डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य १६३ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६०.५० रुपैयाँ, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६.९३ रुपैयाँ घटेर तथा पेट्रोलमा १.९४ रुपैयाँ बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
कोर टिम भड्किएपछि ओलीको अंक गणितमा गडबड
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओलीलाई यसपटक आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। लामो समयदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका ओलीले आफ्नो ‘कोर टिम’लाई एकढीक्का राख्न नसक्दा महाधिवेशनको निर्वाचन परिणाम प्रभावित हुन सक्ने विश्लेषण हुन थालेको छ । महाधिवेशनअघि ओली पक्ष बलियो र संगठित देखिए पनि उम्मेदवारी दर्ता र पदाधिकारीको बाँडफाँडको क्रममा असन्तुष्टि सतहमा आएको छ । आफू निकट मानिएका केही प्रभावशाली नेताहरूले अपेक्षित जिम्मेवारी नपाएको गुनासो गर्दै खुलेआम असन्तुष्टि जनाउन थालेका छन् भने कतिपय नेताहरू मौन बसेर दूरी बढाइरहेको संकेत देखिन्छ । यसले ओलीको आन्तरिक शक्ति सन्तुलनमा असर पुर्याएको छ । खासगरी ओलीको किचन क्याबिनेटका नेता प्रदीप ज्ञवालीको मौन असन्तुष्टि ओलीका लागी भारी पर्ने अनुमान एमालेबृत्तमा चलेको छ । यस्तै, कृष्णगोपाल श्रेष्ठको बहिर्गमन ओलीका लागि टाउको दुखाइ बनेको छ । उपत्यकाका स्थापित नेता श्रेष्ठले ओलीको साथ छोड्दा ईश्वर पोखरेल समूह उत्साहित भएको पाइन्छ । उपत्यकाकै अर्का नेता रघुजी पन्तले पनि ओलीको साथ छोडेका छन् । मधेशी मुलका स्थापित नेता लालबाबु पण्डित पनि ओलीको साथ छोड्ने नेतामा परेका छन् । ओलीले ‘अनुभव र निरन्तरता’लाई मुख्य आधार बनाउँदै नेतृत्वमा पुनः दाबी गरेपनि पार्टीभित्र पुस्तान्तरण, समावेशीता र शक्ति सन्तुलनको माग तीव्र हुँदै जाँदा पुरानै संरचनामा अडिग रहन खोज्दा समस्या देखिएको कतिपय नेताहरूको बुझाइ छ। विशेषगरी पदाधिकारी र केन्द्रीय सदस्य चयनमा क्षेत्रीय, गुटगत र व्यक्तिगत सन्तुलन मिलाउन नसक्दा ओली समूहभित्रै असन्तोष बढेको हो । महाधिवेशनस्थलमा देखिएको गतिविधिले ओली स्वयं पनि असहज अवस्थामा रहेको संकेत गर्छ । कोर टिमका केही नेताहरूलाई फकाउने, भेटघाट र छलफल बढाउने प्रयास भइरहे पनि सबै असन्तुष्टि तत्काल समाधान हुने अवस्था देखिँदैन । स्रोतका अनुसार ओली पक्षले अन्तिम समयमा समीकरण मिलाउन प्रयास गरिरहेको छ, तर यसले कति प्रभाव पार्छ भन्ने अनिश्चित छ। यसबीच अध्यक्ष पदमा अर्का प्रत्यासी ईश्वर पोखरेलले असन्तुष्ट समूहलाई आकर्षित गर्ने प्रयास गरिरहेको चर्चा छ। ओली समूहबाट अपेक्षित अवसर नपाएका नेताहरू वैकल्पिक नेतृत्वतर्फ झुक्न सक्ने सम्भावनाले निर्वाचनको गणित झन् जटिल बनेको छ। एमालेभित्र लामो समयदेखि एउटै केन्द्रमा केन्द्रित शक्ति संरचनाप्रति प्रश्न उठ्दै आएको सन्दर्भमा यो महाधिवेशन निर्णायक हुन सक्ने विश्लेषण पनि भइरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको बलियो पक्ष भनेको संगठित संरचना, कार्यकर्ता माझको पहिचान र विगतको नेतृत्व अनुभव हो । तर, यही अनुभवलाई निरन्तरताको मात्र आधार बनाउँदा नयाँ आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गरिएको अनुभूति कार्यकर्तामा पर्न गएको उनीहरूको भनाइ छ । कोर टिमभित्रको असन्तुलनले तल्लो तहसम्म सन्देश जाने भएकाले यसले मत परिणाममा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । महाधिवेशन अन्तिम चरणमा प्रवेश गर्दा ओलीले कति सफलता पूर्वक असन्तुष्टलाई समेट्न र कोर टिमलाई पुनः सक्रिय बनाउन सक्छन् भन्ने कुरा निर्णायक हुनेछ । यदि आन्तरिक व्यवस्थापन कमजोर रहिरह्यो भने बलियो देखिएको गणित अन्तिम परिणाममा उल्टिन सक्ने सम्भावना पनि नकार्न सकिँदैन । एमालेको यो महाधिवेशन केवल नेतृत्व चयन मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको दिशाबारे पनि निर्णायक मोड बन्ने देखिन्छ ।
एमालेमा विभिन्न पदका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ । राम लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । ‘हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ । तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ,’ उनले भने । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन देशका मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
विभागले तिरायो कृष्णा टायलसहित ५ फर्मलाई जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ५ वटा फर्मलाई १० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुगमनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुगमनका क्रममा विभागले सुमेस ग्लास ट्रेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन ट्रेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुगमन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ ।
विदेशमा पढ्ने विद्यार्थीहरूले ४ महिनामा लगे ४२.९६ अर्ब रुपैयाँ
काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ४ महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनाका चालु आवको ४ महिनामा करिब १० अर्ब रुपैयाँ बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो ।
दमौलीमा निर्माणाधीन ४ लेनको पुल वैशाखभित्र सम्पन्न गर्ने, ७४ प्रतिशत प्रगति
काठमाडौं । मुग्लिन-पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन ४ लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका-४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए । सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनले भने, ‘पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।’ उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ । ३१५ मिटर लामो पुलमा ६ वटा स्पान रहनेछ । पुलको वारिपारि २/२ ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । ‘मिडल स्पान २ वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ,’ उनले भने । १ अर्ब २१ करोड रुपैयाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ । सूचना अधिकारी पाण्डेले मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काम मात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँच मार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए । निर्माण कम्पनी व्यवस्थापक दिनेश कुमार श्रेष्ठले निर्धारित मिति अगावै पुल निर्माणको काम सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्ने गरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ । ६ वटा स्पानमध्ये २/२ स्पानको काम सकिएको र बीचको २ वटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए । पुलको दायाँबायाँ ५ सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उनले उल्लेख गरे । उनले भने, ‘बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।’ पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल ४ लेनको हुनेछ । हाल नदीमाथि रहेको २ लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।
नेकपा एमाले अनुशासन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएको छ । एमाले को ११औँ महाधिवेशनमा अनुशासन आयोगको अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले आयोगका तीनै पदाधिकारीमा एकल उम्मेदवारी परेपछि पहारी, पराजुली र घिमिरे निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । पार्टीभित्र अनुशासन आयोगलाई अत्यन्त महत्वपूर्ण निकायका रूपमा लिइन्छ । आयोगले पार्टीभित्र उत्पन्न हुने विवाद, अनुशासनसम्बन्धी मुद्दा तथा आन्तरिक असहमतिको निरुपण गर्ने जिम्मेवारी वहन गर्छ । नव निर्वाचित नेतृत्वले पार्टीको संगठनात्मक अनुशासन मजबुत बनाउने, आन्तरिक एकता सुदृढ गर्ने तथा विधि र प्रक्रियाको पालना सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।