कालिका रिफाइनरीको आम्दानी एक वर्षमै दोब्बर, भारतीय भन्सार नीतिले बढायो व्यापार
काठमाडौं । खाने तेल उत्पादन गर्ने कालिका रिफाइनरी प्रालिले एक वर्षमै ४ अर्ब रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले सन् २०२५ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ९४.७४ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड २० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कच्चा तथा प्रशोधित खाद्य तेलमा भारत सरकारले अपनाएको अनुकूल भन्सार नीतिका कारण नेपाली तेल उद्योगहरूको आम्दानी बढेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सो अवधिमा विश्व बजारमा कच्चा पदार्थको मूल्य अत्यधिक बढ्दा उद्योगको आम्दानी प्रभावित भएको थियो । यद्यपि कच्चा पदार्थको मूल्यमा हुने तीव्र उतार–चढाव तथा वैदेशिक मुद्रा विनिमय दरमा हुने परिवर्तनले आगामी दिनमा पनि व्यवसायमा चुनौती सिर्जना हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल आम्दानीको करिब ४७ प्रतिशत हिस्सा भारततर्फ हुने प्रशोधित खाद्य तेल निर्यातमा निर्भर रहेको छ । कालिका रिफाइनरीले खाद्य तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै आएको छ । कच्चा पदार्थका रूपमा प्रयोग हुने कच्चा तेल अर्जेन्टिना, अस्ट्रेलिया, न्युजिल्यान्ड, नेदरल्याण्ड्स, ब्राजिल, इन्डोनेसिया तथा युक्रेनबाट आयात गरिँदै आएको छ । रिफाइनिङमार्फत खाद्य तेल उत्पादन गर्ने कालिका रिफाइनरी उद्योग सन् २०१९ जनवरी २२ मा स्थापना भएको हो भने सन् २०२१ जुन ८ देखि औपचारिक रूपमा उत्पादन सुरु गरेको हो । नवलपरासीको गैंडाकोटस्थित उद्योगले सूर्यमुखी, सोयाबिन, पामोलिन तथा तोरीको तेल उत्पादन गर्दै आएको छ । उद्योगको कुल उत्पादन क्षमता प्रतिदिन १ सय मेट्रिक टन रहेको छ । कालिका रिफाइनरीले तीन वर्षभन्दा बढी समयदेखि खाद्य तेल प्रशोधन गर्दै स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउन सफल भएको छ । छोटो अवधिमै खाद्य तेल उद्योगमा आफ्नो पहिचान स्थापित गर्न सफल कम्पनीका अध्यक्ष मदन सापकोटा रहेका छन् । सापकोटासँग यस क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ । कालिका रिफाइनरीले आफ्ना खाद्य तेलहरू ‘बेला’, ‘अम्बे’ र ‘एग्रो गोल्ड’ ब्रान्डबाट बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । जसमध्ये १४ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । रेटिङ संस्था केयर नेपालले कम्पनीलाई दीर्घकालीन ऋणका लागि केयर एनपी डबलबी माइनस र अल्पकालीन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ ।
सेयर बजारमा हरियाली, नेप्से २ हजार ६२५ बिन्दुमा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार (आज) नेप्से परिसूचक ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
ओली र लेखकलाई बोलाउने तयारी, जाँचबुझ आयोगले माग्यो एक महिनाको थप समय
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको यथार्थ उजागर गर्न गठित जाँचबुझ आयोगले आफ्नो काम अझै अधुरो रहेको जनाउँदै सरकारसँग एक महिनाको म्याद थपको आग्रह गरेको छ । आयोगका पदाधिकारीहरूले बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी म्याद थपका विषयमा छलफल गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा ५ असोजमा गठन भएको जाँचबुझ आयोगको कार्यकाल सकिन लाग्दा पनि बयान लिने प्रक्रिया जारी रहेकाले थप समय आवश्यक परेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष कार्कीले केही महत्त्वपूर्ण व्यक्तिहरूको बयान लिन बाँकी रहेकाले एक महिना समय अपुग भएको भन्दै प्रधानमन्त्रीसमक्ष म्याद थपको प्रस्ताव राखिएको जानकारी दिए । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आयोगको कामको गम्भीरतालाई ध्यानमा राख्दै समय थप गर्ने आश्वासन दिएको उनले बताए । उनले आगामी सातादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि उल्लेख गरे । आयोगले यसअघि नै जेनजी घटनासम्बन्धी सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । तीन महिनाको म्यादसहित असोज ५ गते गठन भएको आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम थालेको थियो । आयोगको म्याद पुस ९ गते सकिँदैछ । सत्यतथ्यमा आधारित प्रतिवेदन तयार पार्न थप एक महिना समय आवश्यक रहेको निष्कर्ष आयोगले निकालेकोले आयोगको म्याद थप्न आग्रह गरिएको कार्कीले जानकारी दिए ।
गत वर्षभन्दा राजस्व बढ्यो, भद्रपुर कार्यालयले मङ्सिरसम्म उठायो १ अर्ब १४ करोड
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा १ अर्ब १४ करोड ९९ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । ‘चालु आवको पहिलो पाँच महिनामा एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन भयो’ उनले भने । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट ४२ करोड ८८ लाख ३८ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ४० करोड ५२ लाख ५८ हजार रुपैयाँ अन्तःशुल्कबापत २६ करोड १० लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा १ अर्ब ८ करोड ८५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए ।
छ घण्टामा खस्यो ६५० मत
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा ६ घण्टामा ६ सय ५० मत खसेको छ । निर्वाचनमा प्रयोग भएका ८० विद्युतीय भोटिङ मेसिन (ईभीएम)मा ६ सय ५० मत खसेको र ८० महाधिवेशन प्रतिनिधिले समाचार तयार पार्दासम्म मतदान गरिरहेका छन् । निर्वाचन आयोगका सचिव डाक्टर कुन्साङ लामाका अनुसार पछिल्लो समय मतदानको गति अलि बढेको छ । ‘राति १० बजेसम्म मतदान सकिएला कि भन्ने हाम्रो अनुमान छ,’ लामाले भने । एमालेका २ हजार २ सय महाधिवेशन प्रतिनिधि नै यस निर्वाचनका मतदाता हुन् । लामाका अनुसार औसतमा एक मतदाताले पुरै मत दिन औसतमा २७ मिनेट लागेको छ ।
काठमाडौं र चितवनमा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३) तीन दिनसम्म काठमाडौं र चितवनमा यो विशेष अफर लागू हुनेछ । काठमाडौं उपत्यकामा कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजना गरिनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन ईमासको शोरुममै कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम अवधिमा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका मोडल, तिनका प्रमुख विशेषता, सेवा–सुविधा तथा विशेष अफरबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरअन्तर्गत प्रोटोन ईमास ७ को मूल्य ४७ लाखबाट सुरु हुने बताइएको छ । प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर, १८० मिमी ग्राउन्ड क्लियरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ किलोमिटर रहेको छ । उन्नत सुरक्षा प्रणाली, प्रिमियम डिजाइन र ४६१५ मिमी लम्बाइले यस इभीलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ । यस विशेष एक्सचेन्ज अफरमार्फत ग्राहकहरूले अत्याधुनिक, सुरक्षित र वातावरणमैत्री इलेक्ट्रिक सवारीसाधनमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीले जनाएको छ ।
नेपाल र संयुक्त राष्ट्र संघको साझेदारीका ७० वर्ष, प्रधानमन्त्रीले दोहोर्याइन् प्रतिबद्धता
काठमाडौं । नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारीका ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्रसंघप्रति नेपालको प्रतिबद्धता पुनःदोहोर्‍याएकी छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले शान्ति, विकास र मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसंघ विश्व शान्ति, दिगो विकास र मानवीय सहयोगका लागि महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै नेपालले सधैं संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तअनुसार काम गर्दै आएको बताएको रावलले जानकारी दिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिलाई समर्थन गर्ने कार्यमा नेपाल विश्वकै अग्रणी योगदानकर्ता राष्ट्र बनेकोमा गर्व व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रधानमन्त्रीले आगामी फागुन २१ मा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनले २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट विकासशील हुने लक्ष्यतर्फ अग्रसर रहेको उल्लेख गरिन् । यस उपलब्धिलाई दिगो बनाउन लगानी, प्रविधि र संयुक्त राष्ट्रसंघसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपाल भविष्यमा पनि संयुक्त राष्ट्रसंघको विश्वसनीय साझेदार रहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान, क–कसले पाए ?
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०७ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ । महानगरले स्थापना दिवसको अवसरमा कला, संस्कृति तथा सम्पदा संरक्षण, साहित्य, पत्रकारिता र विपद्, खेलकुद लगायत क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्दै आएको हो। पुरस्कृत हुनेहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार वितरण गरेकी हुन् । पुरस्कृत हुनेहरूमा कला साहित्य र सामाजिक सेवातर्फ धर्मलाल महर्जन, खेलकुद (कराते) तर्फ रवि महर्जन, कला र नृत्यतर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकलातर्फ बाबुराज द्यःला , संचारतर्फ नारायण किलम्बु, संंस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ, विपद् व्यवस्थापनतर्फ सशस्त्र प्रहरी बल, नेपाल, दक्षिणकाली गण ललितपुर र ललितपुर चक्रपथ महानगर सरसफाई अभियानलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थिएको थियो । पुरस्कृत व्यक्ति र संस्थालाई एक/एक लाखसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा पर्वतारोही योगन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत भए । उनलाई पचास हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन, प्रविन कुमार श्रेष्ठ पुरस्कृत भए । महानगर सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।