन असन्तुष्टि ओलीका लागी भारी पर्ने अनुमान एमालेबृत्तमा चलेको छ । यस्तै, कृष्णगोपाल श्रेष्ठको बहिर्गमन ओलीका लागि टाउको दुखाइ बनेको छ । उपत्यकाका स्थापित नेता श्रेष्ठले ओलीको साथ छोड्दा ईश्वर पोखरेल समूह उत्साहित भएको पाइन्छ । उपत्यकाकै अर्का नेता रघुजी पन्तले पनि ओलीको साथ छोडेका छन् । मधेशी मुलका स्थापित नेता लालबाबु पण्डित पनि ओलीको साथ छोड्ने नेतामा परेका छन् । ओलीले ‘अनुभव र निरन्तरता’लाई मुख्य आधार बनाउँदै नेतृत्वमा पुनः दाबी गरेपनि पार्टीभित्र पुस्तान्तरण, समावेशीता र शक्ति सन्तुलनको माग तीव्र हुँदै जाँदा पुरानै संरचनामा अडिग रहन खोज्दा समस्या देखिएको कतिपय नेताहरूको बुझाइ छ। विशेषगरी पदाधिकारी र केन्द्रीय सदस्य चयनमा क्षेत्रीय, गुटगत र व्यक्तिगत सन्तुलन मिलाउन नसक्दा ओली समूहभित्रै असन्तोष बढेको हो । महाधिवेशनस्थलमा देखिएको गतिविधिले ओली स्वयं पनि असहज अवस्थामा रहेको संकेत गर्छ । कोर टिमका केही नेताहरूलाई फकाउने, भेटघाट र छलफल बढाउने प्रयास भइरहे पनि सबै असन्तुष्टि तत्काल समाधान हुने अवस्था देखिँदैन । स्रोतका अनुसार ओली पक्षले अन्तिम समयमा समीकरण मिलाउन प्रयास गरिरहेको छ, तर यसले कति प्रभाव पार्छ भन्ने अनिश्चित छ। यसबीच अध्यक्ष पदमा अर्का प्रत्यासी ईश्वर पोखरेलले असन्तुष्ट समूहलाई आकर्षित गर्ने प्रयास गरिरहेको चर्चा छ। ओली समूहबाट अपेक्षित अवसर नपाएका नेताहरू वैकल्पिक नेतृत्वतर्फ झुक्न सक्ने सम्भावनाले निर्वाचनको गणित झन् जटिल बनेको छ। एमालेभित्र लामो समयदेखि एउटै केन्द्रमा केन्द्रित शक्ति संरचनाप्रति प्रश्न उठ्दै आएको सन्दर्भमा यो महाधिवेशन निर्णायक हुन सक्ने विश्लेषण पनि भइरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको बलियो पक्ष भनेको संगठित संरचना, कार्यकर्ता माझको पहिचान र विगतको नेतृत्व अनुभव हो । तर, यही अनुभवलाई निरन्तरताको मात्र आधार बनाउँदा नयाँ आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गरिएको अनुभूति कार्यकर्तामा पर्न गएको उनीहरूको भनाइ छ । कोर टिमभित्रको असन्तुलनले तल्लो तहसम्म सन्देश जाने भएकाले यसले मत परिणाममा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । महाधिवेशन अन्तिम चरणमा प्रवेश गर्दा ओलीले कति सफलता पूर्वक असन्तुष्टलाई समेट्न र कोर टिमलाई पुनः सक्रिय बनाउन सक्छन् भन्ने कुरा निर्णायक हुनेछ । यदि आन्तरिक व्यवस्थापन कमजोर रहिरह्यो भने बलियो देखिएको गणित अन्तिम परिणाममा उल्टिन सक्ने सम्भावना पनि नकार्न सकिँदैन । एमालेको यो महाधिवेशन केवल नेतृत्व चयन मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको दिशाबारे पनि निर्णायक मोड बन्ने देखिन्छ ।
एमालेमा विभिन्न पदका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ । राम लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । ‘हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ । तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ,’ उनले भने । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन देशका मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
विभागले तिरायो कृष्णा टायलसहित ५ फर्मलाई जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ५ वटा फर्मलाई १० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुगमनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुगमनका क्रममा विभागले सुमेस ग्लास ट्रेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन ट्रेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुगमन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ ।
विदेशमा पढ्ने विद्यार्थीहरूले ४ महिनामा लगे ४२.९६ अर्ब रुपैयाँ
काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ४ महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनाका चालु आवको ४ महिनामा करिब १० अर्ब रुपैयाँ बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो ।