काठमाडौं । अमेरिकामा च्याटजीपीटीको सल्लाहमा मिर्गी रोगको औषधी घटाएकी एक महिलाको मृत्यु भएपछि ओपनएआईविरुद्ध मुद्दा दायर भएको छ ।
सियाटलकी ३१ वर्षीया बोवेन वानको औषधीको मात्रा क्रमशः घटाएपछि मिर्गीको समस्या बल्झिएर मृत्यु भएको थियो ।
त्यसपछि उनका परिवारले ओपनएआई र कम्पनीका संस्थापक साम अल्टम्यानविरुद्ध मुद्दा दायर गरेका हुन् ।
सान फ्रान्सिस्कोस्थित अदालतमा दायर मुद्दामा च्याटजीपीटीले गलत र जोखिमपूर्ण स्वास्थ्य सल्लाह दिएको आरोप लगाइएको छ ।
च्याटजीपीटीले गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको र त्यसकै कारण वानको मृत्यु भएको परिवारको दाबी छ ।
अदालती कागजातअनुसार वानले स्वास्थ्य सेवा र अमेरिकाको स्थायी बसोबास अनुमति लिने प्रक्रियामा औषधीबारे बुझ्न च्याटजीपीटी प्रयोग गर्थिन् । उनले अंग्रेजी र म्यान्डारिन भाषामा च्याटजीपीटीसँग परामर्श लिने गरेकी थिइन् ।
मुद्दामा उल्लेख भएअनुसार च्याटजीपीटीले औषधी घटाउँदा अंग्रेजी, म्यान्डारिन र वु भाषामा राम्रोसँग बोल्ने क्षमता फर्किने विश्वास दिलाएको थियो ।
च्याटजीपीटीले उनलाई चिकित्सकमाथि अविश्वास गर्न प्रेरित गरेको आरोप पनि छ । औषधी घटाएको कुरा चिकित्सकबाट लुकाउन सिकाएको र आफै मुख्य स्वास्थ्य सल्लाहकार बनेको परिवारको दाबी छ ।
वानले चिकित्सकले सिफारिस गरेका औषधीबारे पनि च्याटजीपीटीसँग सल्लाह लिन्थिन् । च्याटजीपीटीले उनलाई कुन औषधी नखाने र चिकित्सकको स्वीकृतिबिना कति मात्रा लिने भन्ने निर्देशन दिएको आरोप छ ।
त्यस्तै, चिकित्सकलाई जानकारी नदिई औषधी सेवन गर्ने तालिका बनाइदिएको र चिकित्सकसँग कसरी कुरा गर्ने भन्ने पनि सिकाएको मुद्दामा उल्लेख छ ।
कागजातअनुसार च्याटजीपीटीले वानलाई उनका विशेषज्ञ चिकित्सकले यस्तो अवस्था सायद पहिले कहिल्यै नदेखेको र उनको समस्या बुझ्न नसक्ने बताएको थियो ।
चिकित्सकले औषधी घटाउने योजनालाई जोखिमपूर्ण मान्न सक्ने चिन्ता वानले व्यक्त गरेकी थिइन् । तर, च्याटजीपीटीले चिकित्सकले औषधी छिटो घटाएको बताए पनि त्यसको अर्थ आफ्नो निर्णय गलत भएको नहुने आश्वासन दिएको आरोप छ ।
चिकित्सकले औंल्याएका जोखिम उनको अवस्थामा लागू नहुने विश्वाससमेत च्याटजीपीटीले दिलाएको परिवारको दाबी छ ।
मुद्दाअनुसार च्याटजीपीटीले वानलाई दैनिक ४०० मिलिग्राम ल्यामोट्रिजिन औषधीको मात्रा २५ दिनभित्र लगभग शून्यमा झार्न प्रेरित गरेको थियो ।
सामाजिक सञ्जालमा पनि जिम्मेवारीबारे बहस
यस घटनापछि सामाजिक सञ्जाल रेडिटमा एआई कम्पनीहरूको जिम्मेवारीबारे बहस सुरु भएको छ ।
एक प्रयोगकर्ताले एआईको गलत प्रयोग गरेको भन्दै प्रयोगकर्तालाई मात्र दोष दिन नहुने बताएका छन् । उनका अनुसार एआई प्रणाली बनाउने कम्पनी पनि त्यसबाट हुने क्षतिप्रति जिम्मेवार हुनुपर्छ ।
उनले एआईले अन्य संस्थाको प्रणालीमा अनधिकृत पहुँच पुर्याउँदा विकासकर्ता र सञ्चालकलाई जिम्मेवार ठहर गरिने उदाहरण दिएका छन् । तर, स्वास्थ्यसम्बन्धी जोखिमपूर्ण सल्लाह दिँदा कम्पनीलाई जिम्मेवारीबाट मुक्त गर्न खोज्नु विरोधाभासपूर्ण भएको उनको तर्क छ ।
उनले एआई कम्पनी र प्रयोगकर्ताको जिम्मेवारी स्पष्ट पार्ने नियमनको अभाव रहेको पनि औंल्याएका छन् ।
ओपनएआईले आफ्ना एआई प्रणाली अत्यन्त उन्नत र शक्तिशाली रहेको दाबी गर्दै आएको छ । यस्तो दाबी गर्ने कम्पनीले जोखिमपूर्ण सल्लाह पहिचान गर्न र रोक्न सक्ने सुरक्षा व्यवस्था पनि बनाउनुपर्ने ती प्रयोगकर्ताको भनाइ छ ।
सामान्य सुरक्षा उपायसमेत प्रभावकारी नभए एआईको क्षमता र सुरक्षाबारे कम्पनीले गर्ने दाबीमाथि प्रश्न उठ्ने उनले बताएका छन् ।