काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सात वटा ठूला सार्वजनिक उद्योगमा निजी क्षेत्रको सहभागिता बढाइने घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले सञ्चालनमा रहेका केही सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने बताएका हुन् ।
सरकारले लामो समयदेखि घाटामा रहेका वा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योगलाई पुनर्संरचना गर्दै उत्पादन र व्यवस्थापनमा निजी क्षेत्रको प्रवेश गराउने नीति लिएको जनाएको छ। यसलाई सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत अघि बढाइने बजेटमा उल्लेख छ।
अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानको दक्षता बढाउने, लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र औद्योगिक उत्पादन विस्तार गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको बताए। सरकारको यो घोषणालाई राज्य स्वामित्वका उद्योगको सुधार र निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने नयाँ पहलका रूपमा हेरिएको छ।