सबैभन्दा बढी चिन्ता शेरबहादुर देउवाको लाग्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई सबैभन्दा बढी चिन्ता पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको लाग्ने गरेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रजातान्त्रिक आन्दोलनमा देउवाको योगदान महत्त्वपूर्ण रहेको बताए । विशेष महाधिवेशनपछि आफूलाई केही व्यक्तिहरूले विभिन्न आलोचना गर्ने गरे पनि त्यसबारे आफूलाई कुनै चिन्ता नरहेको उनले बताए । तर, पूर्वसभापति देउवाले सार्वजनिक मञ्चबाट व्यक्त गर्ने अभिव्यक्तिप्रति भने आफू चिन्तित रहेको उनको भनाइ छ ।

उनले विशेष महाधिवेशन पार्टीको विधि र विधानअनुसार गरिएको दाबी गर्दै त्यसबारे असहमति राख्न पाइने भए पनि असहमति राजनीतिक र मर्यादित हुनुपर्ने बताए ।

उनले भने, ‘केही केही पार्टीभित्र जोकरहरू छन् । केही केही नमुनाहरू छन् । ती जोकर नमुनाहरू हामीले चिनेकै साथीहरू हुन् । ती साथीभाइको आइडेन्टिटी त्यसैले बनेको छ । ती साथीभाइको घरधन्दा त्यसले चलेको छ । मेरो निन्दा गरेर कसैको घरधन्दा चलेको छ, कसैको पोलिटिकल आइडेन्टिटी बनेको छ, भइरहेको छ भने हुन दिऊँ । त्यो पनि साथीभाइ नै हुन्, छोडिदेऊ । अलिअलि जोकरहरू, अलिअलि नमुनाहरू जताततै हुन्छन् । त्यसका बारेमा धेरै चिन्ता नगरौँ । त्यसकारणले गर्दा मैले तपाईंलाई सम्झाउने हो । तपाईंको एउटा हिजोको दिनमा कार्यकर्ता भएर काम गरेको, तपाईं भएको पार्टीमा बसेर सँगै काम गरेको, एउटा पार्टीको साथी भएर पनि तपाईंलाई सम्झाउने हो । पार्टीको त्यो उमेरको नेता, त्यो कदको नेता, राजनीतिमै बानी राजनीतिक हुनुपर्छ, बोली राजनीतिक हुनुपर्छ, असहमति पनि राजनीतिक हुनुपर्छ । त्यसलाई एउटा सीमाभित्र राख्नुपर्छ, त्यसलाई एउटा मर्यादाभित्र राख्नुपर्छ ।’

उनले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न आफू सधैँ खुला रहेको पनि बताए । असन्तुष्ट नेताहरूसँग छलफल र संवाद गर्न आफूहरू सधैँ तयार रहेको उनको भनाइ छ । 

Share News