
काठमाडौं । लकडाउनको अवस्थामा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न नसकिने अडान व्यवसायीले दोहोर्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आईतबार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्बन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको जनाएका छन् ।
श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव दिएको विषयलाई उनीहरुले पुनः स्मरण गराएका छन् । ‘उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं’ संयुक्त विज्ञप्तीमा लेखिएको छ ।
विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आफ्ना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको उनीहरुको भनाई छ ।
सरकारले निजी क्षेत्रलाई पुरै तलव, भत्ता भुक्तानी गर्न निर्देशन दिएकाे छ । तर निजी क्षेत्रले ५० प्रतिशत भुक्तानी दिन सकिने बताएका छन् ।
ट्रेड युनियनहरूले गरेकाे एक अध्ययनले चैत मिहनामा पनि ७० प्रतिशत उद्याेग प्रतिष्ठानले श्रमिकलाई भुक्तानी नदिएकाे देखाएकाे छ । उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा सूचीकरणसम्बन्धी प्रारम्भिक सर्वेक्षणमा ३० प्रतिशत उद्योगले मात्र चैत महिनाको पूरा पारिश्रमिक दिएको पाइएको हो ।