लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ
महोत्तरी । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए । हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताएका छन् । पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताए । उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको जानकारी दिए । लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर बिहानै मिर्मिरेमा आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा कहाँ के गर्नेबारे तय गरिने वडाध्यक्ष रायले बताए । रासस
जेठ १० गतेसम्म लकडाउन बढाउने तयारी
काठमाडौं – कोरोना भाइरस संक्रमणको फैलिएसँगै सरकारले जेठ १० गतेसम्म लकडाउन बढाउने तयारी गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय नेपाल र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो । लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो । केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए । नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।
अफगानिस्तानमा कोरोना भाइरस परीक्षण गरेको एकतिहाइमा संक्रमण पुष्टि
काठमाडौं । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ। राजधानी काबुलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयजनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको जानकारी दिएकाे छ । उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढेकाे पाइन्छ। ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था स्पष्ट छैन। केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए। अफगानिस्तानमा अहिलेसम्म २ हजार ७ सातजना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन्। (अन्तर्राष्ट्रिय संचार माध्यमकाे सहयाेगमा)
दिल्लीमा लकडाउन खुकुलो, आजदेखि सरकारी तथा निजी कार्यालय खुल्ला
काठमाडौं । भारतकाे दिल्लीमा लकडाउन खुकुलो गर्दै आजदेखि सरकारी तथा निजी कार्यालय खुल्ला हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्दु केजरीवालले अतिआवश्यक पर्ने सामग्रीको उद्योग, व्यवसाय, सरकारी कार्यालय, कृषिजन्य उत्पादन तथा बित्तिय संस्थाहरु सामाजिक दुरी कायम गरी खोल्न सकिने बताए । कोरोना आइसक्यो… अबका दिनमा कोरोनासँगै जिउने तयारीमा सरकार लाग्नु पर्नेछ, लकडाउनले नै कोरोना संक्रमण शुन्य हुने भन्ने हुँदैन त्यसैले सावधानी पुर्व महत्वपूर्ण उद्योगधन्दा, व्यवसाय संचालन गर्न पर्ने भन्दै निजी कार्यालय खोल्न सकिने तर ३३ प्रतिशत कामदारलाई मात्र उपस्थित गराउन मिल्ने मुख्यमन्त्री केजरीवालले जानकारी दिए । ‘सबै कार्यालय बन्द गर्दा सरकारी खर्च कसरी चलाउने ? गतवर्ष अप्रिलको महिनामा साढे तिन हजार करोडको रेभिन्यु आएको थियो भने यो अप्रिलमा तीन सय करोड मात्रको रेभिन्यु आएको छ ‘ मुख्यमन्त्री केजरीवालले भने । पुरै दिल्ली रेर्ड जोनमा राख्दा उद्योगधन्दाहरु बन्द हुँदा उद्योगीलाई समस्या एकातिर अर्कातिर धेरैले रोजगारी गुमाएर भाेकमरी उत्पन्न हुने तथा देशकाे अर्थतन्त्रमा नै ठूलो धक्का पर्दा दिल्ली सरकारले लकडाउन खोल्न बाध्य भएको मुख्यमन्त्री केजरीवलले जानकारी दिए । सामाजिक, धार्मिक कार्यहरुमा तथा सभासमारोह एवंम विद्यालय खोल्ने कुरा नभएको भन्दै विवाहमा ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने र मृत्यु संकारमा २० जनाभन्दा बढी उपस्थित नहुने नियम रहेको जनाएका छन् । दिल्लीका ९७ कन्टेनर पुरा रुपमा बन्द गरी अन्य सबै खुल्ला गर्ने तयारी भइरहेको छ ।
जूमको भरोसा माथि उठ्यो प्रश्न, एरिक भन्छन्ः म धेरै दुःखी छु
काठमाडौं । भिडियो कन्फ्रेन्सिंग कम्पनी ‘जूम’ का फाउण्डर एरिक युआन जिन्दगीमै पहिलो पल्ट ‘फोब्र्स’ म्यागजीनको अर्बपतिहरुको लिस्टमा पर्न सफल भएका छन् । ‘फोब्र्स’ ले गरेको अनुमान अनुसार एरिक युआनको सम्पत्ति ७.८ अर्ब डलर पुगेको छ । ‘जूम’ यसरी भयो लोकप्रिय गत डिसेम्वरसम्म उनको कम्पनी सामान्य रुपमा चलिरहेको थियो । तब अचानक अप्रत्यासित रुपमा अवस्था बदलियो । संसारका सामू कोरोना भाइरस नामको माहामारी देखापर्यो । जब दुनियाँभरीको वित्तीय बजार डुबिरहेका थिए त्यतिवेला ‘जूम’ को सेयर १४ प्रतिशतका दरले बढिरहेको थियो । डिसेम्वरसम्म दैनिक १ करोड यूजर आउने गरेको ‘जूम’ मा मार्च महिनासम्म आइपुग्दा त्यो संख्या बढेर २० करोड पुग्यो । कम्पनीका अनुसार अप्रिल महिनामा त अझ यो संख्या बढेर ३० करोड पुगिसकेको छ । अनुमान गरिएको छ कि पछिल्लो ३ महिनामा एरिक युआनको सम्पत्ति ४ अर्ब डलर बढ्न गएको छ । किनकी लगभग पूरै दुनियाँ लकडाउनमा छ र मानिसहरुलाई एकअर्कासँग कुरा गर्नका लागि एउटा प्ल्याटफर्मको आवश्यकता परेको छ । भरोसा माथि उठ्यो प्रश्न जुन प्रकारले विश्वभर ‘जूम’ को लोकप्रियता बढ्दै गएको छ, सोही प्रकारले नै यसप्रतिको भरोसामाथि प्रश्नहरु पनि उठ्न थालिसकेका छन् । शुरुवाती दिनमा ‘जूम’ को कल्पना एउटा बिजनेस मिटिंग टूलको रुपमा गरिएको थियो तर अहिले सवै तहका मानिसहरुले ब्यापक रुपमा यसको प्रयोग गरिरहेका छन् । ‘जूम’ जति धेरै लोकप्रिय हुँदै गइरहेको छ त्यतिनै यसमाथि ह्याकिंग अटेकहरु पनि बढ्न थालिसकेको छ । अहिले संसारभर यो कुरा फैलिरहेको छ कि ‘जूम’ को प्रयोग गर्नु जोखिमपूर्ण काम हो । एक रिपोर्टका अनुसार भिडियो कन्फ्रेन्सिंगको समयमा ह्याकरहरु घुसपैठ गर्छन् तथा आपत्तिजनक पोर्नोग्राफी कन्टेन्टहरु पब्लिस गरिदिन्छन् । हिजोआज यस्ता चलनलाई ‘जूमबम्बिंग’ नाम दिइने गरिएको छ । यो कुरा पनि अगाडि आएको छ कि मिटिंगमा गरिएको कुरालाई रेकर्ड गर्नपनि सुरक्षित छैन किनभने अरु कोहि मानिस विना अनुमतिनै त्यहाँसम्म पुग्न सक्छ । एरिक भन्छन् “म धेरै दुःखी छु…” एरिक युआनको भनाइ छ कि ‘जूम’ को निर्माण कम्पनीहरुको जरुरतलाई मध्यनजर गरेर गरिएको थियो । वास्तवमै यति धेरै संख्यामा युजरहरु आउँछन् भनेर सोचिएको थिएन र त्यसका लागि तयारी पनि पुगेको थिएन । प्राइवेसी तथा सेक्युरिटीको सवालमा उनले अपेक्षानुसार काम गर्न नसकेको कुरा स्वीकार्दै भन्छन्, “म धेरै दुःखी छु…” वास्तवमै ‘जूम’ त्यो प्ल्याटफर्म होइन जसमा ठूला राजनेताहरुले संवेदनशील मुद्दाहरुका वारेमा चर्चा गरुन् । तर सर्वसाधारणहरुका लागि भने यो त्यति नराम्रो पनि छैन । पछिल्ला हप्तामा अन्य कम्पनीहरुले पनि आफ्नो रणनीति बदल्न थालेका छन् । केही दिन अघि फेसबुकले मेसेन्जर रुमको फिचर लञ्च गर्यो जसमा ५० जना मानिसहरु बिना कुनै समयसीमा मिटिंग गर्न सक्छन् । अझै पनि ढुक्कका साथ यो भन्न सकिने अवस्था छैन कि ‘जूम’ ले हाल जुन सफलता प्राप्त गरेको छ त्यसलाई आउने वाला दिनहरुमा पनि यथावत नै राख्न सक्नेछ । (श्रोत बीबीसी)
विश्वमा ३५ लाख ६२ हजारभन्दा बढी कोरोना संक्रमित, २ लाख ४८ हजारको मृत्यु
काठमाडौं । अहिले विहान सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ६२ हजार २ सय ६१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ४८ हजार ९४ जनाको मृत्यु भइसकेको छ भने ११ लाख ५३ हजार ७१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६८ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ८७ हजार २ सय ३३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ भने अहिलेसम्म १ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७५ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
नेपालमा उग्र रुप लिँदै कोरोना, एकैदिन भेटिए १६ जना संक्रमित
काठमाडाैं । नेपालमा एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । आजै (आइतबार) यसअघि १० जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ। यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे। मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए। देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।
दुई सातामै ३० हजारले गरे काेराेना बीमा, थप राहत दिन अध्ययन समिति गठन
काठमाडौं । दुई साताअघि शुरु भएको कोरोना भाइरस सम्बन्धि बीमा प्रभावकारी देखिएको छ । यस अवधिमा झण्डै ३० हजार बीमा पोलिसी बिक्री भएको छ भने १ करोड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ । शनिवारसम्ममा २५ हजार ३७७ वटा बीमा पोलीसि जारी भएको छ । त्यसबाट १ करोड ३५ लाख १७ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । आइतबारसम्म ३० हजार भन्दा बढी बीमा पोलिसी बिक्री भएको अनुमान छ भने १ करोेड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ । २० वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये १९ वटाले कोरोना भाइरस बीमा पोलिसी बिक्री गर्न थालेका छन् । राष्ट्रिय बीमा कम्पनीले भने अहिलेसम्म एउटा पनि यस्तो बीमा पोलिसी बिक्री गरेको छैन । कोरोना बीमामा पनि सबैभन्दा बढी पोलिसी शिखर इन्स्योरेन्सले बिक्री गरेको छ । शनिबारसम्म यस कम्पनीले ५१२ बीमा पोलिसी बिक्री गरेको छ । हिमालयनले ३२० र सगरमाथा इन्स्योरेन्स कम्पनीले २०१ बीमा पोसिली बिक्री गरी यस क्षेत्रमा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । शनिबारसम्म यस्तो बीमा गर्नेबाट बीमा दावी भएको छैन । यस पोलिसीप्रति सर्बधारणमा सकारात्मक सन्देश गएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कोरोना भाइरस बीमा शुरू, न्युनतम बीमा शुल्क ३ सय रूपैयाँ आइतबार बीमा समिति र बीमक संघबीच कोरोना बीमा पोसिलीको प्रभाव र अब गर्ने नयाँ कामको बारेमा छलफल भएको छ । छलफलमा कोरोना बीमा प्रभावकारी देखिएको, कोरोना भाइरसबाट बढी प्रभावित जिल्लाहरुमा यसको विस्तारमा जोड दिनुपर्नेमा सबै सहमत भएका छन् । छलफलमा बीमा क्षेत्रबाट बीमितलाई कसरी बढी भन्दा बढी लाभ दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न एक टोलि गठन भएको छ । समितिमा नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्री, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त, लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार खत्री छन् । अध्ययन समितिले बीमितलाई के कस्तो सुविधा दिन सकिन्छ भनेर अध्ययन गरी एक सातामा बीमा समितिलाई सुझाव बुझाउने छ । सुझावका आधारमा बीमा समितिले आवश्यक निर्देशन जारी गर्ने छलफलमा सहमति भएको स्रोतले जानकारी दियो ।