योगदान र भुक्तानी प्रणाली व्यवस्थित गर्न स्वास्थ्य बीमा बोर्डसहित तीन निकाय एकीकृत गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूको उपस्थिति रहेको थियो । साथै, प्रधानमन्त्रीज्यूका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

बैठकमा हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल गरिएको छ ।

तीनवटै निकायलाई एकीकृत गर्न विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी आपसमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुईवटा सम्भावित कानुनी विकल्पमाथि समेत विचार-विमर्श गरिएको छ ।

Share News