काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिबद्धता र घोषणामा मात्र सीमित नभई पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान पाउने अवस्था सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री बादीले हिंसा व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभई मानव अधिकार, सामाजिक न्याय, समानता र संविधानप्रदत्त सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको राष्ट्रिय सरोकारको विषय भएको बताइन् ।
उनले हिंसा गर्ने व्यक्तिको पद, प्रतिष्ठा, आर्थिक हैसियत वा राजनीतिक पहुँचका आधारमा कानुन फरक हुन नसक्ने स्पष्ट पारिन् । पीडितको अधिकारलाई हिंसा गर्ने व्यक्तिको पहुँचभन्दा माथि राख्नुपर्ने उनको भनाइ छ ।
पीडितले न्याय खोज्दा विभिन्न कार्यालय धाउनुपर्ने, पटकपटक आफ्नो पीडा सुनाउनुपर्ने र न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन् ।
मन्त्री बादीले महिला तथा बालिकामाथि घर, कार्यस्थल, सार्वजनिक स्थान, विद्यालय, वैदेशिक रोजगारी र डिजिटल माध्यमबाट समेत हिंसा भइरहेको उल्लेख गरिन् । दलित महिला, अपाङ्गता भएका महिला, दुर्गम क्षेत्रका महिला, एकल महिला तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदाय बढी जोखिममा रहेको उनले बताइन् ।
हिंसाप्रभावित व्यक्तिलाई दोषीका रूपमा नभई साहसपूर्वक न्याय खोज्ने नागरिकका रूपमा सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल सरकारले लैङ्गिक हिंसा निवारण, पीडित संरक्षण, मनोसामाजिक परामर्श, सुरक्षित आवास, दीर्घकालीन पुनर्स्थापना, आर्थिक सशक्तीकरण, मानव बेचबिखन नियन्त्रण तथा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारलगायतका कार्यक्रम अघि बढाइरहेको मन्त्री बादीले जानकारी दिइन् ।
उनका अनुसार सुरक्षित आवास गृहको प्रभावकारिता अध्ययन, समुदायस्तरमा मनोसामाजिक सेवा विस्तार तथा प्रहरी, स्वास्थ्य संस्था, एकद्वार संकट व्यवस्थापन केन्द्र र पुनर्स्थापना केन्द्रबीचको समन्वय सुदृढ गर्ने काम भइरहेको छ ।
महिला आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म लैङ्गिक हिंसा अन्त्यको लक्ष्य पूर्ण रूपमा हासिल गर्न नसकिने उल्लेख गर्दै उनले महिला उद्यमशीलता, सीप विकास, वित्तीय पहुँच, जीविकोपार्जन र स्वरोजगारलाई प्राथमिकतामा राखिएको बताइन् । दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमले सयौँ आमाको जीवन बचाउन सफल भएको पनि उनले उल्लेख गरिन् ।
बालविवाह, दाइजो, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, घरेलु तथा यौन हिंसा र साइबर हिंसा सामाजिक सोच र संरचनासँग जोडिएका समस्या भएको भन्दै उनले हिंसाविरुद्धको अभियान मन्त्रालय वा महिला आयोगको मात्र नभई विद्यालय, सञ्चारमाध्यम, सामाजिक अगुवा, परिवार र प्रत्येक नागरिकको साझा अभियान हुनुपर्ने बताइन् ।
राष्ट्रिय महिला आयोगको संवैधानिक भूमिकाको प्रशंसा गर्दै मन्त्री बादीले आयोगको ११४५ हेल्पलाइन तथा बाल हेल्पलाइन १०९८ लगायतका सेवाको पहुँच देशका दुर्गम गाउँसम्म विस्तार गर्न सबै तहका सरकारसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
हिंसासम्बन्धी उजुरीको प्रभावकारी व्यवस्थापन, अनुगमन, सम्बन्धित निकायको जवाफदेहिता र पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न राष्ट्रिय महिला आयोगले आफ्नो संवैधानिक भूमिका थप सशक्त बनाउनुपर्ने उनले बताइन् । प्रदेश तथा स्थानीय सरकारले पनि हिंसाप्रभावित व्यक्तिको पहिचान, तत्काल सहयोग, सुरक्षित आवास र पुनर्स्थापनाका सेवा प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ रहेको उल्लेख गर्दै मन्त्री बादीले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिततालाई साझा राष्ट्रिय संकल्पका रूपमा कार्यान्वयन गर्नुपर्ने बताइन् ।
१६ दिने अभियान औपचारिक कार्यक्रम, र्याली र नारामा मात्र सीमित हुन नहुनेमा जोड दिँदै उनले हिंसाप्रति शून्य सहनशीलता, पीडितप्रति पूर्ण संवेदनशीलता र न्यायप्रति अटल प्रतिबद्धतालाई साझा राष्ट्रिय संकल्प बनाउनुपर्ने बताइन् ।