पुनर्बीमा विज्ञ श्रेष्ठको निधन
काठमाडौं । पुनर्बीमा विज्ञ शैलेन्द्र कुमार श्रेष्ठको निधन भएको छ । क्यान्सर रोगबाट पीडित श्रेष्ठको ६८ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नेपालमा बीमा क्षेत्रको बारेमा जानकार श्रेष्ठ राष्ट्रिय बीमा संस्थानको उपमहाप्रबन्धक पदबाट अवकाश पाएका व्यक्ति हुन् । संस्थानबाट अकाश पाएका श्रेष्ठ त्यसपछि यनाइटेड इन्स्योरेन्स, अलायन्स इन्स्योरेन्स, एभरेष्ट, लुम्बिनी जस्ता बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा बसेर काम गरेका थिए । लुम्बिनी इन्स्यारेन्स कम्पनीमा कार्यकाल सकिएपछि श्रेष्ठ नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको विज्ञका रुपमा संलग्न भएका थिए । श्रेष्ठको भारत, युरोप, अमेरिका तथा अफ्रिकाका पुनर्बीमा कम्पनीसँग राम्रो सम्बन्ध र सम्पर्क थियो । श्रेष्ठको हिजो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका एक छोरी र एक छोरा छन् । उनका छोरा बुहारी अष्ट्रेलियमा बस्दै आएका छन् भने छोरी ज्वाइ अमेरिकामा छन् । उनकी श्रीमती पनि केही समयअघि छोरी ज्वाइ भेट्न अमेरिका गएकी थिइन् । छोरी ज्वाइ भेट्न अमेरिका गएका समयमा श्रेष्ठको निधन भएको हो । श्रेष्ठको निधनले आफूहरुले अभिभावक गुमाएको र नेपाली बीमा क्षेत्रलाई ठूलो नोक्सानी भएको बीमा कम्पनीका उच्च व्यवस्थापन तहका अधिकारीहरु बताउँछन् । प्यांक्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको करिब ४ वर्षअघि सल्यक्रिया गरिएको थियो ।
जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना
टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्याउने योजना प्रधानमन्त्री आबेले बनाएको सञ्चार माध्यमहरुले जनाएका छन् । जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो । सो महिनादिन लामो आपतकाल यही मे ६ तारिखमा सकिन लागेको हो । यसैगरी यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत यसअघि गरिएको थियो । जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गर्नु परेको जनाएका थिए । त्यसक्रममा प्रधानमन्त्री र उनीहरुबीच आगामी बढीमा महिना दिनसम्मका लागि पुनः आपतकालको अवधि लम्ब्याउने विषयमा कुराकानी भएको बुझिएको यहाँका सञ्चारमाध्यमहरुले दिएका छन् । समाचारअनुसार प्रधानमन्त्री आबेले सोमबार साँझसम्म पत्रकार सम्मेलन गरेर यस आपतकालको अवधि बढाउने विषयमा जानकारी गराए । आपतकाल घोषणा गरिएको टोकियो सहितका सात प्रान्तमा जापानको कुल जनसंख्याको करिब ४४ प्रतिशत मानिसहरुको बसोबास रहेको छ । आपतकालको घोषणाले मानिसहरुलाई घरमै बस्न र व्यापार व्यवसाय बन्द गरी मानिसहरुको भीडभाडबाट टाढा रहनका लागि दबाब सिर्जना गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनेछ । प्रधानमन्त्री आबेले अन्य व्यक्तिसँगको सम्पर्क घटाउन सक्यौं भने आगमी केही सातामा नै संक्रमितको संख्या उल्लेख्य मात्रामा घटाउन सक्ने बताए । सोमबार जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको देखिएको छ । सोमबार प्राप्त समाचारमा जापानमा यस भाइरसबाट संक्रमितको संख्या १५ हजार पुगेको देखिएको छ । यी संक्रमितहरुमध्ये जापानाको राजधानी टोकियोमा मात्र ४ हजार ६सय रहेका छन् । यस संक्रमणका कारण यहाँ ५ सयभन्दा बढीको ज्यान गएको छ । अधिकारीहरुले यसैकारण जापानमा आपतकालको अवधि थप गरिएको विषयमा घोषणा गर्न लागिएको बताएका छन् । यस अघि पनि अघिल्लो महिनामात्र जापानमा भाइरसको नयाँ संक्रमित देखिने क्रम बढेकाले उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनीसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको थियो । रासस/एएनआई
सन् २०२० को अन्त्यसम्ममा खोप उपलब्ध हुने विश्वासमा राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोनाभाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन् । फक्स न्यूससँगको अन्तर्वार्तामा उनले भने – ‘यो वर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौं ।’ संसारभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरसको खोप विकास गर्न मिहेनत गरिरहेका छन् तर धेरै विज्ञहरू यस्तो खोप सबैका लागि उपलब्ध सन् २०२१ तिरमात्रै हुने विश्वास गर्छन् । ट्रम्पले भने आफ्ना स्वास्थ्य सल्लाहकारहरूले यति छिटो समयावधिमा खोप उपलब्ध हुन गार्हो हुने बताएपनि त्यो हुने विश्वास गर्छन् । उनले भने, ‘चिकित्सकहरूले मलाई यस्तो भन्न हुँदैन भन्छन् तर म आफूलाई लागेको कुरा बोल्छु ।’ बन्ला त खोप छिटै ? सियाटलमा कोरोनाभाइरसको खोपको पहिलो मानव परीक्षण भएको एक महिनाभन्दा बढी भइसकेको छ । तर त्यो खोप मानवमा सुरक्षित छ कि छैन भनेर गरिएको परीक्षण सफल भएपनि त्यसपछि त्यसको दोस्रो परीक्षण हुनुपर्छ र नियामक निकायले त्यसलाई अनुमति दिनुपर्छ । त्यसपछि खोप ठूलो मात्रामा उत्पादन गर्ने प्रक्रिया शुरू हुन्छ । खोप तयार गर्न समान्यतया वर्षाैं मात्र होइन दशकौँसम्म लाग्छ । अनुसन्धानकर्ताले केही महिनाभित्र यो लक्ष्य पूरा गर्ने अपेक्षा गरिरहेका छन् । कोरोनाभाइरसको खोपबारे आठ महत्त्वपूर्ण प्रश्न अधिकांश विज्ञले सन् २०२१ को मध्यसम्म खोप तयार हुने ठानिरहेका छन् । यो आधिकारिक रूपमा सार्स-सीओभी-२ भनिने नयाँ कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा पहिला देखिएको १२ देखि १८ महिनाको अवधि हो । लक्ष्य पूरा भए त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनेछ, तर सोचेअनुरूप हुनेछ भन्ने कुनै ग्यारेन्टी छैन । मानव शरीरमा चार थरीका कोरोना भाइरस अहिले नै देखापरेका छन् । तिनीहरूले रुघाखोकी लगाउँछन्, तर हामीसँग तिनीहरूमध्ये कसैको पनि खोप छैन । बीबीसीकाे सहयाेगमा
खाद्यान्न बैंक स्थापना हुने
काठमाडौं । कलडाउनका बेला खाद्यान्न अभाव हुन नदिन खाद्यान्न बैंक स्थापना हुने भएको छ । गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भनेर कालिगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्ने भएको हो । गाउँपालिका भित्र होलसेल पसल नभएकाले गाउँपालिकले नै खाद्यान्न बैंक स्थापना गर्न बताएको छ । लकडाउन लम्बिदै जाँदा गाँउपालिकामा खाद्यान्नको समस्या आउने भएकाले खाद्यान्न बैंक स्थापना गर्न लागेको गाँउपालिका उपाध्यक्ष तारा थापाले बताइन् । खाद्यान्न बैंक स्थापनाको लागि कार्यपालिकाको बैठकले पास गरिरकेको छ । बैंक स्थापनाका लागि जिल्लाको उद्योग वाणिज्य संघ र जिल्ला प्रशासनसगँ छलफल भइरहेको थापाले जाकारी दिइन् ।
जुनारमा असिना र औँसा : किसानको आशामा निराशाको बादल
काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ । कोभिड– १९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’कारण जिल्ला र स्थानीय तहमा किटनाशक औषधिको अभावले केही वर्षदेखि प्रकोपका रुपमा देखिएको औंसाले बाँकी फललाई पनि सखाप पार्ने हो कि भन्ने अर्को चिन्ताले अहिले किसानलाई सताएको छ । तीनकन्यामा व्यावसायिक जुनारखेती गर्दै आउनुभएका लोकबहादुर आलेमगर भने, “अनुकूल मनसुनले फूल र दाना राम्रो देखियो, यस वर्ष धेरै फल्छ कि भन्ने लागेको आशलाई केही दिनअघि परेको भारी असिनाले क्षणभरमै निराशामा बदल्यो, आधा चिचिला झा¥यो, टुट्टामा पार्यो, बाँकी फललाई पनि औँसाले खत्तम पार्ने हो कि भन्ने चिन्ता छ ।” जुनार खेतिका लागि अनुकूल हावापानी भएकाले सिन्धुलीको महाभार क्षेत्रलाई सरकारले चार वर्षअघि सुपर जोन घोषणा गरी जुनार उत्पादन क्षेत्र विस्तार र रोग नियन्त्रणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँको गोलञ्जोर गाउँपालिकाका रचनचुरा, जलकन्या, तिनकन्यालगायत क्षेत्र गुणस्तरीय जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । त्यस क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि नर्सरी स्क्रिन हाउससमेत स्थापना गरिएको छ । कृषक मगरले १८ रोपनी क्षेत्रफलमा लगाइएका ५ सय बोट जुनारबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आए । परम्परागत खेती कोदो, फापर, गहुँ, जौ र आलुखेती गर्दै आएका त्यस क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा प्रवेश गरेसँगै जीवनस्तर उकास्न ठूलो योगदान पुर्याएको छ । त्यहाँको महाभारत इलाकाको सय किलोमिटर क्षेत्र जुनार, सुन्तला, कागती र निबुआका लागि उर्भरभूमि मानिन्छ । जुनारको एउटा बोटबाट एक हजारदेखि एक हजार ५ सयसम्म फल उत्पादन हुन्छ भने एउटा नर्सरी बिरुवालाई १ सय २५ मा बिक्री भइरहेको छ । सिन्धुली जिल्लाबाट मात्र वार्षिक २० करोड रुपैयाँ मूल्य बराबरको जुनार बिक्री हुँदैआएको छ । चिचिला मात्र होइन, हाँगैसमेत स्वोत्तर जिल्लाका चार हजारभन्दा बढी घरपरिवार अहिले व्यवसायी जुनारखेतीमा संलग्न छन् । किसानलाई बेलाबखतमा देखापर्ने विभिन्न रोग किराको प्रकोपबाट बोटबिरुवा र फल जोगाउने चिन्ताले भने सधैँ सताइरहन्छ । अरु अन्नबालीको तुलनामा सजिलो र बढी आम्दानी हुने तथा स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गर्न पाएकामा त्यसमा संलग्न किसान व्यवसायप्रति सन्तुष्टि व्यक्त गरे । जुनारका लागि वर्षमा दुई पटक मल हाल्नुपर्छ भने चारपटक औषधि छर्कनुपर्छ । मल प्रतिडोका सय रुपैयाँमा किनेर हाल्नुपरेको किसान बताउँछन् । किसानले रोग नियन्त्रणका लागि औषधिका किन्न अग्रिमरुपमा रकम जम्मा गरेर परियोजनालाई उपलब्ध गराउँदै आएका छन् । कृषि बीमा कार्यक्रम प्रभावकारी नभएका कारण पनि जुनार किसान मारमा परेका हुन् । जुनार र सुन्तलाको व्यवसाय खेती गर्दै आउनुभएकी कृषक देवकुमारी ठकुरी भने, “लगातार परेको असिनाले जुनारका चिचिला लग्यो, किसान निराश छ, हाँगैसमेत भाँचेर स्वोतर बनाएको छ, ठूलो समस्या भो, ३० वर्ष लगाएर हुर्काएर बोट खतम भए । हामी अहिले विचल्लीमा परेका छौँ ।” ठकुरीले पोहरसाल ११ लाख बराबरको जुनार सुन्तला बिक्री गरे । त्यस क्षेत्रका किसानले जुनारको गोडमेल, मल हाल्ने र टिप्ने कार्यमा संलग्न गराई स्थानीयवासीलाई ठूलो राजगारी प्रदान गर्दै आएका छन् । प्रकोप सिन्धुलीमा विषादी काठमाडौंमा “बाँकी फल पनि जोगाउन मुस्किल होला जस्तो छ, मुलुकमा लकडाउन छ, औंसा बगैँचामा सलबलाउन शुरु गरिसके, रोग किरा नियन्त्रण गर्ने औषधि काठमाडौँमा छ, यसको कसरी व्यवस्थापन गर्ने भन्ने किसानमा पिरलो परेको छ ” कृषक देवकुमारी ठकुरीले भने । बिजुको तुलनामा कलमी बोटको सुनौलो रङ्गको जुनार गुणस्तरीय मानिन्छ । रतनचुरा चिसापानीका योगेन्द्र थापाको बगैंचामा ६ सयसम्म जुनारको बोट छ । जिल्लामा वार्षिकरुपमा एक लाखभन्दा बढी मूल्यको जुनार बिक्री गर्ने किसानको सङ्ख्या हजारभन्दा बढी छ । जुनार सुपरजोन परियोजना प्रमुख देवराज अधिकारी भने, “यस वर्ष जुनारको फूल रामै्र फुलेको थियो, असिनाले ५० प्रतिशत साना दानामा क्षति पु¥याएको छ, बाँकी रहेकालाई बचाउन सकियो भने पनि ठूलै उपलब्धि हुन्छ ।” त्यस क्षेत्रमा किसानले सञ्चालन गरेका सहकारी कृषकको हितमा प्रभावकारी देखिएका छन् । त्यस्ता सहकारीमा आबद्ध हुने किसानको सङ्ख्या दुई हजारभन्दा बढी छ । औंसाले अघिल्ला वर्षमा ४० प्रतिशतसम्म क्षति पु¥याएकामा किरा नियन्त्रण कार्यक्रमपछि क्षति घटेर १५ प्रतिशतमा झरेको जानकारी दिँदै उनले भने, “किरा नियन्त्रणका लागि विषादी वैशाख अन्तिमभित्र छर्नुपर्छ, विषादि काठमाडौंबाट ल्याउन पहल र प्रयास गरिरहेका छौँ ।” सातसयदेखि बाह्रसय मिटरसम्मको हावापानीमा फस्टाउने जुनारखेती सिन्धुली, रामेछाप, उदयपुर, धनकुटा, भोजपुर र ओखलढुङ्गामा निकै राम्रो सम्भावना छ । पछिल्ला वर्षमा सिन्धुलीका जुनार काठमाडौँ र तराई जाने यात्रुका लागि कोसेली बनिरहेको छ । उद्योग त छ तर विडम्बना छ ! चीनले सिन्धुलीका उत्पादित जुनार निर्यात गर्न सम्झौता गरिरहेको छ । आन्तरिक बजार पनि राम्रो रहेको हुँदा मुलुकको आयात निर्यातबीच सन्तुलन कायम गर्न जुनार विकल्प बन्न सक्छ । त्यसका लागि जुनार खेतीको विकास र विस्तार गर्नुपर्ने विज्ञको सुझाव छ । जुनार उत्पादन कार्तिकदेखि फागुनसम्म हुने भए पनि मंसिर र पुस महिनाभित्र बढी उपयुक्त मानिन्छ । सिन्धुलीका जुनार जनकपुर, विराटनगर, पोखरा र काठमाडौँको अतिरिक्त भारतको विहारसम्म बिक्री हुँदै आएका छन् । त्यहाँका जुनार मौसमअनुसार, प्रतिकिलो ६० देखि १ सय ८० सम्म बिक्री हुने गरेको छ । जुनार भण्डारणका लागि सिन्धुलीमा ५ सय मेक्ट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ । अत्यन्त न्यून ज्यालामा मजदूरीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई स्वदेशमै रोजगारी दिन र फलफूलमा आत्मनिर्भर तुल्याउन जुनारको व्यावसायिक खेती विस्तार विकल्प हुन सक्छ । रासस
नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष राईको मृत्यु
काठमाडौं । नर्सिङ सेवामा ६० वर्ष बिताएकी नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा विष्णु राईको मृत्यु भएको छ । सोमबार बिहान उपचारको क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको हो । एक साताअघि स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएकी वीर अस्पतालले जानकारी दिएको छ । राई मिर्गौला रोगी रहेको र उनले नियमित डायलासिस गराउँदै आएकी अस्पताल स्रोतले जनाएको छ । गत मंगलबार घरमा लडेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो। मस्तिष्कमा रक्तश्राव भएकोले उनलाई भेन्टिलेटरमा राखिएको थियो अस्पतालले जानकारी दिएकाे छ । पछिल्लाे समय राई हिमालय नर्सिङ क्याम्पसमा कन्सल्टेन्टको रुपमा कार्यरत थिइन्।
यी हुन् ‘रेड जोन’मा परेका २९ जिल्ला
काठमाडाैं । सरकारले काेराेना भाइरस (कोभिड-१९) संक्रमण देखिएका विभिन्न जिल्लाहरूलाई रेड जोनमा राखेको छ । सरकारले काेराेना संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी ३ क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको छ । स्रोतका अनुसार उक्त प्रतिवेदन सुझावमा २९ जिल्लालाई रातो, २८ जिल्लालाई पहेंलो र २० जिल्लालाई हरियो क्षेत्रमा छुट्याइएको छ । भारतसँग सिमा जोडिएका सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ । सरकारले थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी आन्तरिक छलफल अगाडि बढाएको छ । पहेंलो क्षेत्रमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाव दिइएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय-सुझावमा यस्तो प्रस्ताव समेटिएको छ । रातो क्षेत्रमा पर्ने जिल्लाभित्र रहेका मुख्य संक्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पूर्ण रूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ ।
अझै उखु किसानले पाएनन् भुक्तानी
नवलपरासी । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताए । समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड रूपैयाँ, लुम्बिनी चिनी उद्योगले १० करोड रूपैयाँ र इन्दिरा चिनी मिलले ५ करोड बराबरको भुक्तानी दिन बाँकी छ । तीमध्ये वाग्मतीको आर्थिक वर्ष २०७६–०७७, लुम्बिनीको २०७५–०७६ र इन्दिराको आर्थिक वर्ष २०७५–०७६ मा किसानको उखु खरीद गरेबापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो । सबै उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन् । चर्को व्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा दोहोरो मारमा परेको प्रतापपुर–७ छिवनीका किसान पप्पु गुप्ताले बताए । यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योगको उत्पादन बन्द छ भने लुम्बिनी र इन्दिराले चालु आर्थिक वर्षमा चिनी उत्पादन गर्न सकेका छैनन् । चालु आर्थिक वर्षमा नवलपरासीमा वाग्मतीबाहेक अन्य तीन वटै उद्योगको उत्पादन बन्द छ । चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्नेक्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधिसमेत तोक्नुपर्ने प्रतापपुर– ७ झलनीपुरका उखु किसान मदनचन्द्र कोइरीको भनाइ छ । वाग्मती चिनी उद्योगले तत्कालका लागि पेश्कीस्वरुप किसानलाई केही रकम उपलब्ध गराउने जनाएकोे छ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७१ र पैसा २८ यस अगाबै निर्धारण गरिसकेको थियो । वाग्मतीले पहिलो चरणमा २०७७ असार मसान्तभित्र प्रतिक्विन्टल ३ सय ७१ र पैसा २८ को दरले भुक्तानी गर्ने र बाँकी आउँदो दशैँसम्म गर्ने तयारी गरिएको महाप्रबन्धक टंकनाथ काफ्लले बताए । पश्चिम नवलपरासीमा सुस्ता , प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव २०७६– ७७ मा कुल तीन हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३ सय ५० मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क छ । यसैगरी अघिल्लो आव २०७५-०७६ मा कुल तीन हजार ६ सय ६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४ सय ९० मेट्रिक टन उखु उत्पादन भएको थियो । रासस