काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो संरचना बनाइने जानकारी दिए ।
त्यस्तै, सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि (आईटी) सफ्टवेयरको खरिद एकीकृत प्रणालीमार्फत एउटै निकायबाट गर्ने व्यवस्था मिलाइने सरकारले जनाएको छ । डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गरिने नीति पनि बजेटमा समावेश गरिएको छ ।
सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्ने घोषणा पनि गरेको छ ।
त्यसैगरी, जलविद्युत लगानी तथा विकास कम्पनीलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभेर पूर्वाधार क्षेत्रको विशिष्टकृत संस्थाका रूपमा विकास गरिने सरकारको योजना छ ।
गोरखकाली रबर उद्योगसहित ७ वटा संस्थानको ड्यू डिलिजेन्स अडिट (डीडीए) गरी ती संस्थानलाई निजी-सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गरिने अर्थमन्त्री वाग्लेले बताए ।