काठमाडौं । स्थानीय तहको तेस्रो कार्यकालका लागि निर्वाचनको तयारी भइरहँदा पनि देशका १०२ स्थानीय तहमा देखिएको सीमाना विवाद समाधान हुन सकेको छैन ।
स्थानीय तह पुनर्संरचना गरेर जनप्रतिनिधि निर्वाचित भएको साढे आठ वर्ष बितिसक्दा पनि सीमाङ्कन, वडा विभाजन र प्रशासनिक क्षेत्राधिकारसम्बन्धी विवाद यथावत रहनुले संघीयताको कार्यान्वयनमाथि नै प्रश्न उठाएको छ ।
यस्तै, ५ वटा पालिका अहिले पनि स्थायी केन्द्रविहीन रहेका छन् ।
२०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सुरु भएका सीमाना विवाद दोस्रो कार्यकाल समाप्त हुन लाग्दा समेत समाधान हुन सकेको छैन ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेका विवरणअनुसार १०२ स्थानीय तह सीमाना विवादसँग सम्बन्धित छन् । कतिपय पालिकाबीच अन्तरपालिका सीमाना विवाद छ भने कतिपयमा एउटै पालिकाभित्रका वडाहरूको सीमाङ्कन मिलेको छैन ।
स्थानीय तह पुनर्संरचना गर्दा भौगोलिक अवस्था, जनसंख्या, प्रशासनिक सुगमता र राजनीतिक सहमतिका आधारमा सीमाना निर्धारण गरिएको थियो । तर, त्यसबेला गरिएका सीमाङ्कनमा देखिएका प्राविधिक त्रुटि र स्थानीय असहमतिलाई समयमै सम्बोधन गर्न नसक्दा समस्या समाधान हुन सकेको छैन ।
यसको असर स्थानीय सरकारको प्रशासनिक काममा मात्र सीमित छैन । कतिपय ठाउँमा नागरिकले आफ्नो वडा कार्यालय पुग्न अर्को वडा वा स्थानीय तहको क्षेत्र हुँदै जानुपर्ने अवस्था छ । जग्गाको नापी, लालपुर्जा, पूर्वाधार निर्माण, प्राकृतिक स्रोतको उपयोग र राजस्व संकलनमा समेत विवाद देखिएको छ ।
कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा नहुँदा विवाद कायमै
स्थानीय तह पुनर्संरचना आयोगले गरेको सीमाङ्कन कार्यान्वयनमा आएपछि नै विभिन्न ठाउँमा असन्तुष्टि देखिन थालेको थियो ।
पहिलो कार्यकालमा जनप्रतिनिधिहरूले सीमाना मिलाउन मन्त्रालय र प्रदेश सरकारसँग पहल गरे । तर आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा विवाद समाधान हुन सकेन ।
२०७९ सालको दोस्रो स्थानीय तह निर्वाचनअघि पनि सीमाना विवाद समाधानको विषय उठेको थियो । निर्वाचन सम्पन्न भयो, नयाँ जनप्रतिनिधि आए अनि अर्को कार्यकाल सुरु भयो । तर विवाद भने जहाँको त्यहीँ रह्यो ।
अहिले तेस्रो कार्यकालको निर्वाचनको तयारीको समय नजिकिँदै गर्दा पनि सरकारले विवाद समाधानका लागि ठोस निर्णय गर्न सकेको छैन । यसले आगामी निर्वाचनपछि निर्वाचित हुने जनप्रतिनिधिले पनि पुरानै प्रशासनिक अन्योल र सीमाङ्कनको समस्या विरासतमा पाउने जोखिम बढाएको छ।
मन्त्रालयको संघीय मामला महाशाखाका प्रमुख सहसचिव प्रकाश दाहालका अनुसार मन्त्रालयले यस्ता विवाद समाधानका लागि मापदण्ड बनाएको छ ।
नक्सामा एउटा जिल्ला, प्रशासनिक अभिलेखमा अर्को
सीमाना विवादको जटिल उदाहरण मकवानपुरको बकैया गाउँपालिका हो । गाउँपालिकाको वडा नम्बर १ का केही बस्ती र वडा कार्यालयसमेत डिजिटल नक्सामा रौतहट जिल्लाभित्र देखिन्छ । तर त्यहाँका बासिन्दाको मतदाता नामावली र जग्गासम्बन्धी प्रशासनिक अभिलेख मकवानपुरको बकैया गाउँपालिकाअन्तर्गत छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलका अनुसार नक्सागत असमानताले स्थानीयलाई जग्गाको नापी, लालपुर्जा निर्माण तथा प्रशासनिक काममा समस्या सिर्जना गरेको छ ।
गाउँपालिकाले आफ्नै बजेटबाट पूर्वाधार निर्माण र सेवा प्रवाह गरिरहेको भए पनि अभिलेखमा देखिएको भौगोलिक असमानता समाधान हुन सकेको छैन ।
लामो समयदेखि विवाद भएपनि मन्त्रालयले समयमै विवाद समाधान नगरिदिँदा पालिकाले समस्या भोगिरहेको छ । अधिकृत पोखरेलका अनुसार पछिल्लो समय त रौतहट वन कार्यालयले बस्ती नै सार्न भनिसकेको छ ।
बकैयामा मात्रै होइन, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पनि वडा नम्बर ४ र ५ बीचको सीमाना नमिल्दा समस्या भएको छ । एउटा वडाको बीचमा अर्को वडाको बस्ती परेकोले समस्या भएको पालिका अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार यसको प्रत्यक्ष असर नागरिकको दैनिक आवागमन र सेवा प्राप्तिमा परेको छ । एक किलोमिटर दूरीमा रहेको सेवा केन्द्र पुग्नसमेत तीन घण्टासम्म लाग्ने अवस्था रहेको अध्यक्ष तामाङले बताए ।
उनका अनुसार पालिकाले समस्या समाधानका लागि प्रदेशलाई सिफारिस गरेको छ । सोही आधारमा प्रदेशले संघमा लेखी पठाए पनि केन्द्रीय सरकारले समयमा निर्णय नगर्दा समस्या भएको तामाङले जानकारी दिए ।
स्थानीय तह पुनर्संरचना गर्दा गरिएको सीमाङ्कनको प्राविधिक पक्षमा देखिएको कमजोरी नागरिकको दैनिक जीवनसँग जोडिएको तामाङको दाबी छ ।
कैलालीका सात पालिकामा सीमाना विवाद
कैलालीमा विभिन्न सात स्थानीय तहबीच सीमाना विवाद रहेको छ । गौरीगंगा नगरपालिका र चुरे गाउँपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिका तथा मोहन्याल गाउँपालिका र घोडाघोडी नगरपालिकाबीच सिमा विवाद देखिएको छ ।
त्यस्तै, मोहन्याल र लम्कीचुहा नगरपालिका, भजनी र घोडाघोडी नगरपालिका तथा लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकाबीच पनि सीमासम्बन्धी विवाद रहेको जिल्ला समन्वय समितिका उपपप्रमुख टिकाकुमारी चौधरीले जानकारी दिइन् ।
चौधरी पनि केन्द्रीय सरकारको तदारुकता नहुँदा समस्या समाधान हुन नसकेको बताउँछिन् । चौधरी भन्छिन्, ‘पालिकाहरूका बीचमा रहेको समस्या समाधानका लागि केन्द्रीय सरकारले भुलभुतरुपमा काम गरिरहेको छैन ।’
यी विवादको मुख्य कारण नदी तथा प्राकृतिक स्रोतको उपयोग र त्यसबाट प्राप्त हुने राजस्वको स्वामित्व हो । ढुंगा, गिट्टी र बालुवाको उत्खनन तथा राजस्व संकलनमा दुई स्थानीय तहले आफ्नो अधिकार दाबी गर्दा विवाद चर्किएको विकेन्द्रीकरण मामलाका जानकार अधिवक्ता चन्द्र बहादुर शाही बताउँछन् ।
उनका अनुसार सीमाना स्पष्ट नहुँदा प्राकृतिक स्रोत व्यवस्थापन र विकास निर्माणसमेत प्रभावित हुने गरेको छ ।
सीमाना मात्रै होइन, प्रशासनिक केन्द्र पनि विवादमा
देशका कतिपय स्थानीय तहमा सीमाना विवादसँगै प्रशासनिक केन्द्र कहाँ राख्ने भन्ने विषय पनि लामो समयदेखि टुंगिन सकेको छैन । कास्कीको मादी गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिका यसका उदाहरण हुन् ।
मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट बेतेनी सार्ने विषयमा लामो समयदेखि विवाद छ । केन्द्र परिवर्तनको निर्णय र त्यसको कार्यान्वयनलाई लिएर स्थानीय असहमति तथा कानुनी प्रक्रिया जोडिएपछि विषय लम्बिएको थियो ।
सर्वाेच्च अदालतले २०७९ माघ १६ गते केन्द्र परिवर्तनसम्बन्धी रिट खारेज गरे पनि प्रशासनिक केन्द्रको विषय पूर्ण रूपमा टुंगिएको छैन । स्थानीय एक जनप्रतिनिधिका अनुसार पालिका अध्यक्षको अटेरीले अदालतको आदेश समेत कार्यान्वयन भएको छैन ।
केन्द्र विवादले गाउँपालिकाको भवन निर्माण, कर्मचारी व्यवस्थापन र नागरिकको सेवा पहुँचमा समेत असर पार्ने गरेको छ । निर्वाचनबाट नयाँ जनप्रतिनिधि आए पनि केन्द्रको विवाद समाधान नहुँदा उनीहरू पुरानै विवादको घेरामा पर्ने समस्या आउने ती जनप्रतिनिधिले जानकारी दिए ।
त्यस्तै, मोहन्याल गाउँपालिकामा साविकको खिमडीस्थित केन्द्रलाई वडा नम्बर १ को भकुण्डेटार सार्ने निर्णय विवादित बनेको थियो । केन्द्र परिवर्तनको विषयमा जनप्रतिनिधिबीच नै मतभेद देखिएपछि प्रशासनिक विवाद राजनीतिक टकरावमा परिणत भएको थियो ।
पालिका अध्यक्ष देविदत्त उपाध्यायका अनुसार सर्वोच्चले साविकको खिमडीलाईनै केन्द्र कायम गर्ने आदेश दिएको छ ।
तिलागुफामा वडाकै भवनबाट सेवा
कालीकोटको तिलागुफा नगरपालिका केन्द्र विवादको अर्को उदाहरण हो । नगरपालिकाको केन्द्र वडा नं ९ को चिल्खाया हुस्केमा राख्ने निर्णय भएपछि वडा नं ६ को गाल्जे पक्षले त्यसको विरोध गरेको थियो ।
२०७६ मंसिर १५ गते बसेको सातौं नगरसभाले हुस्केमा केन्द्र तोक्ने निर्णय गरेको थियो । तर उक्त निर्णय कानुनी प्रक्रिया पूरा नगरी गरिएको भन्दै उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा मुद्दा परेको थियो ।
उच्च अदालतले नगरसभाको निर्णय बदर गरेपछि विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । नगर प्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार पुष २९ गते सर्वोच्चमा पेशी रहेको छ ।
विवादका कारण नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । हालसम्म वडा नं ६ को वडा कार्यालय भवनबाटै प्रशासनिक सेवा सञ्चालन हुँदै आएको छ ।
हुस्के पक्षले नगरपालिकाका लागि जग्गा उपलब्ध गराएको र त्यहाँ प्रहरी चौकीसमेत निर्माण भएको दाबी गरेको छ । अर्कोतर्फ गाल्जे पक्षले भौगोलिक तथा प्रशासनिक सुगमता र उपलब्ध जग्गाका आधारमा केन्द्र गाल्जे हुनुपर्ने माग गर्दै आएको छ ।
दुवै पक्षबीच सहमति नहुँदा नगरपालिकाको स्थायी पूर्वाधार निर्माणसमेत अन्योलमा परेको छ ।
चिङ्गाडमा नौ वर्षपछि स्थायी मुकाम
सुर्खेतको चिङ्गाड गाउँपालिकामा पनि केन्द्र विवाद लामो समयसम्म रहेको थियो । गाउँसभाले २०७५ माघ ७ गते वडा नं २ को पुङ्खेतलाई प्रशासनिक केन्द्र बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णयविरुद्ध तत्कालीन उपाध्यक्ष मनमाया आचार्यसहितका जनप्रतिनिधि अदालत पुगेपछि वडा नं ५ को अवलचिङबाट प्रशासनिक काम सञ्चालन हुँदै आएको थियो ।
२०८३ वैशाखमा कार्यपालिकाले राजीकुनाको सामुदायिक भवनबाट काम सञ्चालन गर्ने निर्णय गरेपछि विवाद थप चर्किएको थियो । प्रशासनिक कार्यालय सार्न गएका सवारीसाधनलाई स्थानीयले अवरोध गरेका थिए । विवादका कारण प्रशासनिक कामकाज प्रभावित भएको थियो ।
तर २०८३ भदौ १६ गते सर्वोच्च अदालतले पुङ्खेतमा केन्द्र सार्ने निर्णयविरुद्ध परेको रिट खारेज गरेपछि विवादको कानुनी पाटो टुंगिएको छ । भदौ २५ गतेदेखि गाउँपालिकाले वडा नं २ को पुङ्खेतबाट स्थायी मुकाम मानी सेवा सञ्चालन गरेको छ । यसरी स्थापनाको नौ वर्षपछि गाउँपालिकाले स्थायी प्रशासनिक केन्द्रबाट सेवा सुरु गरेको हो ।
केन्द्र परिवर्तनमा के छ कानुनी व्यवस्था ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ ले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्रसम्बन्धी व्यवस्था गरेको छ । ऐनअनुसार केन्द्र परिवर्तन गर्न सम्बन्धित गाउँसभा वा नगरसभाको तत्काल कायम सदस्य संख्याको दुईतिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्छ ।
त्यस्तो प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने व्यवस्था छ । त्यसैले स्थानीय सभाबाट केन्द्र परिवर्तनको प्रस्ताव पारित हुँदैमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएको मानिँदैन ।
गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र परिवर्तनसम्बन्धी विवादमा सर्वोच्च अदालतले २०८२ मंसिर २८ गते फैसला गरेको थियो ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको संयुक्त इजलासले गाउँसभाको दुईतिहाइ बहुमतबाट भएको निर्णयविरुद्धको रिट खारेज गरेको थियो ।
अदालतले केन्द्र परिवर्तनसम्बन्धी नीतिगत तथा कार्यपालिकीय निर्णयमा न्यायिक हस्तक्षेपको सीमाबारे व्याख्या गरेको थियो ।
कानुनी प्रक्रिया अघि बढाउने तयारी, कार्यान्वयन अन्यौलमा
सीमाना विवाद समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुनी व्यवस्था संशोधन गर्ने प्रयास अघि बढाएको छ । मन्त्रालयका उपसचिव दीपक ढकालले विवाद समाधानको मापदण्ड बनाएर पठाएको बताउँछन् ।
मन्त्रालयले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्राविधिक समिति गठन गरी विवादको अध्ययन र समाधानका लागि सिफारिस गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
प्रस्तावित समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख वा उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख नापी अधिकृत र प्रमुख मालपोत अधिकृत रहने अवधारणा छ ।
समितिले भौगोलिक अवस्था, नापी नक्सा र प्रशासनिक सुगमताका आधारमा विवाद अध्ययन गरी आवश्यक सिफारिस गर्ने प्रस्ताव गरिएको छ ।
तर सीमाना हेरफेर सामान्य प्रशासनिक निर्णय मात्र नभई राजनीतिक र निर्वाचनसँग समेत जोडिने विषय हो । कुनै वडाको सीमाना परिवर्तन हुँदा जनसंख्या, निर्वाचन क्षेत्रको संरचना र स्थानीय राजनीतिक समीकरण प्रभावित हुन सक्छ ।
प्राविधिक रूपमा उपयुक्त देखिएको प्रस्तावमा समेत राजनीतिक सहमति जुटाउन कठिनाइ हुने अधिवक्ता शाहीको भनाइ छ ।
स्थानीय तह पुनर्संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले स्थानीय तहबाट आवश्यक प्रक्रिया पूरा गरी प्रदेश हुँदै संघीय सरकारमा आएका प्रस्ताव सरकारले निर्णय गरेर समाधान गर्न सक्ने धारणा राख्दछन् ।
कानुनी प्रक्रिया र प्रशासनिक निर्णयलाई अनावश्यक रूपमा लम्ब्याउँदा नागरिकले दुःख पाइरहने उनको तर्क छ ।
पौडेलका अनुसार संघीयताको उद्देश्य नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउनु हो । तर स्थानीय तह गठन भएको आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि सीमाना र केन्द्रको विवाद समाधान नहुनुले संघीयताको व्यावहारिक कार्यान्वयन कमजोर रहेको देखाउने पौडेलको तर्क रहेको छ ।
अहिले तेस्रो कार्यकालका लागि निर्वाचनको तयारी भइरहँदा सरकारले यी विवादलाई प्राथमिकतामा राख्नुपर्ने संघीयताका जानकार अधिवक्ता शाही बताउँछन् ।