बहुमत गुमेपछि नेतन्याहुको आरोप– ‘अरब दलहरूले चुनाव चोरे’

काठमाडौं । इजरायलमा मंगलबार सम्पन्न संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्न असफल भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीले अरब राजनीतिक दलहरूमाथि चुनावी धाँधलीको आरोप लगाएको छ ।

लिकुड पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै अरब दलहरूले निर्वाचनमा व्यापक अनियमितता गरेको दाबी गरेको हो ।

विज्ञप्तिमा आतंकवादलाई समर्थन गर्ने र यहुदी राष्ट्र समाप्त पार्न चाहने अरब दलहरूले चुनाव चोरेको आरोप लगाइएको छ । घुसखोरी, धम्की, हिंसा, जालसाजी र मतदाता परिचालनका लागि प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेर निर्वाचनमा धाँधली गरिएको पार्टीको दाबी छ ।

लिकुड पार्टीले कथित चुनावी धाँधलीसँग सम्बन्धित सयौं बयान र प्रमाण प्रहरी, इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेट र केन्द्रीय निर्वाचन समितिलाई बुझाएको जनाएको छ ।

पार्टीका अनुसार ती प्रमाण अरब समुदायका विभिन्न मतदान केन्द्रमा भएका भनिएका अनियमिततासँग सम्बन्धित छन् ।

विज्ञप्तिमा अरब राजनीतिक दल राुमका मतपत्रसँगै नगद राखिएका हजारौं खाम फेला परेको दाबी गरिएको छ । त्यस्तै, मतदान केन्द्रका कर्मचारीलाई धम्की दिइएको र उनीहरूमाथि हिंसा गरिएको आरोप पनि लगाइएको छ ।

एउटै मतदान कक्षमा एकैपटक धेरै मतदाता प्रवेश गरेको, दोहोरो मतदान भएको र मतदाता तथा मतपत्र राखिएका खामको संख्यामा भिन्नता देखिएको दाबी लिकुड पार्टीले गरेको छ ।

यसका अतिरिक्त मतदाता परिचालनका लागि प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएकोलगायत अन्य अनियमितता भएको आरोप पनि पार्टीले लगाएको छ ।

लिकुडले प्रहरी र शिन बेटसँग कथित चुनावी धाँधलीको विस्तृत अनुसन्धान गर्न माग गरेको छ । साथै, दोषी पाइएका व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने जनाएको छ ।

पार्टीले केन्द्रीय निर्वाचन समितिसँग पनि आरोपहरूको तत्काल छानबिन गर्न माग गरेको छ । यस्ता गतिविधिले इजरायलको निर्वाचनको निष्पक्षता र परिणाममा गम्भीर असर पुर्याएको लिकुडको दाबी छ ।

यद्यपि, लिकुड पार्टीले लगाएका व्यापक चुनावी धाँधलीका आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् । इजरायलको केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले समेत व्यापक धाँधली भएको दाबीलाई अस्वीकार गरेका छन् ।

यसैबीच, बिहीबार बिहानसम्म करिब ९०.४ प्रतिशत मतगणना हुँदा नेतन्याहु नेतृत्वको गठबन्धनले ५३ सिट प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

उनका प्रमुख प्रतिद्वन्द्वी गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट प्राप्त गर्ने अनुमान छ । त्यस्तै, अरब समुदायको नेतृत्वमा रहेका दुई राजनीतिक दलले संयुक्त रूपमा १९ सिट प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

अरब समुदायको नेतृत्वमा रहेका राुम र जोइन्ट लिस्टले अहिलेसम्मकै धेरै सिट जित्ने सम्भावना देखिएको हो ।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । हालसम्मको मतगणनाअनुसार नेतन्याहु र आइजेनकोट दुवै नेतृत्वका गठबन्धन बहुमतबाट टाढा छन् ।

यस्तो अवस्थामा अरब दलहरूको समर्थन नयाँ सरकार गठनका लागि निर्णायक बन्न सक्ने देखिएको छ । तर, उनीहरूसँग सहकार्य गर्ने विषयमा विपक्षी दलहरूबीच समेत मतभेद छ ।

मतगणना पूरा नभएकाले अन्तिम सिट संख्या परिवर्तन हुन सक्नेछ ।

Share News