बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताए । लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजित समारोहपछि ट्रम्पले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे जानकारी लिएको बताएका थिए । उनले नेपालका अधिकारीहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिएपछि आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको जानकारी गराएको बताएका छन् । भोटेकोशी बाढीबाट नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग र चासो व्यक्त भइरहेका बेला अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिबद्धता आएको हो ।
बाढीपहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ । काठमाडौंमा नागढुंगा-मुग्लिन सडकखण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्णरूपमा बन्द गरिएको छ । कोशी प्रदेशअन्तर्गत इलाममा पहिरोका कारण मेची राजमार्गको इलाम–झापा जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेशमा पनि बाढीपहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भएका छन् । काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी सडकखण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै निश्चित समयका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरमा हेटौंडा-भीमफेदी-बागमती-ललितपुर सडकखण्ड तथा कान्तिलोकपथ क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । नुवाकोटमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिवपुरी गाउँपालिका-८ स्थित घट्टेखोलामा पर्ने टोखा-छहरे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण लामो समयदेखि पूर्णरूपमा अवरुद्ध छ । रसुवाका अन्य मुख्य राजमार्गसमेत अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित ज्वाङखोलालगायतका क्षेत्रमा पृथ्वी राजमार्ग प्रभावित भएको छ । चितवनमा मुग्लिन–नारायणगढ सडकखण्डसमेत बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ स्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । प्रहरीले लगातारको वर्षाका कारण सडकमा जुनसुकै बेला पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै, जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा आवश्यकताअनुसार यात्रा स्थगित गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
संस्थापक सेयरको सीमा ५ वर्षभित्र कायम नगरे लाभांश र हकप्रदमा रोक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी संस्थापक सेयर धारण गर्ने सेयरधनीलाई पाँच वर्षभित्र सीमा कायम गर्न निर्देशन दिएको छ । तोकिएको सीमाभन्दा बढी भएको सेयर आफूले धारण गरेको मितिले पाँच वर्षसम्म सीमाभित्र नल्याए बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३)(क) बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सीमा कायम नभएसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्यस्ता सेयरधनीले धारण गरेको सम्पूर्ण सेयरको नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाउनुपर्नेछ । साथै, त्यस्ता सेयरधनीलाई हकप्रद सेयरमा सहभागी हुनसमेत बन्देज लगाइनेछ । राष्ट्र बैंकले प्रचलित कानुन तथा आफ्ना निर्देशन पालना गर्ने सन्दर्भमा संस्थापक–संस्थापकबीच संस्थापक सेयर हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा भने तोकिएको सीमाभन्दा बढी सेयर भए पनि खरिद–बिक्री वा हक हस्तान्तरण गर्न सकिने स्पष्ट पारेको छ । यसका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । प्रतिव्यक्ति, फर्म, कम्पनी, संस्था तथा समूहका लागि तोकिएको सीमाभन्दा बढी सेयर भए पनि स्वीकृति लिएर संस्थापक–संस्थापकबीच सेयर कारोबार गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा तोकिएको सीमाभन्दा बढी सेयरधारण गर्ने सेयरधनीलाई भने उक्त अवस्था आउनुअघि आफूले धारण गरेको सेयरमा मात्र नगद लाभांश तथा बोनस सेयर वितरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
३ दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार भदौ १२ गतेदेखि भदौ १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न निर्देशन दिइएको हो । बाढी प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता पुगोस् भन्ने उद्देश्यले उक्त अवधिमा अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न भनिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा सुचारु हुने व्यवस्थासम्बन्धी जानकारी उपयुक्त माध्यमबाट आफ्ना ग्राहक तथा अन्य सरोकारवालालाई गराउनसमेत निर्देशन दिएको छ ।
आज जनै पूर्णिमाः रक्षा बन्धन धारण गरेर मनाइँदै, राखी बाँधिँदै
काठमाडौं । रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधि पूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसकारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक लगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्परा जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाममा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरू बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघा खोकीजस्ता रोग पनि निको हुने उनीहरुको भनाइ छ । तराई क्षेत्रमा राखी बाँधिँदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ । काठमाडौंको उत्तर पूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुष सागर र गङ्गासागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणी धामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।
बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३८९ पुग्यो, ४६६ जनाको उद्धार
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८९ पुगेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुका ९ बजेसम्म देशका ८ विभिन्न जिल्लाहरूमा गरी ३८९ जनाको शव फेला परेको हो । बाढीको बहावले बगाएकामध्ये सबैभन्दा धेरै चितवनस्थित नारायणी नदी किनारबाट १३७ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पश्चिममा २७, रसुवामा १७, नवलपरासी पूर्वमा ७ र नुवाकोटमा २ जनाको शव फेला परेको प्रहरीको तथ्याङ्क छ । विनाशकारी बाढीपछि सयौं नागरिक अझै बेपत्ता रहेका छन् भने हालसम्म ४६६ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमध्ये रसुवाबाट २८९ जना, नुवाकोटबाट ९० जना र धादिङबाट ३ जना रहेका छन् भने ८४ जनालाई उद्धार गरी उपचार तथा व्यवस्थापनका लागि काठमाडौं ल्याइएको छ । अहिले बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको तीव्र खोजी तथा बाँकी रहेकाहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूसँगै स्थानीय बासिन्दा र आफन्तहरू निरन्तर सक्रिय रूपमा खटिएका छन् ।
बाढीपीडितका लागि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा १ लाखभन्दा बढी सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बाढीबाट प्रभावित नागरिकहरूका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार चीनतर्फबाट अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएपछि संघले ’राबिया नेपाल रिलिफ फण्ड’ मार्फत आम कर्मचारीहरूको तर्फबाट सो रकम सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो । संघका अध्यक्ष रविन्द्र प्रसाद चौलागाईं र महासचिव ऋषिराम ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण ठूलो संख्यामा नागरिकहरू विस्थापित हुनुका साथै पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको यथाशीघ्र उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । यसैगरी, बाढीबाट प्रभावित परिवारहरूलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, अस्थायी आवास लगायतका आधारभूत राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ । बाढीका कारण क्षति व्यहोरेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, कर्मचारी र उनीहरूका परिवारलाई आवश्यक राहत, सहयोग तथा पुनःस्थापनामा ध्यान पुर्याउन बैंक व्यवस्थापन तथा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै विपद्को यस दुःखद् घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको संघले जनाएको छ ।
बाढीपीडितको राहतका लागि नेपाल बैंकद्वारा प्रधानमन्त्री कोषमा ३ करोड १ लाख सहयोग
काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्राकृतिक विपत्तिको कठिन समयमा बाढीपीडितका लागि ठूलो आर्थिक सहयोग पुर्याएकोमा नेपाल बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे । सञ्चालक समिति सदस्य लम्सालले महाभूकम्प, महामारी तथा विभिन्न राष्ट्रिय विपद्का बेला बैंकले गर्दै आएको सहयोगकै निरन्तरता स्वरूप यो सहयोग उपलब्ध गराइएको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए । साथै बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो ।