विकासन्युज

नेपालगञ्जमै थप ६ जना देखियाे काेराेना

काठमाडाैं । नेपालमा थप ६ जनामा काेराेना भाइरस देखिएकाे छ । अहिले नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । आजै (आइतबार) यसअघि १० जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।  यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।

भन्सार एजेन्ट महासंघले काेराेना काेषमा दियाे ५ लाख रूपैयाँ

काठमाडाैं । भन्सार एजेन्ट महासंघ नेपालले काेराना राेकथाम काेषमा ५ लाख २ हजार रूपैयाँ सहयाेग गरेकाे छ । महासंघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(काेभिड-१९) रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गरेको हाे । महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माले अर्थ सचिब शिशिर कुमार ढुङ्गानालाई आइतबार सिंहदरबारमा गई उक्त चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष जय प्रसाद सिवाकोटी, वरिष्ठ उपाध्यक्ष भरत राज घिमिरे, महासचिब विष्णुमणी खनाल र कार्यकारी सदस्य सदस्य एवं नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष शिशिर बहादुर गौतम सहितको उपस्थिति थियो । सोहि भेटमा यस विषम परिस्थितिमा भन्सार एजेन्टहरु आफ्नो कर्तव्यबाट बिमुख नभई जोखिमलाई बहन गर्दै भन्सार जाँच पास कार्यमा संलग्न रहेकोमा मानवीय जोखिमलाई कम गर्न सरकार बाट एजेन्टको बीमा गर्ने व्यवस्थाको समेत माग गरेको छ ।

श्रमिकलाई ५० प्रतिशत भन्दा बढी भुक्तानी गर्न नसकिने रोजगारदाताको अडान

काठमाडौं । लकडाउनको अवस्थामा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न नसकिने अडान व्यवसायीले दोहोर्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आईतबार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्बन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको जनाएका छन् । श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव दिएको विषयलाई उनीहरुले पुनः स्मरण गराएका छन् । ‘उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं’ संयुक्त विज्ञप्तीमा लेखिएको छ । विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आफ्ना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको उनीहरुको भनाई छ । सरकारले निजी क्षेत्रलाई पुरै तलव, भत्ता भुक्तानी गर्न निर्देशन दिएकाे छ । तर निजी क्षेत्रले ५० प्रतिशत भुक्तानी दिन सकिने बताएका छन् । ट्रेड युनियनहरूले  गरेकाे एक अध्ययनले चैत मिहनामा पनि ७० प्रतिशत उद्याेग प्रतिष्ठानले श्रमिकलाई भुक्तानी नदिएकाे देखाएकाे छ । उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा सूचीकरणसम्बन्धी प्रारम्भिक सर्वेक्षणमा ३० प्रतिशत उद्योगले मात्र चैत महिनाको पूरा पारिश्रमिक दिएको पाइएको हो ।  

पञ्चकन्या स्टिलले तीनवटा अस्पताललाई हस्तान्तरण गर्याे स्वास्थ्य सामाग्री

काठमाडाैं । पञ्चकन्या समूह अन्तर्गतकाे पञ्चकन्या स्टिलले विभिन्न ३ अस्पतालहरूलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ । स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान-पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल- महाराजगन्ज र धुलिखेल अस्पताल- धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ-आफ्ना प्रतिनिधिहरूकाे उपस्थितिमा  पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएकाे समूहले जनाएकाे छ ।

सप्तरीमा सबै स्वाब परीक्षण नेगेटिभ, जिल्लाबासीमा घट्यो त्रास

काठमाडाैं । सप्तरीमा आज थप ८१ जनाको ‘पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ’ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको तीन नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो । सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको हो । इस्लामी सङ्घ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आज पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ । रासस

‘कोरोना बीमा’ समयको माग र आवश्यकता

कोरोना महामारीले विश्व आक्रान्त छ । साढे ३४ लाख मानिस कोरोना भाईरसबाट संक्रमित छन् भने यहि रोग लागेर २ लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । नेपालको छिमेकी देश भारतमा यसबाट संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको र खुल्ला सिमानाको कारणले गर्दा नेपाल पनि कोरोना महामारीको उच्च जोखिममा छ । करिव ५ दर्जन नेपालीमा कोरोनो संक्रमण भईसकेको छ । यसले नेपाली समूदायमा पनि ठूलो त्रास सिर्जना गरेको छ । यस्तो जोखिमको बेलामा सर्बसाधारणलाई आर्थिक सुरक्षा आवश्यक हुन्छ । खासगरी विपन्न वर्गको लागि तत्काल आथिक राह्रात आवश्यक हुन्छ । यस परिवेशमा न्युन आय भएको सर्वसाधारणलाई थोरै भएपनि आर्थिक सुरक्षा दिने सोचका साथ नेपालमा कोरोना बीमाको अभ्यास शुरु भएको छ । बीमाले जोखिम तथा विपतको समयमा रक्षावरण गर्छ । त्यसैले अहिलेको अवस्थामा कोरोना भाइरसको बीमा गर्नु उपयुक्त निर्णय हुनेछ । कोरोना बीमा भनेको अहिले विश्वव्यापी रुपमा महामारी बनेर फैलिरहेको कोभिड(१९ लाई लक्षित गरी गरिने बीमा हो । कोरोेना भाइरस संक्रमण देखिने वित्तिकै बीमा दावी गर्न पाईने बीमा हो । यस्तो बीमा पोलिसी अहिले १ लाख र ५० हजार रुपैयाँ बीमाङ्क रकमको जारी भईरहेको छ । १ लाख बीमाङ्कको बीमा पोलिसी लिन व्यक्तिको हकमा १ हजार रुपैयाँ र परिवार र समूहको हकमा प्रति व्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क तोकिएको छ । त्यस्तै ५० हजार रुपैयाँ बीमाङ्क भएको बीमा पोलिसी लिन एक व्यक्तिको हकमा ५ सय रुपैयाँ र परिवार र समूहका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क तोकिएको छ । पछिल्लो समय कोरोना भाईरसको जोखिम बढ्दै गएकाले यो पोलिसी ल्याईएको हो । बीमा कम्पनीहरुले संचालन गर्दै आएका अन्य स्वास्थ्य बीमामा कुनै पनि रोग सहित घातक रोगहरुको बीमा हुनेगर्छ । कोरोना भाइरसको मात्रै बीमा तथा घातक रोगहरुको बीमालाई लिएर यी २ बीमा योजना बीचको फरक छुट्याउन सकिन्छ । हाल संचालनमा रहेको स्वास्थ्य बीमा गराउँदा र कोरोना भाईरसको बीमाका सन्दर्भमा केही फरक छन् । स्वास्थ बीमा गराउँदा बीमा कम्पनीहरुले विभिन्न अस्पतालसँग टाइअप (सम्झौता) गरेका छन् । बिमितले बिमांकको सिमासम्मको रकमको लागि अस्पतालबाट नगद रहित सुविधा पाउँन सक्छन् । यसैगरी बीमितले अस्पतालमा भर्ना हुँदाका बील पेश गरेर समेत बीमा कम्पनीहरुसँग दाबी भुक्तानी लिन सक्नेछन् जुन हाल व्यवहारमा प्रचलनमा रहेको छ र यो सो नेपालमा कार्यरत सबै निर्जीवन बीमा कम्पनीहरुले प्रदान गरिरहेका छन् । कोरोना बीमाको सन्दर्भमा भने बीमितले कोरोनाको पिसिआर रिपोर्ट पोेजेटिभ देखिने बित्तिकै बीमांक बराबरको रकम पाउन सक्छन् । यस्तो अवस्थामा बीमितले १ लाख रुपैयाँ वा ५० हजार रुपैयाँ कति बीमांक बराबरको बीमा गराएको हो त्यो रकम तुरुन्तै पाउँछन् । स्वस्थ्य बीमा र कोरोना बीमा दुबै बीमितको स्वास्थसँग नै जोडिने बीमा हुन् । सोही कारण तत्कालको लागि कोरोना बीमामा बीमितले सहभागी हुने अवस्था भएपनि स्वास्थ्य बीमा दिर्घकालको लागि हो । स्वस्थ्य बीमा आजिवनको लागि महत्व छ भने कोरोना कोभिड(१९ को संक्रमण सम्मको लागि मात्र हो । कोरोना बीमा आज लिन सबैमा अनुरोध गर्दछु किनकी यसमा बीमा शुरुवातको अवधी १५ दिनको हुन्छ यसको मतलब बीमालेख खरिद गरेको १५ दिन पश्चात यस बीमालेखले कभर गर्दछ त्यसैले आजै यो बीमालेख खरिद गरी आर्थिक क्षतिबाट सुरक्षित रहन सबैमा अनुरोध गर्दछु । कुनै पनि बीमा आर्थिक जोखिम कम गर्नको लागि गर्ने गरिन्छ । आजसम्म नेपालमा संक्रमितहरुको संख्या त्यति नभए पनि विश्वभर फैलिरहेको यो महामारी र हाम्रो छिमेकी देशसंगको ओपन बोर्डरको कारणले आजै ढुक्क भएर रहन सकिने अवस्था नभई हामी संभावित जोखिममा सजग हुनुपर्ने छ । भोलिका दिनमा कोरोना भाईरसको महामारी बढ्दै गएमा यसले पु¥याउने क्षति पनि ठूलै हुन्छ । आजको दिनमा एक नम्बरमा कोरोना बीमा गराउँन आवश्यक बन्नुको कारण पनि यस्को जोखिमकै कारणले गर्दा हो । केही समयपछि यस्तो अवस्था सामान्य बन्दै जान्छ । तर स्वास्थ बीमा भनेको जीवन रहेसम्म हामीलाई कुनै न कुनै रोग लाग्न सक्नेछ र त्यसबाट हुने आर्थिक क्षतिको लागि गरिने बीमा भएको हुनाले यो आजीवन आवश्यक बीमा हो । बीमितलाई सन्देश हेल्थ तथा कोरोनाको बीमा पोलिसी नलिनु भएका व्यक्तिहरुले यसबारे विचार गर्नु उत्तम हुन्छ । अहिले हामी घर भित्र छौं एक हिसाबमा हामी सुरक्षित पनि छौँ । तर लकडाउन खुल्ने वित्तिकै काम गर्ने स्थान, कार्यालय जांदा हामी आजको जस्तो सुरक्षित नहुन सक्छौं । त्यस्तो अवस्थामा कोरोना भाईसरको संक्रमणबाट जोगिदा जोगिदै पनि हामीलाई कोरोना लाग्ने सम्भावना रहन्छ । सोही कारण कोरोना बीमा गराएमा एक हदसम्म यसबाट आर्थिक सहयोग अवश्य मिल्ने छ । कोरोना भाईरस (कोभिड १९) लागेको अवस्थामा स्वस्थ्य बीमामा जस्तो व्यक्ति आफैले उपचार खर्च व्यहोर्नु पर्दैन, सरकारलेनै सहुलित दिएको अवस्थामा बीमा कम्पनीहरुले व्यवसाय गर्न लागेको हो कि रु भन्ने जस्तो कसै कसैलाई लाग्न पनि सक्छ । तर यसको अलिकति भित्र छिरेर हेर्ने हो भने, हाम्रो परिवारका कोही सदस्य साधारणतया बिरामी हुँदा हामीले कम्तिमा झोलिलो पदार्थ, फलफुल लगायत पौषणयुक्त खानेकुराहरु खुवाउँने गर्छौ । त्यति बेला नै हामीलाई पैसाको आवश्यकता पर्छ । त्यस्तै, कुनै पनि नेपालीलाई कोरोना भाईरस लागि हालेको अवस्थामा सरकारले व्यहोर्ने उपचार खर्च भन्दा बाहेकका अन्य खर्चमा सहयोग होस भन्ने उदेश्यले कोरोना पोलिसी संचालनमा आएको हो । कोरोना बीमा पोलिसी फाईदा मुखी बन्ने हिसाबले ल्याएको होइन । भोलि कार्यालय खुलेपछि सबैलाई भिडभाडमा जानु पर्ने बाध्यता हुन्छ । एउटै कार्यालयकै सदस्यहरु धेरै हुने भएकाले कसैलाई कोरोना भाईरस लागि हालेको अवस्थामा यस पोलिसीले साथ दिन्छ । यसरी बीमितलाई आर्थिक क्षतिबाट सहयोग मिलोस भन्ने उदेश्यले ल्याइएको पोलिसी हो बीमा कम्पनीहरुको फाईदाको लागि होइन । यतिबेला नाफा भन्दा पनि सर्बसाधारणको हितलाई केन्द्रमा राखेर यो पोलिसी जारी गरेको हो । अन्तमा, यस विषम परिस्थितिमा पनि जनताहरुलाई आर्थिक क्षतिबाट राहत होस भन्ने मनसायले बीमा समिति र नेपाल बीमक संघले छोटो समयमा कोभिड(१९ बीमालेख सबन्धमा गरेको निर्णय सराहनिय छ । (कुराकानीमा आधारित)

पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा आत्मनिर्भर हुने अवसर

काठमाडाैं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारण होटल व्यवसाय, पर्यटन तथा त्यसका सहायक क्षेत्रमा ठूलो प्रभाव परेको छ । कूल २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु भएको नेपाल भ्रमण वर्षसमेत स्थगन भएको छ । नेपाल पर्यटन बोर्डले तत्काल नै रु २० अर्ब बराबरको राहत प्याकेज जरुरी रहेको स्पष्ट पारिसकेको छ । राष्ट्रिय तथ्याङ्क विभागले गत बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा १६ दशमलव ३० प्रतिशतले ऋणात्मक हुने देखाएको छ । यस्तै वायु सेवा प्रदायकसमेत मारमा परेका छन् । पर्यटन क्षेत्रमा प्रत्यक्षरूपमा पाँच लाख र अप्रत्यक्ष गरी १५ लाख नागरिक सहभागी छन् । विपद्ले उनीहरुको रोजगारी खोसिएको छ । कोरोना महामारीका कारण विश्वव्यापी तथा आन्तरिक पर्यटकको आवतजावतमा आएको अवरोधले मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा पर्यटकको आवागमनमा समेत १३ दशमलव ८२ प्रतिशतले कमी आएको छ । कुल गार्हस्थ्य उत्पादनमा चालु आवमा यस क्षेत्रले १ दशमलव ४२ प्रतिशत योगदान दिएको थियो । कोरोनाका कारण ठूलो प्रभाव परेको पर्यटन, होटल तथा रेष्टुरेन्ट क्षेत्रको पुनःउत्थानका लागि ठोस कार्यक्रम ल्याउनु जरुरी देखिएको राष्ट्रिय योजना आयोगको बुझाइ छ । आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आगामी आवको बजेटमा सो क्षेत्रलाई केही न केहीरुपमा सम्बोधन गरिने विश्वास व्यक्त गरेका छन् । ‘दुई तीन वर्ष नै असर पर्न सक्ने क्षेत्र भनेको होटल पर्यटन क्षेत्र नै हो । त्यसपछि ट्राभल र यातायात क्षेत्र हो । निर्माण क्षेत्रमा पनि प्रभाव त पर्छ तर काम शुरु गरिहाल्न सकिए कम प्रभाव पर्न सक्छ भन्ने हाम्रो अनुमान छ ।’ यस्तै शिक्षा क्षेत्रमा समेत कोरोनाको असर परेको छ । विद्यालय तथा कलेज कसरी सञ्चालन गर्ने र विद्यार्थीमा परेको मानसिक तथा सामाजिक प्रभावलाई कसरी न्यून गर्ने भन्नेतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा कँडेलको भनाइ छ । कृषिमा आत्मनिर्भर बन्ने अवसर कोरोनाका कारण अन्य क्षेत्रमा ठूलो प्रभाव परे पनि कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिने अवस्था पनि सिर्जना हुने उनको भनाइ छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि उद्यममा जोड्न सकिने अवस्था आएको भन्दै उहाँले सङ्कटले नकारात्मक मात्रै नभई सकारात्मक प्रभाव पनि निम्त्याउने बताए । विशेषगरी खाडी क्षेत्र, मलेसियालगायत देशमा रोजगारीमा गएका युवा कोरोनाको प्रभाव कम हुँदै गएपछि देशभित्र फर्कने वातावरण बन्न सक्छ । ती युवालाई व्यावसायिक कृषितर्फ आकर्षित गर्नेखालका कार्यक्रमको अपेक्षा जनताबाट भएको छ । उपाध्यक्ष प्रा डा कँडेलले भने, ‘हामी आत्मनिर्भर पनि बन्ने र युवालाई देशभित्रै रोजगारी पनि दिन सक्ने क्षेत्रलाई आगामी बजेटले विशेष प्राथमिकतामा राख्नेछ ।’ वैदेशिक रोजगारीबाट फर्केकासँग सोच, सीप र स्वपूँजी पनि हुने भएकाले विशेष ध्यान दिनेतर्फ सरकारले काम गर्ने उनले विश्वास व्यक्त गरेका छन् । गत वर्ष नेपालले रु ३३ अर्बको चामल, रु १३ अर्बको मकै, रु सात सात अर्बको आलु, रु ६ अर्बको स्याउ, रु सात अर्बको मरिच र रु दुई अर्बको केरा आयात गरेको तथ्याङ्क छ । कोरोनाले यी क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने मार्ग प्रशस्त गरेको छ । सरकारले कृषि उपजको बजारीकरणका लागि साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता संस्थालाई जिम्मा दिने निर्णय गरेको छ । किसानलाई राहत दिएर कृषि केन्द्रित उद्यमको विकासका लागि बजेट केन्द्रित गर्न सक्ने अवसर पैदा भएको छ । ठूलो सङ्ख्यामा युवा विदेशबाट स्वदेश फर्कने अवस्थामा उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएन भने त्यसले सामाजिक द्वन्द्व निम्त्याउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । रोजगारीको क्षेत्रमा बजेटको प्राथमिकता बढी नै रहने उल्लेख गर्दै उहाँले उत्पादनमूलक उद्योगको प्रवद्र्धन र विकासलाई पनि जोड दिने बताए । उनले भने, ‘बाहिरबाट फर्केर आउनेलाई रोजगारी, देशभित्र, खाद्यान्नमा आत्मनिर्भर गर्ने र विप्रेषणको आप्रवाह कम भएका कारण नागरिकको क्रय शक्ति कम हुँदा भोकमरी हुन सक्ने अवस्थालाई ध्यान दिएर केही न केही भ्याल्यूएड भने गर्नैपर्छ ।’ यस्तै विपद्ले पूँजीगत खर्च प्रभावित हुने देखिएको भन्दै उहाँले शुरु भएका गरिएका परियोजनालाई निरन्तर अगाडि बढाउने सोच राखिएको जानकारी दिए । सामान्य अवस्थामा सरकारले तय गरेको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुने अवस्था भए पनि कोरोनाले घटेर २ दशमलव २७ मा सीमित रहने देखिएको छ । सार्वजनिक खर्च बढाउने भन्ने सोचमा अल्पविराम लागेको भए पनि सरकारले त्यसलाई क्रमशः सही मार्गमा लैजाने उपाध्यक्ष प्रा डा कँडेलको भनाइ छ । जनता र खासगरी युवा शक्तिको भरोसालाई कायम राख्दै नकारात्मकताबाट सकारात्मक बनाउने सोचका साथ सरकारले काम गरेको उनको भनाइ छ । कोरोनाका कारण स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको जानकारी दिँदै उनले क्षमताको विकास तथा भौतिक संरचनामा पनि ध्यान दिइने उन्को भनाइ छ । सातवटै प्रदेशमा सुविधासम्पन्न स्वास्थ्य संरचनाको निर्माण, जनशक्तिको व्यवस्थापनलाई पनि बढावा दिनुपर्ने आवश्यकता बढेर गएको उनको भनाइ छ । रासस

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई भन्यो- एक साता भित्र व्यवसायीक रिर्पोट पेश गर्नुस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीले आगामी एक साता भित्र आ-आफ्नाे व्यवसायीक रिर्पोट बीमा समितिमा पेश गर्नुपर्ने भएकाे छ । सबै कम्पनीले आफ्नो वर्तमान अवस्था तथा आगामी योजनाका बारेमा रिर्पोट पेश गराउनु पर्ने बीमा समितिले जनाएकाे छ । आईतबार सम्पन्न भएकाे बीमा समिति र बीमक संघको बैठकमा समितिले साे कुरा जानकारी गराएकाे हाे ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार उक्त बैठकमा कोरोना महामारीको सन्दर्भमा भोलिका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो । ‘अहिलेको परिस्थितिमा कसले के गर्नु आवश्यक छ र कस्को तर्फबाट के गर्दा राम्रो हुन्छ भन्ने विषयमा आज हामीले छलफल गरेका हौँ, अब कम्पनीहरुले हामीलाई आफ्नो वर्तमान अवस्था तथा आगामी योजनाका बारेमा हामीलाई एक साता भित्र जानकारी गराउँने छन्’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । ‘अहिले कोरोना महामारीकै कारण सबैतिर व्यवसाय बन्द छन्, यस्तो अवस्थामा बीमा कम्पनीहरुले कसरी अघि बढ्नु राम्रो हुन्छ, कुन कम्पनीको अवस्था कस्तो रहेको छ, कस्तो किसिमको बीमा प्रडक्ट बजारमा आवश्यक छ भन्ने विषयमा छलफलमा चल्यो’, निर्जीवन बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले विकासन्युजसँग भने । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले आगामी एक साता भित्रमै बीमा कम्पनीहरुले आफूहरु कसरी अघि बढि रहेको र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने खालका प्रगति विवरण बीमा समितिलाई पेश गर्ने बताए ।