काठमाडौं – कोरोना भाइरस संक्रमणको फैलिएसँगै सरकारले जेठ १० गतेसम्म लकडाउन बढाउने तयारी गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय नेपाल र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो ।
लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो । केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए ।
नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।