विकासन्युज

जिल्लाकै ठूलो खानेपानी आयोजनाको काम शुरु

बलेवा। बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले निर्माण गरिरहेको जिल्लाकै सबैभन्दा ठूलो लिफ्टिङ खानेपानी आयोजनाको काम शुरु हुने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भइरहेको लकडाउनका कारण उक्त आयोजनाको काम रोकिएको थियो । काठेखोलाको पानी लिफ्टिङ प्रविधिमार्फत माथि तानेर बागलुङ बजारका उपभोक्तालाई २४सै घण्टा पानी पुर्याउने गरी बागलुङ नगरपालिका–३ कैलामपोखरी काठेखोला किनारमा चलिरहेको कामले गति लिने भएको हो । लकडाउनका कारण विगत एक महिनादेखि काम रोकिएको थियो ।सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा, काम गरिरहेको निर्माण कम्पनी र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच आइतबार सुरक्षित तरिकाले मजदुर परिचालन गर्ने सहमति भएपछि कामले गति लिन पाउने भएको हो । एक महिनादेखि काम रोकिएका कारण १४ जना मजदुर अलपत्र परेका थिए भने खानेपानीका संरचना निर्माणस्थल वर्षा तथा बाढीका कारण प्रभावित बनेको थियो । तीन पक्षबीच सहमति भएलगत्तै काम शुरु गर्ने र आवश्यक सामग्रीको आपूर्तिमा तीनै पक्षले पहल गर्ने सहमति भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराका डिभिजनल प्रमुख शेखरचन्द्र केसी, साइड इन्जिनीयर कुलप्रसाद पौडेल, निर्माण व्यवसायी प्रमुख गौतम भुसाल र बागलुङ नगर खानेपानी संस्थाका प्रतिनिधिबीच आवश्यक सुरक्षा सतर्कतासहित निर्माण कार्य शुरु गर्ने सहमति भएको शर्माले बताए । ४५ करोड लागत अनुमान भएको सो आयोजना ३५ करोड रूपैयाँमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । लकडाउनले प्रभावित बनेको निर्माणाधीन आयोजना केही दिनअघिको वर्षाका कारण बनेका संरचना पहिरोले पुरेको थियो । यो आयोजना निर्माणपश्चात् बागलुङ बजारका लागि प्रतिसेकेण्ड ७० लिटर पानी उपलब्ध हुनेछ । अहिले बागलुङ बजारमा झण्डै चार हजार धारामार्फत संस्थाले खानेपानी वितरण गरिरहेको छ । झोलुङ्गे पुलको गिनिजबुक यात्रा शुरु सिङ्गल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये संसारकै लामो पुल बनेको भन्दै बागलुङको रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गिनिजबुक अफ दि वल्र्डमा लेखाउने प्रक्रियाको थालनी भएको छ । बागलुङ नगरकार्यपालिकाको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गिनिजबुक अफ दि वल्र्ड जाने प्रक्रिया थालेको हो । केही दिन पहिले सम्पन्न कार्यपालिकाको बैठकले तथ्याङ्क विभाग र स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई नाम लेखाउन पहल गर्ने निर्णय गरेको थियो । ५ सय ७६ मिटर लामो यो पुल केही दिन पहिला निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा छ । यसअघि स्विट्जरल्याण्डमा ४ सय ९४ मिटर लामो झोलुङ्गे पुल रहेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले उल्लेख गरेको छ । त्योभन्दा बाहेक कुनै पनि सिङ्गल स्पान प्रविधिको पुल रहेको तथ्याङ्क फेला नपरेकाले यो पुल संसारको लामो भएको दाबी गर्दै गिनिज बुकमा लेखाउने प्रक्रिया थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । स्विट्जरल्याण्डको भन्दा बागलुङमा निर्माण भएको पुल ७३ मिटर लामो रहेको बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । बागलुङ नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रियरूपमा चिनाउनका लागि गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा पठाउने निर्णय गरेको उनको भनाइ छ । सिङ्गल स्पान प्रविधिमा निर्माण भएको सो पुल विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाणसहित गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको उनले बताए । पछिल्लो एक दशकयता कालीगण्डकी माथि सानाठूला धेरै झोलुङ्गे पुल बनेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका पुलले नेपालको पहिचानलाई बदल्न प्रयास गरेका छन् । विसं २०७० मा पर्वत सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा ३४७ मिटर लामो पुल बन्यो । कालीगण्डकीमाथि १५६ मिटरको उचाइमा बनेको यो पुल नेपालकै अग्लो झोलुङ्गे पुल हो । योबाहेक कैयाबाट पर्वतको फलेवास नगरपालिकाको मुडिकुवा जोड्ने पुलको डिपिआर बनेर निर्माण प्रक्रियामा छ । नारायणस्थानकै कुकुरगाडेदेखि कुश्मा जोड्ने पुलको प्राविधिक स्टमेट तथा अध्ययनको काम भइरहेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण हुन सक्यो । बागलुङ–पर्वत जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको विश्वकै लामो पुल अब गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा दर्ज हुने प्रमुख पौडेलले बताए । यो पुल गिनिजबुकमा दर्ज गर्ने प्रक्रिया शुरु भएसँगै नेपालको पहिचान थप उचाइमा पुग्ने विश्वास गर्न थालिएको छ । बागलुङमा ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । सामान्यतया पाँच मिटरदेखि ५ सय ६७ मिटर लामो पुल बागलुङमै रहेको दाबी बागलुङ नगरपालिकाको छ । १ सय ३५ फिट अग्लो कलश निर्माणको काम धमाधम लकडाउनका कारण विकासे आयोजनाको काम ठप्प रहेका बेला यहाँको एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो विश्वशान्ति कलश फाउण्डेशनको काम तीव्र पारिएको हो । लकडाउनका कारण यहाँका मजदुरलाई रोकिनुपरेको छैन । सामाजिक दूरी कायम गर्दै पञ्चकोटमा पूर्वाधार निर्माणको काम चलेको छ । पञ्चकोटमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्ट’ ले विश्व शान्ति कलश, मुक्तिनाथ महाघण्टलगायतका पूर्वाधार निर्माणको काम गरिरहेको छ । गत माघ महिनामै दक्षिण भारतका मजदुर ल्याएकाले हाल कलशको फाउण्डेशन निर्माण भइरहेको स्वामी कमलनयनाचार्यले बताए । छ वर्षअघिदेखि सहायक पूर्वाधार निर्माण भइरहेको पञ्चकोटमा चैतबाट मुख्य कलश निर्माणको काम शुरु भएको हो । धार्मिक पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले बानपा–६ सर्वसिद्धि धाम पञ्चकोटमा कलश र मुक्तिनाथ महाघण्ट बनाउन लागिएको उनले बताए । पञ्चकोटलाई ‘विश्वशान्ति सर्वसिद्धिकोट जयश्री मुक्तिनाथ धामस्थल’ विकास गर्न ६ वर्ष पहिलेदेखि भौतिक संरचना निर्माणको काम भइरहेको छ । १ सय ३५ फिट अग्लो कलश निर्माणका लागि १२ मिटर गहिराइको २४ वटा पिल्लरमध्ये १८ वटा पिल्लरको काम सकिएको सर्वसिद्धिधाम पञ्चकोटका कार्यालय सचिव रामबहादुर केसीले बताए । एक सय ७५ रोपनी क्षेत्रफलमा बनाउन लागिएको उक्त धार्मिकस्थलको विकास निर्माणका लागि दुई अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । कलश निर्माणमा मात्रै ३२ करोड रूपैयाँ लागत लाग्ने जनाइएको छ । उक्त स्थलमा पाँच हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट पनि बन्नेछ । आकर्षक धार्मिक मठमन्दिर निर्माण गरेर हिन्दू र बौद्ध धर्मको गन्तव्य बनाउन लागिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । कलश निर्माणसहित पञ्चकोटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम अघि बढाएको छ  । हाल विभिन्न संरचना निर्माणाधीन रहेको पञ्चकोटमा करिब रु १६ करोड लगानी भइसकेको छ । हालसम्म गरुड शिला, गण्डकी माताको मन्दिर, सिसमहल, अन्य देवदेवीका मन्दिर र हनुमानको मूर्ति स्थापना भइसकेका छन् । पाँच हजार ५५५ केजीको घण्टा स्थापनाको तयारी छ । त्यस्तै, सत्तल र धर्मशालाको भवनसमेत निर्माण गरिएको छ । तामाको कलश बनाइने भएकाले खर्चिलो हुने समितिले जनाएको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा दाताबाट दान सहयोग जुटाएर काम भइरहेको छ । पञ्चकोटमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यहाँ दैनिक ५ सयदेखि हजार जनासम्म घुम्न आउने गरेको भए पनि देशमा कोरोनाका कारण पर्यटक आगमन ठप्प भएको छ । बागलुङ नगरपालिकाका ताराजालकोट, राङ्राङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजना शुरु भएको थियो । रासस

मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम ठप्प

काठमाडौं । कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो । जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २ सय १४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तर्गत पर्दछ । लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनाका काम नरोक्ने सरकारी निर्णय भए पनि मध्यपहाडी लोकमार्गको काम मजदुर अभावकै कारण रोकिएको छ । रुकुम र जाजरकोट खण्डको काम रोकिएपछि तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ । आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्र गरिसक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किलोमिटर कालोपत्रको काम करिब एक महिनादेखि रोकिएको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ । कालोपत्र गर्नका लागि ठिक्क परेको काम रोकिएपछि समस्या भएको छ । रुकुमको ३२ किलोमिटर र जाजरकोटको १० किलोमिटर सडकमा कालोपत्र गर्ने ठिक्क पारिएको भए पनि लकडाउनका कारण मजदुर नहुँदा काम रोकिएको छ । अन्य मेशिनबाट हुने काम जारी रहेको निर्माण कम्पनीले बताएका छन् । शर्मा सिंह एन्ड ब्रदर्स जेभीका विश्वास उप्रेतीका अनुसार कालोपत्र गर्नका लागि आधारभूत काम सकिएको थियो, कालोपत्र शुरु हुनै लाग्दा लकडाउन हुँदा काम रोकिएको छ । बाँकी कच्ची कटान गर्ने काम भने उपकरणमार्फत हुने काम भने चालु रहेको छ । जाजरकोट खण्डमा रहेको ८२ किलोमिटर सडकखण्ड मध्ये ५५ किलोमिटर शर्मा सिंह एन्ड ब्रदर्स जेभीले काम गर्ने ठेक्का पाएको छ । “अहिले मेशिनको काम मात्र भएका छन्”, उप्रेतीले भने, “अब दुई, चार दिनभित्र मेशिनको काम रोकिने सम्भावना छ, नेपालगञ्जबाट आउने सामग्री आउन छाडिसकेको छ । तेलको आपूर्तिसमेत ठप्प भएको छ ।” जाजरकोटको सबैभन्दा जटिल मानिएको छेडागाड नगरपालिकाको मन्ताभिरमा कटानको काम शुरु भएको उनले बताए । त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको छ । अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने मेशिनमार्फत जारी राखिएको छ । उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम आगामी असार मसान्तसम्म सकिनुपर्ने हो । कालोपत्रको म्याद सकिन करिब एक महिना मात्र बाँकी भएकाले निर्धारित समयमा काम पूरा नहुने पक्का भएको छ । बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । यही वैशाख २५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम जारी राख्ने तयारी छ । अहिलेकै अवस्थामा रहेर काम गर्दा १० किलोमिटर कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ । बाँकी २२ किलोमिटर कालोपत्र आगामी मङ्सिरभित्र गर्ने गरी आवश्यक तयारी थालिएको छ । लकडाउनकै कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्र शुरु भएको छैन । त्यहाँ पनि उपकरणबाट हुने काम भने चालु छ । उपकरणभन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या परेको निर्माण कम्पनीले बताएका छन् । मध्यपहाडी लोकमार्गले रुकुमपूर्व र पश्चिमको १ सय २३ किलोमिटर खण्ड ओगटेको छ भने जाजरकोटमा ८२ किलोमिटर रहेको छ । रुकुममा केही खण्डमा कालोपत्रको काम भइसकेको छ । त्यस्तै लोकमार्गका अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किलोमिटरमा बाँकी छ । आयोजना कार्यालयका अनुसार ठेक्का टुङ्गो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम हुन सकेको छैन । आयोजनाको काम रोकिएपछि स्थानीयवासी निराश भएको जाजरकोट भेरी नगरपालिकाका–११ कालाभुरका धर्मबहादुर घर्तीले बताए । काम रोकिएपछि फुर्सदिलो भएर बसेको उहाँको भनाइ छ । निर्माण कम्पनीले दक्ष जनशक्ति बाहिरबाट ल्याएर काम गर्दै आएको छ । स्थानीय मजदुरलाई बाहिरबाट आएका दक्ष जनशक्तिले सिकाएको भरमा काम गर्दै आएका छन् । भेरी नदीमा निर्माण हुने भनिएको मध्यपहाडी लोकमार्गको पुल निर्माण हुन नसकेर ठप्प भएको छ । अहिले लकडाउनका कारण झन समस्य भएको छ । त्यस्तै कर्णाली प्रदेशको सामरिक महत्वको आयोजना नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कामसमेत ठप्प भएको छ । बाहिर जिल्लाका मजदुर लकडाउनका कारण घर फर्केपछि डिपिआरको काम ठप्प भएको हो । रासस

कोरोनासँग लड्न अमेरिकाले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडाैं । अमेरिकाले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । कोरोेनाविरुद्ध लड्नका लागि अमेरिकी सरकारले साे रकम दिने बताइएकाे छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीका अनुसार उक्त आर्थिक सहयोग नेपालले एक वर्षका लागि पाउने भएको हो । नेपाल-अमेरिका पत्रकार संघले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा कार्कीले अमेरिकासँग कोरोनाका बिरामीलाई श्वासप्रश्वावमा सजिलो हुनसक्ने भेन्टिलेटर भने अनुरोध नगरिएको बताए । कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको नेपालीको संख्या १४ रहेको तथ्यांंक दूतावासलाई प्राप्त भएको पनि कार्कीले बताए । मृतकको उक्त संख्यामा नेपाली मूलका अरू देशबाट आएर अमेरिकी भइसकेका नेपालीहरू पनि रहेको उनले बताए ।

कुखुरापालक मारमा : मूल्य घट्यो, लगानी डुब्यो

काठमाडौं । बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश हुनुहुन्छ । लकडाउनसँगै बजारमा कुखुराको माग र मूल्य दुवै घटेपछि कार्की निराश बनेका छन् । दुई हजार ३ सय ५० वटा कुखुराका चल्ला र दानापानीसहित अहिलेसम्म साढे सात लाखको हाराहारीमा लगानी भइसकेको भए पनि बजारमा माग र मूल्य नै नभएकाले समस्यामा परेको कार्कीले बताए । “हिसाब गर्ने हो भने प्रतिकिलो कुखुरामा २ सय ४० बढी हाम्रो नै लगानी हुँदो रहेछ, तर अहिले प्रतिकिलो २ सयमा बिक्री गर्न पनि कठिन छ, यस पटक लगानी उठाउन पनि कठिन हुने भएको छ”, उनले भने । लागतअनुसारको मूल्य नपाउँदा यस पटक कम्तीमा दुई लाख घाटा हुने निश्चित भएको उनले दुःखेसो पोखे । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा कुखुरापालन गर्दै आएका कृषक कार्कीलाई फार्ममा यस पटक ५ सयबढी कुखुरा मरेको र लकडाउनका कारण मूल्य नपाउने समस्याले पिरोलेको छ । तीन हजार बढी कुखुरापालन गर्नसक्ने क्षमताका तीन वटा खोरलगायतका पूर्वाधार निर्माणमा कार्कीले अहिलेसम्म ५० लाख रुपैयाँ खर्च गरिसकेको उनको भनाइ छ । लकडाउनपछि दानामा समेत प्रतिबोरा ५० को दरले मूल्यवृद्धि भएपछि कृषको लागत बढेको छ । ब्रोइलर कुखुरा पालक कृषकसँगै अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालकसमेत समस्यामा परेका छन् । उत्पादन भएको अण्डाले बजार र उचित मूल्य नपाउने समस्या बढ्दै गएको कृषक आनन्द रिजालले भने । बेनपा–२ खवरामा चार हजार लेयर्स कुखुरा पालेका रिजालले दैनिक १७ कार्टुन अण्डा उत्पादन हुने भए पनि बजारमा खपत घटेका कारण समस्या सिर्जना भएको बताए । उनका अनुसार लकडाउनअघि एक कार्टुन अण्डालाई २ हजार २ सयसम्ममा बिक्री हुने भए पनि अहिले एक हजार ९ सयमा बिक्री गर्न थालिएको छ । यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण कुखुरापालन गर्ने कृषक मारमा परेका छन् । लकडाउनसँगै बजार सुनसान बनेको र होटल तथा रेष्टुराँ बन्द भएका कारण बजारमा मासु र अण्डाको माग ह्वात्तै घटेको छ । लकडाउनको पूर्वसन्ध्यामा फार्ममा कुखुरा राखेकाको यतिबेला बिक्री गर्ने समय भइसकेको भए पनि बजार अभावले समस्या सिर्जना भएको म्याग्दी कुखुरा व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष शिव खड्काका अनुसार म्याग्दीमा दैनिक एक हजार क्विन्टल मासु खपत हुने भए पनि अहिले १ सय क्विन्टलको हाराहारीमा मात्रै खपत हुने गरेको छ । म्याग्दीमा व्यावसायिकरूपमा कुखुरा पालन गर्ने ५० भन्दा बढी फार्म रहेका छन् । लकडाउनका कारण बाहिरबाट कुखुराका चल्ला नभित्रिएको भए पनि फार्ममा बिक्री गर्नका लागि तयारी भएका कुखुराले बजार पाउन नसकेको अध्यक्ष खड्काको भनाइ छ । यता ग्रामीण भेगमा कुखुरा पालन गरेका कृषक लकडाउनका कारण सवारी आवतजावतमा परेको प्रभावले दाना र उत्पादन भएका कुखुरा र अण्डा बजारीकरणका लागि ढुवानीको थप समस्यामा परेका छन् । रासस

बैंकको नाफा र कर्मचारीको बोनसमा मात्रै आँखा नलगाउँ

कोरोनाको प्रभाव नेपाल प्रवेशसंगै नेपालमा चैत ११ गतेबाट सरकारले लकडाउन गर्यो । लकडाउनको भोली पल्टैबाट हामी आहत भयौं राहत चाहियो भन्ने नागरिक र व्यवसायीको गुनासोसँगै सरकारले २०७६ साल चैत १८ गते कार्ययोजना सार्वजनिक गर्यो जसमा सरकारले दिने केहि कुरा अटाएनन् तर घरभेटी, बैकिङ, सहकारी, स्कुलहरुलाई यो छुट त्यो छुट दिने व्यवस्था मिलाउन भनियो । कसैले टेरेको होईन तर बैंकहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन आयो-मासिक/ चौमासिक किस्ता वाला कर्जाहरुले चैतकाे ब्याज तिरेमा १० प्रतिशत छुट देऊ। तिर्न नसके असार मसान्त २०७७ सम्म समय देऊ ।  यसमा पनि निर्देशन, पत्रकारहरुको बुझाई, ग्राहकको बुझाई त केहि समय राष्ट्र बैंककै अधिकारीहरुको बुझाईमा अन्तर रहिरह्यो । यसै पनि ब्याज तिर्न आनाकानी गर्ने ग्राहकहरुलाई मौका मिल्यो, ७० प्रतिशतभन्दा बढिले ब्याज तिरेनन भने तिर्नेहरुलाई छुटको रकम बैंकहरुको जोड्यो भने अर्बौ हुन्छ । तलब पाईरहेका कर्मचारी र नियमित आय आईरहेको कर्जा ग्राहकले घर कर्जा, सवारी कर्जा र व्यक्तिगत कर्जामा समेत छुट पाए भने स्टार्ट अप र प्रभावित कर्जा ग्राहकहरुले पाउनु पर्ने जति छुट पाएनन् । कतिपय छुट नदिँदा पनि हुनेले कि त छुट कि पैसा नतिर्ने बहाना पाए । फेरी थप सूचना नं २१ दफा नेपाल राष्ट्र बैंको दफा ७९ टेकेर बैशाख १६ गते आयो, जसमा २ प्रतिशत ब्याज घटाउन भनियो । सूचनाको रुपमा आएको भएता पनि दफा ७९ टेकेर आएको हुँदा यो निर्देशन नै हो । यसमा छुट दिनु नपर्ने व्यवसायहरुमा खाद्यान्न प्रशोधन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, ग्याँस उत्पादन तथा बिक्री वितरण, साबुन तथा सफाइ केमिकल, औषधि बिक्री वितरण सम्बन्धी व्यवसाय, इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक, टेलिभिजन सेवाप्रदायक, सूर्ति तथा मदीराजन्य उद्योग र सञ्चालनमा रहेको जलविद्युत् आयोजना परे । यो छुट दिनु नपर्ने भनिएका क्षेत्रहरुमा गएको कूल कर्जाहरुमा एक तिहाई खुद्रा व्यवसायहरु खाद्यान्न बिक्री वितरणमा संलग्न छन् भनेर मान्ने हो भने लगभग ४०० रूपैयाँ अर्ब कर्जा यस्तो क्षेत्रमा गएको छ । यसरी कुल ३२२५ अर्ब रूपैयाँ कर्जा मध्ये २८०० अर्ब रूपैयाँ भन्दा बढिले २ प्रतिशत छुट पाएमा बैकिङको एक त्रैमासमै १४ अर्ब रूपैयाँ ब्याज आम्दानी कम हुन जान्छ। आधार दर भन्दा तल नहुने हुँदा औषत ब्याजमा कमी १.५ प्रतिशतले मात्रै गर्नु पर्दा पनि १०.५ अर्ब रूपैयाँभन्दा बढिले ब्याज आम्दानी घट्नेछ । यसरी एकातिर अर्बौं रुपैयाँ बैंकिङको आम्दानी घटाएर कर्जा ग्राहकलाई राहत दिइएको छ । कर्जा ग्राहकलाई असर छ छैन ? तिर्न सक्ने क्षमता छ छैन ? बैकल्पिक आयश्रोत छ छैन ? पहिले कमाएको सञ्चितिबाटै तिर्न सक्ने अवस्था छ छैन ? हेरेर गर्नु भन्दा सबैलाई एकनासले बैंकिङको लागतमा राहतको घोषणा भयो । बैंकर र बैंकका मालिकहरुबीच मै यो बिषयमा फरक फरक धारणाहरु बजारमा आए । अझै ९ देखि १८ महिना कोभिड-१९ को प्रभाव स्वास्थ्य तथा अर्थतन्त्रमा पर्ने प्रारम्भिक अनुमान हुँदै गर्दा हतार हतारमा यो निर्णयहरुले हामीले पछि दिनै पर्ने राहत पनि दिन नसक्ने त हुँदैनौ ? सोच्न जरुरी छ। सबैको आँखा यसैपनि बैंकिङको नाफा मै छ। ८ अर्ब रूपैयाँ न्युनतम पुँजी छ, त्यहि अनुसारको सञ्चिति छ । बैंक मै निक्षेप राख्दा पनि १०० अर्ब रूपैयाँ ब्याज आम्दानी हुनुपर्ने स्थितिको संस्थाहरुको हजारौं कर्मचारीले वर्षभरी मेहनेत गरेर करोडौं फि र कमिसन कमाउँदा पनि १०० अर्ब रूपैयाँ नकमाउने बैंकहरु अझै छन् । त्यहि अनुपात विकास बैंक र वित्तीय संस्थाहरुको छ । बैंकिङको औषत लगानीमा प्रतिफल १५ प्रतिशत नि छैन भने औषत लाभांस वितरण दर १२/१३ प्रतिशत छ । तर पारदर्शी लेखाङ्कन र प्रभावकारी नियमनको कारण जति कमायो उती मुनाफा लेखाङ्कन गरी देखाउनु नै बैकिङमा सबैले आँखा लाउने कारण बनेको छ। बैंकिङ र बीमाले सुर्ति, चुरोट र रक्सी कम्पनीकै दरमा ३० प्रतिशत कर तिर्छन र पारदर्शी पनि छन् । बैंकिङ भनेको जनताको पैसा र विश्वास मै चल्ने संस्थाहरु हुन् अनि यस क्षेत्रको विश्वास कायम राखीराख्न एउटा स्तरको नियमित आम्दानी तथा यी संस्थाहरु सहजै डुब्दैनन् भन्ने विश्वास रहन जरुरी हुन्छ । बैंकिङ पारदर्शी हुन्छ, सक्षम नियामकको नियमित सुपरिबेक्षणमा रहन्छ र मुनाफा मै रहन्छ यसैले निक्षेप राखेको पैसा डुब्दैन भन्ने विश्वासले नै नागरिकहरुले ढुक्कसँग पैसा राख्दछन् अनि बैंकिङले वित्तीय मध्यस्तकर्ताको काम गर्न सक्दछ, अर्थतन्त्र चलायमान हुन्छ । अहिले बैंकिङमा पनि मुनाफामा असर परेकै छ वैदेशिक कारोबार ठप्प हुँदा प्रतितपत्र र विदेशी मुद्रामा हुने कमाई बन्द छ, ठेक्का पट्टा बन्द हुँदा जमानत वापतको कमिसन बन्द छ, नयाँ कर्जा छैन र नविकरण नि गर्नु नपर्दा फि तथा कमिसन आम्दानी छैन तर संचालन खर्च बढेकै छ । घटेको छैन । सरकारले भने झै कुनै घरभेटीले बैंकको घरभाडा छुट दिने वाला छैनन्, उनीहरुको पनि आफ्नै परिस्थिति छन् । नेपाल वित्तीय लेखामान अनुसार ब्याजलाई नेपाल राष्ट्र बैकले समेत प्रोदभावी(एकुरल) आधारमा आम्दानी बाध्न दिने हुँदा, आम्दानीमा देखिन्छ जसबाट सरकारलाई कर तिरिहाल्नु पर्छ तर त्यो रकम बराबरको संचीति कायम गर्नु पर्दा बितरणयोग्य नाफा कम या नकारात्मक हुनगई सेयरधनीले केहि नपाउने अबस्था छ । लगानीकर्तालाई राहत नचाहिने नै हो त ? आउने आम्दानी घटाउने, नआएको आम्दानी देखाएर कर तिर्ने अनी भोली खराब कर्जा बढेर असुली नै नहुने अबस्था भयो भने २००८ मा अमेरिकामा जस्तै बैंक डुब्न लागे के गर्ने ? सरकारले अनुदान दिएर बैंक बचाउन सक्छ त ? बैंकको कर्मचारीको बोनस रोकौं भन्ने आवाज पनि छ।अनि बैंककै कर्मचारीको कमाईमा नि आँखा छ, कुनै बैंकको ठूलै पदको कर्मचारी या प्रमुख कार्यकारी अधिकृत जसको पैतृक सम्पत्ति छैन उसको बसाई र सम्पत्ति हेरौं । अनि कमाउ अड्डा तिरका हाकिमहरुको वास्तविक सम्पत्ती हेरौं । १० वर्ष पहिले सेटिङमा व्यापार चलाईरहेका व्यापारीको सम्पत्ती मुल्याङ्कन गरौं । सत्यता प्रष्ट हुन्छ । यसैले बैंकको नाफा र कर्मचारीको बोनसमा मात्रै आँखा लगाउनु भनेको पारदर्शी हुनु नै गलत हुनु झै हुनेछ । यसैले यतिबेला व्यापारी, बैंकिङ, नियामक र सरकार छुट्टाछुट्टै कित्तामा नबाँडिनु उचित हुन्छ । अन्य व्यवसाय भन्दा बैंकिङमा यसको असर अलिपछि पर्नेछ तर असर पर्ने कुरा पक्का छ । तर असर परिसक्यो भने सम्हाल्न नसक्ने गरी पर्नेछ । ३२ खर्ब रूपैयाँभन्दा बढिको कर्जामा हाल खराब कर्जाको प्रतिशत १.७७ प्रतिशत मात्रै छ । धेरै जसो एसएमइका कर्जाहरु स्थीर सम्पत्तीको धितोमा प्रवाह भएको र ऋणीको व्यवसाय घाटामा गई व्यवसाय बन्द हुँदा समेत बैंकिङले धितो लिलाम गरि असुल गर्ने गरेका कारण खराब कर्जाको अनुपात विश्व कै बैंकिङको कम मध्यमा नेपालको पनि पर्दछ तर यो महामारीले व्यवसाय बन्द हुने, धितो बिक्रि नहुने या बिक्रि हुँदा धेरै कम मूल्यमा बिक्रि हुने अवस्था आएमा खराब कर्जा अनुपात स्वाट्टै माथी जान सक्ने स्थिती छ । ब्याज तिर्ने समय केहि पर सारिदिने या खराब कर्जामा बर्गीकरणका शर्तहरु परिवर्तन गर्नु भनेको दीर्घकालीन समाधानको उपाय होईन । जोखिमको पुर्वानुमान गरी बैकिङको मुनाफामा धेरै आँखा नलाउँदा पछिलाई सहज हुनसक्छ । यो अवस्था भनेको सक्नेले डुब्नै लागेकाहरुलाई बचाईराख्न सहयोग गर्ने बेला हो । नाफा बाँडफाँड गरेर समानुपातिक बनाउनु पर्ने या पहिला कमाएको सम्पत्तीमा कर नै नबुझाई एकातिर कुम्लो पारी राखेकाहरुलाई पनि यो महिना र यो वर्ष घाटा भयो भनेर राहत दिनु पर्ने बेला होईन । सरकारको प्राथमिकता पहिलो स्वास्थ्य सेवा, त्यसपछि खानबस्न गाह्रो हुने नागरिकहरु, त्यसपछि भर्खर शुरु हुन लागेका व्यवसाय, अनि अति प्रभावित व्यावसाय तथा ठूलो लगानीका परियोजनाहरु जो राहत बिना डुब्न सक्छन् हुनुपर्छ अनि मात्रै राहत सामान्य अवस्थाका व्यवसायमा हुनुपर्छ । वर्षोदेखि करोडौं, अरबौंको व्यवसाय गरेर कर लाखौंमा पनि नतिरेका अनि अहिले २, ३ महिना व्यापार बन्द हुँदासाथ सबै राहतको लागी झोला फैलाउन जाँदा न सरकारले दिन सक्छ न त न्याय नै हुनेछ ।  बैंकिङको पैसा यसरी बाँड्दा न्याय भएको छ या छैन ? एकपटक अध्ययन गरौं । कसैलाई आरोप प्रत्यारोप गरिरहन जरुरी भएन । होटेल खर्चको ४० प्रतिशत कर्मचारीको तलब भत्तामा खर्च हुन्छ। भ्रमण वर्ष २०२० भन्दै भर्खर खुलेका होटेलहरुका कर्मचारीको बिचल्ली र होटेल बन्द हुने स्थिती छ,  होटेलहरुको ॠण कसरी तिर्ने ? वैशाख कै तलब तिर्न नसक्ने अवस्था छ, सरकारले ५० प्रतिशत तिर्ने भनेको छ, कसरी तिर्छ ? संचालन भएको अवधि र अहिले सम्मको कमाईलाई आधार मानेर राहतमा काम गर्नु पर्छ । यो क्षेत्र सहित पर्यटन र मनोरञ्जन क्षेत्रलाई सरकारले राहतको अनुमान गरी सहयोग गर्न पर्छ र कर तिरेको या कर तिर्ने सम्भावनाको आधारमै राहत भयो भने भोलीका दिनमा समेत व्यवसायीहरु कर तिर्न उत्साहित हुनेछन् र आभास पनि हुनेछ कि ‘हामीले कर तिरे अनुसार राज्यले हामीलाई हेर्नेछ’ भनेर । देश भित्रै एघार लाख भन्दा बढि श्रमिक र मजदुरको रोजगारी जोखिममा आईसकेको छ भने तिन लाख भन्दा बढि त अहिले नै मजदूरी छोडेर गाँउ फर्किसके भन्ने अनुमान छ । विदेशबाटै पाँच लाख भन्दा बढि युवाहरु फर्कि सकेका छन्, अझै फर्किने छन् र बिदेशबाट फर्किने मात्रै पन्ध्र लाख नाघ्ने प्रारम्भिक अनुमान छ । यो जनशक्तिको सदुपयोगीतामा सरकारले छिटो योजना बनाउनु पर्दछ । आजकै अनुमानमा रेमिट्यान्सबाट आउने रकम कम से कम ३०० अरब रूपैयाँले घट्ने छ र शोधनान्तर स्थितिमा ठूलै असर पर्नेछ । सबैले अब कृषि मै सम्भावना छ भनेर भन्दै हिडेको देखिन्छ तर जमीन खै ? टुक्रा टुक्रा जमिन भैसक्यो । खेती हुने ठाँउ, उपत्यकाहरु कंक्रिटले भरिसक्यौं, पहाडमा दुःख मात्रै हो तराईमा जमिन कति छ? यसैले थोरै जमिनमा विशेष प्रकारका फलफुल र खाधान्नहरु उत्पादन गर्ने र बजारीकरण गरी बढि मूल्य लिनको लागि सोध, अनुसन्धान र योजना बनाउन जरुरी छ। छिटो काम थालौं। कुरा गरेर या कुरा काटेर मात्रै देश बन्दैन, न उत्पादन हुन्छ। सरकारको पनी विभिन्न खाताहरुमा वर्षोदेखि उपयोग नभएको रकमहरु छन्, कट्टि गर्न सकिने बजेटका रकमहरु छन। राष्ट्रिय गौरबका २३ वटा आयोजनामा १०३ अर्ब रूपैयाँ छुट्याईएकोमा २० अर्ब रूपैयाँ पनि खर्च भएको छैन । रक्षाको बजेट १८६ अर्ब रूपैयाँ छुट्याईएकोमा ७७ अर्ब रूपैयाँ खर्च भएको छ। संघीय सरकारको प्रदेश र स्थानीय निकायलाई बजेट अनुदान ३३० अर्ब रूपैयाँ छ र १३१ अर्ब रूपैयाँ राजश्व बाडेर दिने बजेट छ । यसरी प्रादेशिक बजेटको ५०० अर्ब रूपैयाँको प्रयोग खासै भएको छैन । १० अर्ब रूपैयाँ एमसीसीलाई छुट्याईएको छ, जो संसद मै हुने नहुने दोधारमा छ । शहरी विकास, बिद्युत, पुर्वाधार निर्णाण गरेर २३९ अर्ब रूपैयाँ बजेट छ तर खर्च धेरै भएको छैन । हुन त आकलन अनुसारको श्रोत पनि संकलन भएको छैन । राजश्व अनुमानको ५४ प्रतिशत पनि संकलन भएको छैन । कर्मचारीको तलब तथा अन्य नियमित खर्च नै ९०० अर्ब रूपैयाँभन्दा बढि हुन्छ । यी सबै कुरा हेरेर रकमहरुबाट कति जोहो हुन सक्छ हिसाब गरौं, तथ्याङ्क संकलन गरौं अनि प्राथमिकता निर्धारण गरी सदुपयोग गरौं । हतारमा निर्णय गरेर पछि पछुताउन नपरोस् भनेर तथ्याङ्क संकलन गरौं । प्रभावितहरुले व्यवसाय सँधैलाई बन्द गर्न नपरोस् र सक्नेले अरुबाट राहत माग्न नपाउन् । अहिलैको लक्ष्य सबैलाई बचाउने मात्रै हुनुपर्छ, एउटाको आम्दानी अर्कोलाई बाडेर खुशी पार्ने या घाटा कम गर्ने होईन । सम्वेदनशील होउ, तथ्याङ्क संकलन गरौं, योजना बनाउँ, हुन सक्ने श्रोत र यस्तो श्रोतको प्रभावकारी सदुपयोगितामा काम गरौं । यो संकटको बेला अध्ययन, योजना, सदासयता, सुझबुझ, ईमान्दारी र जिम्मेवारीलाई आत्मसात गरौं । सरकार विश्वासिलो, नियामक दूरदर्शी, व्यवसायी ईमान्दार र नागरिक जिम्मेवार बन्यौं भने यो संकटबाट पार पाउन सक्छौं । हतारमा निर्णय गरेर, पछि पछुताउनु नपरोस् !

विश्वबन्धुत्वको भावनामा आगामी यात्रा

महामारी भन्ने वित्तिकै हामीलाई विपद्को आभाष हुन्छ । जब कुनै पनि रोगको प्रकोप लामो समयसम्म फैलिन्छ, त्यसलाई महामारी भनिन्छ । महामारीले जनजीवनमा एक किसिमको संकट उत्पन्न गर्दछ । स्वास्थ्य क्षेत्रमा जोखिम पैदा गरी मानविय क्षति समेत गर्ने भएकाले महामारीले मानिसको भविष्यलाई प्रत्यक्ष असर पर्दछ । कोरोना भाइरस आर्थात कोभिड १९ हरेकको जनजिब्रोमा झुण्डिएको शब्द हो । कोरोना भाइरसको नाम सुन्ने वित्तिकै सबैको मनमा एक किसिमको त्रास उत्पन्न हुन्छ, किनकी यो भाइरसले मानव सभ्यतालाई नै चुनौती दिंदै भयावह अवस्थाको सिर्जना गरिदिएको छ । महामारीको रुप लिएर विश्वलाई नै आतंकित पार्ने कोरोना भाइरस चीनको वुहान शहरको माछाबजारमा नोभेम्बर १७ मा पहिलो पटक देखा परको भनाई छ । मानव शरीरको श्वासनलीको माथिल्लो भागबाट संक्रमण हुन सुरु भई नाकदेखि घाँटी हुँदै फोक्सोमा प्रवेश गर्दछ । कोरोना संक्रमण पछि शरीरको प्रतिरोध प्रणालीले भाइरससंग संघर्ष गर्न थाल्दछ, जसका कारण ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र निमोनिया जस्ता लक्षणहरु देखा पर्दछन । शरीरमा संक्रमण फैलिन थालेपछि भाइरस विरुद्ध प्रतिरोधात्मक प्रणाली अति सक्रिय हुने गर्दछ । प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले जलन (पीडा) हुन थाल्दछ र जलनका कारण शरीरमा निकै धेरै हानि पुग्दछ । श्वासप्रश्वासमा हुने समस्यका कारण प्रर्यात अक्सिजन प्राप्त हुँदैन । यो अवस्थामा श्वासप्रश्वासमा सहजता ल्याउन भेन्टिलेटरको सहायता लिनु पर्ने विशेषज्ञहरुको भनाई छ । गम्भिर संक्रमणबाट मानिसको मृत्यु समेत हुन सक्दछ । कोरोना भाइरसको संक्रमणबाट ५ जनवरी २०२० मा चीनमा पहिलो व्यक्तिको मृत्यु भयोे । चीनको ठूलो शहर अर्थात हुवेइ प्रान्तको राजधानी वुहानमा देखा परेको कोरोना भइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । यसलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” नामाकरण गरेको छ । श्वाशप्रश्वाशको माध्यमबाट सर्ने नयाँ प्रजातिको भाइरस भएकाले संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना उच्च रहन्छ । अन्य भाइरस जस्तै सामान्य मान्दा नोवेल कोराना भाइरसको संक्रमणले पूरै विश्वलाई नै आक्रान्त बानाएको छ । यसको संक्रमणबाट विश्वका कुनै पनि देश अछुतो रहन सकेन । विकाशोन्मुखदेखी अति विकसित राष्ट्रहरु समेत कोरोना भाइरसको शिकार बन्न पुगे । पछिल्लो समय सिङ्गो विश्वलाई नै तरंगित बनाइरहेको कोभिड १९ विरुद्धको खोप तथा औषधीको खोज तथा अनुसन्धान भई रहेता पनि हालसम्म आधिकारीक रुपमा पत्ता लागि रकेको छैन । लेखक कोरोना भाइरस संक्रमण मानव शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्दछ । संक्रमण फैलिन थालेपछि विस्तारै मानव शरीरको कोषभित्र प्रवेश गरीे नियन्त्रणमा लिने गर्दछ । कुनै पनि रोग लाग्ना साथ मानिसको मृत्यु हुन्छ भन्ने छैन । हामीले रोगलाई लुकाउने प्रयास गर्यौं भने यो अवस्थामा मृत्यु बाहेक अन्य विकल्प नहुन सक्छ । यसर्थ रोग लाग्नु भन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुन्छ । कोरोना विरुद्ध कुनै खोपको आविस्कार भैनसकेको अवस्थामा सावधानीपूर्वक यसको संक्रमणलाई फैलन नदिनु नै प्रभावकारी हुन्छ । जनावरहरूको धेरै सम्पर्कमा नबस्ने, खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको डस्विनमा फाल्ने, नियमित रुपमा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाईजनको प्रयोग गर्ने, रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहँदा पनि कोरोना भाइरसको संक्रमणबाट केही हदसम जोगिन सकिन्छ । कोरोना भाइरस हावाको माध्यमबाट श्वासप्रश्वास नली हुँदै फोक्सोमा प्रवेश गर्ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्किनै भरेमा माक्सको प्रयोग गर्ने, भिडभाडमा नजाने, अन्जान व्यक्तिहरुसँग धेरै घुलमिल नहुने, साथीभाईहरुसंग हात नमिलाउनुका साथ टाढैबाट नमस्कार गर्ने बानीको विकासले पनि कोरोना भाइरसको संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ । कोरोना प्रभावित देशबाट आएको व्यक्तिहरूमा संक्रमणको लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकहरुसंग परामर्श लिने, यदी घरमै बस्नु पर्ने अवस्थामा परिवारका सदस्यहरूबाट छुट्टै आईसोलेसनमा बस्नु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार उमेर ढल्केका, हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग र क्यान्सर जस्ता रोग लागि औषधीमा निहित हुनु पर्ने बिरामीहरुमा कोरोनाको संक्रमण सम्भावना उच्च रहन्छ । त्यसैले वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरुलाई विशेष ध्यान दिने, यस्तै पौष्टिक आहारहरुको सेवन गर्ने, माछामासु राम्रोसँग पकाएर मात्र खाने, हातले जथाभावि नाक, मुख, आंँखामा नछुदा नै उचित हुने देखिन्छ । कोभिड–१९ को महामारीले विश्वको स्वास्थ्य क्षेत्रलाई धरासायी बनाई दिएको छ । विश्वव्यापी महामारीको बेलामा हरेक देशहरुले सम्पूर्ण शक्ति कोरोना भाइरसको विरुद्धमा प्रयोग गरेका छन । विश्वका सम्पन्न देशहरु समेत यसबाट अति प्रभावित भएका छन् । महामारीका कारण संयुक्त राज्य अमेरिकाले सबैभन्दा बढी मानवीय क्षती सहनु परेको छ । याे लेख तयार गर्दासम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ३६ हजार भेट्न खोजेको छ भने संक्रमितको संख्या ६ लाख ७८ हजार नाघिसकेको छ । यस्तै इटालीमा पनि १ लाख ६९ हजार व्यक्तिहरुमा संक्रमण देखिएको छ । २२ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन । युरोपेली मुलुक स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार ३ सय नाघेको छ, भने १ लाख ८५ हजार मानिसहरु संक्रमित छन । फ्रान्सले पनि झन्डै १८ हजार नागरीक गुमाएको छ । १ लाख ६५ हजार मानिसमा संक्रमण देखिएको छ । सबै देशमा संक्रमण उच्चदरमा फैलिरहेकाे छ । महामारीबाट अति प्रभावित देशहरुको पाँचौ नम्बरमा बेलायत देखिएको छ । बेलायतमा १४ हजार मानिसले ज्यान गुमाएका छन । यसपछि इरान, बेल्जियम, चीन, जर्मनी, नेदरल्यान्ड्स, ब्राजिल, टर्की, स्विट्जरल्यान्ड, क्यानडा लगायतका देशहरुले पनि हजारौंको आफ्ना नागरीकहरु गुमाएको छ । विश्वका २१२ वटा देशहरुमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । विश्वका २१ लाख ८५ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ, भने १ लाख ४७ हजारले ज्यान गुमाएका छन । ५ लाख ५३ हजार मानिसको उपचार सफल भएको छ भने १४ लाख ८४ हजार मानिसहरु अस्पतालमा उपचारत रहेका छन । (यो लेख तयार पर्दासम्मको वल्डमिटरको तथ्याङ्क अनुसार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७०२ जनाको संक्रमण परिक्षण गरिएकोमा जम्मा ३० जनामा संक्रमण देखा परेको छ । यो अवधिमा ९० जना आइसोलेसनमा रहेका छन । संयोगवश कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमको सूचिमा सूचिकरण गरेको छ । विश्वका अन्य देशहरुमा जस्तै नेपालमा कोरोनाको संक्रमण देखा परेको छ । नेपालको सन्दर्शमा वि.स २०७६ फाल्गुण २६ गते संयुक्त अरब इमिरेट्स (युएइ) बाट फर्केको एक नेपालीमा पहिलो पटक संक्रमण देखा पर्यो भने उपचार सफल भई उनी घर फर्केकी थिईन । संक्रमणको रोकथाम, ब्यवस्थापन र न्यूनिकरणका लागि नेपाल सरकारले देश भर लकडाउनको घोषणा गरेको छ । विश्वभर व्यापक रुपमा फैलिएको कोरोना महामारीलाई रोक्नका लागि नेपालका प्रधानमन्त्रीबाट २०७६ चैत ७ गते बिशेष सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्दको घोषणा गरे । त्यसको केही दिन पछि फ्रान्सबाट कतार हुँदै नेपाल भित्रिएकी १९ बर्षिय नेपाली विद्यार्थीलाई चैत्र १० कोरोना भाइरसको संक्रमण भएको पुष्टी भयोे । नेपालका लागि यो दोस्रो केश थियो । ती महिलामा कोरोना संक्रमण भएको पुष्टी भएसंगै नेपाल सरकारले लकडाउनमा कडि कडाउ थाल्यो । बन्दाबन्दी (लकडाउन)को पूर्ण कार्यान्वयनका लागि सिमा क्षेत्र, हवाई उडान, सडक मार्ग, उद्योग कारखानाहरु समेत बन्द गरिएको छ । यसअघि चीनको वुहान शहरमा कोरोना भाईरसको संक्रमण तिव्र रुप लिन थाले पछि विभिन्न उद्देश्यले चीनको वुहान शहर पुगेका नेपालीहरुलाई नेपाल सरकारले फिर्ता ल्याई भत्तपुरको खरीपाटीमा क्वारनटाइन स्थापना गरी राखिएको थियोे । क्वारनटाइनमा राखि स्वास्थ्य परिक्षण गर्दा सबैको रिर्पोटमा नकरात्मक अर्थात कोरोना भइरसको संक्रमण देखिएन । पहिलाे चरणमा नेपालमा विदेशबाट नेपाल फर्किएका व्यक्तिहरुमा मात्र संक्रममण देखिएको छ । पछिल्लाे समय संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको केसहरू देखिन थालेका छन् । महामारी विरुद्ध सरकार एक्लैले लडेर सफल हुँदैन, जसका लागि हरेक नागरिकको साथ र सहयोगको खाँचो पर्दछ । ‘नेपालका लागि कोरोना भाइरसको एन्टिडोज नै लकडाउन हो’ भन्ने भावनाका साथ आम नेपालीहरुले महामारीलाई फैलिन नदिने प्रण गर्ने हो भने महामारी विरुद्धको अभियानमा विश्वलाई नेपालले राम्रो सन्देश दिन सक्छ । कोरोना भाइरस संक्रमणको सामना गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको छ । केन्द्रिय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले आफ्ना नगरीकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी विभिन्न सचेतनामूलक गतिविधिहरु संचालन गरेका छन, भने विदेशबाट आउने मानिसहरुको पहिचान, उनीहरुको स्वास्थ्य परिक्षण, क्वारेनटाईनको निर्माण, प्रभावित नागरीकहरुलाई राहत वितरण जस्ता कार्यहरु संचालन गर्दै आई रहेका छन । यसै गरी राजनैतिक दल, स्वास्थ संघ संगठन, नेपाली सेना, प्रहरी, सञ्चार माध्यम लगायत आम नागरीकहरुले कोरोना विरुद्ध ऐक्यवद्धता जनाई सरकारलाई सहयोग गरिरहेका छन । कोरोनाको संक्रमणले महामारीको रूप लियो भने नेपालका अस्पतालहरूले धान्न सक्दैनन् । प्रयाप्त मात्रामा स्वास्थ्य परिक्षण गर्न कठिनाई हुन सक्छ । कोरोना औषधी वा खोपको आविस्कार भइ नसकेको अवस्थामा महामारी तिव्र फैलिएको खण्डमा नेपालले ठूलो चुनौतीको सामना गर्नु पर्दछ । विश्वको विज्ञान र चिकित्सक क्षेत्रलाई नै चुनौती बनेको कोरोना भाइरसको समाधान गर्न नेपाललाई धेरै ठूलो कठिनाई आईपर्ने सहजै अनुमान गर्न सकिन्छ । कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पूण पालना गर्ने, सामाजिक दूरी कायम राख्नुका साथै विश्व स्वास्थ्य संगठनले जारी गरेका समाधानका उपायहरुलाई अबलम्बन गर्नु नै उचित हुन्छ । महामारी विरुद्ध सरकार एक्लैले लडेर सफल हुँदैन, जसका लागि हरेक नागरिकको साथ र सहयोगको खाँचो पर्दछ । ‘नेपालका लागि कोरोना भाइरसको एन्टिडोज नै लकडाउन हो’ भन्ने भावनाका साथ आम नेपालीहरुले महामारीलाई फैलिन नदिने प्रण गर्ने हो भने महामारी विरुद्धको अभियानमा विश्वलाई नेपालले राम्रो सन्देश दिन सक्छ । एउटा विकासोन्मुख देश त्यस माथि पनि १० वर्ष लामो सशस्त्र द्वन्द्व, २०७२ सालको विनाशकारी भूकम्प र त्यसका पराकम्पनबाट भएको भौतिक विनाशबाट विस्तारै उठ्दै गरेको नेपालमा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीलाई सामना गर्ने सक्षम प्रणालीको विकास भइसकेको छैन । कोरोना भाइरसले नेपालमा महामारीको रुप लिएको खण्डमा नेपालका अगाडी धेरै चुनौतीहरु देखापरेका छन् । नेपालका सबै जिल्ला र स्थानीय तहमा कोरोना परिक्षण केन्द्र, दक्षजनशक्तिका अभावका कारण संक्रमितको उपचार र महामारी नियन्त्रण गर्न कठिनाई आउनसक्छ । संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको समय लम्बिदै जाँदा नेपालको उद्योग, व्यवसाय, पर्यटन, शिक्षा लगायत उत्पादनका क्षेत्रहरु प्रभावित भएका छन । जसको कारण नेपालको अर्थतन्त्र प्रभावित हुँदै गएको छ । ग्रामिण भेगमा उत्पादित कृषि उपजहरुले बजार पाउन सकेको छैन । मजदूरहरु बेरोजगार हुनु परेको छ । जसका कारण भविष्यमा अनिकाल, भोकमारी ननिम्तेला भन्न सकिदैन । वर्तमान अवस्थामा विश्वको शक्तिशाली देशको अवस्था, नियन्त्रणका लागि अवलम्बन गरेका रणनीति, स्वास्थ्य संवेदनशिलता र मुलुकले भोगेको दुर्गतिबाट पाठ सिकेर नेपालको स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र पर्याप्त लगानी गर्न जरुरी छ । महामारीले बिनाशको बाटो अबलम्बन गर्दछ । जसका कारण मानविय, भौतिक र अर्थतन्त्रमा क्षति पुग्दछ । कोरोना भाइरसको महामारीले स्वास्थ्य क्षेत्रलाई मात्र हैन, मुलुकको समग्र आर्थिक, सामाजिक, साँस्कृतिक पक्ष, जीवात्मा र पर्यावरणमा समेत ठूलो प्रभाव पारेको छ । महामारीको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्दछ । कोभिड–१९ को महामारीका कारण विकाशील एसियाली अर्थतन्त्रलाई उल्लेख्य रूपमा प्रभाव पार्ने एसियाली विकास बैंक (एडिवि)ले बताएको छ । आन्तरिक मागमा कमी, पर्यटन, व्यावसायिक ट्राभल, व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने एडीवीले आँकलन गरेको छ । जसले गर्दा विश्व अर्थतन्त्रको आकारको शून्य दशमलव चार प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव १३ प्रतिशत क्षति हुने एडिविको विश्लेषण रहेको छ । त्यसैगरी विश्वभर तिव्र गतिमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव प्रतिशत बिन्दुले खुम्चिने अन्तर्राष्ट्रिय मुद्राकोषले (आईएमएफ)ले जनाएको छ । यसर्थ महामारीले विश्वको अर्थतन्त्रमा ठूलो उत्तरचाडाव ल्याउने अनुमान गर्न सकिन्छ । बन्दाबन्दीमा बाहिर निष्कनेमाथि निगरानी गर्दै सुरक्षाकर्मी महामारीका कारण नेपालको ठूला साना सबै उद्योग बन्द भएकाले उत्पादन शून्य रहेको छ, भने कुल गार्हस्थ्य उत्पादनमा २५.६ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्समा भारी गिरावट आएको छ । देशको पुरै शक्ति महामारीको विरुद्धमा प्रयोग भएको छ । लम्बिदै जाँदा देशको अर्थतन्त्र कहिलेसम्म धान्न सक्छ, यो सरोकारवालाहरुको प्रमुख चिन्ताको विषय बनेको छ । नेपालको चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले यस वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । महामारीका कारण लक्ष्य प्राप्ती हुन कठिनाइ हुने सरोकारवालाहरुले स्वीकारेका छन । छिमेकी मुलुक चीन र भारतको अर्थतन्त्रमा गिरावट आउनासाथ त्यसको असर नेपालमा पनि देखा पर्दछ । नेपालको पर्यटन क्षेत्रमा १६ प्रतिशत योगदान चीनको रहेको छ भने धेरै खर्च गर्ने सूचिमा चिनियाँ पर्यटकहरु नै पर्दछन । महामारीको कारण नेपालको पर्यटन क्षेत्र समेत धरापमा परेको छ । बैंक तथा वित्तिय क्षेत्रमा तरलता अभाव हुने संकेत देखिएको छ । हजारौ मजदुरहरु बेरोजार भएका छन् । कृषि, ब्यावसाय, सेवा लगायतका सबै क्षेत्रहरु थप्प भएका कारण नेपालको अर्थतन्त्र पूर्ण रुपमा प्रभावित भएको छ । महामारीले विश्वका मानव समुदायमा ठूलो क्षति पुर्याउनुका केही पाठ पनि सिकाएको छ । चीन, अमेरिका, इटली, दक्षिण कोरिया, बेलायत जस्ता विकसित देशहरु पनि महामारीको चटारोमा परेका छन् । विश्वका शक्तिशाली भनिएका देशहरु नै महामारीका कारण थला परेका छन् । कोरोना संक्रमणको पूर्वतयारी, सावधानी, नागरिकहरु सचेत नहुँदा इटली ठूलो दुर्दशा भोग्नु पर्यो । नागरिकहरुलाई ब्यवस्थित हुन र समाजिक दुरी कायम गर्न सरकारले जारी गरेको सूचनालाई बेवास्था गर्दा इटलीले ठूलो क्षति बेहोरिरहेको छ । कोरोना भाइरसको लक्षणलाई देखिएपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन समेत उपचारका लागि अस्पताल भर्ना हुनु पर्यो, भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई महामारी नियन्त्रण गर्न राष्ट्रिय संकटकाल घोषणा  गर्न बाध्य बनायो । नेदरल्याण्डका दुई तिहाई सरकारका प्रधानमन्त्रीले वहालवाला स्वास्थ्य मन्त्रीलाई हटाई विपक्षी दलका संसदलाई स्वास्थ्य मन्त्री बनाएर महामारी नियन्त्रणमा अघि बढेका छन । यसबाट संकटको घडीमा आफ्नो र पराई हुँदैन । सहि पदका सक्षम व्यक्तित्वको आवश्यकता पर्छ भन्ने सन्देश दिएको छ । विश्व इतिहासमा अग्रपंक्तिमा शक्तिशाली मुलुकको महामारीको अवस्थालाई विश्लेषण गर्ने हो भने रोगले सम्पन्न, विपन्न, शक्तिशाली, दुर्बलता, सानो, ठूलो कसैलाई विभेद गर्दैन भन्ने पाठ सिकाएको छ । केही देशहरुले रातरात अस्पतालहरुको निर्माण गर्न थाले, स्वास्थ्य सामाग्री र औषधीको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका लागि पूर्वतयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नविन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ । पछिल्लो समय सिङ्गो विश्व नै मानवजातीको अस्तित्वको लडाँई लडिरहेको छ । मानव सभ्यता, संस्कृति, वातावरण र जीवात्माको रक्षार्थ विश्वका हरेक मुलुकहरु कोरोना विरुद्ध संघर्षरत छन् । हरेक देशहरु आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाका खातिर सबै कार्यहरु थाती राखेर महामारी नियन्त्रणका लागि प्रयत्नरत छन् । कोरोना विरुद्धको अभियानमा विश्वका गोलबद्ध हुन थालेका छन् । कोरोना भाइरसको सुरुवाती चरणलाई विश्वका प्राय मुलुकहरुले सामान्य फ्लुका रुपमा लिए । विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट विश्व नै संक्रमित हुने सम्भावनाबारे जानकारी गराउँदा समेत गम्भिरताका रुपमा नलिदाँ महामारीले डरलाग्दो रुप लिन पुग्यो । जब भाइरसले महामारीको रुप लिन थाल्यो, तब स्वास्थ्य संवेदनशिलताको बारेमा सबैलाई सोच्न बाध्य बनायो । केही देशहरुले रातरात अस्पतालहरुको निर्माण गर्न थाले, स्वास्थ्य सामाग्री र औषधीको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका लागि पूर्वतयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नविन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ । मानिस सामाजिक प्राणी भएकाले समाजसंग निकट रहन्छ । मानिसको जन्मदेखि मृत्युसम्मका संस्कारहरु सामाजिक, धार्मिक र साँस्कृतिक परम्परा अनुसार हुने गर्दछ । ठाउँ अनुसार भिन्नभिन्न संस्कृति हुने गर्दछ । संस्कृति नै मानिसको पहिचान हो भन्दा फरक नपर्ला । विभिन्न समयमा देखिएका भाइरसहरुले मानव सभ्यता र संस्कृति माथि चुनौती दिंदै आएको छ । कतिपय भाइरसका कारण धेरै मानिसहरुले ज्यान गुमाउनु परेको छ । वर्तमान अवस्थामा विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसले त झनै मानव सभ्यता र संस्कृतिलाई संकटमा पारेको छ । दुःख वा सुखलाई एकअर्कामा साटासाट गर्नु मानवजातिको गुण नै हो । सुखदुःखमा साथ र सहयोग गर्नु मानवीय धर्म हो । महामारीले यसको दूरीलाई टाढा बनाई दिएको छ । यतिसम्म कि मृतक शव बोक्न, दाहसंस्कार गर्न, काजक्रिया गर्न समेत समस्या देखिन थालेको छ । नेपाल साँस्कृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ धेरै धर्म, संस्कृति र रहनसहन, रितिरिवाजहरु रहेका छन । अरु बेलामा टाढा भएका साथीभाइ, आफन्तहरुलाई हाम्रा संस्कृति तथा पर्वहरुले एक ठाँउमा जुटाउने गर्दछ । महामारीले मानवजातीको भविष्य, धर्म, संस्कृति माथि नै चुनौती थपिदिएको छ । महामारीले ल्याएको समस्या, आगामी चुनौती, अर्थतन्त्रमा पारेको प्रभाव, जोखिम न्यूनिकरण तथा दिगो ब्यवस्थापन, मानव सभ्यता र पर्यावरणमा पारेको असर लगायतका बिषयहरू माथी सम्बोधन हुने खालको योजनाहरुको बारेमा बेलैमा सोचेर अघि बढ्न अत्यान्त जरुरी छ । महामारीको रोकथाम, न्यूनिकरण र व्यवस्थापनका लागि सिंगो विश्वले नै ऐक्यवद्धता जनाई कोरोना विरुद्धको अभियानमा हातेमालो गरी विश्वबन्धुत्वको भावनाले आगामी यात्रा तय गरे मात्र हाम्रो भविष्य सुनिश्चित छ । विपद्को बेला मानविय धर्म निर्वाह गरौं । महामारीबारे सचेत रहौं, आफू बाँचौं, अरुलाई बचाऔं ।   बेथानचोक गाँऊपालिका–२, ढुंखर्क, काभ्रे मिति २०७७/०१/०५ गते शुक्रबार [email protected]

अमेरिकी आइडलको टप १० मा दिवेश पोखरेल

काठमाडौं । अमेरिकन आइडलको १८ औं सिजनको टप १० मा नेपालका दिवेश पोखरेल पर्न सफल भएका छन्। टप २० जनाबाट धेरै भोट पाएर पोखरेल टप १० भित्र पर्न सफल भएका हुन्। काठमाडौंमा हुर्किएर उच्‍च शिक्षाको क्रममा आमाबुबासँगै अमेरिका बस्दै आएका दिवेशले अमेरिकन आइडलको १८ औं संस्करणमा दमदार प्रस्तुति दिइरहेका छन्। पोखरेल विगत लामो समयदेखि परिवारसहित अमेरिका बस्दै आएका पोखरेल ‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा प्रख्यात छन् । यसअघि नेपाली भाषामै भोट अपील गर्दै उनले भनेका थिए, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरूको भोटको आवश्यकता छ। अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक भएका उनलाई टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सकिनेछ।

प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

काठमाडौं । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताए । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उनले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको थियो भन्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने जानकारी दिए । उनले बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा खर्च गरिने बताए । उनले भने, “यसअघिका ५१ प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरे पनि अब त्यसो हुँदैन ।” आगामी वैशाख २५ गतेसम्मको बन्दाबन्दीपछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने जानकारी दिए । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसइई परीक्षा सञ्चालनबारे पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले परीक्षा केन्द्रको दायरा बढाएर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने बताए । उनले प्रदेशका विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भइरहेको बताए । कोभिड–१९ उपचार केन्द्रलाई बुथ हस्तान्तरण कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवक सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल मोरङले नमूना सङ्कलन बुथ यहाँ हस्तान्तरण गरेको छ । कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन लिनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ बुथ हस्तान्तरण गरिएको सङ्घका केन्द्रिय सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । आन्तरिक मालिम तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकासमन्त्री घिमिरेलाई कोभिड अस्पतालमा बुथ हस्तान्तरण गरिएको थियो । मन्त्रीद्वयले संयुक्तरुपमा बुथ ग्रहण गरी कोशी अस्पताल विराटनगरका प्रमुख सङ्गीता मिश्रालाई हस्तान्तरण गरे । युवा सङ्घ मोरङले इञ्जिनीयरको प्राविधिक सहयोगमा करिब ८५ हजार रुपैयाँ लागतमा बुथ निर्माण गरेको अध्यक्ष नवीन पौडेलले भने । सङ्घले अहिलेसम्म तीन वटा बुथ निर्माण गरी सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिकालाई हस्तान्तरण गरेको अध्यक्ष पौडेलले जानकारी दिए । रासस