राहत लिनेमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासी र प्रहरीबीच झडप
लहान । लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । झडपका क्रममा चार जना स्थानीयवासी सामान्य घाइते भएको र उहाँहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताए । वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको उनको भनाइ छ । यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताए । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो । यस्तै सिरहाको सुखीपुर नगरपालिका– २ मा पनि राहत विरतणका क्रममा आइतबार झडप भएको थियो । वडाध्यक्ष भुपनेश्वर यादवले राहत वितरण गर्नेको सूचीमा आफ्ना आसेपासेको नाममा मात्र समावेश गरेको भन्दै राहत वितरणमा अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो । रासस
एनआईसी एशिया बैंकले थप १० प्रतिशत ब्याज छुट दिने
काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरूलाई साधारण ब्याजमा १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने भएको छ । बैंकले वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याजदरमा २ प्रतिशत विन्दु ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरेको हो । यससँगै ग्राहकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छुटको साथ साथै यस बैंकको उल्लेखित छुटमार्फत थप १० प्रतिशतको साधारण ब्याजमा छुट र जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको फाइदा उठाउने छन् । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको ग्राहकहरुको खातामा जम्मा गरिसकेको जानकारी गराएको छ । साथै, एनआईसी एशिया बैंकले आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/.ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहकहरुलाई लागू गरेको हो । यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०-०१-७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सक्नेछन् ।
अन्तत: सरकारी वकिल कार्यालयमा डा. सुरेन्द्र यादव अपहरण उजुरी दर्ता
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवकाे अपहरण उजुरी लिएकाे छ । सोमबार बबरमहलस्थित कार्यालयले डा. सुरेन्द्र यादवकाे अपहरण उजुरी लिएकाे हाे । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो । डा. सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध निवेदन दिएका हुन् । उनीहरु विरुद्ध यादवले अपहरण गरेको भन्दै वैशाख १८ गते बुधबार राष्ट्रिय मानव अधिकार आयोगमै उजुरी दिएका थिए । डा यादवले आफूलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् । साेमबार नै सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
अहिलेकाे चुनौतीपूर्ण अवस्थामा सबै एकजुट भई अगाडि बढौं- सीईओ झा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पन का प्रमुख कार्यकारी अधिकृत विवेक झाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ अगाडि बढ्नु पर्ने बताएका छन् । रातपछि सधैं नयाँ बिहानी आउँछ भन्दै उनले यस्तो अवस्थामा सबै एकसाथ एकजुट भै अगाडि बढेमा विजय प्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनु पर्ने बताएका छन् । साथै, हाल कोरोना भाइरस (कोभिड-१९) का कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफू, आफ्नाे परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन उनले आग्रह गरेका छन् । कम्पनीको २०औं वार्षिकोत्सवको अवसरमा सीईओ झाले सो कुरा बताएका हुन् । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको यस इन्स्योरेन्स १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा इन्स्योरेन्सले बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । यस अवसरमा सीईओ झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरेका छन् । २० औं वर्ष प्रवेशको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको आफ्नाे तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध-बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ । हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको छ । २० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ । १ लाख ५४ हजार ५ सय ६ जना प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिष्टम तथा डिजिटल वालेट बाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा, खल्ती, कनेक्ट आईपीएस तथा प्रभु पे बाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै, फोन पे मार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ लगायतका मार्फत अनलाइन भुक्तानीको सेवा प्रदान गरिरहेको छ ।
भारतमा कोरोनाले उग्र रुप लिँदै, संक्रमितको संख्या ४२ हजार नाघ्यो
काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार काेराेना संक्रमित हुनेको संख्या ४२ हजार ५ सय ३३ जना पुगेको छ । काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाे छ। अहिलेसम्म १ हजार ३ सय ७३ जनाको काे मृत्यु भइसकेकाे बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा २ हजार ५ सयभन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।
महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवअपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । आफूहरुले अपहरण नगरेको भन्दै उनीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । डा. यादवले उनीहरु विरुद्ध अपहरण गरेको भन्दै वैशाख १८ गते बुधबार राष्ट्रिय मानव अधिकार आयोगमै उजुरी दिएका थिए । डा यादवले आफूलाई अपहरणको शैलीमा सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
कोरोना प्रभाव न्यून गर्ने बजेटको तयारीमा सरकार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ । लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तर्राष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । लकडाउनको अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा सङ्घीय संसद्को अर्थ समितिले आज छलफल गरेको हो । छलफलका क्रममा मन्त्री डा खतिवडाले मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिए । पछिल्ला दिनमा अन्तरराष्ट्रिय सहायता परिचालनलाई सरकारले जोड दिएको जानकारी दिँदै उहाँले दाताबाट उल्लेख्य प्रतिबद्धता प्राप्त भएको स्पष्ट पारे । अर्थमन्त्री डा खतिवडाले स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा, राहतलगायतका काममा झण्डै एक खर्ब ५० अर्ब जतिको सहायतामा सम्झौता भइसकेको जानकारी दिए । उनले भने, “अरु केही नयाँ सम्झौता पनि हुने चरणमा रहेका छन् । आन्तरिक राजश्वमा आएको कमीलाई परिपूर्ति गर्ने गरी वैदेशिक सहायता परिचालन गर्ने गरी हामी जुटिरहेका छौं ।” समयमै अन्तरराष्ट्रिय उडान र सीमानाका बन्द गरिएकाले नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिमबाट बच्न सफल भएको उाको भनाइ छ । सीमा नाकाबाट भइरहेका ओहोरदोहोरका कारण हुने सङ्क्रमणका जोखिम अहिले पनि देखिएको भन्दै उनले समयमै सीमानाका बन्द नगरिएको भए आज थप भयावह अवस्था आउने बताए । स्वास्थ्य उपकरण खरिदमा जोड मन्त्री खतिवडाले कोरोनासँग जुध्न चाहिने स्वास्थ्य उपकरण खरिदलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । स्वास्थ्य सेवाका जनशक्ति परिचालनमा पनि विशेष ध्यान दिइएको र स्वास्थ्य मन्त्रालयलाई बजेटको अभाव हुन नदिएको उल्लेख गर्दै उनले स्वास्थ्य मन्त्रालयलाई वैशाखसम्म एक अर्ब आठ करोड उपलब्ध गराएको जानकारी दिए । यस्तै रक्षामन्त्रालयमार्फत कोरोना उपकरण खरिदका लागि दुई अर्ब २० करोड रुपैयाँ निकासा गरिएको पनि उनले बताए । सरकारले स्थापना गरेको कोरोना कोषमा हालसम्म दुई अर्ब २० करोड रुपैयाँ जम्मा भएको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ रकम राखेको थियो । कोषको रकम उद्धार, समान खरिद र स्थानीय तहमा राहत वितरण गर्ने गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको नेतृत्वमा एक समिति र कार्यविधि बनाइएको जानकारी दिँदै मन्त्री खतिवडाले सोही समितिले गरेको सिफारिसका आधारमा अर्थ मन्त्रालयले रकम निकासा गरिने गरिएको बताए । भूकम्पको विकृति दोहोरिएन ‘गोरखा भूकम्प’ को समयमा राहत वितरणमा ठूलो आर्थिक विकृति देखिएको थियो । यस पटक भने सरकारले सो विकृति हुनेक्रममै रोक लगाएका कारण विगतको पुनरावृत्ति हुन पाएको छैन । सरकारले राहत तथा उद्धारका लागि जथाभावी कोष खोल्न नपाउने व्यवस्था गरेको छ । कुनै निकायले कोष खडा गरेको भए पनि सात दिनभित्र सरकारले स्थापना गरेको कोषमा जम्मा गर्नैपर्ने व्यवस्था गरिएको छ । राजश्व सङ्कलनमा चाप लकडाउनका कारण मुलुकको राजश्व सङ्कलनमा चाप परेको छ । अन्तरराष्ट्रिय सीमा नाका र व्यापार बन्द हुँदा राजश्व सङ्कलनमा असर परेको मन्त्री डा खतिवडाको भनाइ छ । चालू आर्थिक वर्षको शुरुदेखि नै सरकार राजश्व सङ्कलनमा केही दबावमा परेको थियो । आयात प्रतिस्थापन गर्न तथा विलासी वस्तुको आयातमा रोक लगाएको र भन्सार दरमा केही परिवर्तन गर्दा राजस्व सङ्कलनमा दबाब परेको उनको भनाइ छ । पछिल्लो समय कोरोनाका कारण राजश्व सङ्कलनमा थप दबाब परेको छ । गत चैत मसान्तसम्म कूल लक्ष्यको ८० प्रतिशत मात्रै राजश्व उठेको थियो । चैत महिनापछि त भन्सार राजश्व लक्ष्यको एक चौथाइ मात्रै उठिरहेको उनले जानकारी दिए । उनले भने, “भन्सार मात्रै होइन, त्यससँग सम्बन्धित मूल्य अभिवृद्ध कर, अन्तःशुल्कलगायत अरु कर पनि प्रभावित भएका छन् । त्यस कारण चालू आर्थिक वर्षको राजश्व सङ्कलनको लक्ष्य हासिल गर्ने काममा केही चाप परेको छ ।” के कति भए खर्च मन्त्री खतिवडाले आर्थिक वर्षको शुरुआतदेखि नै पूँजीगत खर्च हुन नसकेको तथ्य पेश गरे । शुरुको केही समय निर्माण व्यवसायीसँगको विवादका कारण समस्या भएको र कतिपय आयोजना लक्ष्यअनुसार काम अघि बढाउन नसकिएको उनको भनाइ छ । पछिल्ला दिनमा त कोरोनाले थप चाप परेको मन्त्री खतिवडाले बताए । चैत मसान्तसम्म चालूतर्फ चार खर्ब ८८ अर्ब खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ५१ प्रतिशत मात्रै हो । यस्तै पूँजीगततर्फ जम्मा एक खर्ब पाँच अर्ब खर्च भएको छ । जुन लक्ष्यको २६ प्रतिशत रहेको उनले जानकारी दिए । यस्तै वित्तिय व्यवस्थापनतर्फ ८४ अर्ब खर्च भएको छ । जुन लक्ष्यको ५० प्रतिशत हो । वित्तिय व्यवस्थापनको खर्च जहिले पनि आर्थिक वर्षको अन्त्यतिर नै धेरै हुने उनको कथन छ । सरकारले चैत मसान्तसम्ममा कूल छ खर्ब ७६ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । राहतमा नयाँ मापदण्ड सरकारले कोरोना प्रभावितलाई वितरण गर्ने राहतमा नयाँ मापदण्ड तय गरेको छ । शुरुमा असङ्गठित क्षेत्रका मजदूर तथा कामदारलाई राहत दिने योजना ल्याएको भए पनि दुरुपयोग भएका सूचना सार्वजनिक भएपछि असङ्गठित क्षेत्रका मजदूरलाई पनि श्रममा जोड्ने नीति लिएको छ । स्थानीय तहले काममा लगाउने र त्यसबापत पारिश्रमिक दिने व्यवस्था गरिएको छ । काममा नआउनेलाई काम गर्दा आउने रकमको एक चौथाइ बराबरको मात्रै राहत दिने व्यवस्था गरिएको छ । बैंकबाट ऋण लिने व्यवसायीलाई साँवा ब्याज तिर्ने अवधि चैतबाट असार मसान्तमा पुर्याइएको छ । अर्थमन्त्री डा खतिवडाका अनुसार पर्यटन क्षेत्र आगामी असारपछि पनि सञ्चालनमा नआउने अवस्था देखिएकाले केन्द्रीय बैंकलाई भनेर ऋणको पुर्नतालिकीकरण गर्ने व्यवस्था गरिएको छ । यस्तै ब्याजदर दुई प्रतिशत घटाउने व्यवस्था गरिएको छ । पुनःकर्जाको आकार बढ्यो सरकारले पुनःकर्जाको आकार बढाएको छ । शुरुमा ५० अर्ब रुपैयाँको कोष रहेकामा त्यसलाई १० अर्ब रुपैयाँले बढाएर ६० अर्ब रुपैयाँ बनाइएको थियो । पुनःत्यसलाई बढाएर रु एक खर्बको बनाइएको छ । मन्त्री खतिवडाले कर र भन्सारका विषयमा पनि केही राहतका प्याकेज उपलब्ध गराएको जानकारी दिए । गत चैत २५ गतेसम्ममा तिरिसक्नुपर्ने कर दायित्वलाई यही वैशाख २५ गतेसम्म तिरे हुने बनाइएको र कतिपय अरु करलाई आगामी जेठ २५ सम्म तिरे हुनेगरी तालिका संशोधन गरिएको उल्लेख गरे । भन्सारका सवालमा पनि वैशाखबाट सारेर आगामी जेठ १४ गतेसम्मका लागि छुट दिइएको छ । आगामी जेठ १५ गते आगामी आवको बजेट आउने भएकाले सोहीमार्फत केही सम्बोधन गर्ने प्रयत्न गरिने उनले जानकारी दिए । औषधि र स्वास्थ्यसँग सम्बन्धित आयातमा भन्सार छुट दिएको, कम्पनी दर्ता, सञ्चालन, शुल्क तिर्ने काममा विलम्ब शुल्क, दण्ड, जरिवाना नलिने व्यवस्था गरिएको उनको भनाइ छ । यस्तै बीमाको पनि प्रिमियम तिर्ने समय पनि थप भएको र धितोपत्रमा पनि सूचिकृत कम्पनीले बुझाउनुपर्ने विवरण आगामी असार मसान्तसम्ममा बुझाए हुने व्यवस्था गरिएको छ । रासस
लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै, के लकडाउन बढ्ला ?
काठमाडाैं । लकडाउनकोबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएकाे छ। लकडाउन कहिले सम्म कायम राख्ने र यसकाे माेडालिटीबारे निर्णय गर्न बैठक बस्न लागेकाे बताइएकाे छ । आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्। दिनानुदिन काेराेना संक्रमितकाे संख्या बढ्रनाले पनि लकडाउन बढाउनु पर्ने आवाज उठिरहेकाे छ ।