विकासन्युज

चोरी भएका ५१ ओटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सोमबार (आज) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३५ ओटा मोटरसाइकल र १६ ओटा स्कुटर धनीहरूलाई जिम्मा लगाउनुभएको हो ।  सर्वसाधारणबाट प्राप्त निवेदन र सूचनाका आधारमा खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले केही वास्तविक र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाका सिरुटार, वाफल, भिमढुङ्गा, मुड्खु, नेपालटार, कपन, सुन्दरीजल, गोकर्ण, साङ्ला, फर्पिङ, चुनदेवी, नयाँवस्ती, बौद्ध, मंगलबजार, भैसेपाटी र कंलकी लगायतका स्थानबाट ती सवारी साधनहरू फेला पारेको थियो ।  आज बुझाइएका ५१ ओटा सहित चालु आर्थिक वर्षको गत साउन महिना यता मात्रै कुल ५८७ ओटा चोरीका सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको कार्यालयले जनाएको छ । यसका साथै प्रहरीले चोरीका ३६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तहरूमा पठाइसकेको छ । सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए ।  सोही अवसरमा कार्यालय प्रमुख सुरेश प्रसाद काफ्लेले सवारी साधन चोरी तथा हराउनबाट रोक्न सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, एकान्त ठाउँमा नलगाउन तथा ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन र जीपीएस जडान गर्न अनुरोध गरे ।  सवारी साधन हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको १०० मा फोन गर्न वा नजिकैको कार्यालयमा निवेदन दिन समेत प्रहरीले आग्रह गरेको छ ।

नारायणगढ-मुग्लिन सडक उच्च जोखिममा, अनावश्यक यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।  वर्षाका कारण बाढीपहिरो जानसक्ने भएकाले अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माद्वारा जारी सूचनामा उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो जानसक्ने भएकाले यात्रा गर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ ।  स्थानीय सरकार, डिभिजन सडक कार्यालयलगायत सरोकार भएका निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले निरन्तर रूपमा परेको वर्षात्का कारण नारायणगढ-मुग्लिन सडकखण्डसहित अन्य राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।      बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सडक, सिँचाइ तथा जल स्रोत आयोजना, वन लगायतका निकायलाई मेसिनरी औजारसहित तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।  उनका अनुसार समितिको बैठकले तुईन खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको औंल्याएको छ ।बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुरानो होल्डिङ सेन्टरलाई खाली गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विसं २०५८ मा आएको विपद्का कारण तत्कालीन जिल्ला विकास समिति र नेपाल रेडक्रस सोसाइटीले दुवै संस्थाको नाममा जग्गा खरिद गरी होल्डिङ सेन्टरको रूपमा रहेको ठाउँ खाली गर्न भनेको हो ।  भरतपुर महानगरपालिका-२३ मा रहेको सेन्टरमा रहेका वास्तविक आश्रयविहीनलाई अन्य वैकल्पिक व्यवस्था भएरनभएको पहिचान गरी आश्रय आवश्यक नपर्नेलाई उक्त सेन्टरबाट हटाउनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।  होल्डिङ सेन्टर सफा गरी तयारी अवस्थामा राख्नसमेत समितिले निर्देशन दिएको हो । तत्कालीन समयमा सो होल्डिङ सेन्टरमा ४० घर निर्माण गरेर बाढी प्रभावितलाई राखिएको थियो । एक बिघा क्षेत्रफलमा होल्डिङ सेन्टर स्थापना गरी बाढी प्रभावितलाई राखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिए । विपद् व्यवस्थापन समितिको बैठकले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।  

कांग्रेस महामन्त्री पाैडेल भन्छन्- असफलता लुकाउन सरकार अराजकताको प्रायोजक बन्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र कांग्रेस सभापति गगन थापाको निवासअगाडि नियोजित रूपमा गाडी तेर्स्याएर प्रवेशमार्ग अवरुद्ध गरिएको घटना अत्यन्तै निन्दनीय, अराजक र सस्तो स्टन्ट रहेको बताएका छन् ।  सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो हर्कतको सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्ने मागसमेत गरेका छन् । पार्किङकै विषयमा राज्यको कठोर र अव्यवहारिक रवैयाका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको हृदयविदारक घटना हाम्रो सामु रहेको उल्लेख गर्दै पाैडेलले भनेका छन्, 'उक्त दुःखद घटनापछि नागरिक र सञ्चारमाध्यमले उठाएका जायज प्रश्नहरूको जवाफ दिनुको सट्टा, 'ल हेर, पार्किङ व्यवस्थित नहुँदा कस्तो हुन्छ' भन्ने शैलीमा राज्य संयन्त्रकै आडमा आज जुन स्तरको स्टन्ट प्रदर्शन गरियो, यसले सरकारको नियत र कार्यशैली दुवै उदाङ्गो पारेको छ ।' मिडियाले राज्यका कमी-कमजोरी  औंल्याएर समाचार लेखेकै वा प्रश्न सोधेकै भरमा, राज्य आफै नागरिक र प्रेससँग सिधै प्रतिशोध लिन यसरी सडकमा उत्रिनु सत्ताको चरम दुरुपयोग र विधिको शासनमाथिको भद्दा मजाक रहेको पाैडेलले बताएका छन् ।  'राज्यको दायित्व समस्याको दीर्घकालीन, व्यावहारिक र न्यायोचित समाधान खोज्ने हो; आफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बन्ने होइन', पाैडेलले भनेका छन्, 'स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिन्छ भन्ने भ्रम कसैले पाल्नु हुँदैन ।'

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीएमा भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।  मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा. वाग्लेले नियुक्तिपत्र प्रदान गरे ।  नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।  सो अवसरमा बोल्दै नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे ।  स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन् । उनको यो नियुक्ति अवैतनिक हो ।

रास्वपाको दोहोरो नीतिः प्रेस स्वतन्त्रताको पक्षमा विज्ञप्ति, आफ्नै नेताको गाडीबारे मौन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाको कडा भर्त्सना गर्दै निष्पक्ष छानबिनको माग गरेको छ ।  तर, ती गाडीमध्ये एक आफ्नै पार्टीका नेता रवि जयसवालको रहेको खुलेपछि रास्वपाको विज्ञप्तिमाथि नै प्रश्न खडा गराएको छ । महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने, प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने तथा त्रास फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ ।  तर, सञ्चारगृह बाहिर भेटिएका तीन सवारीमध्ये कान्तिपुर मिडिया समूहको कार्यालयको गेटमा छाडिएको कालो रंगको बा प्र ०१–०३४ च ८४८० नम्बरको ‘जेको जे-सिक्स’ गाडी रास्वपाका नेता रवि जयसवालको रहेको खुलेको छ ।  जयसवाल रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य हुन् । यद्यपि पार्टीको विज्ञप्तिमा भने आफ्नै नेताको नाम जोडिएको घटनाबारे कुनै टिप्पणी गरिएको छैन ।  गाडी पार्टीका नेताको रहेको तथ्य सार्वजनिक भइसके पनि त्यसबारे पार्टीले कुनै स्पष्टीकरण नदिनुले रास्वपामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लाग्न थालेको छ । सार्वजनिक रूपमा प्रेस स्वतन्त्रताको पक्षमा उभिने र आफ्नै नेताको संलग्नताबारे मौन बस्ने व्यवहारले पार्टीको विश्वसनीयतामै प्रश्न उठाउने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

मिडिया हाउसअघि शंकास्पद पार्किङ प्रकरणमा कुन दलले के भने ?

काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारगृहको मूलगेटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि प्रमुख राजनीतिक दलहरूले त्यसको विरोध गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । आइतबार बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वारमै सवारीसाधन तेस्र्याएर राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),  नेकपा एमाले र नेपाली कांग्रेसले छुट्टाछुट्टै प्रतिक्रिया जनाएका हुन् । सत्तारूढ दल रास्वपाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  पार्टीका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनालाई मिडियामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ । रास्वपाले प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढ रहेको उल्लेख गर्दै कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अङ्गलाई सङ्कुचित पार्ने गतिविधि अस्वीकार्य भएको जनाएको छ । पार्टीले घटनाको तत्काल निष्पक्ष छानबिन गरी सञ्चारगृहको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न, साथै घटनामा संलग्न जोसुकै भए पनि पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।  साथै सञ्चारकर्मीलाई कुनै दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता जारी राख्न पनि रास्वपाले आग्रह गरेको छ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेकी छन् ।  उनले सञ्चारमाध्यमका मुख्य गेटमै सवारीसाधन पार्किङ गरिनुले स्वाभाविक रूपमा अनेक प्रश्न उठाएको उल्लेख गर्दै त्यसको उद्देश्य के थियो भन्ने तथ्य सार्वजनिक हुनुपर्ने बताइन् । ‘यो केवल संयोग थियो वा यसको पछाडि कुनै उद्देश्य थियो ? यदि उद्देश्य थिएन भने सञ्चार संस्थाहरू प्रत्यक्ष प्रभावित हुने स्थान नै किन रोजियो ?,’ उनले प्रश्न उठाएकी छन् ।  थापाले कुनै पूर्वधारणा नबनाई पारदर्शी ढङ्गले सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै स्वतन्त्र र निर्भीक सञ्चारमाध्यम लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएकाले यस घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएकी छन् । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले उक्त घटनाले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको टिप्पणी गरेका छन् ।  उनले सञ्चारगृहको मूलगेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई काममा जान अवरोध सिर्जना गरिएको र आतङ्कित पारिएको भन्दै आपत्ति जनाए । आचार्यले स्वतन्त्र रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारगृह र पत्रकारलाई भयभीत बनाउने तथा काममा अवरोध पु‍र्‍याउने निन्दनीय र रहस्यमय घटनाको एमालेले भत्र्सना गरेको बताए । उनले नेपाल पत्रकार महासङ्घले अघि सारेका मागप्रति एमालेको पूर्ण समर्थन रहेको पनि जनाएका छन् । सञ्चारगृहको मूलगेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि उत्पन्न घटनाले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको भन्दै प्रमुख राजनीतिक दलहरूले पारदर्शी अनुसन्धानमार्फत घटनाको यथार्थ सार्वजनिक गर्न सरकारसँग एकै स्वरमा माग गरेका छन् ।

डिजिटल मिडिया सोसाइटीसँग सञ्चारमन्त्री तिमिल्सिनाले गरे छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग छलफल गरेका छन् । मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गरेका हुन्। सोमबार (आज) मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै यस क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि सरकार तयार रहेको उल्लेख गरे ।  उनले पत्रकारिता क्षेत्रलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको दावी गरे । साथै पत्रकारिता जगतले आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा सञ्चारमन्त्रीले जोड दिए । सञ्चार क्षेत्रलाई कसरी सुदृढ र मर्यादित बनाउने भन्ने विषयमा सरकारले आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका काम अघि बढाइरहेको बताउनुभयो ।  गलत, भ्रामक तथा नियोजित रूपमा फैलाइने गत सूचना, कृत्रिम बौद्धिकता (एआई) बाट तयार गरिने नक्कली सामग्री तथा झुटा र सनसनीपूर्ण समाचारको प्रकाशन एवं प्रसारण बढिरहेको उनले उल्लेख गरे । यो नै अहिले सञ्चार क्षेत्रसमक्ष देखिएको सबैभन्दा गम्भीर चुनौती बनेको उनको भनाइ छ । छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरूले प्रेस काउन्सिलको भूमिका पछिल्लो समय कमजोर बन्दै गएको टिप्पणी गर्दै सञ्चार क्षेत्रको प्रभावकारी नियमन, आत्मअनुशासन र आचारसंहिताको कार्यान्वयनलाई सुदृढ बनाउन काउन्सिललाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे । प्रेस काउन्सिलको कमजोर भूमिकाका कारण पत्रकार तथा सञ्चारमाध्यमको संरक्षण, नियमन र व्यावसायिक अभ्यासमा समस्या देखिएको तथा त्यसले सञ्चारमाध्यमप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर बनाएको उनीहरूको धारणा थियो ।  डिजिटल मिडिया सोसाइटीले पत्रकारिता आचारसंहिताको प्रभावकारी पालना गराउनुपर्ने, सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने तथा विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको सुझावसमेत दिएको थियो । छलफलमा सञ्चार क्षेत्रको विश्वसनीयता अभिवृद्धि, डिजिटल पत्रकारिताको संस्थागत विकास, सञ्चारमाध्यमको दिगोपना तथा बदलिँदो सूचना प्रविधिसँग मेल खाने कानुनी र नीतिगत संरचना निर्माणका विषयमा समेत छलफल भएको थियो ।

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे । मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई बलियो बनाउन सकिए त्यसबाट सबैभन्दा बढी लाभ सञ्चार जगतले नै लिने उल्लेख गर्दै काउन्सिलले आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्ने बताए । पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको बताए । साथै उनले क्षमता अभाव भएका संस्थाले प्रभावकारी काम गर्न नसक्ने भन्दै प्रेस काउन्सिललाई पनि थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे ।  नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए । पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उनले बताए । लामो समय मिडियामा बिताएका नवनियुक्त अध्यक्ष श्रेष्ठले फ्याक्टचेकसमेत गर्दै आएका थिए ।