विकासन्युज

४७७ को शव फेला, १५ हजार बढी सुरक्षाकर्मी परिचालित

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा ४ सय ७७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले ४ सय ७७ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म सम्पर्कविहिन ९७७ जना भएका छन् ।  घाइते ७३ जना रहेका छन् । रसुवामा ७३,धादिङ ३ र नुवाकोटमा २७ जना उपचाररत छन् । १५ हजार १०८ जना सुरक्षाकर्मी परिचालन रहेको प्राधीकरणले जनाएको छ । नेपाल प्रहरी ७ हजार २५०, नेपाली सेना ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपाल ३ हजार ६५८ जना परिचालन रहेका छन् । ३ हजार २५३ जनालाई उद्धार गरिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको छ ।  

भोटेकोशीमा आएको बाढी स्याप्रुेबेसीमा आइपुग्यो, सतर्क रहन अनुरोध

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी स्याप्रुबेसीसम्म आईपुगेको  छ । त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ । त्यसैगरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले भोटेकोशीमा पुनः लेदोसहितको पानीको बहाव बढेको जनाएको छ । प्राधीकरणले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरेको छ । बुधबार रसुवाको भोटेकोशीमा बाढी आएर ठूलो संख्यामा मानवीय क्षति भएको थियो । प्रहरीका अनुसार हालसम्म ४ सय ६९ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको थियो ।

भोटेकोशीमा पुनः लेदोसहितको पानीको बहाव बढ्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा लेदोसहित पानीको बहाव बढेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले भोटेकोशीमा पुनः लेदोसहितको पानीको बहाव बढेको जनाएको छ । प्राधीकरणले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरेको छ । बुधबार रसुवाको भोटेकोशीमा बाढी आएर ठूलो संख्यामा मानवीय क्षति भएको थियो । प्रहरीका अनुसार हालसम्म ४ सय ६९ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्‍याएको थियो ।  

हंस सहकारीले विद्युतीय चुलो किस्तामा दिने

काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई विद्युतीय चुलो किस्तामा उपलब्ध गराउने भएको छ । सहकारीले ब्याज तथा सेवा शुल्कबिनै ३ हजार ६ सय रुपैयाँ मूल्यको  चुलो किस्तामा उपलब्ध गराउने भएको हो ।  सहकारीले ग्यासको बढ्दो मूल्य र अभावलाई मध्यनजर गर्दै ‘विद्युतीय चुलो किस्ता योजना’ सार्वजनिक गरेको जनाएको छ । यस योजनाअन्तर्गत सदस्यले मासिक ३ सय रुपैयाँका दरले एक वर्षमा चुलोको मूल्य भुक्तानी गर्न सक्नेछन् ।  योजनाअन्तर्गत म्याग्नस इन्डक्सन र अर्किड इन्फ्रारेड गरी दुई प्रकारका चुलो उपलब्ध हुनेछन् । दुवै चुलोको मूल्य ३ हजार ६ सय रुपैयाँ तोकिएको  छ । यी चुलो विक्रेता कम्पनीबाट एक वर्षको वारेन्टीसमेत उपलब्ध हुने सहकारीले जनाएको छ । चुलो भरतपुरस्थित प्रधान कार्यालयसहित टाँडी, विजयनगर र जितपुर सेवा केन्द्रबाट उपलब्ध हुनेछ । सहकारीका अध्यक्ष दिनेश कुमार चुकलेले ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउने र स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउने उद्देश्यले योजना ल्याइएको हो । सहकारीले एउटा ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ पुगेको उल्लेख गर्दै विद्युतीय चुलो प्रयोगबाट खाना पकाउने खर्चमा बचत हुने दाबी गरेको छ । योजनामा सहभागी हुन सहकारीको शेयर सदस्य हुनुका साथै नियमित बचत खाता सञ्चालनमा रहेको हुनुपर्नेछ । साथै, सहकारी वा अन्य वित्तीय संस्थाबाट लिएको कर्जामा खराब ऋणी नभएको हुनुपर्नेछ । आवेदनका लागि नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, बचत पासबुकको प्रतिलिपि र जमानीसम्बन्धी कागजात आवश्यक पर्नेछ । निवेदन स्वीकृत भएपछि सोही दिन चुलो हस्तान्तरण गरिने र किस्ता भुक्तानी अर्को महिनादेखि सुरु हुने सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष चुकेले यो योजना नाफा कमाउने उद्देश्यले नभई सदस्यको भान्सालाई सहज, सुरक्षित र किफायती बनाउने अभियान भएको बताएका छन् ।  

धादिङमा फुर्के खोलाको पुल भत्किएपछि वैकल्पिक बाटाको प्रयोग सुरू

काठमाडौं । फुर्के खोलाको पुल भत्किएपछि धादिङमा आवतजावत गर्न वैकल्पिक राजमार्गको प्रयोग गरिएको छ । काठमाडौं लगायत देशभरका मुख्य- मुख्य सहरमा जोडिने राजमार्ग छोइने पुल भत्किएपछि वैकल्पिक राजमार्गहरूको प्रयोग गर्न थालिएको हो । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले फुर्के खोलाको पुल भत्किएपछि धादिङ प्रवेश गर्ने विभिन्न बाटो गर्न थालिएको बताइन । जिल्लामा खाद्य संकट नहोस, नागरिकको सहजता प्रदान गर्न र बिरामीका लागि अस्पतालसम्म पुग्न वैकल्पिक बाटाहाहरुको प्रयोग बढाइएको उनले जानकारी दिइन्। उनका अनुसार धादिङ बजार आवतजावत गर्न गल्छीको पुल, सुनौलो बजार हुँदै गोर्खाको आरुघाटको बाटो प्रयोगमा ल्याउन थालिएको छ । जिल्लामा नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्न वैकल्पिक बाटाहरू प्रयोगमा ल्याउन थालिएको उनको भनाइ छ । जिल्लादेखि बाहिर जानुपर्ने नागरिकलाई सहजताका लागि वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको उनले उल्लेख गरिन् । तिब्बतबाट भर्खर बाढी आएको सूचना आएपछि बाढी प्रभावित हुन सक्ने र जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्न थालिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताइन् । बुधबार रसुवामा आएको बाढीले नुवाकोट र धादिङमा क्षति गरेको थियो । सोही दिन आएको बाढीले धादिङको मुख्य सहर सदरमुकाम जोड्ने फुर्के खोलाको पुल भत्काएको थियो । 

टनेलमा थुनिएका कर्मचारीको उद्धारमा जुटेका छौं: प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले चीनबाट आएको भीषण बाढीका कारण त्रिशूली करिडोरमा रहेका १५ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको जानकारी दिएका छन् । बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट गरी करिब ४३० मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको उनले बताए । यति ठूलो परिमाणमा विद्युत् उत्पादन बन्द भए पनि प्राधिकरणले आन्तरिक व्यवस्थापन गरी हालसम्म देशभर लोड व्यवस्थापन गर्न र विद्युत् कटौती हुन नदिन सफल भएको श्रेष्ठले स्पष्ट पारे । बाढी र पहिरोले पुर्‍याएको भौतिक क्षतिसँगै मानवीय संकट पनि उत्तिकै गहिरो रहेको श्रेष्ठले उल्लेख गरे। उनकाअनुसार त्रिशूली ३-ए, रसुवागढी, चिलिमे र त्रिशूली-३बी लगायतका आयोजनाका टनेल तथा पावर हाउसभित्र २०० भन्दा बढी कर्मचारी र श्रमिक थुनिएका छन्  । बाढीले सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेको र आयोजना स्थलहरू बन्जर भूमिमा परिणत भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उनको भनाइ छ । विशेषगरी त्रिशूली-३ए मा थुनिएका कर्मचारीहरूको अवस्था अझै अज्ञात रहेकाले उनीहरूको जीवनरक्षाका लागि प्राधिकरणको टोली युद्धस्तरमा खटिएको उनले जानकारी दिए । निमित्त कार्यकारी निर्देशक श्रेष्ठले उद्धार कार्यका लागि नेपाली सेना, गृह मन्त्रालय र विपद् व्यवस्थापन सेलसँग निरन्तर समन्वय भइरहेको बताए । टनेलभित्र रहेकाहरूलाई अक्सिजनको कमी हुन नदिन केबल डक्टबाट प्वाल पारेर हावा पठाउने प्रयास भइरहेको र हेलिकप्टरमार्फत उद्धार कार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए । उद्धारमा सहयोग पुर्‍याउन पर्वतारोहीहरूलाई समेत परिचालन गरिएको र पुरानो नक्सा तथा गुगल म्यापको सहायताले थुनिएका स्थानहरूको पहिचान गर्ने काम भइरहेको उनले उल्लेख गरे । विद्युत् आपूर्ति पुनःस्थापनाको सन्दर्भमा बोल्दै श्रेष्ठले बाढी प्रभावित नुवाकोट र रसुवामा वैकल्पिक व्यवस्था गरिएको बताए । हिजो दिनभरको प्रयासपछि सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइएको प्रसारण लाइनमार्फत नुवाकोट र बट्टार क्षेत्रमा बिजुली सुचारु गरिएको र आज धुन्चे क्षेत्रमा विद्युत् पुनः सञ्चालन गर्ने काम भइरहेको उनले जानकारी दिए । प्राकृतिक विपत्तिका कारण उत्पन्न यस कठिन घडीमा मानवीय क्षति कम गर्ने र विद्युत् सेवालाई यथाशक्य छिटो पूर्ववत् अवस्थामा फर्काउन प्राधिकरण प्रतिबद्ध रहेको उनले विश्वास दिलाए ।

प्राधिकरणको उद्धार अभियान तीव्र, हाइड्रोमा फसेका कर्मचारी सुरक्षित स्थानमा सारिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ । आज उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ । सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको हो । विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।  बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ । आवश्यकताअनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइने प्राधिकरणको भनाइ छ । प्राधिकरणले विपद्को यस कठिन परिस्थितिमा सबैलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ ।