काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग गर्न आह्वान गरेका छन् । बजेट प्रस्तुत गर्दै उनले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छाले नलिन आग्रह गर्दै “सक्नेले छोडौं, नसक्नेले लिउँ” भन्ने अभियान अघि बढाइने घोषणा गरेका हुन् ।
सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई थप लक्षित, प्रभावकारी र आवश्यक वर्गमै केन्द्रित बनाउन यस्तो नीति लिएको जनाएको छ। अर्थमन्त्री वाग्लेले राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षा भत्ताको सदुपयोग सुनिश्चित गर्न आर्थिक रूपमा सक्षम नागरिकले स्वेच्छाले त्याग गर्दा त्यसबाट बचत हुने स्रोत वास्तवमै आवश्यकता भएका नागरिकसम्म पुर्याउन सहज हुने बताए।
सरकारका अनुसार यो अभियानले सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै सामाजिक सुरक्षा कोषको दीगो व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई अझ व्यवस्थित र लक्षित बनाउने उद्देश्यले यो नारा बजेटमार्फत अघि सारिएको हो ।