काठमाडौं । सरकारले जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न जनकपुरलाई विशेष गन्तव्यका रूपमा ब्रान्डिङ गरिने बताए ।
सरकारका अनुसार जानकी मन्दिरलाई वैवाहिक समारोह, सांस्कृतिक उत्सव तथा धार्मिक पर्यटनसँग जोडेर आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ।
यस कार्यक्रमअन्तर्गत पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन, पर्यटक सेवा विस्तार तथा डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ । अर्थमन्त्री वाग्लेले धार्मिक पर्यटनलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारको नीति रहेको उल्लेख गरे।